२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभाव बाहिर राख्न सहित्यकारहरुको कांग्रेसलाई सुझाव



बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभाव बाहिर राख्न सहित्यकारहरुको कांग्रेसलाई सुझाव

काठमाडौं । राष्ट्रको निर्माण केवल कागजी योजनाले सम्भव हुँदैन; यसको जग मानव–चरित्रका शिलास्तम्भले कोरेको हुन्छ स्लोगानका साथ परिश्रम, मितव्ययिता, आत्मानुशासन, इमान्दारिता, त्याग, आत्मीयता र हार्दिकता यिनै गुणलाई आचारसंहिताको रूप दिँदै बहुल रङ्गवादि कवि तथा तेस्रो दर्शनका विचारक धर्मेन्द्र नेम्बाङको संयोजकत्वमा लोकतान्त्रिक नेपाली लेखकहरुले नेपाली काङग्रेसलाई दिइएको सुझावमा भनिएको छकि इमानको राष्ट्रिय सञ्चय गर्ने पार्टीका रूपमा कांग्रेसलाई विकास गर्नुपर्ने अहिलेको अवस्था छ । समाज र राज्य दुवैको मूल स्पन्दन नै इमान र नैतिकता हुन !

सुझावमा थपिएको छ-जब कुनै राजनीतिक शक्ति आफ्नो अस्तित्वलाई जनताको विश्वास र पारदर्शितामा टेकि उभ्याउँछ, त्यही शक्ति देशलाई दीर्घकालीन शान्ति र समृद्धिको बाटोतर्फ अगाडि बढाउन सक्षम हुन्छ । २०७२ सालको संविधानले पनि यिनै मूल्यका आधारमा समावेशी लोकतन्त्र, सामाजिक न्याय र उत्तरदायी शासन को प्रतिज्ञा गरेको छ। संविधानले कोरेको मार्गरेखाअनुसार, शक्ति सञ्चालनको केन्द्रबिन्दु जनताको इच्छा र चरित्रको शुद्धता हुनुपर्छ। त्यसैले कांग्रेसजस्ता ऐतिहासिक दलहरूले मुलुकलाई नेतृत्व गर्ने हो भने आफ्ना कार्यशैलीमा नैतिकता र अनुशासनलाई जीवन्त बनाउनैपर्छ किनकि संविधानले वर्णन गरेको नयाँ नेपाल यिनै आधारका ढुङ्गामा टेकेर उठ्नेछ ।

“आज देशले अपेक्षा गरेको परिवर्तन केवल संस्थाहरूको सुधारमा सीमित छैन; त्यो परिवर्तन राजनैतिक संस्कार, व्यवहार र नेतृत्वको आत्मप्रकाशमा पनि उतिनै आवश्यक छ। इमानको राष्ट्रिय सञ्चय केवल नारा होइन यो त्यो राष्ट्रिय पूँजी हो, जसले भविष्यका पुस्तालाई स्थिरता, आशा र समुन्नतिको मार्ग देखाउनेछ” चर्चा गर्दै साहित्यकारहरूले नेपाली कांग्रेसलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रजातन्त्रवादी सहित्यकार तथा लेखकहरूका तर्फबाट ११ बुँदे ज्ञापनमा कांग्रेसले लिनुपर्ने नीति र नेताकार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको प्रस्ताव सम्मिलित छ । 

थप भनिएको छ-“परिश्रमी, मितव्ययिता, आत्मानुशासन, इमान्दारिता त्याग, आत्मीयता, हार्दिकता र शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्ने, इमानको राष्ट्रिय सञ्चय गर्ने पार्टीको रूपमा कांग्रेसलाई विकास गर्नुपर्ने ।” 

संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधान परिमार्जनसहित लागु गरेर यसको आयु बढाउन सुझाव दिएका उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेर लैजान सुझाव दिएका छन् । 

