इटहरी । पूर्वकै वैभवशाली सहर सुनसरीको इटहरीमा यही २०८२ साल मङसिर ७ गते आइतबार मनु योङहाङको पुस्तक उपन्यास “सेक्मुरी फूल”माथि विमर्श र परिचर्चा सम्पन्न भएको छ । इटहरी-६ को सङ्गित चोकमा रहेको होटल इधिङ्गो इनमा सो विमर्श कार्यक्रम सम्पन्न भएको हो ।
लामो समयसम्म त्रिविमा प्राध्यापन गर्नुभएका डा. मोहन कुमार तुम्बाहाङ र उपन्यासमा नै विद्यावारिधी गर्नुभएका त्रिविका सह-प्राध्यापक डा. इन्दिरा मिश्रद्वयले समिक्षा एवम् परिचर्चा गर्नुभएको सो कार्यक्रमको आयोजना सुनकोशी मेनपावर प्रा.लि. र हिलिहाङ डटकमले गरेको हो ।
सुनकोशी मेनपावरको निर्देशक गजेन्द्र योङहाङको अध्यक्षता नेपाली लेखक सङ्घको केन्द्रिय सदस्य जेबी खत्रीले कार्यक्रम सन्चालन गर्नुभएको सो कार्यक्रममा अतिथी तथा समिक्षक चर्चाकार डा. मोहन कुमार तुम्बाहाङले उपन्यासको परिवेश वास्तवमा हाम्रो सामाजिक परिवेशसँग मेल खाने भएकोले पठनिय भएको तथा उपन्यासले दिने पाठ जीवनको मूल्य मान्यता र शास्वत सत्य रहेको बताउनु भयो । “यो उपन्यासले दर्शन जस्तो गहन विषयलाई मिथकमार्फत सहजै बुझाउने सेतुको काम गरेको छ ।” उहाँले चर्चा गर्नुभयो ।
भाषाको क्षेत्रमा शोध गर्दै विद्यावारिधी गर्नुभएको डा. तुम्बाहाङले उपन्यासमा सुदुरपूर्वेली लिम्बु लवज रहेको बताउनुभयो । उहाँले थप्नुभयो-“यो उपन्यासमा लिम्बू शब्दहरु, भाषिकाहरु र अझ लिम्बू उखान टुक्काहरु प्रशस्तमात्रामा प्रयोग गरिएका छन् जुन प्रयोगले लिम्बू भाषालाई पाठकमाझमा लोकप्रिय बनाएको छ । लिम्बू भाषाको सक्षमता र सबलता यसले झल्काउँछ।”
“उपन्यासको संरचना उत्कृष्ठ छ । यसभित्र तीनवटा भागहरु छन् ।” डा. तुम्बाहाङले जोड दिनु भयो-“आत्मनिष्ठता, आत्मपरकता र विश्वासलाई जोड दिएर शब्दहरु बुनिएको छ जस्ले मुन्धुमलाई सहजै बुझाउँछ ।”
“लिम्बूलवजको शब्द जस्तै सोधीपठाउनुले लिम्बू समाजको साँस्कृतिक लवज झल्काउँछ यसले लिम्बूहरुको उदार भाव देखिन्छ ।” उहाँले चर्चा गर्नुभयो-” बुद्धकालिन पाली भाषाका पदावलीहरु, अझ बुद्ध दर्शनको बयानबाट उपन्यास उत्कृष्ठ र पठनिय बनेको छ ।” उहाँको दावी थियो ।
“उपन्यासको शिर्षक सेक्मुरी फूल नभएर सेक्मुरी फूङ भएको भए अझ राम्रो हुने थियो ।” उहाँको सुझाव थियो । ” एकजना मावि तहको गणित शिक्षकबाट यसप्रकारको महत्वपूर्ण उपन्यास लेखिनु खुसीको कुरा हो ।” डा. तुम्बाहाङले प्लेटो को उदाहरण दिंदै लेखकको प्रशंसा गर्न समेत भ्याउनुभयो ।
त्रिविका सह-प्राध्यापक डा. इन्दिरा मिश्रले भने उपन्यासको कथा आफ्नो दैनिक भोगाइसँग तादाम्यता मिल्ने उल्लेख गर्दै उपन्यासले मुन्धुम र बोद्ध दर्शनलाई छर्लङग पारेको बताउनु भयो ।
वास्तवमा दर्शन जस्तो जटिल विषयवस्तु सहजै बुझिन्छ ।” उहाँले भन्नुभयो-“मैले बालककालदेखि नै लिम्बू समुदायप्रति सुनेको अझ उपेन्द्र सुब्बाको कथासङ्ग्रह लाटो पहाडमा वर्णित चुप्पे माइलाको जस्तो दृष्टिकोणलाई यो उपन्यास पढेपछि उहाँहरुको मुन्धुमी मान्यताले ध्वस्त बनाएको छ । वास्तवमा यो उपन्यासले समाजमा शान्ति र सदाचारको सकारात्मक शिक्षा दिएको छ ।”
