कविता-“लम्पसारवादीहरुप्रति”
-गीता गुरुङ, शिक्षक, श्री चन्द्रभानु मावि, ज्ञानेचोक, भद्रपुर, झापा
म बोल्दिन अब,
किनकि मेरो स्वर फाइलका चाङभित्र गुम्सिएको छ,
जहाँ तर्कले होइन, तालिकाले निर्णय गर्छ।
कसले “सुझाव” दिने?
कसले “आज्ञा” पालना गर्ने?
तिम्रो कुर्सी, ढाड सिधा राख्न बनाइएको थिएन,
त्यो त झुक्न सिकाउने उपासनास्थल हो,
जहाँ बुद्धि होइन,
नियमको ग्रन्थ पढिन्छ बिनासंवादको अनुशासनमा।
तिमीले मलाई भन्यौ, “सहकार्य गर,”
मैले बुझें—”स्वत्व त्याग”।
तिमीले भन्यौ,”दृष्टिकोण साझा गर,”
मैले महसुस गरेँ”दृष्टि बन्धक राख”।
अब हेर,
कसरी भत्किएको छ
मेरो चेतनाको आराधना मन्दिर
जहाँ एकदिन विचारहरूले शंख फुकेको थियो।
शब्दहरू अब प्रश्न गर्दैनन्,
किनभने कलमका धारहरू
अनुदानको र Ink को सन्धिमा गुमाएका छन् धार।
सिंहदरबारको नक्सा पढेर
शिक्षक बन्ने सपना देखाउनेहरूले
कहिले महसुस गर्लान्
शिक्षा एउटा मन्त्र हो,
आदेश होइन?
म भन्न चाहन्छु निराशाले होइन ।
( गीता गुरुङ मेमकोको यो कवितामा थोरै विद्रोह तर धेरै आत्मसम्मानको चेत बोलेको छ । मार्क्सवादको वर्गचेतनाको र बुद्धत्व दर्शनको सुन्दर वर्णन गरिएको कविता पढ्नमा आनन्द आउँछ ।)







प्रतिक्रिया