६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङरुप तथा गोर्खाली राज्य विस्तार र समाजशास्त्र: पृथ्वीनारायण शाहको औशी पक्ष असोज ३० गते बुधवारको लालमोहरको एक विश्लेषण




राज्य विस्तार र राष्ट्रिय एकीकरणको समाजशास्त्र: पृथ्वीनारायण शाहको १८३१ सालको लालमोहरको एक विश्लेषण-मनु योङहाङ, नेपाल खुला विश्वविद्यालय

विषयप्रवेश

इतिहास केवल विगतको घटनाक्रम मात्र होइन, यो वर्तमानको सामाजिक संरचना र भविष्यको मार्गचित्र पनि हो( इङनाम, २०८१)। प्रकाशमा आएको (वा ऐतिहासिक महत्त्वका रूपमा चविगतका कुनै खास घटनाक्रम वा समयावधिलाई आरम्भमा स्मरणद्वारा र पछि लेख्य परम्पराको विकास भएसँगै लिखित कथाका रूपमा पुस्तान्तरण गरी मानिसले इतिहास बनायो र जोगायो, जसलाई वर्णन इतिहास (न्यारेटिभ हिस्ट्री) भनियो । इतिहास लेखनको वर्णनात्मक परम्पराले प्रामाणिकताका लागि प्राथमिक स्रोतहरूको विश्लेषणलाई मानक बनाउन थालेपछि इतिहास थप विश्वसनीय हुँदै गयो (योङहाङ, २०८२)।

उद्देश्यवादी (टेलिओलोजिकल) इतिहास लेखनका विषयहरू प्राथमिक स्रोतबाट क्रमशः उपलब्ध तथ्यका कारण रोमाञ्चक मात्र बनेनन्, इतिहास सामान्य मान्छेले पनि बनाउन सक्छ भन्ने तथ्य स्थापित भयो अनि, इतिहास समाजको वा समुदायको भयो, जनसाधारणको भयो(अधिकारी, २०७७) ।

इतिहास भनेको कालपरिवर्तनात्मक कथाको भाषिक रचना हो । इतिहासको लोकप्रियतासँग कथा भन्ने र सुन्ने मानवीय भावनाको आसक्ति गाँसिएको छ। इतिहास केवल घटितहरूको सङ्ग्रह होइन। अतीतका सन्दर्भले मानव सभ्यताको वर्तमान र भविष्यलाई पार्ने प्रभावको चिन्तन गर्दै इतिहासको दार्शनिक अध्ययन हुनुपर्छ भन्ने विचार प्रबोधनकालीन फ्रान्सेली विद्वान् भोल्तेयरले प्रकाशमा ल्याए । जर्मन विचारक हेगेलले फिलोसफी अफ हिस्ट्री पुस्तक मार्फत भोल्तेयरको इतिहास चिन्तनलाई थप विस्तार गरे । हेगेलको दर्शनले भन्छ- इतिहासबाट पाठ सिकेर नयाँ इतिहासको रचना गर्न सक्नु नै इतिहास बदल्नु हो । इतिहासमा फर्केर घटनाहरू बदल्न सकिँदैन। तर, तिनको औचित्यपूर्ण पुनर्ब्याख्या गर्न सकिन्छ जसले इतिहासलाई सदैव गतिशील र प्रासङ्गिक राख्छ ।

 इतिहास भनेको भूतकालको वैज्ञानिक अध्ययन हो । भनिन्छ, इतिहास जित्नेको मात्र लेखिन्छ हार्नेको लेखिंदैन । इतिहासको गर्भमा कैयन सभ्यताहरु मौलाए,कैयन विलाएर गए। विजेताहरुले आफ्नो इतिहासलाइ सुन्दर र कलात्मक रुपमा पेश गरे भने हार्नेहरुको वैभवशाली इतिहासपनि गुमनाम बन्न गयो। कलात्मक वा गुमनाम जे भएतापनि कुनै न कुनै रुपमा सभ्यताले इतिहास बोलेको हुन्छ, विगतको कालखन्डलाई केहि न केहि चिनोको रुपमा छाडेको हुन्छ । आफ्नो अस्तित्व र पहिचानलाई कतै न कतै कुनै न कुनै रुपले दर्शाएको हुन्छ । यहाँ यस्तै इतिहासको कालखन्डमा विर्सिएको दुई सय बाउन्न वर्षअघिको एउटा ऐतिहासिक राज्य याङरुप थुमको इसलिम्बा, च्याङथापु, अम्बरपुरको सामाजिक प्रभावको बारेमा खोजी गरिएको छ । लालमोहरको सामान्य परिचय साथै लालमोहरमा वर्णित पदावलीहरु श्रोत, अर्थ तथा प्रसङ्गको आधारमा तत्कालिन लिम्वूवान र विशेषत: याङरुप क्षेत्र बारेमा विश्लेषण गरिएको छ । तत्कालिन याङरुप थुममा पर्ने इसलिम्बा, च्याङथापु, कनकाइ तथा विजयपुरका देवान बुद्धिकर्ण खेवा र उनको हात्ती खोस्न गोर्खाले गरेको षड्यन्त्रको ऐतिहासिक तथ्यको बारेमा चर्चा गरिएको छ ।

इतिहास प्रमाणित गर्ने मुख्य आधार लिखत् नै हो । ताडपत्र, भोजपत्र, शिलालेख, मुद्रा आदिमा रहेका अक्षर र भाका तथा ती भाका जारी भएको सम्वत्अनुसार इतिहासका घटना र कालखण्ड निर्धारण गर्न सकिन्छ । युनानी इतिहासमा इतिहासको पिता भनिने हेरोडेटस(४९०-४२५इपु)ले वर्णनको अत्यन्त सुन्दर शैलीबाट इतिहासलाई उठाए । अर्का युनानी इतिहासकार थुसिडिट्स(४५४-३९९इपु)ले प्रक्रिया, तथ्य र यथार्थतालाई जोड दिए । रोमन इतिहासकारहरुमा भने लिभी(१९इपु-१७) र टासीडुस(५५-१२०) प्रसिद्ध छन् भने मध्यकालिन इतिहासकारमा सेन्ट अगस्टाइन(३५४-४३०) प्रख्यात छन् । नेपालको सन्दर्भमा भने बाबुराम आचार्य(१८८७-१९७२)लाई इतिहास शिरोमणी भनिएता पनि अन्य इतिहासकारहरुको प्रयास तथा खोज रहेको पाइन्छ । बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, भिमबहादुर पाण्डे, नयराज पन्त, महेश चन्द्र रेग्मी र धनबज्र बज्राचार्य आदि अन्य शोधकर्ताहरु हुन् । उता पूर्वको लिम्बुवान क्षेत्रको आदि र मध्यकालिन इतिहासको बारेमा भने त्यति धेरै लेखिएको पाइन्न ।

पृथ्वीनारायण शाहभन्दा अघि विभिन्न राज्यका शासकले सरकारी कागजपत्र रातो छाप लगाएर प्रमाणीकरण गर्थे, त्यसलाई नै लालमोहर भनिन्छ । पुराना लिखतहरुको खोजी गर्दा सेनकालीन स्याहामोहरको  मैथली भाषाको प्रयोग भएको रहेछ। शुरुका लालमोहरमा तथा सेन तथा गोर्खाली राजाहरूले आदान–प्रदान गरेको खस भाषाको व्याख्या गरिएको छ ।

 अध्ययनको उद्धेश्य

इतिहासलाई पुरातात्विक प्रमाणहरुले पुष्टी गर्छ । प्रमाणको रुपमा तत्कालिन सेनकालिन स्याहामोहरले सम्वत् १८३० को शाहकालिन सामाजिक र राजनीतिक अवस्था तथा षड्यन्त्र र आर्थिक कुटनीतिलाई देखाउँछ । यसर्थ शाहकालिन राजा पृथ्वीनारायण शाह एवम् याङरुप र विजयपुरको शक्तिशाली देवान बुद्धिकर्ण रायको प्रतिष्ठा त्यो बखतको कुटनीति, सामाजिक तथा आर्थिक पक्षको विश्लेषण गर्नु भनेकै त्यो याङरुपको सामाजिक, राजनीतिक तथा कुटनीतिक र आर्थिक अवस्थालाई देखाउनु हो । यो अध्ययनका उद्धेश्यहरु निम्न रहेका छन् –

-सम्वत् १८३० असोज ‍औंशी पक्ष ३० गते शाहकालिन राजा पृथ्वीनारायण शाहद्वारा दिइएको लालमोहरको विश्लेषण गर्दै तत्कालिन याङरुपको सामाजिक, आर्थिक र सैनिक अवस्थालाई देखाउनु ।

-विजयपुरका देवान बुद्धिकर्ण खेवा र उनको हात्ती तथा सिक्किम र ल्हासाको सामरिक महत्व देखाउनु ।

अध्ययनको औचित्य

यो अध्ययनमा यसअघि कतै अध्ययन नगरिएका, कतै नलेखिएका लालमोहर र त्यसका तथ्य र प्रमाणसहितका जानकारीलाई एकत्रित गरेर विश्लेषण गरिएको छ । कुराकानी र पुरातात्विक आधारमा शाहकालिन याङरुप र त्यहाँको इसलिम्बा, च्याङथापु, सिक्किम, ल्हासा तथा विजयपुर र त्यहाँको देवान बुद्धिकर्ण राय अनि गोर्खालीहरुको कुटनीति, षडयन्त्र तथा आर्थिक अवस्थाको बारेमा चर्चा तथा विश्लेषण गरिएको हुनाले तत्कालिन शाहकालको सैन्य योजना, आर्थिक योजना, परराष्ट्र नीति तथा याङरुप र विजयपुरको देवान बुद्धिकर्ण खेवा बारेमा जान्न इच्छुकहरुको तृष्णालाई मेटाउन केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको छु ।

अध्ययनको विधि

यो वर्णित लालमोहरबाट तत्कालिन शाहकालको सैन्य योजना, आर्थिक योजना, परराष्ट्र नीति तथा याङरुप र विजयपुरको देवान बुद्धिकर्ण खेवा बारेमा याङरुप बारेमा अध्ययन गरिएको छ । यो गुणात्मक अनुसन्धान अन्तर्गतको अध्ययन भएकोले यसमा पुस्तकालिय अध्ययनबाट सामाग्री सङ्कलन गरी वर्णनात्मक अनुसन्धान विधिअन्तर्गत व्याख्या विश्लेषण गरिएको छ ।

सैदान्तिक आधार

तीन हजार वर्षको यात्रा पूरा गरिसकेको भन्न मिल्ने प्रामाणिक इतिहास लेखन परम्परालाई नेपालमा प्राज्ञिक रूपमा स्थापना गर्ने श्रेय भने  मूर्धन्य विद्वान् नयराज पन्त र उनले शुरू गरेको इतिहास संशोधन-मण्डललाई जान्छ। सम्बन्धित विद्वान्हरूले प्रचलनमा नल्याएको भए पनि यसलाई ‘इतिहास अध्ययनको संशोधन-मण्डल स्कूल’ (‘स्कूल अफ थट’ भन्ने अर्थमा) भन्न सकिन्छ(ढकाल, २०७८)।

नेपालको इतिहासका प्राथमिक स्रोतलाई सकेसम्म सोझै पाठकको पहुँचमा लैजानुपर्छ भन्ने मान्यता यसै स्कूलका दिग्गज इतिहासकारहरू नयराज पन्त, धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल महेशराज पन्त, दिनेशराज पन्त आदिका प्रयासबाट अब स्थापित भइसकेको छ। यस प्रकारका कृतिहरू भने नेपाली इतिहासमा थोरै मात्र लेखिएका छन्।

 प्राथमिक स्रोतको सङ्ग्रहका दृष्टिमा अर्को उल्लेख्य कृति योगी नरहरिनाथको इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रह हो। त्यसैगरी, शाह राजाहरूसँग थारूहरूको सम्बन्धमाथि प्रकाश पार्ने ५० वटा दस्तावेज तेजनारायण पन्जियारले सङ्ग्रह गरेका थिए, जसलाई नेपालका राजाहरू तथा तराईका थारू (२०५८) शीर्षकमा टेकबहादुर श्रेष्ठको सम्पादनबाट नेपाल तथा एशियाली अध्ययन केन्द्रले प्रकशित गर्‍यो। उक्त सङ्ग्रह गिसेल क्राउस्कोफ र पामेला डोएल मायरको सम्पादनमा सन् २००० मा अङ्ग्रेजी भाषामा उपलब्ध भयो, द किङ्स अफ नेपाल एण्ड द थारू अफ द तराईः द पन्जियार कलेक्सन अफ फिफ्टी रोयल डकुमेन्ट्स फ्रम १७२६-१९७१ शीर्षकमा।(ऐ, हिमालखबर )

समुदायबीच हुने स्वाभाविक सामाजिक अन्तक्रियात्मक सम्बन्धबाट पैदा हुने अन्तर्घुलनको पक्षलाई अस्वीकार गर्न अपवादलाई मूल प्रवृत्ति मान्नु नेपालबारे उपलब्ध धेरै समाजशास्त्रीय-नृशास्त्रीय विश्लेषणको स्वभाव रहेको छ। लिम्बुवानको इतिहासले चाहिं प्रामाणिक रूपमा फरक कुरा देखाइरहेको छ। धेरै अघिदेखिका ऐतिहासिक सामग्रीले के पुष्टि गर्छन् भने स्थानीय शासकका रूपमा लिम्बू सुब्बा र थुमका प्रमुखहरूले आफ्नो क्षेत्रका अन्य समुदायको समेत परम्परा र संस्कार जोगाइदिएका हुन्।योगी नरहरीनाथको इतिहासप्रकाश, सन्धीपत्रसङ्ग्रहमा र्चा गरिएको) श्री ५ पृथ्वीनारायण शाहले विजयपुर जित्न अघि त्यहाँको शासक बुद्धिकर्ण खेवाको सैनिक सामर्थ्य उनको हात्ती तथा गोर्खाली सैन्य अफिसरहरु अभिमान सिंह बस्नेत, पारथ भन्डारी, किर्ती सिङ्ग खवास र बलि बानियाँ लाई लेखेको लालमोहरको चर्चा गरेको छु । यो लालमोहरले नेपाली समाजशास्त्र र राजनीतिशास्त्रका विद्यार्थीहरूलाई केवल युद्धको वर्णन मात्र दिँदैन, बरु यसले तत्कालिन याङरुप राज्यमा पर्ने इसलिम्बा, अम्बरपुर र च्याङथापुको सामरिक महत्व ‘राज्य निर्माण’ (State Building) र ‘सामाजिक एकीकरण’ को गहिरो सैद्धान्तिक धरातल पनि प्रदान गर्दछ। यस शोध आलेखमा मैले उक्त लालमोहरमा लुकेका सैद्धान्तिक अवयव, शोधका विधि र यसको याङरुप, च्याङथापु, अम्बरपुर, कन्काइ नदी सिक्किम तथा ल्हासा राज्य अझ याङरुपमा पर्ने च्याङथापु र आधुनिक नेपालमा सान्दर्भिकता बारे चर्चा गर्ने प्रयास गरेको छु ।

 

के छ त पृथ्वी नारायण शाहको लालमोहरमा ?

स्वस्तीश्री गिरीराज चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्रीश्रीश्री महाराजे पृथ्वीनारायण शाह बहादुर्शम्शेरजङ देवानाम, सदा समर विजयनाम् …