“उपन्यासमा लाहुरेहरुको नेपाली समाजको आधुनिकीकरणमा पुर्याएका योगदानका साथै बौद्ध दर्शनको मार्मिकतालाइ प्रस्तुत गरिएको छ । खुसीको समूल चर्चा गरिनु । चर्चा रिसराग, वैरभाव नराखेर जीवन जीउनुको यथार्थता यो उपन्यासमा पाइन्छ । सृष्टि, सिर्जनादेखि मानव जीवन कसरी चलाउने भन्ने सम्मका सटिक वयान यो उपन्यासमा छ ।” उहाँले भन्नु भयो ।
स्वागत मन्तव्य राख्नुहुँदै जनता क्याम्पसका उप-प्राध्यापक रमेश काफ्लेले उपन्यासमार्फत मुन्धुमी मान्यता बुझ्न सकिएको चर्चा गर्नु भयो । अतिथी तथा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै उहाँले पाँचथरका लेखकको भावना र शब्द पूर्वको वैभवशाली सहर इटहरीमा गुन्जिएको बताउनु भयो ।
अर्का वक्ता नझरेका फूलहरु कार्यक्रमका संयोजक के.पी. घिमीरेले यसप्रकारका कार्यक्रमहरुले लेखक/श्रष्टाहरुलाई पाठकसँग जोड्ने बताउनु भयो । उहाँले आफू पनि मोरङको पाँचथरे भएको बताउनुहुँदै उपन्यास पठनिय रहेको जनाउनुभयो ।
पुस्तक परिचर्चा कार्यक्रममा समीक्षा र पाठकहरुको प्रश्नको जवाफ दिदै उपन्यासकार मनु योङहाङले कार्यक्रम आयोजकप्रति आभार व्यक्त गर्नु हुँदै सबै उपस्थित महानुभावहरुप्रति हार्दिक धन्यवाद र आभार जनाउनु भयो । “हजुरहरुको मायाले गर्दा मेरो लेखनमा उर्जा मिलेको छ ।”उहाँले थप्नुभयो-” यो उपन्यासमार्फत मैले हाम्रो मुन्धुमी परम्परा र संस्कृतिलाई आधुनिक नेपाली समाजमा साहित्यमार्फत पुर्याउने प्रयास गरेको छु । मुलुकको वर्तमान विद्यमान अवस्थाको वावजुद देश विदेशमा रहनुहुने थुप्रै पाठकहरूबाट उपन्यासबारे सकारात्मक प्रतिक्रिया पाएर म पुलकित भएको छु । “
कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष तथा समाजसेवी बदन योङहाङले युरोपमा समेत उपन्यासकारको लेखनको चर्चा भएको बताउनुभयो । उहाँको अर्को उपन्यास थोक्फेलाकै दोस्रो भाग यो उपन्यासले पनि युरोपमा हाम्रो मुन्धुमी मूल्य मान्यतालाई प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास लिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको गायक तथा मोडल एवम् आयोजक गजेन्द्र योङहाङले आफ्नो गायन प्रस्तुत गर्नुहुँदै उपन्यासले जीवनको वास्तविक मूल्य बुझ्नमा सघाए पुग्ने आशा गर्नुभयो ।
नेपाली लेखक सङ्घको केन्द्रिय सदस्य जेबी खत्रीले कार्यक्रम सन्चालन गर्नुभएको सो परिचर्चा कार्यक्रममा सुनसरी र मोरङ जील्लाका साहित्यकारहरुको बाक्लो उपस्तिथी रहेको थियो । सो परिचर्चा कार्यक्रममा पाठकहरूले उपन्यासबारे सकारात्मक प्रतिक्रिया दिएका थिए ।
यसअघि कार्तिक २९ गते शनिबार पुस्तक “सेक्मुरी फूल”माथि उदयपुरको सदरमुकाम, गाईघाटको सङ्गम पुस्तकालयमा पनि विमर्श भइसकेको छ।
“सेक्मुरी फूल” उपन्यास युनियन हाउस, अनामनगर, काठमाडौंमा यहि २०८२ साल भदौ २१ गते आयामेली कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवम् बैराँगी काहिँलाज्यूको करकमलबाट विमोचन भएको थियो । प्रसिद्ध रङ्गवादी कवि तथा तेस्रो दर्शनका विचारक धर्मेन्द्र नेम्बाङ सहित त्रिविका सह प्राध्यापकद्वय डा. अनुपमा रेग्मी र डा. दिपक लुङ्गेली मगर, नेपाल खुला विश्वविद्यालय सामाजिक शास्त्र एमफील/पिएचडी समुहका विभागिय प्रमुख डा. सन्जिव हुमागाई, मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी लगायतका विद्वत महानुभावहरुले सो उपन्यासको समिक्षा गर्नु भएको थियो ।







प्रतिक्रिया