३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कथा-हिरा मीसकाे कक्षा र डाइबरे दाई



लक्ष्मीपुजाकाे दिन केहि सामान किन्न पसल जादै गर्दा धेरै वर्षपछी डाइबरे दाई भेटिनु भाे।

“दाजै सेवाराे”मैले नमस्ते गरे।

“भाग्यमानी भएस्”दाईकाे जवाफ ।

“अनि सन्चै हुनुहुन्छ नि कैले आउनु भा काे ?”मैले साेधिपठाएँ।” बिस वर्षपछि  तिहार मान्न आउदैछु हाै” दाईले जवाफ दिनुभयाे।

सिक्किम रम्फुबाट दुई दशकपछिकाे दाजु र भाईकाे भेटघाट पारिवारिक गफमा रुमल्लिदै गर्दा दाईले अनायसै साेध्नु भाे “भाई त्याे हिरा मीस छ नि अचेल कता पाे छ हाै सपनामा देख्छु त कैलेकैले ”

” हिरा मिस ” म  छक्कै परे। मनमा दुविधा आयाे। जीन्दगीमा थुप्रै हिरा मिसहरुसँग साक्षात्कार गरियाे।

स्कूल पढ्दा हिरा पराजुली,कलेज पढ्दा हिरा बराल, हिरा लम्साल र जागिरमा हिरा शर्मा।

मलाई अलमलमा परेकाे देखेर डाईबरे दाईले थप्नु भाे”त्यहि अमरपुरकाे हिरा मिस,के ”

“ह.. हिरा मिस”पैतिस वर्षअघिकाे घटना सर्लक्कै चलचित्र झै मनमा आयाे।


सिटे डाडामा रहेकाे घुमाउने चाैतारा अलि तल अमरपुर बजार र माथि अमरपुर स्कुल हामीले पढ्ने विद्यालय।नाङ्गे डाडाबाटतेर्सै तेर्साे हिडेपछि हामी घुमाउने चाैतारामा सुस्ताउथ्याै,घरबाट हिडेकाे एक डेढ घन्टापछि हामी र हाम्रा साथीहरु।

गर्जमान,धनमान हरिलाल र नरबहादुर अर्थात डाईबरे दाई र म।

गर्जमान खास नाम त गम्भिरमान हाे तर ग्याष्टिककाे राेगी जहिलेपनि ठूलाे आवाजमा पाद्ने हुनाले डाईबरे दाईले ए गर्जे नगर्जी भन्दाभन्दै गर्जमान रहेकाे उसकाे नाम।

धनमान नाम मात्रै तर दरिद्रताकाे पर्याय ।हरिलाल सबैभन्दा साेझाे,गर्जे, धने र डाईबरे दाईकाे सिपाही अनि म सबैभन्दा सानाे ।

र डाईबरे दाई सबैभन्दा ठुलाे र छिप्पिएकाे ग्रुपकाे लिडर कक्षाभरिकै सबैभन्दा ठूलाे र बुद्धु जसाेतसाे कक्षा चढ्दै आइरहेकाे र भनिरहने”अरुहरु गाडीकाे डाईबर, म चाही गाडीबिनाकाे डाईबर” ।अन्तत नरबहादुर हराएर डाईबरे नै नाम रह्याे।

पाँचथरकाे त्याे लिम्बू गाँउकाे एउटैमात्र विद्यालय।टाढाटाढाबाट विद्यार्थीहरु आउने, हामीपनि डेढ घन्टा  हिडेर जान्थ्याै अमरपुर मावि पढ्नलाई र धेरै नै विद्यार्थीहरु हुन्थ्याे कक्षामा ।

हामी कक्षा सातमा पुगेकाे बेलाकाे कुरा हाे नेपाली पढाउने नयाँ गुरुआमा आउनु भयाे हिरादेवि पराजुली।

लिम्बु भाषामा हिराकाे अर्थ अलि अश्लिल हुन्छ।त्यसैले कक्षाकाे सबैभन्दा ठूलाे डाईबरे दाईले पहिलाे परिचयमा नै गुरुआमालाई अनाैठाे मान्नु भाे।

“नानीहरु हाे,म,हिरा मीस”

“हाेइन,मिसकाे नाम  के पाे रे?”अरु बेला नबाेल्ने डाइबरे दाईले साेध्नु भयाे।

“म, हिरा, हिरादेवि पराजुली” गुरुआमाकाे स्वाभाविक जवाफ।

“साँच्चिकै हिरा नि” डाईबरे दाई लजाउनु भयाे।

अरु विद्यार्थीहरुले बुझे बुझेनन् तर कक्षाका ठूलाखाले लिम्बू विद्यार्थीहरु गुरुआमाकाे कक्षापछि पनि धेरैबेरसम्म गुरुआमाकाे नाम सम्झदै हाँसीरहे।

डाईबरे दाईकाे अर्काे किस्सामा ओखर टिप्न जाँदाकाे सम्झिएँ।

साउनकाे महिना स्कूल छुट्टीमा हामीलाई माइलामुखे टारमा ओखर टिप्न डाईबरे दाईले एकाबिहानै उठाएर लैजानुहुन्थ्याे।

छन पनि थियाे नि माईलामुखे टारमा विभिन्न खाले ओखरहरु,ठूलाखाले,सानाखाले.चुच्चे,लाम्चे,सुपारे . हामी प्रत्येकले कम्तिमा पनि सय ओखर भेट्थ्याै।

एक बिहानकाे कुरा हाे डाईबरे दाईले अघिल्लै दिन उर्दि लाउनु भाे,भाेली माइलामुखे टार ओखर खाेज्न जाने भनेर।हामी पनि ब्यग्रताकाे साथ बिहानिकाे पर्खाईमा सुत्याै।

नभन्दै भाले बास्याे पहिलाेचाेटी, हामी जम्मा भयाै र लाग्याै उकालाे माइलामुखे टार।तर बाटेमा छ भारती काकाकाे घर र काकाकाे जखमले भाेटे कुकुर र कुकुरकाे गाउ नै थर्काउने भुकाइ भ्वाङ भ्वाङ।

हामी बिस्तारै लसकलसक हिड्दै नै थियाै डाईबरे दाईकाे पछिपछि,भारती काकाकाे घरछेउ के पुगेका न थियाै कुकुरले थाहा पाइहाल्याे र गाउँनै थर्काउने गरि भुक्दै हामी तिर आयाे।

म त कुच्रुक्क परेर बसेँ र डाईबरे दाईले हाटहुट गर्दै कुकुरलाई हप्काउनु भाे तर कुकुर भागेन र भुक्न पनि छाडेन।

अब डाईबरेकाे रिसकाे पाराे चढ्याे र छेउकाे ढुङ्गाेले हिर्काउन खाेज्नु भाे तर अफसाेच ढुङ्गाे उक्काउन नसकेर कराउनु भाे,”तेरिमा सैमाने, एस्सिमा …”

भन्नु नभन्नु भारतीकाकालाई गाली गरेपछि मैले डराइडराइ साेधे”कुकुरचाँहि भुक्ने तर गालीचाँही काकालाई?”

दाईले मलाई हप्काउनु भाे”तेराे आँखा कि मटेड्ग्रा हँ, देखिनस् ढुङ्गा याे”

“ढुङ्गा नै त हाे ” मैले जवाफ दिएँ।

डाईबरे दाई अझै कराउनु भाे “बाँध्ने  कुकुर छाड्छ, हान्ने ढुङ्गा बाँध्छ, तेस्सिमा साइदुवा, सैमाने”

भदाैकाे कुनै दिन हाम्राे घरमा  कान्छी फुपु पाहुना आउनु भयाे पारी आठराई ह्वाकुबाट कृष्णाष्टमी मेला भर्न समेत भनेर।

चारकान्लामाथी हाम्राे घर  र चारकान्ला तल नयाँघर्नी काकी अर्थात डाईबरे दाईकाे घर। सुङ अर्थात काेशेलि पनि पुग्याे काकीकाे घरमा र बाढेर खायाै हामीले।

कान्छी फुपु आउनु भएकाे पर्सीपल्ट डाईबरे दाइ काे घरमा फुपुलाई खाना ख्वाउन लाने निधाे भयाे।

बिहानै नयाँ घर्नी काकीले डाईबरे दाईलाई फुपु बाेलाउन हाम्राे घरमा पठाउनु भयाे  एक आठपाेल मासु र पकाउने कराही पनि।

“तुम्मा, तुम्मा फुपुलाई हाम्राेमा पठाईदिनु रे अनि मासु र कराही पनि” डाईबरे दाईले एकैसासमा भन्नु भाे।

आमाले कराही दिनु भाे अनि थालमा एकआठपाेल मासुपनि।

फुपुले एकछिनपछि जाने कुरा गरेपछि डाईबरे दाई हातमा मासुकाे थाल र टाउकाेमा कराही ओढेर घर फर्कनु भाे गीत गाउदै” दिङ्गला कान्छीलाई दिङ्गला,कान्छीलाई झिल्केले लैजाला”

नजिकैकाे चिउरीकाे बाेटमा बसेकाे कागले एकै झम्टाइमा डाईबरे दाईकाे हातमा भएकाे थालबाट मासु उडायाे एक आठपाेल।कागले मासु लैजादा हाटहुट गरेर दाई बेस्सरी हाँस्नुभाे।

माथि आँगनकाे डिलबाट आमाले डाईबरे दाई हाँसेकाे सुनेर बाेलाउनु भाे'”ए डाईबरे किन हाँसिस त ?”

“तुम्मा हाँस्छु त हाँस्ने कुराे जाे छ नि”

“के भाे त्यस्ताे”

“काग देखेर नि”

“धत्मुर्ख कमिला देख्दा हाँस्छस् ,झिङ्गा देख्दा हाँस्छस् ,कागले के गर्याे नि फेरि हाँस्नुपर्ने?”

“तुम्मा त्याे काग कति लाटाे हाै?”

“के भन्छ हाै याे डाईबरे?”

“मासु त लग्याे अब के मा पकाएर खान्छ नि? कराही त मेरै टाउकाेमा छ हि हि हि ह”

“धत् मुर्ख ,अब फुपुलाई के ख्वाउछस् कागलाई मासु ख्वाएर ?”आमाले दिक्क मान्नु भयाे ।

दशै सकियाे तिहार पनि सकियाे।मङ्सिरकाे कुनै दिन, हिरा गुरुआमाले हामीलाई नेपाली ब्याकरणमा समास पढाउनु भाे। समासमा सँयाेजक लाेप हुने थुप्रै उदाहरणहरु दिनु भयाे।

दिन र रात-दिनरात

आज र भाेली-आजभाेली

समासबारे प्रष्ट पारेपछि कक्षालाई साेध्नु भयाे।

“फल र फूल के हुन्छ ?”

“फलफूल,गुरुआमा” मैले जवाफ  दिएँ।

“गम्भिरमान,बन र जङ्गल के हुन्छ ?”

“बनजङ्गल ,गुरुआमा” गर्जेले जवाफ दियाे।

“अब नरबहादुरकाे पालाे ,केटा र केटीकाे के हुन्छ नि?”

“गुरुआमा मैले बुझिन,फेरि भन्नु त”डाईबरे लजायाे।

“दिन र रातकाे समास दिनरात हुन्छ भने केटा र केटीकाे समास के हुन्छ? भन त” हिरा गुरुआमाले साेध्नु भयाे।

“बिहे हुन्छ गुरुआमा” अचानक डाईबरे दाईकाे जवाफले कक्षाभरी हाँसाेकाे फाेहाेरा फुट्याे।

‘धत्, बिहे हाेइन, समासमा केटाकेटी हुन्छ” हिरा गुरुआमा हाँस्नुभयाे।


बिस वर्षपछी सिक्किमकाे रम्फुबाट तिहार मान्न आउनु भएकाे डाईबरे दाई र हामीलाई नेपाली पढाउनुहुने हिरादेवि पराजुली गुरुआमा सम्झदै म चाँहि घरतर्फ फर्किएँ।

 

 

 

 

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ०५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु