बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा
प्रस्तोता- मनु योङहाङ, पिएचडी स्कलर, नेपाल खुला विश्वविद्यालय, समाजशास्त्र विभाग
१. परिचय
बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ नेपाली विशेषत: लिम्बूवानी राजनीतिक, साहित्यिक तथा वैचारिक इतिहासका केन्द्रीय व्यक्तित्व हुन्। उहाँ धार्मिक प्रणेता मात्र होइनन्, लिम्बू अझ किराती साहित्यका आधुनिक अन्वेषक, आविष्कारक र चिन्तक पनि हुन्। उनको निधनको ६४ वर्षपश्चात् प्रकाशित बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ एक महत्त्वपूर्ण स्मृतिग्रन्थ वा मूल्याङकन ग्रन्थ हो, जसले उनको बहुआयामिक व्यक्तित्व—राजनीतिक, साहित्यिक, दार्शनिक र मानवीय पक्ष—लाई समेट्ने प्रयास गरेको छ। यस ग्रन्थको मूल उद्देश्य यो बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ योगदानलाई दस्तावेजीकरण गर्दै भावी पुस्तासमक्ष प्रस्तुत गर्नु हो।
२. मूल्याङ्कन ग्रन्थको पृष्ठभूमि र उद्देश्य
नेपालमा कहिलेदेखि स्मृतिग्रन्थ छापियो ? यस प्रश्नको उत्तर दिन सजिलो छैन । अहिलेसम्मको प्रमाणले विसं २०२७ असारमा श्री ५ त्रिभुवन–स्मृतिग्रन्थ प्रकाशित भएको देखिन्छ । २०११ मा बितेका राजा त्रिभुवनबारे त्यसबेला त्रिभुवन स्मारक समितिले यो स्मृतिग्रन्थ प्रकाशित गरेको थियो । सम्भवतः स्मृतिग्रन्थ निर्माणको प्रचलन भारतबाट भएको हुनु पर्छ । भारतका विभिन्न पुस्तकालयको अनलाइन क्याटेलगमा धेरै अघि नै प्रकाशित भएको देखिन्छ । उदाहरणका लागि कलकत्ताबाट हिन्दीमा २००६ सालमै मीरा स्मृतिग्रन्थ प्रकाशित भएको देखिन्छ । भारतमा देखेर नै नेपालमा यो काम भएको हुनु पर्छ । २०११ चैतमा गठन गरिएको केशर शमशेर अध्यक्ष भएको र खड्गमान सिंह, मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर, डिल्लीरमण रेग्मी, सिद्धिचरण श्रेष्ठ, दयावीर सिंह कंसाकार, प्रेमबहादुर कंसाकार र भद्रकाली मिश्र सदस्य रहेको त्रिभुवन स्मारकसमितिको मुख्य काम जयन्ती समारोह मनाउनु थियो र यसका लागि श्री ५ को सरकारबाट वार्षिक रूपमा आर्थिक सहयोग प्राप्त हुन्थ्यो । अध्ययनका क्रममा भारतमा देखेको चलनलाई नेपालमा पनि सुरु गर्ने प्रयास यस स्मारक समितिले गरेको हुनु पर्छ ।
२०२७ पछि बिस्तारै यस्तो प्रकाशनको सङ्ख्या बढ्यो । हुन त धेरैजसो स्मृतिग्रन्थमा परिवारका सदस्यको संस्मण हुन्छ नै यसबाहेक यी व्यक्तिका विभिन्न पक्षबारे उनलाई चिनेका, सङ्गत गरेका व्यक्तिको अनुभाव र विचार पनि संलग्न गरिएको हुन्छ । स्मृतिग्रन्थमा मुख्यतः विभिन्न व्यक्तिको सम्झना र स्मृतिग्रन्थका पात्रसँग जोडिएका दस्ताबेज हुन्छन् ।
स्मृतिग्रन्थको एउटा काम भनेको त्यस पात्रको समग्र पक्षबारे पाठकलाई जानकारी दिने हो । साना साना सम्झनाले समग्र पक्ष प्रस्तुत गर्न नसक्ने हुँदा सम्पादकले त्यस व्यक्तिको समग्र पक्ष दिन सके राम्रो । स्मृतिग्रन्थमा एउटा महत्वपूर्ण सामग्री हो, पात्रसँग सम्बन्धित दस्तावेज । यो आर्काइभको पाटो हो । नेपालमा व्यक्तिको आर्काइभ पाउन सजिलो छैन । पात्रसँग सम्बन्धित समाचार, फोटो, प्रकाशित र अप्रकाशित सामग्री यस्ता सामग्री पनि स्मृतिग्रन्थमा राखिएको हुन्छ ।
यो मूल्याङकनग्रन्थ बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकनमा समर्पित भई विभिन्न विद्वान, राजनीतिज्ञ, साहित्यकार, सहकर्मी र निकट १३ जना परिवारका र १३ जना अन्य गरेर २६ जना समाजका अग्रज मान्यवर व्यक्तिहरूका लेखहरू समेटेर २५३ पृष्ठमा यो ग्रन्थ तयार गरिएको छ। रु १ हजार मूल्य रहेको ८० ग्रामको कागज र प्रिती फ्रन्ट प्रयोग गरिएतापनि फ्रन्ट साइज, आवरण र लेआउटको बारेमा खासै ध्यान पुर्याइएको छैन् । यी प्राविधिक कुरालाई छाडेर यो मूल्याङ्कन ग्रन्थको उद्देश्य केवल श्रद्धाञ्जली अर्पण गर्नु मात्र नभई निम्न छन्-
- नेपाली लिम्बूवानी किराती साहित्यमा बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङको भूमिकालाई नेपाली पाठकहरु अझ अन्वेषकहरु समक्ष पुर्याउनु ।
- नेपाली साहित्यमा आधुनिक लिम्बू अझ किराती साहित्यमा उनको प्रखर योगदानको परिचर्चा गर्नु ।
- राष्ट्रियता, पहिचानवाद तथा मानवतावाद एवम् भाषा विकास र गलत संस्कर्तिमाथि सुधारात्मक पक्षमा उहाँको विचारलाई समग्र रूपमा उजागर गर्नु ।
३. संरचना र स्वरूप
मूल्याङकनग्रन्थ संरचनागत रूपमा व्यवस्थित देखिन्छ। सामान्यतया यसमा
शुभकामना सन्देश,
- सम्पादकीय, प्रकाशकिय, विषय सुचि
- स्मृतिलेख,
- मुन्धुम विचारसम्बन्धी लेख,
- साहित्यिक मूल्याङ्कन,
- व्यक्तिगत संस्मरण
जस्ता खण्डहरू समावेश छन्। लेखहरूको प्रकृति विविध छ, जसले ग्रन्थलाई बहुआयामिक बनाएको छ। भाषा सरल, गम्भीर र सन्दर्भयुक्त छ, यद्यपि केही लेखहरू संस्मरणात्मक छदाँछदै पनि भावनात्मक शैलीमा प्रस्तुत भएका छन्।
४. मूल्याङ्कन ग्रन्थमा समाविष्ट सामग्रीको विश्लेषण
मूल्याङ्कन ग्रन्थमा समेटिएका लेखहरूले सुसज्जित बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङलाई रङ्गवादी कवि तथा तेस्रो दर्शनका विचारक धर्मेन्द्र नेम्बाङद्वारा प्रतिपादित बहुल रङ्गवादी रङहरुबाट समिक्षा गर्दा निम्न रङहरु देखिए –
क) सङ्घिय सौन्दर्यको लेखन-आधुनिक लिम्बूवानी साहित्य र मुन्धुमको जग प्रचारक तथा प्रतीकको रुपमा रहेको यस सम्बन्धमा काँहिलात्रय बैराँगी काहिंलाको ७ पृष्ठ, विरही काँहिलाको समाधी खोजी सम्बन्धी ६ पृष्ठको र भित्राङ्गी काहिंलाका ३४ पृष्ठको लेखहरुले सविस्तार वयान गरेका छन् । लिला लेखनका प्रवर्तक नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैराँगी काहिलाले सिरिजङ्घा लिपीमा भाषाविज्ञानका शब्दावलीलाई प्रोफेसर स्प्रिगको चर्चाबाट बेलायत सम्म पुर्याउनु भइ सङ्घिय सौन्दर्यको बारेमा प्रिय कुमार नेम्बाङलाई उल्लेख गर्दै बयान गर्नुभएको छ । उहाँले ११ वटा हस्तलिखित पुस्तक र अन्य ६ वटा पुस्तकको चर्चा गर्नुभएको छ । केवल इम्बुङका नेम्बाङहरुले मात्र विद्वान रन्धोज नेम्बाङका कामहरुको बारेमा जानकारी नभएर सारा विश्वभर रहेका पाठकहरुले जान्न पाउन भन्ने पवित्र उद्देश्यले बहुल रङ्गवादीको प्रमुख रङ सङ्घिय सौन्दर्य खुलाउँछ । नेत्र नेम्बाङले समेत उहाँका ११ वटा हस्तलिखित मुन्धुमहरु रहेको पेज नं ४५ मा चर्चा गर्दै सङ्घिय सौन्दर्यको चेत प्रष्ट्याउनु भएको छ ।
ख) आदिवासी जनजाती सौन्दर्यको लेखन– रङ्गवादको अर्को रङ आदिबासी जनजाती सौन्दर्य चेतमा ८ वटा सन्दर्भ सामाग्रीको आधारमा सिक्कुमहाङ याक्थुम्बा आउनु भएको छ । जम्मा १६ पृष्ठको लेखमा उहाँले पृष्ठ १८३ देखि १८८ सम्म रन्धोज नेम्बाङको विना शिर्षकको कवितामार्फत समाजसुधारको लागि अत्यन्तै घतलाग्दो र चोटिलो सौन्दर्यको चेतलाई उजागर गर्नु भएको छ । सायद यही लोकतान्त्रिक समाजवादमा सौन्दर्यबोधको चेतलाई मन नपराएर होला लिम्बूवानी भूगोलमा समाजवादी तथा सुधारवादी चिन्तक जसको कारण ४४ वर्षकै उमेरमा राज्यसत्ताबाट सदाहत प्राप्त गरे यसमा विशेषत: लछामी शेर्मा, सिक्किमका ताक्कन्छावा नेम्बाङ, नन्दहाङ नेम्बाङ, नेम्बाङ दुर्गापुरे तथा विरदल नेम्बाङले सटिक र गम्भिरतापुर्वक विश्लेषण र व्याख्या गर्नु भएको छ ।
ग) महिला सौन्दर्यको लेखन-आधुनिक नेपाली साहित्यमा लिम्बूवानी र किराती साहित्यको दिपशिखा एवम् अग्रदूत उहाँको बारेमा मिरिक दार्जिलिङका सिङ्गो ग्रन्थभरिकै एकमात्र महिला लेखक डा. कमला तामाङले ७ पृष्ठमा लेख्नु भएको छ । डाक्टर तामाङको लेखनमा याम्बोङ मेला र मेलामा धाननाच, हाक्पारे ख्याली आदिको चर्चा गर्दै महिला सौन्दर्यको परिचर्चा गर्नु भएको छ । यसरी नै मिरिक दार्जिलिङकै देविलाल प्रधान र बीरेन्द्र थोक्लीहाङ तथा योगी एल वि नेम्बाङले
विशेषतः उहाँका साहित्यीक संघर्ष, शिक्षा र चेतनाको प्रचार गर्ने नीतिलाई गहिराइका साथ प्रस्तुत गर्नु भएको छ । मलिषा याक्थुम्बाले अत्यन्तै मिहिनेतपूर्ण रुपमा बान्किलो पारामा उहाँको किन कम चर्चा गरियो भनेर गम्भिर पैरवी गर्नुभएको छ ।
घ) समावेशी सौन्दर्यको लेखन-रङ्गवादी समालोचनाको अर्को रङ समावेशी सौन्दर्यको लेखनमा भने सिरिजङ्घा लिपीमा कविन्द्र शेर्मा, एल वि नेम्बाङ र ललितचन्द्र फियाकले क्रमश: २, ३ र ७ पृष्ठमा मुन्धुमसावा, आङ्गा आनिङ्वासोओ र खाइत मुन्धुम्ओ केत्तुबा लक्फाहाङ जस्ता लेखहरुले विशुद्ध लिम्बू भाषा र लिपी जनाउँछन् । पहिचान र भूमि तथा समावेशीता अनि समताको ज्वलन्त प्रमाण यि लेखहरुमा भेटिन्छ । मलिषा याक्थुम्बाले अत्यन्तै मिहिनेतपूर्ण ३० पेजको लेखमा लेखकहरुले बिर्सनै नहुने अझ लिम्बूवानको लेखक तथा भाषा खोजकर्ताहरुको लागि एक कोशेढुङ्गा बन्नु भएका विद्वान रन्धोज नेम्बाङका बारेमा लझै खोज अनुसन्धान गर्नु परने आवश्यकताको शानदार वकालत गर्नु भएको छ । उता हरि चोङबाङ, सेसेमी से नाल्बो र ज्ञानोदय लावतीका लेखहरुले बहुल रङवादको एक रङ समावेशी सोन्दर्यको पक्षमा दावी र जिकिर गर्दै विद्वान रन्धोज नेम्बाङको बारेमा थप जानकारी दिन्छन् ।