स्वस्ती श्री राजभारा सामर्थ्य श्री अभिमानसिंह, पारथ भँडारी, कीर्तिसिंङ खवास, बली बानियाँके आशिष । पूर्वो पत्र मिदं ञाहा कुशल ताँहा कुशल चाहियै । आगे ञाहाको समाचार भलो छ । उप्रान्त पत्र आयो अर्थ मालुम भयो चौदण्डीमहागढी तुल्याउनाको विस्तार भयो । कुह्रिल्याबाट फौज तिन मुख गरेर ह्यिड्यो । तिमीले लिम्बू सिरेङ सुबा मान्न आयाको सबै विस्तार गरि लेखेका छौ विन्ती गरी पठाया छौ विधि विस्तार सुन्यौ । इसलिम्बा च्याङथापु जति सम्म हाम्रो फौज पुग्यो त अब त्यो जगा छाड्नु छैन् बलियो गरी गढि त्यही बनाउन्या छन् बनाव । बाँकी इसलिम्बा च्याङथापु सम्म हाम्रो अब्बल भयापछि कनकाइ पूर्व तिष्ठा पश्चिम पनि अम्बल गरी हालन्या हो । घटिया देश आफूले खाइकन आमद हुन्या बढिया देश छोड्नाको प्रयोजन केही होइन् । अम्बल गर्यै हो तर इसलिम्बा च्याङथापु लिंदा साँध गरिकन पनि सुखिमले हामीसँग घायै गर्न पस्यो । कटक गर्ना महापसेन त कनकाइ हेरी बुझी तर्नु । इसलिम्बा च्याङथापु लिंदा सुखिम चम्की गयो घा तोडी हाल्यो त आखिर तेती महा पनिचट्कि गयो त मधेश छोडन्या होइन । हिन्दु पतिको साँध तिष्ठासम्म चाँडो गरि हालन्या हो । यो काज बुझ्नु ताँहि पर्याको छ । उप्रान्त बुद्धिकर्णको हाती राम्रो छ गरे । त्यो हाती माहुतेलाई ल्यायेर माहुते कमाइकन सय ४/५ कबोलीकन सो हाती चोरील्याउन पठाउन्या हो । माहुतेले चोरील्यान्या भन्यात केही बेर्छैन । ती माहुतका कुल्कविलात हाम्रै देश महा हुनन् । क्ही कबोली खातिर्जामा दि कन पनि त्यो काम गर । उप्रान्त तेस देश महाँ बुद्धिकर्ण राइलाई पायापछि कल मरिजान्या थियो , पाइयेन ।केही जुक्तीले कोही सिपाही कमायेर हजारबाह्र सय कबोली, सर्सीरोपाउ कबोली हुन्या भए तेस्लाई मराउन्या हो । तेसो भयापछि कल सबै मरिजान्छ । त्यो काम खामोसा गराउनु । उप्रान्त अम्बरपुरका तरियानिका रुपैया, विजैपुर तरियानिका रुपैयालेताँहा सिपाहीहरुका खर्च र ताँहा लागत खर्च उठाउना गर । बाँकी २००१ रुपैया चढाइपठाया छौ । आइपुग्या कवच गरी पठायाको छ, पुग्ला । बाँकी इसलिम्बा च्याङथापु देखि पुँढो अम्बल गर्न जानु छैन । सुखिम आइलाग्या । एक ठाँउ बनाइकन कत्तल गर्न्या चाँजो गर । सुखिमका पुरानो देश महा गया, माथि लासा सङ्ग विग्रन जाला । तसअर्थ उपल्ला मुखतिर लासाको देश महा चार अङ्गुल पनि साँध चाप्नु छैन । प्रजालाई दुख दिनु पनि छैन् । सुखिमका महा पनि जान छैन् । विज्ञेसु आश्विन वदि ३० रोज ४ मुकाम काठमाडौ शुभम्…

लालमोहरको विश्लेषण र डिस्कसन

प्रमुख सैद्धान्तिक अवधारणाहरू (Key Theoretical Ideas)

यस लालमोहरको सूक्ष्म अध्ययन गर्दा निम्न समाजशास्त्रीय सिद्धान्तहरू स्पष्ट रूपमा देखिन्छन्:

क) राज्यको प्रादेशिक अखण्डता र ‘जियो-पोलिटिक्स’ (Territoriality): लालमोहरमा “तीष्ठा पश्चिम पनि अम्बल गरी हालन्या हो” र “लासाको देश महा चार अङ्गुल पनि साँध चाप्नु छैन” भन्ने वाक्यांशले राज्यको निश्चित सीमा र सार्वभौमिकताको आधुनिक अवधारणालाई संकेत गर्दछ। समाजशास्त्री म्याक्स वेबरको ‘राज्य’ सम्बन्धी परिभाषा (निश्चित भूभागमा बल प्रयोगको वैध अधिकार) सँग यो मेल खान्छ।

ख) सामरिक रणनीति र ‘इन्टिलिजेन्स’ को समाजशास्त्र: बुद्धिकर्ण राईलाई मार्ने योजना वा हात्ती चोरी ल्याउने प्रसङ्गले राज्य सञ्चालनमा ‘छल र बल’ (Machiavellian approach) को प्रयोगलाई देखाउँछ। यो समाजशास्त्रको ‘द्वन्द्व सिद्धान्त’ (Conflict Theory) अन्तर्गत पर्दछ, जहाँ शक्ति (Power) प्राप्तिका लागि स्रोत र साधनको परिचालन गरिन्छ।

ग) आर्थिक नियतवाद (Economic Determinism): “घटिया देश आफूले खाइकन आमद हुन्या बढिया देश छोड्नाको प्रयोजन केही होइन” भन्ने वाक्यले कार्ल मार्क्सको ‘आधार र संरचना’ (Base and Superstructure) को झल्को दिन्छ। राज्य विस्तार केवल वीरताका लागि मात्र थिएन, बरु आर्थिक रूपमा उर्वर भूमि (मधेश र तराई) माथि कब्जा गरी राज्यकोष बलियो बनाउने उद्देश्य थियो।

घ) जातीय र क्षेत्रीय समावेशीकरण (Ethno-regional Integration): “लिम्बू सिरेङ मिल्नु आएको” प्रसङ्गले शाहले अवलम्बन गरेको ‘सहमति र सहकार्य’ को नीतिलाई पुष्टि गर्दछ। यो प्रकार्यात्मकतावाद (Functionalism) सँग सम्बन्धित छ, जहाँ समाजका विभिन्न अंगहरू (जाति/जनजाति) लाई एकीकृत गरी एउटा सिंगो राष्ट्रिय प्रणाली बनाउने प्रयास गरिएको देखिन्छ।

यो ऐतिहासिक लालमोहर पृथ्वीनारायण शाहले वि.सं. १८३१ तिर (विजयपुर र चौदण्डी विजयको क्रममा) आफ्ना भारदारहरू अभिमानसिंह बस्नेत, पारथ भण्डारी आदिलाई लेखेका हुन्। यस पत्रले नेपालको एकीकरण अभियानको सामरिक चातुर्य, सिमाना विस्तारको लक्ष्य र तत्कालीन कुटनीतिलाई छर्लङ्ग पार्छ।

 

लालमोहरको विश्लेषण

गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्ना सैन्य कमान्डरहरूलाई पठाएको यो पत्र केवल एउटा आदेश मात्र होइन, यो नेपालको सिमाना निर्धारण र राज्य सञ्चालनको एउटा महत्त्वपूर्ण ‘रणनीतिक दस्तावेज’ हो। यस लालमोहरमा चौदडी विजयपछि पूर्वी क्षेत्रको विजय गर्नमा याङरुपको च्याङथापु, इसलिम्बा र विजयपुरको देवान बुद्धिकर्ण खेवा तथा लिम्बू सुब्बाहरूसँगको सम्बन्ध र सिक्किमसँगको सीमा विवादका विषयमा सामरिक, आर्थिक तथा सैन्य योजनाको बारेमा सुक्ष्म निर्देशनहरू दिइएका छन्।

याङरुपको सिमाना “तिष्ठासम्मको लक्ष्य”: सिमानाको स्पष्ट खाका

यस लालमोहरको सबैभन्दा बलियो पक्ष भनेको याङरुपको सिमाना प्रतिको स्पष्टता हो। पृथ्वीनारायण शाहले “हिन्दुपतिको साँध तिष्ठासम्म चाँडो गरी हालन्या हो” भन्नुले उनको लक्ष्य वर्तमान नेपालको सिमानाभन्दा पनि अझ पूर्वसम्म रहेको देखिन्छ। यस अर्थमा याङरुपको सिमाना चोदण्डीगढिबाट इसलिम्बा र च्याङथापु समेत तथा कनकाइ आशपासको तराइ भाग पनि रहेको बुझिन्छ ।

तत्कालिन समयमा याङरुपमा राजा हिल्लीहाङ(१८१४-१८३७) थिए । सिक्किमसँगको पारिवारिक सम्बन्ध र ल्हासाको साथले याङरुप शक्तिशाली थियो । एकजना सुब्बा सिरैङ(रैनसिं?) भने गोर्खालीसँग मिल्न गएको जानकारी अभिमानसिंह बस्नेतले गराएका छन् । सायद यिनै सुब्बाको निर्देशनबाट सम्बत् १८३१ साल साउन २२ गते गोर्खालीहरुले विजयपुर कब्जा गरेको हुनसक्छ ।

नेपालमा रेजिडेन्ट भइ बसेका बि.एच. हज्सनले सम्बत् १९०३ मा संकलन गरेको पाण्डुलिपी जस्लाई हज्सन कलेक्सन भनिन्छ यो ब्रिटिस इन्डिया अफिस लाइब्रेरीमा सुरक्षित छ । हज्सन कलेक्सनको भोल्यूम ८५ को १३१ देखि १४९ सम्म गोर्खा लिम्बूवान (याङरुप) युद्धको बारेमा संकलन गरेका छन् । सो कलेक्सनको पृष्ठ १३२ ख मा यो इसलिम्बालाई एकलुम्बा भनिएको छ –मेधक्ते सुम-तङ पोक्सेलेग । ना येक्नाम्मा लाम्ना मेनान्दु मेदेरुलो ।(लडाइ भएको तीन वर्षमा उता एकनाम्बा(इसलिम्बा)बाट खेदीपठाए ।) । थप लेखिएको छ-चैनपुरदेखि माथीमाथी दुम्जादेखि तलतल बिचमा पारापुक्सीमा त तिनीहरुको लडाइ गर्ने ठाँउ पो भयो ।

चौदण्डी गढी जितेपछि सेनापति अभिमानसिंह बसन्यातले गोर्खा दरबारमा यथास्तिथी जनाउदै पत्राचार गरे । उक्त पत्रको जवाफमा कनकाई नदी र तिष्ठा नदीको बीचको उर्वर भूमिलाई हात पार्न पृथ्वीनारायण शाहले दिएको निर्देशनले त्यो बेलाको याङरुप राज्य तथा च्याङथापु र विजयपुरको आर्थिक र सामरिक दुवै महत्त्वलाई दर्शाउँछ। “बढिया देश छोड्नाको प्रयोजन केही होइन” भन्ने वाक्यले उनी सकेसम्म याङरुपको इसलिम्बा र च्याङथापु नभए कनकाइ तराईको उब्जाउ भूमि (मधेस) लाई राज्यको आर्थिक मेरुदण्ड मान्थे भन्ने पुष्टि हुन्छ।

कुटनीति र ‘इन्टेलिजेन्स’: बुद्धिकर्ण राई र हात्तीको प्रसङ्ग

लालमोहरमा विजयपुरका मन्त्री बुद्धिकर्ण राईलाई समाप्त पार्न दिइएको निर्देशनले तत्कालीन समयमा राजा पृथ्वीनारायण शाह बुद्धिकर्ण रायसँग अग्घोरै रिसाएको र कडा सैन्य रणनीतिको झलक दिन्छ। अन्वेषक कौशल चेम्जोङ” उदयपुरको इतिहास” मा लेख्नुहुन्छ-“सम्वत् १८१८ मा विजयपुरका राजा बनेका कामदत्त सेनको हत्या बुद्धिकर्ण रायले सिक्किमको सहयोगमा सम्बत् १८२६ मा गरे ।”

हज्सन कलेक्सनको भोल्युम ८५ को पृष्ठ १३९ मा लेखिएको छ- याङरक्या कुला मेजोगेन्लो । मुदेम्बा सुक्खिम्माङ मेभेत्तुलो । सुक्खिमहाङलेन काजिथिक तेपुताका फेलेयाङ ।(याङरुपका लिम्बूहरुले कुल गरेनन् । उनीहरुले सिक्किमका भोटेहरु ल्याए । सिक्किमका काजी टिपुताका आए ।) यो कलेक्सनले पनि के पुष्टी गर्छ भने याङरुपको सम्बन्ध सिक्किमसँग सुमधुर थियो जस्को कारण काजी टिपुताका गोर्खालीविरुद्ध याङरुपलाई सघाउन आए । 

उता विजयपुरका शक्तिशाली काजी बुद्धीकर्णलाई “कल” (झगडाको जड) मान्दै उनलाई मार्नका लागि इनामको प्रलोभन देखाउनु वा जुक्ति लगाउनु भन्ने आदेशले ‘शत्रुलाई परास्त गर्न साम, दाम, दण्ड, भेद’ को नीति अपनाइएको देखिन्छ। गोर्खालीहरुले बुद्धिकर्ण खेवाङलाई हटाए सहजै विजयपुर हात लगाउनुको साथै, बुद्धिकर्णको हात्ती चोरी ल्याउन माहुतेहरूलाई फकाउनु भन्ने प्रसङ्गले सैन्य परिचालनमा संसाधन (Resources) को कति महत्त्व थियो भन्ने बुझाउँछ।

छिमेकीसँगको सन्तुलन: तिब्बत र सिक्किम नीति

शाहले आफ्ना भारदारहरूलाई सिक्किमसँग सङ्घर्ष परे पनि उत्तरतर्फको शक्ति (लासा/तिब्बत) सँग सम्बन्ध नबिथोल्न कडा चेतावनी दिएका छन्। “लासाको देश महा चार अङ्गुल पनि साँध चाप्नु छैन” भन्नुले उनी चीन र तिब्बतसँग अनावश्यक युद्ध गरेर दुईतिरको मोर्चा खोल्न चाहँदैनथे भन्ने स्पष्ट हुन्छ। तर उनी याङरुपलाई भने निल्न चाहन्थे । गोर्खालीहरुलाई याङरुपको सम्बन्ध सिक्किमसँग राम्रो भएको सिरेङ(रैनसिंह)लाई थाहा थिएन । उनले याङरुपको भेद गोर्खालीलाई सुनाइसकेको जानकारी लालमोहरमा प्रष्ट लेखिएको छ । सायद सिक्किम पनि उनको नजरमा सामान्य थियो किनभने उनीलाई यसको जानकारी सिरेङले गराएको थिएन फलस्वरुप गोर्खालीले सम्वत् १८३३-३५ सिद्धिपुर युद्धमा हार खानुपर्यो ।  

स्थानीय विश्वास र शासन पद्धति

लिम्बू सुब्बाहरू(रैनसि सिरेङ)ले मान्न आएको विवरण सुनेर उनी खुसी हुनु र प्रजालाई दुःख नदिनु भन्ने आदेश दिनुले उनी केवल भूमि जित्न मात्र होइन, जनमत जित्न पनि उत्तिकै सचेत थिए भन्ने देखिन्छ। स्थानीय प्रशासन चलाउन सोही क्षेत्रको आम्दानी (अम्बरपुर र विजयपुरको रुपैयाँ) प्रयोग गर्न भन्नुले विकेन्द्रीकृत आर्थिक व्यवस्थापनको झल्को दिन्छ। त्यो समयमा २ हजार माथि कर बुझाउने याङरुप थुमको आर्थिक अवस्था मजबुत देखिन्छ ।

 यो लालमोहरले पृथ्वीनारायण शाह एक महत्वाकांक्षी विजेता मात्र नभई, भूगोल बुझेका र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको हेक्का राख्ने एक चतुर राजनीतिज्ञ थिए भन्ने प्रमाणित गर्छ। उनको फुटाएर राज गर्ने चाणक्य नीतिको सिकार तमोरपारीको सुन राय, कुंभ राय जस्ता लिम्बूहरु भएकै कारण याङरुपले भयंकर प्रतिवाद गरेतापनि सम्वत् १८३७ मा हार खानुपर्यो । यसरी यो लालमोहर  पूर्वी नेपालको एकीकरणमा लिम्बुवानको विशेषगरी याङरुपको भूमिका, सिक्किमसँगको घर्षण र तिब्बतसँगको सतर्कतालाई बुझ्न यो पत्र इतिहासकै एउटा प्राथमिक र शक्तिशाली स्रोत हो।

 निष्कर्ष

यो लालमोहर केवल एक राजाले आफ्ना सेनापतिलाई दिएको निर्देशन मात्र होइन, यो याङरुप राज्यको ‘डीएनए’ (DNA) हो। यसले हामीलाई सिकाउँछ कि राज्य शक्ति, अर्थतन्त्र र कूटनीतिको त्रिकोणमा चल्छ। शोधकर्ताहरुको लागि यो एउटा यस्तो ‘टेक्स्ट’ हो जसले नेपालको सामाजिक इतिहासलाई केवल राष्ट्रवादी भावुकतामा मात्र होइन, बरु कठोर समाजशास्त्रीय यथार्थको कसीमा राखेर विश्लेषण गर्न प्रेरित गर्दछ।त्यो समयमा २ हजार माथि कर बुझाउने याङरुप थुमको आर्थिक अवस्था मजबुत देखिन्छ । याङरुपको स्पष्ट सिमाना र याङरुपलाई हेर्ने गोर्खाली दृष्टिकोण देखिनुको साथै याङरुपको अब्बल भूमिमाथि दृष्टि राखेको प्रष्टिन्छ ।

 याङरुपको सम्बन्ध सिक्किमसँग सुमधुर भएकै  कारण काजी टिपुताका गोर्खालीविरुद्ध याङरुपलाई सघाउन आउनु तथा बुद्धिकर्ण राईलाई मार्ने योजना होस् वा सिक्किमसँगको साँध मिच्ने कुरा, यी सबैले राज्यको अस्तित्व रक्षाको निर्मम पाटोलाई उजागर गर्दछन्। 

यो लालमोहरले पृथ्वीनारायण शाह एक महत्वाकांक्षी विजेता मात्र नभई, भूगोल बुझेका र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको हेक्का राख्ने एक चतुर राजनीतिज्ञ थिए भन्ने प्रमाणित गर्छ। पूर्वी नेपालको एकीकरणमा लिम्बुवानको भूमिका, सिक्किमसँगको घर्षण र तिब्बतसँगको सतर्कतालाई बुझ्न यो पत्र इतिहासकै एउटा प्राथमिक र शक्तिशाली स्रोत हो।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ८ : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज