धरान, धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले आइतबार विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनौट गरेको छ । पुस्तकालयमा प्राप्त भएका १०४ कृति मध्ये उत्कृष्ट १० कृति छनौट गरिएको हो ।
उत्कृष्ट १० मध्ये एक श्रेष्ठ पुस्तकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैयाँ प्रदान गरिने पुस्तकालयमा अध्यक्ष पूर्णवहादर गुरुङले बताए ।
उनका अनुसार आगामी कात्तिक १९ गते धरान–१८ बुद्धचोकस्थित पुस्तकालयको आफ्नै भवनमा आयोजना हुने कवि विमल गुरुङको ५४ औँ जन्मजयती तथा ३४ औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिनेछ ।
छनौटमा परेका उत्कृष्ट १० कृतिहरू डायस्पोराःअवधारणा र अभ्यास (रक्ष राई), रातो नदी (जुनु राना), डोलीभर्ना (डा. चित्र माबो), सिमसारा (वसन्त बस्नेत), काँचको पोखरी (टीका भाइ), नातिपुस्ताको खेल (कृष्ण बराल), मोहोर (सागर गैरे), जब कविता निस्कन्छ जुलुसमा (सुरज राना), कोइलाखाद (श्याम सिंघक) र गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरूको अध्ययन (तेज बहादुर गुरुङ) रहेका छन् ।
यसैगरी कविता राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरूबाट प्राप्त ९० कविताहरूमध्ये १० कविता पनि छनौट गरिएको पुस्तकालय सञ्चालन समितिले जनाएको छ ।
छनौटमा परेका कविताहरूमा छातीभित्र पृथ्वी (रिजन मायालु, इलाम), भूपरिवेष्ठित चेतना (राजु उवरकोटी, दोलखा), संग्रहालयमा थन्किएको खापसियो (दीपा मग्राती, सुनसरी), पसिनाको सौन्दर्य (किशन पौडेल, हेटौँडा), अभिशप्त जिन्दगी (बाबुराम श्रेष्ठ, सिन्धुली), रातो रङ्ग (आरती आचार्य, म्याग्दी), सपनाहरूको आँखाबाट (याम मगर, रोल्पा), फर्किन्छु अब देश (विनेश राई मिन्जाई, सुनसरी), दिशाहीन समयको प्रेतात्मा (शून्य नयन, गोरखा) र देशको ठेगाना (शुचरा, खोटाङ) रहेका छन् ।
उत्कृष्ट १० मध्ये प्रथमलाई प्रमाणपत्र, स्वर्णपदकसहित नगद २१ हजार रुपैयाँ, द्धितीयलाई प्रमाणपत्र, रजतपदकसहित नगद १९ हजार रुपैयाँ र तृतीयलाई प्रमाणपत्र काश्यपदकसहित नगद १८ हजार रुपैयाँ प्रदान गरिने राष्ट्रिय कविता महोत्सव आयोजक समितिले जनाएको छ ।







प्रतिक्रिया