इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा
-मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।
साहित्यमा रङ्गवादी(२०६५ पछि बहुलरङवादी)उत्तरआधुनिक रङ भर्ने अभियन्ता हुन्-धर्मेन्द्रविक्रम नेम्बाङ । रातो बाघ उपन्यासबाट लेखनयात्रा शुरु भएर मैले बोल्दा देशको नक्सा हल्लिन्छ हुँदै हालै उहाँको एकैसाथ चारओटा कृतिहरु विमोचन भएका छन् । यिनै चार पुस्तकमध्ये एउटा पुस्तक हो-पितापुर्खाको कथा, इतिहासदेखि वर्तमानसम्म । मैले धर्मेन्द्र दाईद्वारा लिखित( तेह्रवटा जीवनी) र सम्पादित( आठवटा) गरेर एक्काइसजना र प्रकाशक एघाह्र गरेर झण्डै तीन दर्जन नेम्बाङ वंशज पितापूर्खाका कथा यो ग्रन्थमा पढ्न पाँए । बहुलरङ्गवादको सिर्जनाकार नेम्बाङको यसअघि नेपाल कस्तो बनाउने कसरी बनाउने सम्बन्धमा मैले उत्तरसिद्धान्तमा दाँजेर लेखेकोमा यो किताब पढेपछि उहाँमा इतिहास र जीवनी सिर्जना गर्ने सुन्दर शिल्पीचेत रहेको पाँए । पीतापुर्खाको कथालाई बहुलरङ्वादी दृष्टिकोणको हेर्दा निम्न रङहरु देखियो ।
बहुल(उत्तर)इतिहास-पोष्टकन्स्ट्रक्टिभ रङमा पितापूर्खाको कथा
सभ्यताको विकाससँगै धेरथोर इतिहासविषयक सोच विकास भयो । यसैकारण मेसोपोटामिया भन्दा मिश्रको, चिनिया सभ्यता भन्दा कम्फ्युसियसको र वैदिक भन्नाले हिन्दुको सम्झना आउँछ । नेपालको परिवेशमा भने किराँतयुग, लिच्छवियुग, मल्लयुग, शाहयुग हुदै गणतन्त्रयुगमा प्रविष्ट भएको प्रष्टै छ।
सन् १९७० मा हेडन ह्वाइटले इतिहासलाई संरचनावादबाट उत्तरसंरचनावादमा डोर्याए । भिन्सेन्ट बि लाइचले डिकन्स्ट्रक्टिभ क्रिटिसिजम कृतिमा इतिहासलाई भाषानिष्ट रचना भने । अठाह्रौ शताब्दीमा भिको(१६६८-१६४४), कान्ट(१७२४-१८०४), गिबन(१७३७-१७९४)ले इतिहासमा बौद्धिकता भित्र्याए ।
सत्रौंदेखि बिसौं शताब्दीको पूर्वार्धसम्मलाई इतिहासको आधुनिककाल भनिन्छ जहाँ उद्योगवाद, उपनिवेशवाद, विकासवाद र शहरीकरणले प्रश्रय पायो । बिसौं शताब्दीको उत्तरार्धदेखि संरचनात्मक भाषाविज्ञानसँगै समाजशास्त्र मानवशास्त्रका नयाँ नयाँ शिराहरुको अध्ययनबाट इतिहास पनि उत्तरइतिहासको कलेवरमा आयो ।
विरही काइलाले नेम्बाङलाई नेम्बाहाङ मात्रै बनाएका छैनन् तोरीबारीको बाहुनी बज्यैको एक थलो खेत किनाइले उत्तरसंरचनावादको पैरवी गर्छ । फिपराज र मकरधोजको प्रवाश बसाइले लिम्बुहरुको थातथलो नछाड्ने प्रवृत्तिमाथि धावा बोल्छ । नरेन्द्रराज प्रसाइको डबल सुब्बाको किरात मिक्हम साम्लो खण्डकाब्य रचनाले सुब्बा खानदानलाई उत्तरसंरचनावाद भित्र्याएर बहुलरङ् मात्र देखाउदैन बरु नरविर नेम्बाङको पराक्रमले यिनै उत्तरइतिहासको एक शाखा बहुलइतिहासमा ल्याइपुर्याउछ- पितापूर्खाका कथा इतिहासदेखि वर्तमानसम्मलाई ।
उत्तरइतिहासवाद-डिकन्स्ट्रक्सनवादी रङमा पितापूर्खाको कथा
दोश्रो विश्वयुद्धपछि परम्परागत रुपमा राजाको, मन्त्रीको तथा सामन्तको इतिहास लेख्ने क्रम तोड्नु नै विनिर्माणवाद हो । बहुलरङको एक भाग विनिर्माणवादी शैलीमा लिम्बु मुन्धुमविद भनेर रनधोज नेम्बाङको, अपराजित सेवक भनेर हरिश्चन्द्र नेम्बाङको, लेफ्टिनेन्ट रिटायर्ड भनेर इन्द्रहाङ नेम्बाङको, वनम्यान आर्मी भन्दै वीर नेम्बाङको तथा एक अथकित यात्रीको रुपमा वीरदल नेम्बाङ जस्ता पितापुर्खाको चर्चा गरेर राजा र रैति, मन्त्री र मान्छे तथा माथी र तलको उच्चनिचक्रम तोडेको छ । डिकन्स्ट्रक्सनवादको उच्चतम रङ संयोजन यसरी यो कृतिले अपनाएको छ ।
शक्तिवादको रुपमा जस्को भैसी उसको वन भनिने परम्परालाई अन्य लेखकहरुको रचनाबाट तोडिएको छ । प्रकाश थाम्सुहाङदेखि प्रकाश गुराँगाइसम्मले लेख्न भ्याएका छन् । इतिहासलाई समयसापेक्ष नयाँ ढङ्गबाट हेर्ने प्रयास गरेर ठूलाबडाको मात्र इतिहास लेख्ने परम्पराको विरोध गरेको छ- पितापूर्खाका कथा इतिहासदेखि वर्तमानसम्म ले।
डिस्कोर्सको रङमा पितापूर्खाको कथा
१९७० को दशकमा हेडन ह्वाइटले मेटाहिस्ट्रि र टपिक्स अफ डिस्कोर्स जस्ता कृति प्रकाशन गरेर इतिहासमा डिस्कोर्स भित्र्याए । साहित्यिक आधार लिएर वास्तविक इतिहास बताउनु इतिहासको डिस्कोर्स हो । नेम्बाङले पितापुर्खाको कथा विभिन्न लेखकहरुको साहित्यिक लेख र स्वयम् आफ्नो लेख सम्पादनबाट यसरी डिस्कोर्सको रङले रङ्गाएका छन् ।
पितापुर्खाको कथालाई मैले डिस्कोर्सको रङले हेर्दा यसप्रकारका रङहरु देखिए –
क)पुरातन(कन्जर्भेटिभ)- इतिहासप्राय कन्जर्भेटिभ नै हुन्छ । यहि भएर पितापुर्खाको कथामा प्राय पुर्खाहरुको अनुभव र पौरख समेटिएको हुनाले कन्जर्भेटिभ भएकोमा सान्दर्भिक छ । सबैभन्दा मुख्य कुरा प्रजातन्त्र प्राप्तिको लागि लडेका नेम्बाङ पुर्खाहरुको कथा, व्यथा र योगदान यो पुस्तकले बताउछ । सम्पादक स्वयमले लेखेका जीवनीहरुमा यो झल्किनुलाई स्वभाविक मान्न सकिन्छ ।
ख) क्रान्तिकारी(रेडिकल)- यस पुस्तकमा विरही काइँलाकृत नरबहादुर नेम्बाहाङ लगायत डबल सुव्वा, नयेन्द्र नेम्बाङ, हरिश्चन्द्र नेम्बाङ, भूविक्रम नेम्बाङ, अमर नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, नरेन्द्रविक्रम नेम्बाङ र वीर नेम्बाङहरु नेपालको विभिन्न राजनीतिक क्रान्तिहरुमा क्रान्तिकारी भएर आएको उहाँहरुको योगदानबाट देखिन्छ । उता कलमको माध्यमबाट चेतनाको क्रान्ति छर्नमा रनधोज नेम्बाङ, तीलविक्रम नेम्बाङ, अमर नेम्बाङ, कृष्ण विक्रम नेम्बाङ, वीर नेम्वाङ र राजेन्द्र नेम्बाङहरुको योगदान प्रष्ट देखिन्छ । स्वयम सम्पादक धर्मेन्द्र नेम्बाङ पनि रङ्गवादी विचारक तथा हरियो क्रान्तिकारी हुन् ।
ग) उदार(लिवरल)- डिस्कोर्समा देखिएको अर्को रङ उदारता अर्थात लिबरल हो । लिम्बुवानको हरेक राजनितिक परिवर्तनमा आफ्नो उदारता देखाएका नेम्बाङ पुर्खाहरु यसमानेमा उदार देखिन्छन् । यससन्दर्भमा आयामेली कवि बैरागी काहिला लेख्नुहुन्छ-बिसं २००७ सालमा क्रान्तिमा सघाए बुबाहरुले । बुबासँग धेरै बन्दुकहरु थिए । पहिलो विश्वयुद्ध र दोश्रो विश्वयुद्धबाट फर्किनेहरुबाट किनेका राइफल र टोटा बन्दुकहरु थिए । पेस्तोल रिभल्भर ती सबै २००७ सालको क्रान्तिमा दिएका रहेछन् । पछि वीपी कोइराला गृहमन्त्री भएर नेपाल आउँदा बन्दुकहरु धन्यवादको पत्रसहित फर्काइदिए ।(पृष्ठ ५७)
पितापुर्खाको कथामा समयक्रमको रङहरु-
यो पुस्तकलाई मिहिनताको साथ हेर्दा समयक्रमका निम्न चार रङहरु देखिन्छन्-
- प्रजातन्त्रपूर्व : २००७ सालपहिलेको समय ।
यो समयका पुर्खाहरुमा विशेषगरेर नरबहादुर नेम्बाहाङ, डबल सुब्बा, नयेन्द्र राज नेम्बाङहरुको चर्चा गरिएको पाइन्छ । खड्गबहादुर नेम्बाङले प्रजातन्त्रको लागि गरेको योगदान र नरबहादुर नेम्बाङले पान्थर नाङ्गिन, टिमुरे, सेजेपाका मानिसहरुलाई देविस्थान बारीमा दिएको योगदानको चर्चा कम रोचक छैन् ।
प्रजातन्त्रपछि: २००७-२०१७ सम्म ।
यो समयमा हरिशचन्द्र नेम्बाङ, भूविक्रम नेम्बाङ तथा डबल सुब्बाहरुको योगदान अविश्मरणिय छ । लिम्बुवान सुधार सँघ, पल्लो किरात लिम्बुवान प्रतिनिधी मण्डल आदि गठनबाट तत्कालिन समयमा समाज सुधारको क्रान्तिकारी चेत यो समयमा विकास भएको देखिन्छ ।
- पन्चायतकालिन : २०१७-२०४६ सम्म ।
पितापुर्खाको कथाको सबैभन्दा मन छुने र मार्मिक अनि कारुणिक कथा यसै कालखण्डले बोल्छ । भूविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, नरेन्द्र विक्रम नेम्बाङ तथा हरिशचन्द्र नेम्बाङहरुको सत्ताविरुद्धको त्यो सङघर्ष र इतिहासले हामी पाठकहरुको मनमा जोश जाँगर भरिन्छ ।
भूविक्रम नेम्बाङले तत्कालिन पन्चायतविरुद्ध सन्चालन गर्नुभएको सङघर्ष तथा १८ वर्षकै उमेरमा धोविनाथ नेम्बाङसँग पक्राउ परेर धनकुटा पुर्याइनु भएका कृष्ण विक्रम नेम्बाङको कथा कम साहसपूर्ण छैन् । क्रान्तिमा पान्थर कुर्लुम्बाका मेरो बाजे जरबारे र कान्छा बाजे औतारे दुवैजना निस्कासित भएर आसाम कोक्राझारतिर बस्नु भयो, त्यही परिवारको सदस्य म र मेरो पुर्खाहरुले यसरी भूविक्रम नेम्बाङको सैनिक बनेको गर्विलो इतिहास पढन पाउदा स्वर्गवास भइसक्नुभएका पुर्खाहरुको सम्झनाले मलाई नोस्टाल्जिक बनायो।
- प्रजातन्त्र प्राप्ति पछिको समय : २०४६ देखि हालसम्म।
पुस्तकमा समावेश गरिएका अन्य पितापुर्खाहरुको चर्चा २०४६ सालपछिका हुन् । राष्ट्रिय सभाका सदस्य इन्द्रहाङ सुब्बा नेम्बाङ हुन भनेर यो पुस्तकबाट थाहा पाइयो । संविधान सभाका अध्यक्ष सुभाष नेम्बाङ, अमर नेम्बाङ, देवेन्द्र नेम्बाङको दानपारमिता तथा वीर नेम्बाङको लिम्बुवानको सङघर्षले पाठकको मन छुन्छ । वीरदल नेम्बाङको थकानरहित यात्रा देखि उर्मिला थेबेको वडाध्यक्ष हुदै सांसदसम्मको यात्रा कम रोचक छैन् । अझै दुर्गा नेम्बाङ र भूपेन्द्र नेम्बाङको राजनीतिक उतारचढाव तथा क मिक्सोको जनयुद्धको लडाइ र भोगाइले थाहै नपाइ आँखा रसाउन पुग्छ ।
इतिहासको सौन्दर्यता र उत्तरआधुनिकतामा निर्मग्न यात्रा
माइकल फुकोको इतिहासको आधुनिकवादलाई अस्विकारको जल्दोबल्दो प्रमाण पितापुर्खाको कथामा भएकोले यसले उत्तरआधुनिकवादमा निर्मग्न यात्रा गरेको मेरो ठम्याइ छ । तात्पर्य के भने आधुनिकवादको सरल रेखिय र क्रमबद्धतालाई पटकपटक तोडिएको छ । अझ प्रष्ट शब्दमा भन्नुपर्दा सम्पादक र लेखकहरुले इतिहासको सौन्दर्यतालाई यति शक्तिशाली रुपमा साहित्यिक व्याख्या गरिदिए कि साहित्यिकता उत्तरआधुनिकवादको शक्तिशाली औजार भएको प्रष्टियो ।
यो पुस्तकमा चर्चा गरिएका पितापुर्खाहरुमा वीर नेम्बाङ लिम्बुवानपथमा एवम् भुपेन्द्र नेम्बाङ मालेपथमा तथा दुर्गा नेम्बाङ र क.मिक्सो दुई जनाले माओवादमा यात्रा गरेर राजनितिक रङ भरेका छन् । उता राजेन्द्र नेम्बाङ, उर्मिला थेबे र सुबाशचन्द्र नेम्बाङको एमालेपथमा आबद्धता सारा जगजाहेर छ ।
वीरदल नेम्बाङ, देवेन्द्रविक्रम नेम्बाङ तथा रनधोज नेम्बाङको समाजसेवामा सक्रियता पुस्तकमा उल्लेख गरिएको छ । नरबहादुर नेम्बाहाङ देखि डबल सुब्बा त नयन्द्रराज देखि इन्द्रहाङ सम्म र कहिले भूविक्रम, कहिले तिलबिक्रम हुदै नरेन्द्रविक्रम सम्म अनि अमर नेम्बाङदेखि हरिशचन्द्र नेम्बाङ सम्मको सबैभन्दा बढि दशजना नेम्बाङ पुर्खाहरुको आवद्धता नेपाली काङ्ग्रेसमा भएको र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेम्बाङ परिवारको सक्रियतालाई साँच्चिकै लोभलाग्दो र गर्वगर्न लायक रुपमा यो पुस्तकमा चर्चा गरेर प्रयोजनमुखी र हेतुमुलक रेखियतामा ऐतिहासिक सत्यताको वयान गर्नुले पुरै इतिहासको उत्तरआधुनिकतावादलाई पक्षपोषण र समर्थन गरेको देखिन्छ ।
अन्तमा समग्र नेम्बाङ बंशको मात्रै नभएर लिम्बुवानका अन्य वंशहरु र लिम्बुवान तथा सिक्किमे, दार्जिलिङे समाजको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षहरुको साङ्गोपाङ्गो चित्रण पितापुर्खाको कथामा पाइने भएकोले पठनिय र सङ्ग्रह योग्य छ । वर्तमान युवा पुस्ताका चर्चित व्यक्तित्वहरुको प्रकाशकको रुपमा संक्षिप्त जानकारी र सम्पादकको हरियो समाजवादी दर्शन र रङ्गवादी चिन्तन भैसी किन्दा पाडो सित्तैमा पाए झै बोनसको रुपमा पाइन्छ । सेवारो ।








प्रतिक्रिया