ङ) पिछडिएको सौन्दर्यको लेखन- रङ्गवादी समालोचनाको अर्को रङ पिछडिएको सौन्दर्यको लेखनमा भने एन वि दाहाल र डा चन्द्र कुमार शेर्माको लेखलाई लिन सकिन्छ । विद्वान रन्धोज नेम्वाङकै चेला डा. शेर्माले सङघात्मक राष्ट्रिय पत्रिकामा सम्वत् २०६३ मा छपाउनु भएको लेखमा उल्लेखित अन्धविश्वास, रुढिवादी परिवेश कुस्स्कार, कुपरिवेश जस्ता पदावलीले यसतर्फ इङ्गित गर्छन् ।
च) हातहतियार विपक्षी सौन्दर्यको लेखन-यो मूल्याङ्कनग्रन्थको सबैभन्दा सबल र सटिक रङ भनेकै हातहतियार विपक्षी सौन्दर्यको लेखन हो । यो ग्रन्थको मुख्य सारको रुपमा उहाँकै परिवारको दुईजना नेम्बाङहरुको शोधमुलक लेख रहेको छ । प्रियकुमार नेम्बाङको ४८ पृष्ठको प्रकाण्ड विद्वान लेखमा कसरी रन्धोज नेम्बाङले त्यो समयमा लिम्बूवानी अझ किराँती साहित्यमा आधुनिकता भित्र्याए भनेर सविस्तार अनुसन्धान मात्र गरेका छैनन् बरु साहित्यिक पक्षमा उहाँका इतिहास, मुन्धुम ज्योतिष शास्त्र ललितकला र लिपी तथा समाजसुधारतर्फका विचारधारात्मक लेखनको विश्लेषण पाइन्छ, जसले लिम्बू तथा किराँती साहित्यमा दार्शनिक यथार्थवादको विकासमा उनको योगदान देखाउँछ। प्रमाणका रुपमा थुप्रै फोटोहरु र समग्र कृतिहरुको नामनामेसी र तथ्याङकहरुबाट लेखलाई विश्वसनिय र बैध वनाउदै प्रामाणिक बनाएता पनि थोरै प्राथमिक श्रोत धेरै द्वितियक श्रोतबाट हातहतियार विरोधी सौन्दर्य चेत भने खुलाएका छन् । उहाँकै नाती हिम्मत नेम्बाङले ४४ पृष्ठको अनुसन्धनात्मक लेखमा २९ वटा सन्दर्भ सामाग्रीबाट आफ्नो बाजेको बैचारिक र लिम्बूभाषा लिपी साहित्य खोजको चर्चालाई प्रामाणिक गर्नुभएको छ । निकै मिहिनेत र समर्पणभावले बनेको यो लेखले अनुसन्धानका चरणहरु र विधीहरु भने त्यति धेरै पछ्याएको पाइन्न । जे होस् सामान्य अनुसन्धानको प्रश्न र औचित्यलाई प्रष्ट पार्न गुणात्मक अनुसन्धान विधी जस्तो लाग्ने यो लेखमा आफ्नो कथनलाई पुष्टि गर्न पर्याप्त परिमाणात्मक तथ्याङ्कहरुलाई पेश गरेका छन् ।
५. वैचारिक र साहित्यिक मूल्याङ्कन
यस मूल्याङकन ग्रन्थको प्रमुख शक्ति यसको वैचारिक गहिराइ हो। समाज सुधार, भाषा तथा संस्कृतिको रक्षा लोकतान्त्रिक मूल्य, मानव अधिकारप्रतिको प्रतिबद्धता र राष्ट्रियताको अवधारणालाई समकालीन सन्दर्भसँग जोडेर विश्लेषण गरिएको छ।
साहित्यिक रूपमा, स्व. रन्धोज नेम्बाङलेले राजनीति भाषा लिपी र साहित्यलाई अलग नभई परस्पर पूरक रूपमा अघि बढाएको तथ्य ग्रन्थले स्पष्ट गर्छ। यसले विद्वान रन्धोज नेम्बाङलाई केवल लिपी र मुन्धुमका आविष्कारकमात्र होइन, समाज सुधारक सामाजिक चेतनासहितका साहित्यकारका रूपमा स्थापित गर्दछ।
६. सीमाहरू र कमजोरी
यद्यपि ग्रन्थ समग्रमा प्रभावशाली छ, केही सीमाहरू देखिन्छन्—
- केही लेखहरू अत्यधिक प्रशंसामूलक छन्, जसले आलोचनात्मक दृष्टिकोणलाई कमजोर बनाएको छ।
- उहाँको निधन सम्बन्धमा विवादास्पद निर्णय वा आलोचनात्मक पक्षहरूलाई सीमित रूपमा मात्र समेटिएको छ।
- सम्पादनमा कतिपय ठाउँमा पुनरुक्ति (repetition) देखिन्छ।

७. समग्र मूल्याङ्कन र निष्कर्ष
समग्रमा बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थ,नेपाली अझ लिम्बूवानी पहिचानी राजनीतिक र साहित्यिक इतिहासको एक महत्वपूर्ण दस्तावेज हो। यसले बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङको व्यक्तित्व र कृतित्वलाई बहुआयामिक रूपमा प्रस्तुत गर्दै भावी पुस्ताका लागि मूल्यवान् सन्दर्भ सामग्री प्रदान गरेको छ। केही आलोचनात्मक कमजोरी हुँदाहुँदै पनि, यो मूल्याङकनग्रन्थ बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ अध्ययनका लागि अपरिहार्य कृति मान्न सकिन्छ।
संक्षेपमा “बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ ग्रन्थ भावनात्मक श्रद्धाञ्जली मात्र नभई नेपाली समाज अझ लिम्बूवानमा लोकतान्त्रिक पहिचानको आन्दोलन, भाषा लिपी र संस्कृतिको संरक्षण र साहित्यिक इतिहासको गहिरो अध्ययनका लागि उपयोगी र महत्त्वपूर्ण स्मृति दस्तावेज हो, नोगेन ।
सन्दर्भसुचीहरु
गौतम, कृष्ण (२०६७), उत्तर आधुनिक संवाद, भृकुटी एकाडेमिक पब्लीकेशन्स ।
गौतम, कृष्ण (२०७१), उत्तरसिद्धान्त, भृकुटी एकाडेमिक पब्लीकेशन्स ।
चेम्जोङ, कौशल (२०७७), उदयपुरको इतिहास, उदयपुर अनुसन्धान केन्द्र ।
जवेगु भिमविक्रम सिह (२०६४), थेगिम वंशावली, थेगिम प्रकाशन ।
धरावासी, कृष्ण (२०५९), समालोचनाका नियमहरु, पैरवी प्रकाशन ।
ढकाल, टिका (२०७८), इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङग्रह, हिमालखवर ।
ढुङ्गेल, डा. रमेश (२०२६), चैनपुर एक समृद्ध प्रदेश, प्राचिन नेपाल ।
नेम्बाङ, धर्मेन्द्र (२०८१), कृष्ण विक्रम नेम्बाङले हिडेको क्रान्तिको बाटो, निम्बल पब्लीकेशन्स ।
नेम्बाङ, धर्मेन्द्र (२०८०), विपी बिचार र हरियो समाजवाद, निम्बल पब्लीकेशन्स ।
पुरातत्व सङ्ग्रह (२०१८), नेपाल सरकार ।
योङहाङ, मनु र अन्य (२०७९), योङहाङ वंशावली, किरात योङहाङ कुलवंश प्रतिष्ठान, माइधार झापा ।
योङहाङ, मनु (२०८१), थुङवामुक्मा एक गुमनाम राजकुमारी, हिलिहाङ डटकम ।
सुवेदी, डा. राजाराम ( २०५८) समालोचनाको इतिहास ।
Gurung, S. K. (2011). Sikkim Ethnicity and Political Dynamics: A Traidic Perspective. New Delhi: Kunal Books.








प्रतिक्रिया