प्रश्नहरूको लस्कर
–गीता गुरुङ, भद्रपुर-४, ज्ञानेचोक, झापा
ऊ ठिङ्ग उभियो
मेरो प्रिय पात्र
उही घाइते शिक्षक
घाउ नै घाउले भरिएको
उनको उदास मनलाई
घरि घरि प्रश्न सोधेँ
“के भयो र प्रिय?”
उसको जवाफ आयो
“सबै मरेछन् के गर्नु?”
अनि मेरा प्रश्नहरूको
लस्करले उनलाई घेरे ।
ऊ अवाक र स्तब्ध छ
अनि देखाउँछन् मलाई
छातीका पुराना र आला दागहरु
कुनै हराउँन आँटेका अनि
कुनै नयाँ र गाढा लाग्ने ।
भन्छन् मलामी जानु छ
आफैले उठाएका आवाजहरूको
कसैसँग गरेका सम्झौताहरूको ।
उसलाई हतार छ आज
भोलि फेरि सिकाउँनु छ
ती कलिला छोराछोरीहरुलाई
दुखेको मनले, थकित तनले
तथापी जिउँनु छ यहीं
बिन्ति भाऊ गर्नु छ यहीं
अनगिन्ति तथाकथित फलानोहरुलाई।
(समसामयिक विषयवस्तुमा शक्तिशाली चेत भएको कविता पस्कनुहुने गीता गुरुङ मावि तहको अङ्ग्रेजी शिक्षक हुनुहुन्छ । उहाँको कवितामा समाजको प्रतिविम्बन पाइन्छ ।)








प्रतिक्रिया