उनीहरूले अध्ययन र अनुसन्धानलाई अनिवार्य सर्तका रूपमा अघि बढाउँदै बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभावबाट बाहिर राख्न सुझाव दिएका छन् । “अध्ययन, अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक खोजमा ध्यान दिएर अगाडि बढ्नुपर्ने । देशमा पर्याप्त संख्यामा बौद्धिक, अनुसन्धानकर्ता, वैज्ञानिक तथा कृषि वैज्ञानिकहरु निर्माण गर्नुपर्ने,” सुझावमा भनिएको छ, “प्राज्ञिक, बौद्धिक, न्यायिक र प्रशासनिक क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने ।” 

एघाह्र बुँदे ज्ञापन पत्र

श्री कार्यवाहक सभापतिज्यू, 
नेपाली कांग्रेस पार्टी, 
केन्द्रीय कार्यालय, सानेपा, ललितपुर 
        
   विषय: सुझावपत्र पेश गरेकाे सम्बन्धमा । 

उपराेक्त सम्बन्धमा भर्खरै सम्पन्न जेन-जी आन्दोलनले नेपाली मनस्थितिमा फेरबदल या उलटपुलट गरेकाे सन्दर्भमा मुलुकलाई अगाडि बढाउने दायित्व र जिम्मेवारी अझै पनि नेपाली कांग्रेस पार्टीको नै भएकाे परिस्थितिका बीच, विचारधारामा पार्टी सफल, तर सिद्धान्त कार्यान्वयनको सवालमा असफल देखिएकाे विद्यमान अवस्थाका बावजूद अझै पनि यस पार्टीका प्रति नेपाली जनमानसको आशा-भराेसा रही आएकाे सर्वविदित छ ।

सरकार सञ्चालन, मूलतः नीति तथा याेजना कार्यान्वयन तहमा पटकपटक पुगेर असफल भएकाे हाम्रो विगतलाई मध्यनजर गर्दै अबकाे सरकारमा निश्चित नीति निर्माण कार्यान्वयन गरेर जनताको जीवनस्तरलाई माथि उकास्ने र राष्ट्रलाई अगाडि बढाउने कार्यमा सतत् उत्कृष्ट बन्न जरुरी छ । सरकारमा पुगेर पनि अन्योलमा रहनु, काम गर्न नसक्नु, र कामकाे नाममा गैरसमाजवादी क्रियाकलाप गर्नु वास्तवमा भ्रष्ट मानसिकता या भ्रष्टाचार हाे । मुलुकलाई यस्तो आनाकानी, अनिर्णयमा राख्नु पनि एकप्रकारकाे अपराध नै हाे । आजकाे नाैजवान पुस्ताले जसलाई सहन सक्दैन । नाैजवानहरुले सहेर बस्ने कुराे पनि आउदैन ।

तसर्थ, तिनै अन्याेल, अलमलहरु चिर्नका लागि हामी लाेकतन्त्रवादी वैचारिक युवकत्वमा विश्वास राख्ने कवि, लेखक तथा विचारकहरु एकजुट भई विपी अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं नेपाली लेखक संघका सल्लाहकार  श्री धर्मेन्द्र नेम्बाङ (‘हाम्राे हरियो समाजवाद’का प्रस्तावक, विविध पुस्तकका लेखक)काे संयाेजकत्वमा निम्न ११ सदस्यीय समिति बनाई व्यापक छलफल र परामर्श गरी निम्न ११ बुँदाको सुझाव यस पार्टी कार्यालयसमक्ष बुझाउने निधाे गरेका हाैं । 
हामीलाई लाग्दछ, यही ११ बुँदाको प्रस्तावले राष्ट्र निर्माण गर्नसक्दछ तथा विचारधाराकाे प्रतिनिधित्व पनि यसमै निहित छ । यसले पार्टीको सिद्धान्त पनि आकर्षित गर्दछ र नैतिक मुल्यसहितको नेतृत्व स्थापनामा पनि मद्दत गर्दछ । 

हाम्रो ध्येय मुलुक बलियाे र समुन्नत हाेस्, जनता खुसी र सम्मानित होऊन्, लाेकतन्त्र सधैंकाे लागि व्यवस्थित हाेओस्, यो पार्टी समयानुकल अगाडि बढिरहाेस् भन्ने हाे । एक्काईसौं शताब्दीकाे उत्तरार्धमा नेपाली कांग्रेस पार्टीले राज्यसत्ता सञ्चालनकाे तीनवटै तहमा कमीकमजाेरी नगरिकन हस्तक्षेपकारी भूमिका निर्वाह गर्न जरुरी छ, अनिमात्रै बाईसौं शताब्दी हामी आम जनतका लागि सुखद हुनेछ । 

सुझाव मस्यौदा निर्माण समिति: 
१. संयाेजक: धर्मेन्द्र नेम्बाङ (कवि/राजनीतिकर्मी)
सदस्यहरु:
२. रन्जन ओझा (युवा उद्यमशीलताका अभियन्ता) 
३. साेझाे गाउँले (कवि/प्राध्यापन)
४. प्रकाश विमिल (कवि/लेखक)
५. युवराज डिसि (कवि)
६. श्यामसुन्दर शशी (कवि/संस्कृतिकर्मी)
७. अनुपमा रेग्मी (समालोचक/प्राध्यापन)
८. विनित ठाकुर (लेखक/पत्रकार )
९. जमिल अहमद सिद्दकि(गजलकार)
१०. नारायण सापकोटा (कवि )
११. गणेश नेपाली (कवि)

नेपाली कांग्रेस पार्टीकाे आगामी सरकारकाे कार्यभार या कार्यनीति ११ बुँदे सुझाव यसप्रकार प्रस्तुत गरिएको छ: 

१. नेपालको संविधान-२०७२ काे आवश्यक परिमार्जन, संशोधन, परिस्कार र रक्षा गर्दै अगाडि बढ्नुपर्ने । 

२. बहुलरंगवादीय चरित्रको संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सुदृढ र व्यवस्थित गर्नुपर्ने । 

३. परिश्रमी, मितव्ययिता, आत्मानुशासन, इमानदारिता, त्याग, आत्मीय-हार्दिकता र शान्तिकाे भावनालाई आचारसंहिता बनाउनुपर्ने । ईमानकाे राष्ट्रिय संचय गर्ने पार्टीको रुपमा कांग्रेसलाई विकास गर्नुपर्ने । जेन-जी उमेरसमूहलाई राज्यसत्ता सञ्चालनमा समावेश गर्नुपर्ने ।

४. अध्ययन, अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक खाेजमा ध्यान दिएर अगाडि बढ्नुपर्ने । देशमा पर्याप्त संख्यामा बौद्धिक, विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक तथा कृषि वैज्ञानिकहरु निर्माण गर्नुपर्ने । प्राज्ञिक, बाैद्धिक, न्यायिक र प्रशासनिक क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने ।

५. देशलाई भ्रष्टाचार मुक्त गर्दै  सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने । प्रधानमन्त्री, मन्त्री, सांसद बन्ने पटके हदबन्दी ताेक्नुपर्ने । खुल्ला सरकारकाे अवधारणा अपनाउनुपर्ने । समानुपातितर्फ देखिएकाे बेथितिहरु दाेहाेरिन दिन नहुने । 

६. समाजवादी अवधारणा अन्तर्गत नेपालीपनकाे माैलिक अर्थतन्त्रका बाटाेहरुमार्फत मुलुकलाई आत्मनिर्भर, समुन्नत र सम्पन्न राष्ट्र निर्माण गर्न अगाडि बढ्नुपर्ने । अध्ययन अनुसन्धानका साथ प्रदेश सरकार, नीजि निकाय, सहकारी क्षेत्र एकबद्ध भएर आधारभूत आवश्यकताका साना/मझौला उद्योगहरु सञ्चालन गरिनुपर्ने, राेजगार बृद्धि र युवा उद्यमशीलता प्रवर्धन गर्नु पर्ने । यसरी राष्ट्रकाे जिडिपी वृद्धि गर्दै युवा विदेश पलायन, अर्थ विदेश पलायन, बिध्यार्थी विदेश पलायनबाट राेकिने काम, कार्यक्रम  गर्नु पर्ने ।

७. गाउँघर/शहर, गापा/नगरलाई आत्मनिर्भर बनाउन स्थानीय कृषि क्षेत्रलाई प्राथमिकता दिंदै परिश्रमी, श्रमजीवी किसानलाई केन्द्रमा राखेर या किसानमैत्री बजेट याेजना निर्माण र कार्यान्वयन गरिनुपर्ने । किसानलाई केन्द्रमा राख्नाले किसानका छाेराछाेरीका लागि शिक्षा, स्वास्थ्य, राेजगारी, उद्योग, सिंचाइ, बिउविजन, बिमा, सेवासुविधा जस्ता कुराहरु एकसाथ समेटिएर आउनेछन् । यसले विदेश पलायन हुने युवाहरू राेकिनेछन् ।

८. गाउँ, गरिब, किसान, मजदुर, महिला, दलित, सुकुम्बासी, अल्पसंख्यक, अपांगता तथा सीमान्तकृत समुदायलाई आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा सशक्त र राजनीतिक रुपमा सबल बनाउने पक्षमा काम गर्नुपर्ने । सामाजिक विभेद मुक्त समाज, गरिबी निवारण आदिमा दत्तचित्तले लाग्नु पर्ने ।

९. वातावरण, प्रकृति, पर्यावरण, संस्कृति, सम्पदा तथा जैविक विविधताकाे संरक्षण र सम्बर्द्धन गरेर अगाडि बढ्नुपर्ने ।  कृषि, जलस्रोत, प्रविधि तथा पर्यटनको उत्पादनका आधारहरुलाई मध्यनजर गरेर कार्यक्रम निर्माण गर्नुपर्ने । 

१०. असंलग्न (तटस्थता) परराष्ट्र नीति  विश्व शान्तिकाे भावनाका साथ  विदेशी मुलुकसँग हार्दिक सुमधुर सम्पर्क र सम्बन्ध कायम गर्नुपर्ने । 

११. नेपालीपनकाे माैलिकता, विशेषता, निजत्व, हार्दिकता, आत्मीयताकाे पक्षबाट विकास निर्माणमा ध्यान दिनुपर्ने ।

सल्लाह एवं परामर्शका लागि छलफल गरिएका केही बाैद्धिक व्यक्तित्वहरु :

१. नरहरि आचार्य (गणतन्त्रवादी विचारक/पूर्वमन्त्री )
२. डा. तुलसीप्रसाद भट्टराई (पूर्वअध्यक्ष, नेपाली लेखक संघ/वरिष्ठ साहित्यकार)
३. सनत रेग्मी (वरिष्ठ साहित्यकार ) 
४. डा. बिष्णुविभु घिमिरे (पूर्वअध्यक्ष, नेपाली लेखक संघ/वरिष्ठ कवि)
५. कृष्ण धरावासी (साहित्यकार/लीला लेखन अभियन्ता)
६. तीर्थ श्रेष्ठ (पूर्वअध्यक्ष, नेपाली लेखक संघ/वरिष्ठ कवि)
७. श्रवण मुकारुङ (पूर्वअध्यक्ष, नेपाली लेखक संघ/वरिष्ठ कवि) 
८. वियाेगी बुढाथोकी (अध्यक्ष, नेपाली लेखक संघ/साहित्यकार)
९. धर्मेन्द्र झा (पुर्वअध्यक्ष, नेपाल पत्रकार माहासङ्घ)
१०. डा. ज्ञानु पाण्डे (समालोचक/प्राध्यापक/निबन्धकार)
११. डा. कुमारप्रसाद काेइराला (समालोचक/प्राध्यापक)


बोधार्थ: 
नेपाली कांग्रेस पार्टीका सातै प्रदेश समितिहरु, 
सम्पूर्ण ७७ जिल्लाका जिल्ला समितिहरु, 
सम्पूर्ण महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु,
सम्पूर्ण प्रतिनिधि, प्रदेश  सभा क्षेत्रीय समितिहरु, 
सम्पूर्ण गाउँ/नगर/उपमहानगर/महानगर समितिहरु, 
देशभरका सम्पूर्ण वडा समितिहरु ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ३२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक