४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।



बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

               –मनु योङहाङ,  नेपाल खुला विश्वविद्यालय, 

क: पृष्ठभूमि

१: पाँचथरे कवि हाङओजा थेगिमको कवितासङ्ग्रह”रातसङ्गै पलाएको सपनाहरु” विमोचनको क्रममा झापाको दुधेबजारमा दमकका लेखक कमलराज भट्टराई सरसङ्ग भलाकुसारीको चाँजोपाँजो उपन्यासकार बिरेन्द्र थोक्लीहाङ सरले मिलाउनु भयो । मैले समिक्षा गरेको थेगिम सरको कृतिपछि उहाँले आफ्नो कृति “सम्झनाको गोरेटोमा छब्बिस पाइलाहरु” दिएर भन्नुभयो -तपाईसँग हाम्रो भेट त विर्तामोडको साहित्य चोतारीको कार्यक्रममा भएको हो ।

२:एउटै जिल्ला र क्षेत्र याङरुपकै तथा शिक्षण पेशा समेत मिल्ने भएकोले मैले सहर्ष पुस्तक ग्रहण गरे । म धर्मेन्द्र नेम्बाङको बहुलरङ्गवादि दर्शनको समर्थक भएकोले बहुलरङ्गको कसीमा समिक्षात्मक रुपमा मलाई मन परेको कृतिहरुलाई जाँच्ने गर्छु। प्राप्त कैयों कृतिहरु मघ्ये दर्जनौं कृतिहरुको बहुलरङ्गवादिय समिक्षा गरिसकेको छु । यसै क्रममा “सम्झनाको गोरेटोमा छब्बिस पाइलाहरु” बहुलरङ्वादबाट हेर्दा देखेको रङहरुलाई यसप्रकारले चर्चा गरेको छु ।

ख: नियात्राकारको पृष्ठभूमि

३: सुरुवातमा संस्कृत अध्ययन गरेर पछि व्यवस्थापनमा बि.कम. र मानविकीमा बि.ए. पूरा गरि हिमालय विद्या मन्दिर दमकमा ३२ वर्ष शिक्षणगरेका नियात्राकार नेपाली साहित्यका चर्चित नाम प्रा.डा.गोविन्दराज भट्टराईका साख्खै माइला दाई हुनुहुन्छ। साधारणतया आर्टस अर्थात कला अध्ययन गरेकोले साहित्यलाई बुझेको हुन्छ र साहित्य समाजको लागि उपयोगी हुने तर्कलाई नियात्राकारले ठ्याक्कै प्रमाणित गरेका छन्।

४: २०१४ सालदेखि २०७८ सालसम्मका ६४ वर्षका सम्झनाका बाछीटाहरु छब्बिसवटा निवन्ध, नियात्रा वा संस्मरणमार्फत छताछुल्ल भएर पस्किएको यो सङ्ग्रह पठनिय छ। बाल्यकालको भूटानदेखि संस्कृत पढ्न बनारस अनि नेपालकै दमक तथा भारत दार्जिलिङ र आसाम विभिन्न परिवेश र कार्यक्रममा उनी गए। ती ठाउँहरुमा गएको बखत बस्दा तथा यताउती घुम्दा, टहलिंदा बटुलिएका अनुभवहरुको सङ्कलन हो सम्झनाको गोरेटोमा छब्बिस पाइलाहरु सम्मका संस्मरणहरु ।

५: यी छब्बिसवटा नियात्राहरुले विकासात्मक तर अन्तरदेशिय अन्तरसाँस्कृतिक सम्बन्धको बोध गराउँछ।यातायात र सन्चारको विकासको कारण भूमण्डलीकरण भएर अन्तरवैयक्तिक र अन्तर्सामाजिक र अन्तर्साँस्कृतिक सम्बन्धको उतारचढावको छनक नियात्राकार दिन सफल छन् ।

ग: भावनात्मक संयोजन-उत्तरआधुनिक बहुलरङ्ग

६: यो नियात्राले भुटान र आसाम तथा दार्जिलिङका नेपालीहरूको इतिहास र समसामयिक परिवेशलाई सटिक र चोटिलो रुपमा सम्बोधन गर्छ । क्षमतावान शिक्षक तथा कुशल नियात्राकारले यात्राको  क्रममा उपयोग गरेको प्रयोगशिलता, सिर्जना र विभिन्न भावनात्मक संयोजनले उहाँको सिर्जनामा विशिष्ट पहिचान प्रष्टिन्छ । नयाँनयाँ ठाउँहरुमा भेटिने नयाँ शब्दहरु र परिवेशको प्रयोगले उहाँमा रहेको प्रयोगशिलताको सामर्थ्यलाई प्रष्ट्याँउँछ । प्रयोगशिलताको मतलब अग्रगमन बनाउनु हो । यसको अर्थ नियात्रा सङग्रह छब्बिस पाइलाहरुले सिधै उत्तरआधुनिकताभित्रको बहुलरङ्गवादलाई सङ्केत गर्छ ।

