कविता: एउटा सपना हराएको यात्री
-गीता गुरुङ, भद्रपुर, झापा ।
हिजो
एउटा सपना थियो — रंगीन, उज्यालो,
पसिनाले सिंचित, मिहिनेतले झनै ।
नयनभित्र उर्लेको त्यो न्यानो चाहना,
जीवनको चित्रभित्र हुन्थ्यो त्यसको गहिरो भावना
तर आज…
एउटा यात्रु छु म — थकित, हारेको, मौन,
काँधमा सपना छैन, केवल निरासाको बोझ ।
अधुरो सपना जस्तै कतै हराएको छु म,
सम्झनामा मात्र बाँकी छ, त्यो उज्यालो समय।
हिजो
जुन बाटो थियो मेरा कदमको साथी,
आज
उही बाटो छ तर पिँडा छ ममाथि
हावा चले पनि अब के फरक पर्छ र!
जहाँ मनभित्रको चञ्चलता पुरै मौन भइदिन्छ।
एउटा सपना हरायो —
हाँसो लुटायो,
एकादेशको कथा झैँ, जीवनलाई बिसायो।
मैले देखेको त्यो सुन्दर र उज्यालो आकाश,
आज घनघोर बादल ढाकेर आयो ।
म त यात्रु हुँ पाइला हराउँदै हिँड्ने,
कहिले उकालो,
कहिले ओरालो न रोकिने, न थfक्ने।
तर यो यात्रा कहाँ पुर्याउँछ थाहा छैन ।
सपना हराएको यो मन —
अझै आफैसँग रुष्ट छ, सप्रिन खोज्दैन ।
शहरका बत्तीहरू झिलिमिली छन् सायद,
तर मेरो मनभित्र अँध्यारोको भीड छ अझै ।
कोही सोध्छ: “सपना के हो?”
म मुस्कुराउँछु,
अनि भन्छु: “हराएको याद हो त्यो ।”
तर कतै…
टाढाबाट आउँछ एक आवाज:
“यात्रु होस् तँ, तर यात्रा त अझै बाँकी छ, आज !”
र त्यो आवाजले झनै बिथोल्छ, झनै गिजोल्छ,
एउटा झिनो आशाले फेरि शिर उठाउन सिकाउँछ ।
किनभने…
सपना हराए पनि, सपना फेरि जन्मिन्छ,
र हारेको यात्रु पनि, एक दिन फेरी उठ्छ ।
त्यसैले म लेख्दैछु — आँसुमा कविता,
जहाँ यात्रु छ, सपना छ,
र आशाले बगाएको जीवनको नदी पनि छ।
( पछिल्लो समय आफ्नो सुन्दर भावनातथा शक्तिशाली चेत भएको आवाज पस्किने कवि गिता गुरुङको यो शक्तिशाली कविताले एउटा सपना, सम्भावना र जीवन बोल्छ ।)








प्रतिक्रिया