-बलराम वालाखाम राई
उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण थिए – विद्या, गणित र ग्रहगतिको ज्ञानमा निपुण, जसका शब्दहरू भविष्यको संकेतजस्तै मानिन्थे । निधारका रेखाबाट नियति खोज्ने, हातका रेखाबाट सम्भावना नाप्ने र जन्मकुण्डलीका ग्रहबाट भाग्य तौल्ने उनका कौशल समाजभर प्रसिद्ध थियो । हजारौं मानिसहरू आफ्ना दुख र दोधार लिएर उनलाई भेट्ने गर्दथे “ भोलि के हुन्छ ?” भनेर ।
एक बिहान, सधैंझैं आफ्नो झोला बोकेर उनी बजारतिर लागे । तर त्यस दिन उनको यात्राले उनलाई एउटा अनौठो मोडमा पुर्यायो । बाटोको किनारमा उनले देखे – मानिसको खप्पर । सुक्खा माटोमा आधा पुरिएको, चुपचाप, मौन ।
उनको मनमा प्रश्न आयो –
“जीउँदाहरूको त धेरै हेरेँ, एकपटक मरेकोको भविष्य पनि त हेरेर हेरौं न त !”
त्यो खप्पर हातमा लिएर उनले ध्यान लगाए, शास्त्रको पाना पल्टाए र निधारको रेखा पढ्न थाले ।
त्यहाँ लेखिएको थियो –
> “अझै केही हुन बाँकी छ ।”
ज्योतिषी तीनछक्क परे ।
“मरेको मानिस, गलेको शरीर अब बाँकी के होला?” उनी सोच्न मग्न पर्न थाले तर शास्त्रले झूट बोल्दैन भन्ने उनको विश्वासले उनलाई रोक्यो ।
त्यो मानव खप्परलाई झोलामा राखे र बजारतिर लागे अझै पनि त्यस वाक्यको अर्थ खोज्दै ।
तर त्यो दिन उनको भाग्य पनि मौन रह्यो । कोही ग्राहक आएनन्, कोही हात देखाउन आएनन् । उनी निराश हुँदै घर फर्किए – झोलामा अनौठो खप्पर मनमा अनुत्तरित प्रश्न बोकेर ।
घर पुगेर उनले झोला राखे र बेलुकाको सन्ध्याजप गर्न नदीतिर लागे । त्यतिबेला घरमा श्रीमतीले झोला खोलिन् । भान्साको तयारी गर्दै उनले सोचिन्—“केहि ल्याएर आउनु भएको रहेछ ।”
झोलाभित्र सेतो गोलो वस्तु देखिन्, त्यसलाई ओखलमा राखेर कुट्न थालिन् ।
तर त्यो वस्तु न टुट्थ्यो, न पिठो बन्थ्यो। थाकेर झर्किँदै भनिन्—“आज तपाईंले के ल्याउनु भयो ? जति कुटे पनि यो फुट्दैन।” ज्योतिषी अचम्ममा परे- “मैले त केही ल्याएको थिईन !”
त्यो वस्तु देख्नेबित्तिकै उ चुप भए ।
त्यो नै बिहानको खप्पर थियो ।
र उनले सम्झे—त्यो निधारमा लेखिएको वाक्य-
> “अझै केही हुन बाँकी छ।”
त्यो क्षण उनले महसुस गरे—शास्त्र झूट बोलेको रहेनछ ।
मृत्यु मात्र अन्त्य होइन रहेछ, नियति अझै बाँकी रहेछ ।
प्रतीकको अर्थ — मरेको र जिउँदो बीचको संवाद
ज्योतिषी र खप्परको त्यो कथा केवल अन्धविश्वासको घटना होइन – त्यो मानव नियतिको प्रतीक हो ।
खप्पर, जो शरीर मरेपछि पनि “अझै केही हुन बाँकी छ” भन्ने वाक्य बोकेर बाँचिरहेको छ, वास्तवमा हाम्रो अस्तित्वकै रूपक हो ।
हामी पनि दिनहुँ आफ्ना सपना, श्रम, र पीडाहरू गलेर माटोमा मिसाउँछौं, तर नियतिले भने हरेक चोटपछाडि अर्को अध्याय बाँकी राख्छ ।
मानौँ जीवन आफैं एउटा असम्पूर्ण कथा हो, जहाँ अन्त्य कहिल्यै अन्त्य हुँदैन। त्यो खप्परको निधारमा जस्तो लेखिएको थियो, त्यस्तै लेखिएको छ आज पनि हाम्रो समाजका निधारमा
> “अझै केही हुन बाँकी छ।”
र त्यो “बाँकीपन” अब पुनरुत्थानको होइन, पीडाको प्रतीक बनेको छ ।
वर्तमानको खप्पर – पीडाको पुनरावृत्ति
आजको नेपाल त्यही खप्परको जस्तो भएको छ- हरेक परिवर्तनपछि पनि अधुरोपन बाँकी, हरेक उत्साहपछि पनि निराशा बाँकी । राजनीति फेरिन्छ तर नीति पुरानै रहन्छ । नाम बदलिन्छ तर व्यवहार उही रहन्छ ।
संविधान लेखिन्छ, तर जनताको आवाज अझै सुन्दैन ।
हामीले दशकौँदेखि पीडा भोग्यौं, राजतन्त्रका घाउहरू, गणतन्त्रका घाउहरू र तिनका बीचमा आशा र विस्मृतिका हजारौं पाना । प्रत्येक आन्दोलनपछि हामीले सोच्छौ “अब परिवर्तन हुन्छ ।”
तर फेरि नियतिले हाँस्दै भन्छ—“अझै केही हुन बाँकी छ ।”
देशमा अस्पताल छन् तर उपचार छैन ।
विद्यालय छन्, तर ज्ञान छैन ।
कानून छन्, तर न्याय छैन ।
राष्ट्रका नारा छन्, तर नागरिकका आँसुहरूका उत्तर छैनन् ।
यो नियति कुनै अदृश्य ग्रहको प्रभाव होइन,
यो हाम्रो चेतनाको निद्रा हो-
जहाँ विवेक सुतेको छ,
र जहाँ सत्य बोल्ने जिब्रोहरू डरले गाँठो परेका छन् ।
खप्पर र चेतनाको प्रतीकात्मक सम्बन्ध-
खप्पर मरेको शरीरको अवशेष हो, तर त्यसले जीवित आत्माको बोध गराउँछ । त्यो मौन छ, तर बोल्छ ।
त्यो निर्जीव छ, तर सन्देश बोकेको छ ।
हाम्रो समाज पनि त्यस्तै खप्परमा परिणत भएको छ –
मौन छौं, तर भोग्दैछौं ।
निर्जीव छौं, तर बाँचेको भ्रममा छौं
र हरेक चोटपछि पनि बाँकी रहन्छ दुःख, अधूरो आशा अनि प्रतीक्षा ।
खप्पर कुटिँदै पनि फुट्दैन –
किनभने पीडा भौतिक होइन, आत्मिक हो ।
हाम्रो पनि त्यस्तै हो- हरेक चुनावपछि, हरेक भाषणपछि, हरेक परिवर्तनपछि हामी कुटिन्छौं तर फुट्दैनौं ।
किनभने हामी अझै विश्वास गर्छौ सायद अब केही राम्रो हुनेछ ।
तर त्यो “अब” कहिल्यै आउँदैन ।
चेतनाको जागरण — बाँकी हुने अर्थ बदल्ने समय
यदि “अझै केही हुन बाँकी छ” नियतिको वाक्य हो भने, अब हामीले त्यसको अर्थ बदल्नुपर्छ ।
अब त्यो वाक्य दुःख र पराधीनताको होइन,
जागरण र परिवर्तनको प्रतीक बन्नुपर्छ ।
अब हामीले भन्न सक्नुपर्छ—
> “हो, अझै केही हुन बाँकी छ—तर अब त्यो पीडा होइन, प्रगति हो।”
हामीले आफ्नो खप्परमा नयाँ लेख लेख्नुपर्छ —
श्रम, इमान र चेतनाको इँटा राखेर ।
देशका नियतिको निधार फेरि नयाँ अक्षरले सजाउनुपर्छ ।
जस्तो ज्योतिषीले मरेकोको भविष्य पढे,
अब हाम्रा चेतनाहरूले बाँचेकाहरूको भविष्य लेख्न सिक्नुपर्छ ।
देशको भविष्य अब ग्रहले होइन, विवेकले निर्धारण गर्नुपर्छ ।








प्रतिक्रिया