७: रोलाँ वार्थले टेक्स्टलाई २ प्रकारले अर्थ्याएका छन् -पाठकिय टेक्स्ट र लेखकिय टेक्स्ट । पाठकिय टेक्स्ट सुबोध हुन्छन्, सजिलै बुझिने हृदगम्य हुन्छन् । उता लेखकिय टेक्स्ट भने पाठकलाई हाँक दिने खालका हुन्छन्, जटिल हुन्छन् जस्लाई क्षमतासम्पन्न, सक्रिय र चिन्तक पाठकले स्वीकार्छन् । रोलाँ वार्थको शब्दलाई सापटी लिने हो भने यो नियात्राले पाठकमा यस्तो सपाट भावना जन्माउँछ कि जस्को पठनका कारण ती पाठकहरु नियात्राकारसङ्गै भ्रमण  गर्छन् । अर्थात छब्विस पाइलाले  पहिलो पाठकिय टेक्स्टलाई अपनाएको पाइन्छ ।

घ: बहुलरङ्ग स्थानियता -उत्तरउपनिवेशवाद्

८: नियात्रा सङ्ग्रहमा सङ्कलित नियात्राहरुलाई उत्तरउपनिवेशवादको रङ्गमा हेर्नु बाञ्छनिय हुन्छ। नेपाल र भुटान जस्ता विकासोन्मुख देशहरु भारतको अघोषित उत्तरउपनिवेशवादको मियोमा फनफनी घुमिरहेको अनुभूति लेखकले बनारस यात्रा भाग-१ र २ एवम् भुटानको बाल्यकालिन सम्झना र भुटानको जनगणनामा हामी जस्ता स्मरणमा छताछुल्ल छन्।

९: हुनत नेपाल कहिले पनि उपनिवेशमा नपरेकोले उत्तरउपनिवेशको रङ अनुचितजस्तो लागेता पनि विश्लेषणमा सामिप्य हुन सक्छ । अझ सम्झनुपर्ने कुरा के हो भने नेपालीहरु स्वतन्त्र भएर पनि स्वदेशमै एकतन्त्र विरुद्ध लडेको अनगिन्ती तथ्यहरु नियात्रामा ब्रगेल्ती देखाइएको छ। यसको सबैभन्दा जिउँदोजाग्दो तथ्य १८ सालको भयमा लेखकले देविप्रसाद पाठकको निर्मम हत्यामा बयान गरेका छन् । त्यो क्रान्तिमा मेरै हजुरबुबाहरु स्व. जरबारे(धनबहादुर) र स्व. औतारे आसाम निर्वासित भएर उतै सदाहत प्राप्त गर्नुभएकोले मेरो परिवार पनि आगन्तुक औपनिवेशवादको शिकार हो ।

१०: नेपालीहरुले स्वदेशी एकतन्त्रवादको विरुद्धमा मात्र लडेनन् भारतिय स्वतन्त्रताको लागि पनि लडे । यो लडाईमा भारतमात्र स्वतन्त्र भएन नेपाल पनि एकतन्त्रबाट मुक्त भयो तर भारतियहरुमा पाश्चत्य औपनिवेशिक प्रवृति कायम रहेर अहिलेसम्म पनि त्यही प्रवृत्तिबाट निर्देशित भएर नेपाललाई हेर्ने गर्छन् ।

ङ: बहुलरङ्हरु स्थानियता, लैङ्गिकता -प्रकृतिवाद

११: साहित्यिक कृतिहरुको पठ्नले पाठकमा विभिन्न अवधारणा, विचार र मान्यताहरु जन्माउँछ । स्थानियता, लैङ्गिकता र प्रयोग जस्ता बहुलताका रङ्गहरु छताछुल्ल छरिनुको साथै बहुल रङ्गवादका सुन्दर रङहरु स्थानियता, लैङ्गिकता र प्रयोगता प्रचुरमात्रामा यो कृतिमा भएको देखिन्छ । नियात्राकारले लेखनमा आधुनिकता र उत्तर आधुनिकता दुवैको समर्थन गरेको पाइन्छ । स्थानियता, लैङ्गिकता, समावेशिता र सिमान्तकृतहरुको आव्हनमा आधुनिकता भन्दा उत्तरआधुनिकता बढि देखिन्छ । पिछडिएकाहरु, पछि पारिएकाहरु र सिमान्तकृतहरुको सहानुभूति नियात्रा मेरो धरान घुम्ने रहरमा तुलसीराम पौडेलमार्फत स्मरण गर्दै बहुल रङ्गवादका सुन्दर रङहरु स्थानियता, लैङ्गिकता र प्रयोग गरेर प्रकृतिवादलाई बढावा दिनुभएको छ ।

१२: पाठकिय विचारबाट हेर्दा लेखकले भावपूर्ण शब्दमार्फत पाठकहरुलाई सङ्घर्ष र चेतनाको रसले बुनेर राख्ने सामर्थ्य राख्न सफल छन् ।  स्पष्ट शब्द र  परिवेशिय रङमा रङ्गाउदै नियात्राकार आफ्नै लेखन शैली अपनाउँछन् । शब्द र अर्थको जुधाजुधलाई यसरी रङ्गाउछन् कि सङ्ग्रह पढ्दा जीवनको रङ्ग स्पस्ट देख्न सकिन्छ- च्याङथापुको बसाई र च्याङथापुको जनजीवन

च: बहुलरङ्ग आदिवासी पूर्विय चेत परम्परा र मौलिकता-अस्तित्ववाद र यथार्थवाद

१३: नियात्रालाई उत्कृष्ठ बनाउन लेखकले शब्द सङ्गठनमा कुशलता, प्रतिक र विम्बहरुको लगानमा उत्कृष्ठता एवम् बेमिल्दा उपादानहरुलाई मिलाएर नब्यता बिउझाउँदै आफ्नैपना जाहेर गरेका छन् । लेखकले सुन्दर शब्दगत र अर्थगत उभयस्तरमा उपस्थित भइ बोधको उर्वर लाक्षणिकतालाई विस्तारित गरेका छन् । स्थानियता, परम्परागत तथा मौलिकतामा मुछिएको वर्णनको पुरानो शैलीलाई टपक्क टिपिएको छ। मैले करमकाण्ड सिके निबन्धमा यो तथ्यलाई सर्लक्कै उठाएका छन्।

१४: लेखककै जिकिरमा ‘भुटानको इतिहासलाई लामो समय लगाएर अध्ययन गर्दा कर्तव्यपथमा होमिएका नेपालीहरूले भनेका कुरा र लिखित इतिहासमा समानता पाउन नसकेको देखिन्छ । मन छुने तथ्य पुर्ख्यौली थलो नेपाल र पशुपतिको भ्रमणपछि महामारीको कारण परिवारै सखाप भएको र पछि आफन्तले अस्थिपन्जर खोजेर अन्त्येव्ठी गरेबाट मुगलानमा भोग्नु परेको यथार्थता देखाइएको छ।

१५: सुमधुर भविश्यको खोजीमा एउटा परिवार अझ घरमुलीले केकस्ता सास्ती र पीडा भोग्नुपर्छ भन्ने इतिहासको सबैभन्दा मार्मिक पक्षलाई यसरी यो हाम्रो मधेश यात्रा र गौहत्याको दोषमा  स्पष्ट पार्न सफल  भएर अस्तित्ववाद र यथार्थवादको गम्भिर वकालत गर्न सफल भएको छ।

छ: बहुलरङ समता र समावेशिता-रोमान्टिक सौन्दर्यवाद

१६: बहुल रङ्गवादको अर्को रङ समता र समावेशितालाई दिलाउनमा नियात्रासङ्ग्रह सफल छ । नेपालका शासकहरूले भुटानमा नेपालीहरु पठाए । कतिपय नेपालीहरु काम र दामको खोजीमा आफै भुटान पुगे । पछि विविध कारणले स्वदेश फर्किए । यस्तै एक परिवार लेखकको रहेको र उहाँले भुटानमा स्थानिय नेपालीपन गुरुकुल तथा अन्य अपनाएको वर्णन नियात्रामा भेटिन्छ। भुटान सरकारको यातनाबाट धेरै गोर्खालीहरू मर्दा पनि कुनै साहित्यकार या पत्रकारले गम्भीर रूपले लेखिदिन नसकेको तथ्यलाई महसुस गराउन सफल यो कृतिले भुटानी गोर्खाहरूको इतिहासलाई समेटेको छ।

१७: रोमान्टिक सौन्दर्यवादको रुपमा राष्ट्रिय स्वाभिमानका साथ पानीजहाज, रेल र प्लेन जस्ता आधुनिकताको संसारमा सयर गराउन पुगेका छन् । बनारस यात्रामा वर्णित आधुनिक जीवनशैली तथा आसाम बिताएको वैभवशाली जीवनले रोमान्टिक सौन्दर्यवोध गराउँछ । जीवनको अर्को पाटो उजागर गर्न मेरो पहिलो सिनेमा अनुभवमा यसरी लेखिएको छ   – दाजु दिउसै रात पर्यो कि क्या हो ?

१८: बहुलरङगवादको अर्को रङ पर्यावरण जस्लाई परिचित गराउने काम नेइसले गरे यही अवधारणानुसार प्रदुषणको विरुद्धमा आवाज बुलन्द गरिएको छ । मेरो फावाखोला ओसे बसाईमा सम्झना गरिएको छ-हामी कुलो लडाइदिन्थ्यौ। पानी  भिरैभिर छाँगो भएर गएको हेर्न रमाइलो हुन्थ्यो । यो संस्मरणले पर्यावरणको वकालत गर्छ।

ज: साँस्कृतिक पर्यावरणको चेतना-प्रयोजनवाद तथा संरचनावाद

१९ : पूर्वि नेपालको लिम्बूवानको च्याङथापु, नाम्रेक र सेरेजा जस्ता याङरुपका  सेरोफेरोमा स्थानिय परम्परा तथा साँस्कृतिक सम्पदा र पर्यावरणको चोटिलो चेत यो नियात्रामा पाइन्छ । सेरेजामा साइत हेर्न तथा गीता चण्डी अध्ययनले साँस्कृतिक पर्यावरणिय रङ् देखाउँछ । उता गोलाका भोटेहरुको दोचा र विभिन्न बनौंषधीहरुको उपयोगबाट साँस्कृतिक सम्पदा र पर्यावरणिय चेतको जिकिर गर्न नियात्राकार सफल छन् ।

२० : कृतिको आयाम मौलिकता र स्थानियतामा मात्र सिमित छैन बरु भुटानबाट सुरु भएर पूर्वी विकट पहाडी जिल्ला पाँचथर र ताप्लेजुङलाई क्षेत्रको रूपमा  नियात्रा सुरु गरिएको छ। देन्छुका र लख्तीखोलाका समाज प्रारम्भिक क्षेत्र देखिएको छ। त्यसपछि ताप्लेजुङ फर्कनको लागि इन्डियाको वर्णन गरिएको यो कृतिले नेपाल भुटान तथा भारत आउजाउबाट नेपाली समाजले देखाएको बहादुरीको सविस्तार तर रोचक वर्णन गर्छ। यसरी यो  ६४ वर्षे भोगाइबाट प्रयोजनवाद प्रष्ट्याउँछ भने एउटा नेपाली पूर्वेली समाजसँगै सिङ्गो याङरुपे समाज निर्माणका संरचनाहरु र यसका अङ्गहरुको आद्योपान्त देखाउदै संरचनावाद बहुलरङ्गवादलाई पूर्णता दिएको छ।

झ: नारी, पिछडिएको तथा सिमान्त रङ-द्वन्दवाद र नारीवाद

२१: राजनीतिक दुरवस्था, स्वार्थपरायण नेता तथा विजेताहरुलाई कसिलो व्यंङ्य लेखकले २०१८ सालको भयमा ठोकेका छन् – यसरी यो नियात्रा पूरै धर्मेन्द्रविक्रम नेम्बाङको बहुलरङ्गवादको तेस्रो दर्शनको कित्तामा सर्लक्कै उभिएको छ ।

२२: पोष्टमोर्डनिज्मको एक आयाम बहुल रङ्गवादको अर्को आकर्षक रङ्ग नारीवादको  नियात्रामा  स्पष्ट रङ  देखिन्छ । नारीवादको सन्दर्भमा आमा फुरूम्बुको हजुरआमा मात्रै होइन् भुटानमा दिदीमार्फत सम्पूर्ण पिंडित नारीहरुको प्रतिनिधित्वमात्र  गराएका लेखकले सिमान्तकृतलाई झल्काएका छन् ।

२३: बहुलरङ्गवादको अर्को रङ सिमान्तकृतको बुलन्द आवाज नियात्रामा जताततै छताछुल्ल छरिएको पाइन्छ छ। नेपालमा जतिपनि आन्दोलन भए तिनले किन्चित पनि ठूलाठालुहरुलाई छोएन बरु छोयो शोषित, पिडित र सिमान्तकृतलाई यसको ज्वलन्त उदाहरण देविप्रसाद पाठकको दर्दनाक हत्याले बोलेको छ। तातो आदानको माला ओहो कति निर्दयी सरकार ! बहुलरङ्गवादको अर्को आकर्षक रङ्ग पिछडिएको र सिमान्तकृतको स्वरुपमा तुलसी पौडेल, रुपाखेती र सुवेदी माइला जस्ता पात्रहरुले बोलेका छन्

ञ:: बहुलरङ्गिय  डिकन्स्ट्रक्सनल, विसङ्घटन, विनिर्माण

२४:गद्यसंरचनालाई केही हदसम्म तोड्नाले नियात्रासड्ड्ग्रह आफैमा उत्तरआधुनिकवादको एक रङ्ग बहुलतावाद स्थापित भएको छ । यो सङ्ग्रह परिवेश र भोगाइको संयोजन हो। भुटान आसाम र बनारसमा रहेका नेपाली जनजीवन र त्यस समयको अन्तर्राष्ट्रिय परिवेशलाई लेखकले अनुभव र घटनामार्फत प्रस्तुत गरेका छन्।६४  वर्षे समयको उछालसङ्गै नियात्रासङ्ग्रहमा उमारिएको भाव र शब्दले पाठकिय परिवर्तनलाई आत्मसात गरेको छ । खास किसिमको शब्द र भावना पाठकहरुलाई सोचेर, सम्झिएर लेखिएको छ । यसबाट कथा र पात्रहरु स्थिर छैनन् । अपेक्षा अनुसार पाठकिय भावना परिवर्तनशिल बनाउदै एकात्मवादलाई नाँघ्दै बहुलवादमा रुपान्तरित गर्न लेखक सफल छन् । लेखनमा प्रयोग गरिएका भाषा, शैली र अलङ्कारले संस्मरणको माधुर्यता एकै प्रकारको नहुने नै भयो । यसर्थ  गन्तव्य अन्तत: उत्तरआधुनिकवाद उर्फ बहुलरङ्गवाद तिरै ढल्किएको प्रष्टै छ ।

२५: ह्यान्स रवर्ट जाउसको प्रतिपादित पाठकिय पुस्ताको व्याख्यामा टेक्स्टको अस्तित्वलाई गो नियात्रासङ्ग्रहले अर्थ्याउँछ । उनले खास किसिमका शब्द र वाक्य छानेर जिवन्तता ल्याएका छन् अर्थात पाठकिय पुस्तान्तरणलाई ध्यान दिएका छन्।स्टान्ली फिसको व्याख्यात्मक समुदाय भनेको विधी र नियमअनुसार पठन गर्ने समुदाय हो । भुटान र याङरुपको इतिहास, सांस्कृतिक परिवेश र नेपाली जीवनको मनोविज्ञान बुझ्न यो सङ्ग्रह महत्वपूर्ण पाठ हुन सक्छ। यसलाई इतिहास, संस्कृति र सामाजिक जीवनलाई जोड्ने कृतिका रूपमा व्याख्या गर्न सकिने आधारहरु छन् ।

२६: समिक्षा भनेको सबल र दुर्वल दुवैपक्षको सन्तुलित हेराइ हो । यो वर्णनात्मक कथा, सरल भाषाशैलीको प्रयोगले पठनमा रोचकता थपेको छ। यति हुँदा पनि पाठक कन्फ्यूज्ड हुन सक्छ।संस्मरणमा परिवेश र स्थानलाई अनावश्यक लम्ब्याइएकोजस्तो भान पर्नसक्छ। तर रोचक तथ्य भुटानी आसामी र याङरुपका नेपाली समुदायबारे जिज्ञासु पाठकहरुलाई यो सङ्ग्रहले धेरै जानकारी दिएको छ। मौलिक र मन छुने कलात्मकताको लेपन लागेको, आञ्चलिकताको झल्को दिने यो संस्मरण पठनीय छ। यसले नयाँ पुस्तालाई हिजोको याङरुप, भुटान र आसामबारे मात्र नभएर हिजोका पुस्ताको बहादुरीको गाथाबारे जानकारी दिन्छ। अन्तमा तेस्रो दर्शनका विचारक धर्मेन्द्रविक्रम नेम्बाङकै शब्द सापटी लिंदा बजार हल्लाउन सक्ने तागत भएको एक सशक्त पठनिय कृति भएको ठहर गर्दछु। नियात्राकारप्रति धन्यवाद सहित सफलताको कामना गर्दछु । नोगेन, सेवारो ।

-हिलिहाङ-३, कुर्लुम्बा पाँचथर। हाल अर्जुनधारा-११, झापा।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ८ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज