मनु योङहाङ
सारकथन
प्रस्तुत लेख पुरातत्व पत्र सङ्ग्रह दोश्रो भाग सम्वत् २०१८ सालमा प्रकाशित एक स्याहामोहरको ब्यहोराको बारेमा आधारित छ । यो लेख मध्यकालको नेपाल, मोरङ(सेन ?)राज्यको राजा हरिश्चन्द्र सेनले सम्वत् १७१९ साल पुस ४ गते तत्कालिन याङरुपका राजा यलेकवा श्री र छथरका राजा खेजिम रायलाई संयुक्त रुपमा प्रदान गर्नु भएको स्याहामोहर र पल्लो किराँतको एउटा शक्तिशाली राज्य याङरुपको राजा यलेकवा श्रीसँग सम्बन्धित छ । यो लेखको मुख्य उद्देश्य त्यो स्याहामोहरको कारण पल्लो किराँतमा रहेको याङरुपले मोरङ राज्यमा पारेको सामाजिक र राजनीतिक प्रभावको विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धानको उद्देश्य पूरा गर्न चाहिने सुचनाहरु तत्कालिन याङरुप क्षेत्रका सरोकारवालाहरुबाट लिइएको छ । यसको साथै अन्तर्वार्ता, कुराकानी र छलफललाई प्राथमिक स्रोतको रुपमा र विभिन्न अभिलेखहरु, विभिन्न पुस्तकहरु तथा अन्य सहायक सामाग्रीहरुलाई सहायक सामाग्रीको रुपमा लिएर अध्ययनको उद्देश्य पूरा गर्ने कोशिस गरिएको छ । अध्ययनबाट तत्कालिन मोरङ राज्यले याङरुप राज्यका राजा यलेकवा श्री र छ थरका राजा खेजिम रायलाई विशेष सम्बोधन गरेको हुनाले ती राज्यहरु शक्तिशाली र मोरङमा प्रभाव पुर्याउन सफल देखिएको छ । तत्कालिन किरात प्रदेश अझ लिम्बुवानका राजाहरुलाई लिखित रुपमा यस स्याहामोहरबाट राय भनेर पहिलो पटक सम्बोधन गरिएको पाइएको छ । यसरी तत्कालिन याङरुपका राजा यलेकवा श्री र छथरका राजा खेजिम राय आफ्नो सेना तथा सम्बन्धको कारण याङरुप र लिम्बूवानको सामाजिक, सैनिक र राजनीतिक प्रभाव विस्तार गर्न सफल भएको निष्कर्ष निकालिएको छ ।(२०३ शब्द)
मूल शब्दावली : याङरुप, यलेकवा श्री, खेजिम राय, हरिश्चन्द्र सेन, स्याहामोहर
विषय प्रवेश
इतिहास प्रत्येक व्यक्ति, परिवार, समुदाय, समाज, राष्ट्र र विश्वको आर्थिक, राजनितिक, कुटनीतिक र वैदेशिक क्षेत्रहरुमा सम्बन्ध राख्ने र प्रभाव पार्ने हुन्छ । इतिहासको प्राचिनता र वास्तविकतालाई समसामयिक पक्ष र शब्दबाट विवेचना गरेर त्यसको अस्तित्व र चेतनालाई उजागर गर्न सकिन्छ । बर्तमान उद्देश्यहरुको लागि प्रत्येक व्यक्तिले कुनै न कुनै रुपबाट इतिहास जानेकै हुन्छ । यसप्रकार अतितले वर्तमानकालिन कौतुहुलता वा प्रश्नलाई समाधान वा जवाफ दिन सक्छ । यसरी इतिहासको कालखण्डमा कैद जीवन्त इतिहास लेखरचना र पुस्तकको रुपमा लिपिबद्ध भएर स्मरण गरिन्छन्।
सम्भवत: नेपालमा युरोपियनहरुको आगमन हुनु भन्दा पहिले इतिहास विधाको लेखनकार्यको थालनी नै भएको थिएन् । त्यो समयमा इतिहास लेखन प्रचलनको सूत्रपात हुनुभन्दा अगाडि भोजपत्र, ताडपत्र, प्रस्तर, धातु, काठआदिमा लेखिएको अभिलेख, ताम्रपत्र, शिलापत्र र हस्तलिखित ग्रन्थ र त्यसका पुस्पिका वाक्यहरुले जनाउछन् । सन् १३८९ को राजा जयस्तिथी मल्लकालिन गोपालराज वंशावलीलाई इतिहास लेखनको पहिलो पुस्तक मानिएको छ (अधिकारी, २०७६)।
अभिलेखको सम्बन्धमा भने पुस्तकभन्दा पहिलेनै संकलित भएको ठानिन्छ । सम्बत् ३८९ को राजा मानदेवको अभिलेख सबैभन्दा जेठो र सम्बत् १३९४ को पुण्यमल्लको ताम्रपत्र, सम्बत् १४१३ को पृथ्वी मल्लको कनकपत्र( इङनाम,२०७७) त्यसपछिका अभिलेखहरुमा पुरानो मानिएको छ ।
तत्कालिन शाहकfलका सरकारी कागजातहरु जस्मा रातो छाप लागेको हुन्छ, यसलाई लालमोहर र कालो छाप लागेको सेनकालिन सरकारी कागजातलाई स्याहामोहर भनिन्छ । यसकारण लालमोहर भन्दा पनि स्याहामोहर पुरानो मानिन्छ ।
नेपालको इतिहासको मध्यकालमा वा अठाह्रौ शताब्दीको आरम्भतिर पूर्वमा सेन राज्य र लिम्बूवान राज्यहरुको प्रभाव र उनीहरुको शक्ति विस्तारित रुपमा रहेको बुझ्न सकिन्छ । त्यसबेला पूर्व विजयपूरमा शक्तिशाली सेन राज्य र पहाडी भेगमा लिम्बूवान राज्यहरु रहेका थिए । यो तथ्यलाई ह्यामिल्टनले स्विकारेका छन् ।
नेपालको पूर्वभागमा रहेको सेनवंश तथा लिम्बुवानमा भने सम्वत् १७१४ को हरिश्चन्द्र सेनको स्याहामोहर नै पुरानो (ऐ)मानिन्छ । यसपछि पुरातत्व सङ्ग्रह दोस्रो भागमा सम्बत १७१९ पुस ४ मा छापिएको अर्को स्याहामोहर छ । सम्वत् १७१९ को मोरङका राजा हरिश्चन्द्र सेनको स्याहामोहर जुन पुरातत्व पत्र सङ्ग्रह दोश्रो भाग सम्वत् २०१८ सालमा छापिएको छ यही स्याहामोहर र यो स्याहामोहरको कारण तत्कालिन याडरुप थुमका शक्तिशाली राजा यलेकवा श्री र छथरका राजा खेजिम रायको मोरङसम्म पुगेको लिम्बूवानको राजनैतिक तथा सामाजिक प्रभावको बारेमा चर्चा गर्ने उद्धेश्यले यो लेख तयार गरिएको छ ।
इतिहासको समग्रतालाई नियाल्दा इतिहास भनेको समाजको र समग्र नागरिकको रचना हो । वर्तमान युगमा समग्र नेपालमा आत्मसम्मान र पहिचानको साथ गर्वले शिर ठाडो पारेर आफ्नो परिचय दिन सकिने परिवेशमा पूर्वी लिम्बूवान र अझ गोर्खालीविरुद्ध डटेर लड्ने याङरुपथुमकै(जस्लाई वीर नेम्बाङज्यूले राज्य भन्नुभएको छ ।) चौधौ शक्तिशाली राजा यलेकवा श्री र छथरको खेजीम रायको पराक्रमको चर्चा र नसुनिएको पाटो र यसले लिम्बुवानको र मोरङको प्रभावको तथ्य उजागर गर्ने परिप्रेक्ष्यमा यो लेख तयार गरिएको छ ।
उद्धेश्य
यो लेखको उद्धेश्य निम्नानुसार रहेको छ-
- सम्बत् १७१९ पुस ४ गते मोरङका राजा हरिश्चन्द्र सेनले याङरुपका राजा यलेकवा श्री र छथरका राजा खेजिम रायलाई दिएको स्याहामोहरको विश्लेषण गर्नु ।
- याङरुपका राजा यलेकवा श्रीको चिनारी गराउनु र
- याङरुप र लिम्बुवानको मोरङमा पारेको सामाजिक प्रभावको विश्लेषण गर्नु ।
अध्ययन विधी
यो लेख विशेषत: गुणात्मक प्रकृतिको रहेको छ । यो एक ऐतिहासिक लेख भएकोले वर्णनात्मक र विश्लेषणात्मक विधी अपनाइएको छ । प्राथमिक स्रोतको रुपमा सरोकारवालासँग अनियमित अन्तर्वार्ता(Snowball Sampling) र पुस्तक, लेखरचनालाई द्वितियक स्रोतमा रुपमा लिइएको छ। विशेषत: द्वितियक स्रोतमा आधारित अध्ययन भएकोले यसमा पुस्तकालिय प्रक्रिया अपनाइएको छ । स्याहामोहर सम्बन्धमा विभिन्न पत्रपत्रिका, लेखरचना र पुस्तकको उपयोग गर्दै व्याख्या, विवरणात्मक र विश्लेषणात्मक रुपमा लेख तयार गर्ने प्रयास गरिएको छ ।
मूल विश्लेषण
यो लेखलाई निम्नानुसार बुँदागत रुपमा व्याख्या र विश्लेषण गरिएको छ ।
लोहाङ सेन र विजयपुर
लोहाङ सेन पाल्पाली राजा मुकुन्द सेन प्रथमका कान्छा छोरा थिए । उनले विक्रम सम्वत् १६१० मा मकवानपुरलाई स्वतन्त्र राज्य घोषणा गरे(घिमीरे, २०१६)। फेदापका राजा मुरेहाङलाई तत्कालिन विजयपुरका राजा विजयनारायणले चोतारा बनाए । यससम्बन्धमा ह्यामिल्टन आफ्नो सन् १८१९ मा प्रकाशित पुस्तक अन एकाउन्ट अफ किङडम अफ नेपालमा सविस्तार बयान गर्नुहुन्छ-राय पद प्राप्त गरेका मुरेहाङ खेवाको वंशलाई विजयपुरका राजाले हत्या गराउन सक्ने भएता पनि चोतारा पदबाट हटाउन नसक्ने प्रतिज्ञा गरे ।
यसरी चोतारा बनेको मुरेहाङ खेवाङलाई विजयनारायणको छोरीले मन पराउदैन् थिन । उनी म्लेच्छ र सुङ्गुरको मासु खाने फोहोरी र असभ्य जस्ता आरोपहरु लगाउथिन् । यसरी असह्य भएपछि एकदिन चौतारा मुरेहाङ र राजकुमारीबिच द्वन्द बढ्यो । यही द्वन्दको कारण राजकुमारीलाई हातपात गरेको र राजकन्याको इज्जत लुटेको सङ्गिन आरोप लगाएर वृद्ध राजा विजयनारायण सेनले चौतारा मुरेहाङलाई फाँसी दिए (ह्यामिल्टन, १८१९) ।यो तथ्यलाई मदन पुरस्कार विजेता भगीराज इङनाम समर्थन गर्नुहुन्छ । उहाँ आफ्नो पुस्तक लिम्बुवानको अभिलेख सङ्ग्रहमा लेख्नु हुन्छ-लिम्बुवान विजयपुरका राजा विजयनारायण रायले चौतरिया मुरेहाङलाई मृत्युदण्ड दिए ।
योङहाङ वंशावलीअनुसार फेदापका राजा मुरेहाङ खेवा याङरुपका बाह्रौ राजा स्वरुपहाङको राजकुमारी थोक्फेलाको श्रीमान थिए । उनीहरुबाट जन्मिएको छोरा बाजहाङ खेवाङ यसरी याङरुपका भान्जा थिए । यसरी पारिवारिक सम्बन्धको कारण स्वभावैले विजयपुरको आशिर्वाद पाएर याङरुप थुम लिम्बुवानको अन्य थुमहरुभन्दा शक्तिशाली र प्रभावशाली पक्कै रहेको अनुमान गर्न सकिन्छ ।
यसरी आफ्नो भिनाजु मुरेहाङ खेवाको हत्या भएपछि बदला लिन भान्जा बाजहाङ खेवाङसँग मिलेर याङरुपका राजा बलिवन्तले मकवानपुरका राजा लोहाङ सेनलाई गुहारे । लोहाङसेन पनि आफ्ना सैनिकको साथ पूर्वका स-साना राज्यहरु विजय गर्दै विजयपुरका राजा बने(चेम्जोङ, २०५९)। यसरी अघि बढेका लोहाङ सेनले खर्साङका लेप्चा राजा तर्पे पुनुलाई गिद्धे पहाडमा हराएका थिए । तर अफसोस तर्पे पुनुको विषालु वाण लागेर लोहाङ सेनलाई सहयोग गर्न गएका बाजहाङ खेवाङको साथै याङरुपका राजा बलिवन्तले वि.सं. १६७५ मा वीरगती प्राप्त गरे(चवेगु, २०६४) । लोहाङ सेनले पनि तर्पे पुनुको हत्या गरेर मित्रहरुको मृत्युको बदला लिए । यहाँ बिचारणिय कुरा भने लोहाङसेनको मकवानपुर स्वतन्त्र सन् १६१० हुँदा भने क्रोनोकन्ली समय मिल्न जान्छ ।
यसरी फर्किएका लोहाङ सेनले बाजहाङका छोरा पानोहाङ खेवाङलाई चोतारा बनाउनुको साथै विद्याचन्द्र राय नामाकरण गरेर फेदाप र याङरुपलाई स्वशासनको अधिकारसहित ताम्रपत्र गरिदिए । इङनामको अनुसार यसरी सेन राजवंश र लिम्बूवानका लिम्बूहरुविच पवित्र सम्बन्ध कायम भयो ।
के छ त स्याहामोहरमा ?
तत्कालिन मकवानपुरका राजा लोहाङ सेनसँग याङरुपका राजा बलिवन्तको साथै फेदापका बाजहाङ खेवाङको सम्बन्ध प्रगाढ रहेको थियो(चवेगु, २०६४) । यसै क्रममा उनकै नाति हरिश्चन्द्र सेनदेवबाट सम्वत् १७१९ पौष ४ गते अर्को स्याहामोहर उनका पिता यलेकवा श्रीलाई प्राप्त भएको थियो । सम्बत् २०१८ सालमा प्रकाशित पुरातत्व पत्र दोस्रो भागमा उल्लेखित सो स्याहामोहरमा मकवानपुरको भलो चिताएर आफ्नो खायनपायनमा बस्न भनिएको छ । हिलिहाङ गाँउपालिकाका प्रधानाध्यापक दिपेन्द्र योङहाङ यसलाई मकवानपुरका राजा लोहाङ सेनकै याङरुपलाई दिइएको स्वशासनको अर्को रुप ठान्नुहुन्छ । यो भनाइलाई समर्थन गर्दै सिदिङ्वाको प्रधानाध्यापक राजेन्द्र इधिङ्गोले थप्नु भयो- बुबा बलिवन्तले लोहाङ सेनसँग नजिकको सम्बन्ध बनाएर रोप्नु भएको बृक्षको फल छोरा यलेकवा श्रीले पाउनुभयो ।
सो स्याहामोहरमा भनिएको छ-
मोहर
स्वस्तिश्री रुपनारायण त्यादि विविध विरुदावलीविराजमान मनोन्नत महाराजाधिराज—१ औ श्री श्री हरिश्चन्द्रसेन जीव श्री श्री श्री वृषसेन जीव देवनाम् सदा समर विजयीनाम्——–
तमरी हिराऐ औ नाम देखि मुनि टुमराये औ यलेकवा श्री राये खेजिम राये—थि दउ राये गैरहराय आशिषपूर्वक त्युपत्र कार्जन्च आगे सबना—हाज महिलहदिते—शाचूनहजह मुवह मति चिताइ रहसन औलिते तोले पात्र आफन आतिरजाम शै आवाइ जेहातन दूर धन्हो कप्पा यवानाहिंसे मर्जा दातो हही सजूर ऐसे परही इव इति सम्बत १७१९ साल पुस सुदि ४ मोरुङ—
स्याहामोहरको विषयसार र विश्लेषण
यो स्याहामोहरको शुरुमा मोरङका राजा हरिश्चन्द्र सेनदेवको प्रशस्ति गाइएको छ भने वृषसेन जीव देवलाई युद्धमा विजयी हुन भनिएको छ ।
यलेकवा श्री राये, खेजीम राये, थिदेउ राये र गैरहराये लगायतका लिम्बु राजाहरुलाई अशिर्वाद दिइएको छ । स्याहामोहरमा भनिएको छ -हाम्रो भलो चिताएर काम गर्नु । आ-आफ्नो खातिरमा रहनु । पहिलेको सहित यहाँबाट टाढा यवानासम्मको जग्गा दिइएको छ ।
यो स्याहामोहरबाट के विश्लेषण गर्न सकिन्छ भने मोरङका राजा हरिश्चन्द्र सेनबाट अघि लोहाङ सेनकै पालामा दिइएको छथर र याङरुप सहित अन्य थिदेउ र गैरहरायैको राज्यलाई पनि स्वशासनको अधिकार दिइएको थियो । यसबाट लिम्बुवानका थप राज्यहरु स्वतन्त्र भएको जनाउ दिन्छ । के भन्न सकिन्छ भने याङरुप र छथरको स्वशासनबाट प्रभावित भएर छिमेकी अन्य राज्यहरु समेत मोरङमा प्रभाव विस्तार गर्न सफल भए फलत: थि देउ राय र गैरह रायले स्वशासनको स्याहामोहर पाउन सफल भए । याङरुप र छथरको छिमेकी राज्यहरु भएकोले थि देउ राये चारखोलको र गैरह राय तेह्रथुमको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
यो स्याहामोहरबाट याङरुप र फेदाप लगायत लिम्बुवानको प्रभाव मोरङमा परेको प्रष्टिन्छ । यो तथ्यलाई समर्थन गर्दै लिम्बुवान मुक्ति मोर्चाको अध्यक्ष वीर नेम्बाङ आफ्नो पुस्तक लिम्बुवानको रामकहानीमा लेख्नुहुन्छ-विजयपुरमा लिम्बुवानको प्रभाव विस्तार भएको हो । उता मदन पुरस्कार विजेता भगीराज इङनाम आफ्नो पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङग्रहमा समर्थन गर्नुहुन्छ- सेनकालिन स्याहामोहरबाट राय पद सहित खान्गीबापत जग्गा दिइएको हो ।
को हुन त यलेकवा श्री र खेजिम राय ?
योङहाङ वंशावली अनुसार यो स्याहामोहरमा उल्लेख गरिएका यलेकवा श्री याङरुपका चौधौ राजा हुन् । पिता बलिवन्तको लोहाङ सेनलाई गिद्धेपहाड युद्धमा सहयोग गर्दा लेप्चाहरुको विषालु वाण लागेर भान्जा बाजहाङ खेवाङसँगै निधनपछि उनी सानै उमेरमा वि.सं. १६७५ तिर याङरुपका राजा भएका थिए (योङहाङ वंशावली, २०७९)।
उनकै राज्यकालमा सिक्किमका राजा फुन्चो नाम्गेलसँग सन् १६४४ मा गेजिङमा युद्ध पछि सम्झौता भयो । सम्झौतानुसार उनले आफ्नो छोरी राजकुमारी थुङ्वामुक्मा सहित सातजना लिम्बुनी चेलीहरुको विवाह सिक्किमका सातजना दरबारियाहरुसँग गराए । अरुणभ्यालीको योयोहाङ राजकुमारी थुङ्वामुक्माको विवाह राजकुमार तेन्सुल नाम्गेलसँग सन् १६६० मा भएको थियो (नाम्गेल, १९०८) । थुतेब नाम्गेलले आफ्नो पुस्तक सिक्किमको इतिहासमा थुङ्वामुक्माको एक छोरा गूरु र छोरी पान्देरिङ ग्याल्मो रहेको उल्लेख गरेका छन् । यसबाट उनको सिक्किममा एक भान्जा र उक भान्जी रहेको बुझिन्छ । तर आफ्ना भान्जा गुरुलाई राजगद्धी नदिइएकोमा उनी असन्तुष्ट थिए । सायद यही असन्तुष्टीले सिक्किम र याङरुपको सम्बन्ध केही समयसम्म नराम्रो भएको हुन सक्छ जस्को कारण याङरुपकै तेअङसी सिरिजङ्घाले मृत्युवरण गर्नु पर्यो ।
उनकै पालामा वाजहाङ खेवाङको छोरा पानोहाङ खेवाङ जो पछि विद्याचन्द्रले चिनिए विजयपुरको चोतारा बनाइएको हुनाले उनको प्रभाव मोरङमा देखिन्छ । यही प्रभावकै कारण राजा हरिश्चन्द्र सेनदेवले सन् १६६२मा स्याहामोहर दिएको प्रष्टिन्छ ।
खेजिम राय खजुम हुनसक्छ भने थि देउ राये र गैरह राय को थिए ? खोजीको विषय हुनसक्छ । याङरुप र छथरको छिमेकी भएकोले चारखोल र तेह्रथुमको राजा भएको अनुमान गर्न सकिन्छ ।
याङरुप र लिम्बुवानको मोरङमा पारेको सामाजिक प्रभाव
यो स्याहामोहरको अध्ययनबाट विदेशी भूमि सिक्किम सहित मोरङमा याङरुप र लिम्बुवानको राजनीतिक प्रभाव परेको देखिन्छ । लोहाङ सेनकै पालादेखि रहेको प्रभाव राजा हरिश्चन्द्र सेनको पालामा अझ बढि विस्तार भएर थप जग्गा र खायनपायन यो स्याहामोहरबाट थपिएको प्रष्टिन्छ ।
अघि विजयनारायण सेन सहित लोहाङ सेनकै पालादेखि परेको याङरुप र लिम्बुवानको प्रभावलाई निरन्तरता दिदै थप जग्गा र खायनपायन थपिनुले लिम्बुवानको सामाजिक र राजनीतिक प्रभाव अझ विस्तार भएको छर्लङ्ग हुन्छ । याङरुप र छथरसहित तत्कालिन समयमा चारखोल र तेह्रथुमको प्रभाव मोरङमा पुगेको यो स्याहामोहरले सहजै देखाउछ ।
यस सन्दर्भमा हिलिहाङका पत्रकार रिता थाम्सुहाङ तर्क गर्नुहुन्छ–मकवानपुरको राजा लोहाङ सेनको समयदेखि उनको पनाती जनाती शुभसेन, विधाता इन्द्र सेन र बुहारी इन्दुराजेश्वरीसम्म याङरुपको सामाजिक प्रभावले त्यो समयमा तत्कालिन याङरुप शक्तिशाली रहेको पुष्टी हुन्छ । उहाँको भनाइलाई हाल क्रोसियामा रहनु भएको थेचम्बूका पुर्व भारतिय सैनिक दिपेन्द्र मेयाङ्बो समर्थन गर्नुहुन्छ । उहाँको दावी छ– निश्चय नै मोरङबाट त्यो समयमा खायनपायन सहितको स्याहामोहर पाउनु चानचुने कुरा होइन् ।
निष्कर्ष
यो स्याहामोहर नै तत्कालिन लिम्बूवानका लिम्बूहरुलाई राये भनेर सम्बोधन गरिएको पहिलो स्याहामोहर भएको हुनाले यो स्याहामोहरले लिम्बुवान इतिहासमा ठूलो महत्व राख्छ । स्याहामोहरमा सम्बोधन गरिएबाट लिम्बुवानको शक्तिशाली राज्यहरुमा तत्कालिन याङरुप र छथरको प्रभाव मोरङसम्म पुगेको घाम झै छर्लङग हुन्छ ।
तत्कालिन मोरङ राज्यका राजा हरिश्चन्द्र सेनले याङरुप राज्यका राजा यलेकवा श्री र छ थरका राजा खेजिम राय सहित अन्य राजाहरुलाई विशेष सम्बोधन गरेको हुनाले ती राज्यहरु शक्तिशाली र मोरङमा प्रभाव पुर्याउन सफल देखिएको छ । तत्कालिन किरात प्रदेश अझ लिम्बुवानका राजाहरुलाई लिखित रुपमा यस स्याहामोहरबाट राय भनेर पहिलो पटक सम्बोधन गरिएको पाइएको छ । यसरी तत्कालिन याङरुपका राजा यलेकवा श्री र छथरका राजा खेजिम राय आफ्नो सेना तथा सम्बन्धको कारण याङरुप र लिम्बूवानको सामाजिक, सैनिक र राजनीतिक प्रभाव विस्तार गर्न सफल भएको प्रष्टिन्छ ।
विजयनारायण सेन सहित लोहाङ सेनकै पालादेखि परेको याङरुप र लिम्बुवानको प्रभावलाई निरन्तरता दिदै थप जग्गा र खायनपायन थपिनुले लिम्बुवानको सामाजिक र राजनितिक प्रभाव अझ विस्तार भएको छर्लङ्ग हुन्छ । याङरुप र छथरसहित तत्कालिन समयमा चारखोल र तेह्रथुमको प्रभाव मोरङमा पुगेको यो स्याहामोहरले सहजै देखाउछ ।
सन्दर्भसामाग्री
अधिकारी, डा. बमबहादुर(२०७६) नेपाली आदिबासी सन्दर्भमा गोपालीहरुको इतिहास, डिकुरा प्रकाशन ।
इङनाम, भगिराज(२०७७) लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह, अतित इङनाम ।
इधिङ्गो, राजेन्द्र(२०८१) कुराकानीमा आधारित ।
चेम्जोङ, इमानसिंह(२०५९) किरातकालिन विजयपुरको इतिहास कियाचु
जवेगु, भिमविक्रम सिंह(२०६४) किरात सेनेहाङ लिम्बू वंशावली, थेगिमहाङ प्रकाशन ।
थाम्सुहाङ, रिता(२०८१) कुराकानीमा आधारित, हिलिहाङ डटकम
नाम्गेल, थुतोब (१९०८) हिस्ट्री अफ सिक्किम, काजी दौसान्दुप ।
नेम्बाङ, वीर(१९८७) लिम्बूवानको रुपरेखा, क्षितिज प्रकाशन ।
पुरातत्व-पत्र संग्रह दोस्रो भाग(२०१८) श्री ५ को सरकार ।
मेयाङ्बो, दिपेन्द्र(२०८१) कुराकानीमा आधारित ।
योङहाङ, अमृत र अन्य(२०७९), योङहाङ वंशावली, किरात योङहाङ कुलवंश प्रतिष्ठान ।
योङहाङ, दिपेन्द्र(२०८१) कुराकानीमा आधारित ।
ह्यामिल्टन, एफ(१८१९) अन एकाउन्ट अफ किङडम अफ नेपाल, एसियन पब्लिसिङ हाउस ।
हिलिहाङ डटकम(२०८२/०१/०५) ।
प्रतिक्रिया