समाजसेवाका फाँटमा विष्णुमाया आङबुहाङ नम्बरी सुन थिइन्, तर उनको नाउँ धेरैलाई थाहै भएन । अझै पनि उनको नाउँ स्थानीय जिल्लादेखि केन्द्रसम्म चल्तीमा आउन सकेन । आफ्नो कर्मका कारण धेरै समाजसेवी चर्चाको शिखरमा आइरहे तर उनको सेवाको दियो देखाइदिन कुनै मोतीरामहरू अघि सरेनन् । वास्तवमा उनको सेवा जनउद्धारका लागि मनबाटै समर्पित थियो तर उनले नाउँ चलाउन सेवा गरेकी थिइनन् ।
विष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ मैले बाल्यकालमै सुनेको थिएँ । वारि हाङपाङबाट पारि चाँगेको नेसुम देखाएर मेरी आमा भागीरथा प्रसाईं भन्ने गर्थिन्—‘पुल थाप्ने लिम्बुनी बडी आमाको घर त्यतै हो । त्यसै बेलादेखि मेरो मनमा ती लिम्बुनी आमाप्रति श्रद्धा पलाएको थियो । उनीप्रति मेरो कति श्रद्धा थियो भने अति थियो ।कुनै पनि कुवेरको मन, वचन र कर्मले साथ नदिइरहेको अवस्थामा एउटी नारीले आफ्नो श्रीसम्पत्ति तमोर नदीमा विश्रान्ति गराएकी थिइन् । जुन सम्पत्तिको त्यस भेगका प्रत्येक प्राणीले भोग गरे । एउटा घरको भण्डारमा केन्द्रित धन जगतको हितमा समर्पण गर्ने ती एउटै विराङ्गना थिइन्— विष्णुमाया आङबुहाङ लिम्बुनी ।
देशका कुनाकाप्चामा अहिले त आवश्यकता अनुसार झोलुङ्गे पुल बन्न सकिरहेको छैन । त्यस बेला देशले त्यति खर्च लगाएर फलामै फलाम र काठले सुसज्जित त्यस प्रकारको आधुनिक झोलुङ्गे पुल निर्माण गर्न नसकेको अवस्थामा विष्णुमाया आङबुहाङले आफ्नो हैसियत देखाएकी थिइन् । भनौँ २००९ सालतिरै उनले आफ्ना दुई भाइ छोराहरु भुवान्सी र रणबहादुरको सहयोगमा तमोर नदीमा अति भव्य, आकर्षक र सुरक्षित पुल थापेकी थिइन् । उनले आफ्ना दिवङ्गत पति धनहाङ आङबुहाङको मुक्तिका लागि त्यो पुल बनाएकी थिइन् । अनि त्यस पुलले ‘लिम्बुनी पुल’का नाउँबाट प्रसिद्धि कमाएको छ ।
विष्णुमाया आङबुहाङले ‘लिम्बुनी पुल’ बनाउनु १० वर्षअघि नै ताप्लेजुङ र तेह्रथुमका मुख्यमुख्य ठाउँहरुमा ढुङ्गेबाटो, घोडेबाटा, गोरेटा, चौतारा, घाट र पाटीहरु पनि बनाएकी थिइन् । त्यति विराट् मन भएकी नारीले शिक्षाका लागि पनि आफ्नो मन खोलेकी हुनुपर्छ तर उनको सेवाबारे कहीँकतै चर्चा भएन ।
लिम्बुनी पुल विष्णुमाया आङबुहाङले आफ्नै गाउँमा पनि बनाइनन् । भनौँ उनको गाउँमा लिम्बुनी पुल थिएन । लिम्बुनी पुल पुग्न उनका घरबाट चार घन्टा जति ओरालो हिँड्नुपथ्र्यो । आफ्नो गाउँदेखि पनि टाढा उनले पुल थाप्ने सर्वेक्षण गरेकी थिइन् । किनभने त्यस ठाउँमा त्यस पुलको साह्रै खाँचो थियो । त्यसैले जनचाहनामा उनले आफ्नो इच्छा साकार पारेकी थिइन् ।
पाँचथरको अमरपुर र ताप्लेजुङ निघुरादिन (फूलबारी)मा अवस्थित तमोर नदीमा लिम्बुनी पुलको निर्माण गरेपछि त्यो ठाउँ नै सुगममा परिणत भयो । तेह्रथुम र ताप्लेजुङ जिल्ला अन्तर्गत आठराई हाङपाङ पुगेर दोभान, ताप्लेजुङ हुँदै पाँचथरसम्म पुग्ने या चुहानडाँडाको सिटौला पुलबाट पाँचथरको सुभाङ या ताप्लेजुङको पूर्वी भेग पुग्नेका लागि लिम्बुनी पुल वरदानै भएको थियो ।
दार्जिलिङ, सिक्किम र तिब्बतबाट मजदुरले थाप्लो र काँधमा बोकेर लिम्बुनी पुल निर्माणका लागि फलामे सामग्री जुटाएका थिए । त्यस बेला त्यस भेगमा पैदल हिँड्ने फराकिलो बाटो पनि थिएन । भारी बोक्नेले पनि खेतका कान्ला र बारीका डिलबाट हिँड्नुपथ्र्यो । त्यस बेला नेपालका पहाडी ठाउँमा सवारी–साधनको त प्रायः कल्पनै थिएन । यति हुँदाहुँदै पनि विष्णुमाया आङबुहाङको हिम्मत थियो । त्यसैले उनले त्यतातिरका तमाम मान्छेको सपना साकार गरिदिइन् ।
त्यस बेला लिम्बुनी पुल बनाउनु अकल्पनीय नै थियो । अथवा फलामबाट बनेको त्यस्तो पुलको बेहोरा पनि एकादेशको कथै हुन्थ्यो । वास्तवमा लिम्बुनी पुल बनाउन कति खर्च लाग्थ्यो, त्यो पनि अनुमानित बजेटमा आधारित थिएन । अथवा भनौँ पुल निर्माण गर्दा खर्च कति लाग्छ भन्ने समेत कल्पना गर्न सकिँदैनथ्यो तर एउटी निरक्षर नारीले अकल्पनीय काम गरेर आफूलाई राष्ट्रकै एउटा विम्ब बनाएकी थिइन् तर राष्ट्रले उनलाई कहिले चिनेन, जानेन र उनको खोजीसम्म गरेन ।
विष्णुमाया आङबुहाङका नाति परशुराम आङबुहाङका अनुसार लिम्बुनी बडीको जन्मचाहिँ ताप्लेजुङकै खाम्लुङ (महादेउटार, दोभानदेखि माथि) भएको थियो । साथै बडीका नाति पोमु सेन्छेहाङ लिम्बू (प्रवीन) ले जनाए अनुसार उनी १९३४ सालमा जन्मेकी थिइन् । पुल थापेको पाँच वर्षमा लिम्बुनी बडीआमाको निधन भएको थियो । भनौँ २०१५ सालको सरस्वती पूजाका दिन आफ्नै घरमा उनी स्वर्गीय भएकी थिइन्; तर उनी ‘लिम्बुनी पुल’बाट चिरञ्जीवी भइन् ।
प्रतिक्रिया