२ मंसिर २०८३, मंगलबार | November 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

Naming, Shaming, Blaming र Gaming : समाज र संस्थागत जीवनमा देखिने प्रवृत्तिको एउटा दृष्टान्त-



Naming, Shaming, Blaming र Gaming : समाज र संस्थागत जीवनमा देखिने प्रवृत्तिको एउटा दृष्टान्त-

पृष्ठभूमि

मानव समाजको इतिहास केवल सभ्यता, विकास र परिवर्तनको कथा मात्र होइन; यो विचार, व्यवहार, प्रतिस्पर्धा, स्वार्थ र शक्ति संघर्षको पनि इतिहास हो । समय परिवर्तनसँगै मानिसका सोच्ने, बोल्ने र आफ्नो स्वार्थ प्रस्तुत गर्ने शैलीमा समेत परिवर्तन हुँदै आएको छ । कहिलेकाहीँ सत्यको खोजीका नाममा आरोपको खेती हुन्छ, सुधारको नाममा अपमानको अभ्यास हुन्छ र जनहितको आवरणमा व्यक्तिगत स्वार्थको खेल खेलिन्छ । यस्तै प्रवृत्तिलाई बुझाउन आजकल चारवटा अंग्रेजी शब्द प्रचलनमा आएका छन् ती यसप्रकार छन्- Naming, Shaming, Blaming र Gaming । यी शब्द सामान्य भाषिक अभिव्यक्ति मात्र होइनन्, मानव व्यवहार र सामाजिक मनोविज्ञानका केही नकारात्मक पक्षलाई बुझाउने सशक्त अवधारणासमेत हुन् ।

के हो Naming, Blaming, Gaming, Shaming भनेको ?

Naming भन्नाले कुनै व्यक्ति, समूह, संस्था वा निकायको नाम सार्वजनिक रूपमा उल्लेख गरी उसको भूमिका, कमजोरी वा संलग्नता औँल्याउनु हो । यसको उद्देश्य सत्य उजागर गर्नु र जिम्मेवार पक्षलाई पहिचान गर्नु हो भने त्यो सकारात्मक अभ्यास हो । तर पर्याप्त तथ्य र प्रमाणबिना कसैको नाम जोडेर आरोप लगाउने, शंका सिर्जना गर्ने र सामाजिक प्रतिष्ठामाथि प्रमाण विना प्रश्न उठाउने माध्यम बनाइयो भने त्यसले अन्याय निम्त्याउन सक्छ । Shaming भन्नाले कुनै व्यक्ति वा संस्थालाई सार्वजनिक रूपमा लज्जित गराउने, होच्याउने वा सामाजिक प्रतिष्ठामा चोट पुर्‍याउने व्यवहारलाई जनाउँछ । गल्ती औँल्याउनु र व्यक्तिको मानमर्दन गर्नु एउटै कुरा होइन । आलोचनाले सुधारको ढोका खोल्नुपर्छ, अपमानले प्रतिशोधको वातावरण सिर्जना गर्नु हुँदैन । कुनै कर्मचारी वा संस्थाकाे काममा कमजोरी गरेको छ भने उसलाई सुधारको अवसर दिन सकिन्छ । तर उसको एउटा कमजोरीलाई आधार बनाएर सम्पूर्ण व्यक्तित्व र जीवनभरको योगदानलाई अवमूल्यन गर्ने काम न्यायोचित हुँदैन भन्ने जानकारी हुंदा हुँदै सुनियाेजित ढंगबाट गरिन्छ ।

Blaming भन्नाले कुनै समस्या, असफलता वा घटनाको जिम्मेवारी अरूमाथि थोपर्ने व्यवहार हो । वास्तविक समस्या समाधान गर्न गल्तीको कारण खोज्नु आवश्यक छ । तर आफ्नो कमजोरी स्वीकार नगरी अरूलाई मात्र दोषी देखाउने प्रवृत्तिले समाधानभन्दा विवादलाई बढावा दिन्छ । कुनै याेजना समयमै सम्पन्न हुन सकेन भने त्यसको वास्तविक कारण, जिम्मेवार पक्ष र व्यवस्थापकीय कमजोरीको खोजी गर्नुपर्छ । सबै भन्दा पहिले आफ्नो भूमिका, जिम्मेवारी लुकाएर अरूमाथि मात्र दोष थोपर्दैमा कुनै पनि याेजना सम्पन्न हुँदैन । Gaming भन्नाले कुनै विषय, परिस्थिति वा विवादलाई आफ्नो व्यक्तिगत, राजनीतिक, आर्थिक वा समूहगत स्वार्थअनुकूल प्रयोग गर्ने रणनीतिक चलखेललाई बुझिन्छ । यसमा कहिलेकाहीँ वास्तविक समस्यालाई समेत आफ्नो पक्ष बलियो बनाउने माध्यम बनाइन्छ । जनभावना उक्साउने, आधा सत्य प्रस्तुत गर्ने, भ्रम फैलाउने र परिस्थितिलाई आफ्नो अनुकूल मोड्ने प्रयास हुन सक्छ । कुनै संस्थामा सुधार गर्नुपर्ने वास्तविक विषयलाई समेत अरू केही आफ्नै समस्याकाे मात्र प्रतिस्पर्धा वा नेतृत्व प्राप्त गर्ने माध्यम बनाइयो भने त्यो संस्थागत हितभन्दा स्वार्थको खेल बन्न पुग्छ । जब यी चार प्रवृत्ति एकपछि अर्को गर्दै प्रयोग हुन थाल्छन्, तब कुनै पनि समाज वा समाजमा विश्वासको संकट उत्पन्न हुन सक्छ ।

कसरी  Blaming, Gaming, Shaming  गरिन्छन्  ?

पहिले कसैको नाम जोडिन्छ, त्यसपछि सार्वजनिक रूपमा प्रतिष्ठामाथि प्रहार हुन्छ, त्यसपछि प्रमाणभन्दा आरोपको स्वर ठूलो बनाइन्छ र अन्ततः त्यसैलाई आफ्नो स्वार्थ सिद्ध गर्ने माध्यम बनाइन्छ । यस्तो अवस्थामा सत्य ओझेलमा पर्न सक्छ, निर्दोष व्यक्ति अन्यायमा पर्न सक्छ र वास्तविक दोषीले समेत परिस्थितिको फाइदा उठाउन सक्छ । यसले परिवारदेखि सामाजिक संस्था, राजनीतिक दलदेखि सरकारी निकाय र सार्वजनिक प्रशासनदेखि सुरक्षा संगठनसम्मको संस्थागत सम्बन्धमा नकारात्मक असर पार्न सक्छ । लोकतान्त्रिक समाजमा प्रश्न उठाउनु नागरिकको अधिकार हो । राज्यका निकायलाई जवाफदेही बनाउनु जनप्रतिनिधिको कर्तव्य हो । सार्वजनिक पदमा रहने व्यक्तिले आफ्नो कामको जवाफदेहिता हुनै पर्छ । तर प्रश्न उठाउने अधिकारसँगै तथ्य प्रस्तुत गर्ने जिम्मेवारी पनि जोडिएको हुन्छ । त्यसैगरी, आलोचना सहनु र त्यसको तथ्यपरक जवाफ दिनु नेतृत्वको परिपक्वता हो । संस्थाको प्रतिष्ठा जोगाउनु आवश्यक छ, तर संस्थाको नाममा कमजोरी लुकाउनु उचित होइन । कुनै संस्थामाथि प्रश्न उठ्दैमा संस्था नै गलत हुँदैन र कुनै संस्थाको बचाउ हुँदैमा त्यसका सबै काम सही ठहरिँदैनन् । वास्तविक न्याय भनेको न त अन्धो समर्थन हो, न त पूर्वाग्रही विरोध । वास्तविक न्याय भनेको तथ्यको परीक्षण, प्रमाणको मूल्याङ्कन र निष्पक्ष निर्णय हो। हामीले Naming लाई तथ्यको पहिचान बनाऔँ, Shaming लाई सुधारको चेतनामा रूपान्तरण गरौँ, Blaming लाई जिम्मेवारी स्वीकार गरि सहयाेग गर्ने संस्कारमा बदलौँ र Gaming लाई स्वार्थको खेल नभई सकारात्मक रणनीति तथा समाज वा संस्था निर्माणको प्रतिस्पर्धा बनाऔँ । यस विषयमा विचारको प्रतिस्पर्धा होस्, संस्थामा कार्यक्षमताको प्रतिस्पर्धा होस्, प्रशासनमा इमानदारीको प्रतिस्पर्धा होस् र समाजमा सेवाभावको प्रतिस्पर्धा होस् ।

कसैलाई गिराउनु  वास्तविक सफलता नहुने

कसैलाई गिराएर आफू माथि उठ्नु वास्तविक सफलता होइन । अरूको प्रतिष्ठा नष्ट गरेर आफ्नो प्रतिष्ठा निर्माण हुँदैन । आलोचकलाई शत्रु ठानेर होइन, आलोचनाभित्र लुकेको सत्य पहिचान गरेर अघि बढ्नु नै परिपक्व नेतृत्वको परिचय हो । समाज वा संस्थामा व्यक्तिहरू आउँछन् र जान्छन्, नेतृत्व परिवर्तन भइरहन्छ, साेँच र विचारहरू बन्छन् र विघटन हुन्छन् । तर संस्था, सामाजिक मूल्य र राष्ट्रिय प्रतिष्ठा पुस्तौँसम्म रहने सम्पत्ति हुन् । त्यसैले व्यक्तिको स्वार्थभन्दा संस्थाको गरिमा, कुनै पनि प्रतिस्पर्धाभन्दा राष्ट्रिय एकता, व्यक्तिगत अहंकारभन्दा सामाजिक सद्भाव र आरोपभन्दा प्रमाणलाई महत्त्व दिन सक्नुपर्छ । हामीले बोल्ने भाषा सभ्य हुनुपर्छ, प्रस्तुत गर्ने तथ्य विश्वसनीय हुनुपर्छ र गर्ने व्यवहार जिम्मेवार हुनुपर्छ । किनकि शब्दले सम्बन्ध जोड्न पनि सक्छ, तोड्न पनि सक्छ; आलोचनाले संस्था सुधार्न पनि सक्छ, कमजोर बनाउन पनि सक्छ ।

निष्कर्ष

अन्ततः, Naming ले नाम चिनाउन सक्छ, Shaming ले लज्जित बनाउन सक्छ, Blaming ले दोष थोपर्न सक्छ र Gaming ले परिस्थिति आफ्नो पक्षमा पार्न सक्छ; तर यी कुनै पनि कुराले सत्यलाई बदल्न सक्दैनन् । सत्यको पहिचान तथ्यले गर्छ, न्यायको स्थापना प्रमाणले गर्छ र संस्थाको प्रतिष्ठा इमानदारीपूर्ण व्यवहारले कायम गर्छ । त्यसैले आजको आवश्यकता कसैलाई नाम लिएर होच्याउने, दोष थोपर्ने वा स्वार्थको खेल खेल्ने होइन; सत्य बोल्ने, जिम्मेवारी लिने, गल्ती सच्याउने र संस्था र राष्ट्रहितका लागि एकताबद्ध हुने संस्कार विकास गर्नु हो । किनकि सभ्य समाजको पहिचान कसले कसलाई हरायो भन्नेमा होइन, कसले कति सत्य बोल्यो, कति न्याय गर्‍यो र समाजका लागि कति सकारात्मक योगदान दियो भन्नेमा निहित हुन्छ ।(लेखक निवृत्त सैन्यअधिकृत हुनुहुन्छ।)

प्रकाशित मिति : १२ कार्तिक २०८३, बुधबार  ७ : ०४ बजे

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३ हिलिहाङ

जापानलाई २-१ले हराउदै नाइजेरिया फिफा यु-१७ महिला विश्वकप विजेता

कठमांडौ । मोरोक्कोमा जारी फिफा यु-१७ महिला विश्वकप फुटबलमा जापानलाई

१२० ग्राम ब्राउन सुगरसहित पाँचथरका दुई जना राजधानीमा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित

किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित

बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको