१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मनु योङहाङको ‘थोक्फेला’ उपन्यास पढेपछि



· 

मनु योङहाङको ‘थोक्फेला’ पढेपछि

पुण्यप्रसाद खरेल,

वि.सं.२०३२ साल साउन २४ मा पाँचथर जिल्लाको हिलिहाङ–३, साविक पञ्चमीमा बुबा अमरजङ योङहाङ र आमा नरमाया सुहाङको साहिलो सुपुत्रको रूपमा जन्मनु भएको, गणितमा एमएड पास गर्नु भएको तथा समाजशास्त्रको स्कलर मनु योङहाङ झापाको प्रसिद्ध माध्यमिक विद्यालय आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय, घैलाडुबाको मावि तहको स्थायी गणित शिक्षक हुनुहुन्छ । हाल अर्जुनधारा–११, हिलिहाङ मार्ग, विर्तामोडको बासिन्दा उहाँले ‘सप्तकोशीको किनारबाट’ (गजल सङ्ग्रह)–२०५५, ‘फूल’ (उपन्यास)–२०५७, ‘टिकट चिठीमा’ (गीति एल्बम)–२०५९ पहिले नै प्रकाशित गरिसक्नु भएको छ । भर्खरै उहाँको ‘थोक्फेला’ (उपन्यास) बजारमा आाएको छ । मैले आज त्यही पछिल्लो कृति थोक्फेलालाई चर्चाको विषय बनाएको छु ।

मैले भर्खरै उपन्यासकार मनुज्यूका हातबाटै यो थोक्फेला उपन्यास प्राप्त गरेर पढें । पढेपछि मलाई लागेको कुरा लेख्न लाग्दैछु । मनुज्यूसँगको मित्रता नयाँनयैं हो । उहाँ उपन्यासकार हुनुहुन्छ भन्ने त झन् भर्खरै थाहा पाएको हुँ । उहाँका प्रथम उपन्यास ‘फूल’लगायत कुनै पनि कृतिहरू पढ्न पाएको छुइन ।

उपन्यासको सिर्जना र कमजोरीहरु

‘फूल’ उपन्यास पढेपछि एकजना नारी पाठकले ‘आफ्नै जातिसमाजको चित्रण गर्दै नारी प्रधान उपन्यास लेख्ने अनुरोध’ उपन्यासकार मनुलाई गरेपछि सृजना भएको रहेछ यो उपन्यास । २०६३ सालमा लेखिएको यो कृति उनै पाठकले २०८१ साउनमा प्रकाशन गरेर आज हामीमाझ आइपुगेको छ ।

थोक्फेलालाई पुस्तकको रूपमा भित्री सेटिङमा ध्यान दिएको भए केही छरितोपन, सुन्दरता थप्न सकिन्थ्यो । आवरण ठिकै छ, पुस्तकको कागज र अक्षरहरू पनि ठिकठिकै लाग्छन् । ३३६ पृष्ठजस्तो रहेको यस पुस्तकको मूल्य रु ९५१ राखिएको छ । पुस्तकमा भित्र ठाउँठाउँमा केही शब्दहरू, वाक्यांशहरू छुटेका जस्ता लाग्छन् । शुद्धाशुद्धिमा केही त्रुटि देखिन्छन् नै, तैपनि उपन्यासकार विज्ञान–गणितका विद्यार्थी हुनुभएकाले क्षम्य भन्छु म । भाषा सम्पादनमा थोरै ध्यान पुगेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्छु म ।

उपन्यासको कथासार: आरम्भमा

नवीन काम्वाङ नामको पाँचथर कुर्लुम्बा (हिलिहाङ–३)को लाहुरे विद्यार्थी छँदा त्यतै थर्पुकी मनुसँग धाननाचेको र यस्तै मनमा उसको छाप बसेको हुँदा बिहा उसैसँग गर्ने इच्छाले पहिल्याउँदै मनुलाई खोजिहिड्ने क्रममा उसको विराटनगर रोडशेषमा एक जना मोरङ अस्पतालको नर्ससँग ठोकिन पुग्छ र टाउकोमा चोट लागी गम्भीर घाइते बन्छ । टाउकोमा लागेको चोट देखेर र निकै बगेको रगतका कारण व्यथित भई स्वयं ती नर्सले ती घाइतेलाई अस्पताल लान्छिन् । धेरै रगत गएको हुँदा रगत दिनु पर्ने हुन्छ । ‘ओ’ नेगेटिभ रगत विरलै पाइन्छ । नर्सको आफ्नो रक्तग्रुप ‘ओ’ नेगेटिभ नै भएकाले एक पिन्ट रगत आफैं दिएर सेवा गर्न लाग्छिन् । उपचारको क्रममा उनी एकछिन त्यहाँ नभएको मौकामा बिरामीलाई उनकै इन्जेक्सन मानेर अर्को छेउको मानसिक बिरामीलाई दिइने ‘सुङ्निङ्वा सिजङ्वा’ नामको इन्जेक्सन दिइन्छ । भनिन्छ यसको असरले बिरामीको मष्तिष्कमा प्रभाव पार्दछ । त्यसका असरले बिरामीले बेहोशीमै के र के बोल्ने क्रममा सामान्यतया पूर्वजन्मका कथाहरू भन्ने गर्दछ ।

नवीनले त्यस ‘सुङ्निङ्वा सिजङ्वा’ नामक औषधीको प्रभावले आफ्ना पूर्वजन्मका जुन कथाहरू भन्छन् त्यही नै यस उपन्यास ‘थोक्फेला’को मूल कथानक हो । अनौठो कुरा चाहिँ के छ भने त्यस पूर्वजन्मको कथाका नायक यलम्बर र नायिका थोक्फेलाको शारीरिक वर्णन र कथासार धेरै नविन काङवाङ र नर्स मनुसँग मिल्दाजुल्दा पनि छन् । यिनीहरू नै जन्मलिँदै लिँदै आएका भन्नुझैं छन् ।

मध्यकथा :पूर्वजन्म र इतिहास कथनता

‘थोक्फेला’को कथानक मध्ये नेपालको तराई वर्तमान वीरगञ्ज सिमराछेउतिरको ऐतिहासिक मानिने स्थल सिङमाङगढबाट सुरु हुन्छ । त्यस सिङमाङगढमा राजा श्यामदत्त र रानी यिनोहाङ्मा नामक किराँत राजारानी हुन्छन् । तिनै राजारानीको छोरा राजकुमार यलम्वर छन् । राजकुमार यलम्वरलाई बालकमै एक भीक्षुनीबाट एउटा सराप परेको हुन्छ– उनलाई कुनै युवतीको स्पर्श भएमा नाथ्री फुट्ने, टाउको दुख्ने र गम्भीर विरामी हुने हुन्छ ।

सिङमाङगढको उत्तरमा लुङमाङगढ अर्को किराँती राज्य हुन्छ । त्यहाँ राजा नाम्विनहाङ र सेसेना रानी शासन गर्दै हुन्छन् । तिनकी छोरी हुन्छिन् राजकुमारी ‘थोक्फेला’ । थोक्फेला बुद्धिमा, साहसीमा तथा रूपमा अनुपम हुन्छिन् । सिङमाङगढका राजा श्यामदत्त शक्तिशाली र महत्वाकाङ्क्षी पनि हुन्छन् । उनमा आफूदेखि उत्तरका राज्यहरू लुङमाङगढ, पालुङगढ, चित्लाङगढ, शिखरगढ, चन्द्रचुड विजय गर्दै गर्दै तत्कालीन मञ्जु–पतन अर्थात् नेपाल पनि विजय गर्ने लक्ष्य हुन्छ ।

नेपालको महिषपाल वंशको राजा भूवनसिंहले त्यहाँ आफ्नो शासनको विरोध गर्ने सेनापति तथा भारदार सरदार नोगेन, श्रेष्ठाङ अम्बरजङ, जरबारसिङ, चञ्चलसिंह आदिलाई देश निकाला गरेपछि ती पनि सिङमाङगढका राजा श्यामदत्तसँग गएर आश्रय लिएका छन् । तिनीहरू सिङमाङगढको बलियो आड बन्न पुगेका छन् र श्यामदत्तका दरिला सहयोगी बनेका छन् । आक्रमण गरिने राज्यका कमजोरी पत्ता लगाउन, भेष बदलेर त्यस राज्यका गुह्यकुराहरू थाहा पाउन र आफ्नो राज्यशक्तिलाई दह्रो बलियो राख्ने तौरतरिकामा ती माहिर हुन्छन् । नभन्दै तिनको सहयोगले श्यामदत्तले उत्तरपटिको लुङमाङगढमा चढाइ गर्छन् र विजय पनि प्राप्त गर्छन् । लुङमाङगढका राजा नाम्बिनहाङ, रानी सेसेना, राजकुमारी थोक्फेला उसको अधिन स्वीकार्न बाध्य हुन्छन् । हात उठाएर सिङमाङगढ राज्यको अधिन स्वीकार गरेपछि राजा श्यामदत्त उदार हुन्छन् र राजारानी तथा राजकुमारीलाई मान–मर्यादामै बस्न दिने हुन्छन् ।

उता, रानीलाई एक ज्योतिषीले ‘दुबै गालामा खोपिल्टा (डिम्पल) भएकी राजकुमारी उत्तरपटिको राज्यमा हुन्छिन्, उनी नै राजकुमार यलम्बरको दबाइ बन्छिन्’ भनेका हुन्छन् । ‘थोक्फेला’मा ती गुणहरू देखिन्छन् र उनको उपचारको प्रयत्न गरिन्छ । भर्खरै लुङमाङगढमा चढाइँ गर्दा यलम्बरको हातमा लागेको चोटको उपचार गराउन भर्खरै अधिनमा परेकी राजकुमारी थोक्फेलालाई लगाइन्छ । राजकुमार यलम्बरलाई थोक्फेलाको उपचारको सकारात्मक प्रभाव पनि पर्दछ ।

उपन्यासको उत्तरार्ध :शक्तिशाली र समर्पित थोक्फेला

थोक्फेलाको स्वाभिमानी पारा, पराक्रमी र लगनशील गुणले अरुलाई धेरै प्रभाव पार्छन् । त्यसउता राजकुमार यलम्वर र थोक्फेला एकअर्कामा आकर्षित पनि हुन्छन्, तर उनीहरूको राजकुमार र राजकुमारी पदको स्वाभिमान–अभिमानले खास नजिक हुन बाधा पनि गरिरहेको हुन्छ ।

त्यसपछि जेभए पनि लुङमाङगढ, यसका जनता, सेना तथा थोक्फेलाका बाबुआमा सबै सिङमाङगढकै अधिनमा त भइसकेकै हुन्छन् । मिथीलाको प्रभावमा अचानक नेपालका अहिरवंशी भुवनसिंहले सिङमाङगढमा गरेको आक्रमणको प्रतिकारमा परेर विषालु तिरको कारण राजा श्यामदत्तको निधन हुन्छ । अन्य चढाइहरुमा यलम्वरलाई थोक्फेलाले निकै सहयोग गरेकी हुन्छिन् । यलम्वर राजा बनाइन्छन् । राजमाता यिनोहाङमाले थोक्फेलालाई यलम्वरसँग विवाह गराउन प्रस्ताव पनि गर्छिन्, तर थोक्फेलाले ‘बुबाआमासँग पनि त सहमती लिनुपर्छ नि !’ भनेर थपक्कै स्वीकार गरिहाल्दिनन् । उनले तत्कालै स्वीकार नगर्नुलाई यलम्वरले आफ्नो प्रतिष्ठाको कुरा सम्झन्छन् पनि ।

त्यसपछि पनि थोक्फेला यलम्वरलाई सहयोग गर्न लागिरहन्छिन् । तर राजमाताको कुरा थपक्कै नमानेको थोक्फेलाको कुराले आफ्नो प्रतिष्ठामा चोट परेको सम्झिएका राजकुमार यलम्वरको मनलाई प्रभावित पार्न उपन्यासकारले यसपछि खलनायकी पात्रका रूपमा मयनसिंह र उसकी छोरी चिम्फुलालाई ल्याएका छन् । थोक्फेलाका स्थानमा आफ्नी छोरी चिम्फुलालाई रानी बनाएर विशाल र शक्तिशाली राज्य सिङमाङगढ–नेपालको सेनापति बन्ने र मोजगर्ने सपना मयनसिंहले देखेको हुन्छ । मयनसिंह अनेक छलकपट गर्छ, षडयन्त्र गर्छ, राजा यलम्वरको मनलाई थोक्फेलाबाट बिरत पार्न अनेक झोसपोल लगाउँछ । खलपात्र मयनसिंह सफल हुँदैन, बरु यलम्वरबाट देशनिकालामा पर्छ । निकाला परेपछि मयनसिंह यलम्वरले अब चढाइ गर्न तयारी गर्दै गरेको देश नेपालमा गएर त्यहाँको महिषपाल राजा भूवनसिंहलाई पोल लगाएर त्यसकै पक्षबाट हतियार बोकी यलम्वरका विरोधीको रूपमा लड्न आउँदा मयनसिंह मारिन पुग्छ ।

यसरी यलम्वरले थोक्फेलासहित विशाल सेना र ती नेपालबाट पहिला खेदिएका भारदार तथा सेनापतिहरू सरदार नोगेन, श्रेष्ठाङ अम्बरजङ, जरबारसिंहरू सबै मिलेर चित्लाङगढ, पालुङगढ, शिखरगढ, चन्द्रचुड विजय गर्दै आखिरमा महिषपाल वंशका आखिरी राजा भूवनसिंहमाथि पनि विजय हासिल गरेर नेपालमा किराँत वंशको राज स्थापना भएको वर्णन अस्पतालको शैयामा रहेको नविनकुमार काङवाङले विहोशीको रूपमा वर्णन गरेको नर्स मनु तथा डा.ताङसाङले सुनेको कथा छ यसमा ।

उपचाररत अस्पतालको विछ्यौनामा सुतेको नविन काङवाङ बेहोशीमा नै नर्सलाई ‘थोक्फेला’ सम्बोधन गर्दै बोल्नु, थोक्फेलाका रूपरङसँग आफ्नो रूपरङ मेलखानु, बेहोशीमा भनिएको कथामा यलम्वरलाई थोक्फेलाले नै तरवारले चोट लगाएको र सँगै आफूलाई पनि लागेको चोटले एकसाथ उनको रगत यलम्वरका घाउमा पर्नु र थोक्फेलाको उपचारबाट जाति हुनु, यता आफ्नैै रगत चढाएर नविनलाई उपचार गर्नु जस्ता धेरै कुराहरू मिल्न पुग्छन् । नविनकी आमा र फुपूले पनि यलम्वरकी आमाले थोक्फेलालाई रानी बनाउन चाहेकै झैं उनीप्रति आशालु मनले हेरेको मनुले बुझ्छिन् ।

समर्पित प्रेम, खुल्ला अन्त्य र मानक समाबेशिता

कथा कथै त हो । यस उपन्यासमा यलम्वरलाई थोक्फेलाप्रति आशक्त पनि देखाइएकै छ । थोक्फेलालाई यलम्वरप्रति समर्पित पनि देखाइएकै छ । दुबैका लक्ष्य र अन्य कामनाहरू पूरापूर भएका पनि देखाइएकै छन् । यलम्वर नेपालमाथि आक्रमण गरेर विजयी भई राजमाता यिनोहाङमाबाट पूजा गरी राज्याभिषेक गरिएको पनि देखाइएको छ । लेखकले त्यो राज्याभिषेकमा ‘एकलो राजालाई अभिषेक गर्न अपुरो हुन्छ’ भनेर थोक्फेलालाई बसाई रानीका रूपमा सँगै अभिषेक गराएको भए हुन्थ्यो भन्ने पाठकलाई पनि लागेकै छ ।

अँ, नविन काङवाङको र मनुको पनि त्यस्तै स्थिति सृजना गरिए वा दुईको विवाह देखाए पनि केही विग्रँदैन भन्ने लाग्छ । होइन भने यसमा भएको मनासिव नै छ ।

अन्तमा, उपन्यास पठनीय छ । धेरैभन्दा धेरै हाम्रो पूर्वाञ्चलको मुख्य जाति लिम्बु (किराँत)हरूका भाषाका शब्दसँग परिचित हुन पाइन्छ, मुन्धुमसँग परिचित हुन पाइन्छ । साहित्यमा यो एकदम जरुरी हो । हामी सब यहाँ घोलमेल भएर बसेका छौं । हामीले एकार्काका संस्कृति, भाषा बुझ्नु, जान्नु वाञ्छनीय हो । मैले यस उपन्यासबाट धेरै कुरा सिक्न पाएँ ।

ऐतिहासिकता र लिम्बुवान

डाइमन शमशेरका ‘सेतो बाघ’, ‘बसन्ती’ जसरी ‘थोक्फेला’ पूरा ऐतिहासिक उपन्यास त होइन, तैपनि यसले इतिहासका केही पत्रहरू खोल्छ जस्तो लागेको छ । यो कुरा इतिहासकारहरुले जानून् । उपन्यास महत्वपूर्ण छ । यसले नेपालमा किराँत वंशको सुरुवातको एउटा झल्को देखाउँछ र मयनसिंहले विजुवा बसेको दृश्य देखाउँदै जोखाना बताउने सुरमा याङरूप क्षेत्रको वर्तमान लिम्बुवानको शाहवंशद्वारा छलगरी पराजित गराइएको इतिहासका बारेमा पनि संक्षिप्त कुरा बताउन पुग्छ ।

मनुज्यूले धेरै उखान–टुक्कालाई टक्क टक्क राखेर भनाइहरूलाई प्रस्ट र छ्याङ्ङ पार्न एकदमै सफलता हासिल गरेका छन् । उनको ‘फूल’ त मैले पढ्न पाएको छैन । यस थोक्फेलालाई ‘फूल’कै दोस्रो भाग भनिएको छ, तर ‘थोक्फेला’ स्वयंमा पूर्ण छ, यो पूर्णरूपमा ठिङ्ग उभिएको छ । यसलाई फूलको दोस्रो भाग भनेर पूर्णाङ्ग उपन्यास हुनबाट ठग्नु न्यायोचित हुँदैन भन्ने लाग्छ । यस उपन्यासको समग्र भाषा पनि सरल नै छ । हो थुप्रै लिम्बु संस्कृतिका शब्दहरु आएका छन् । बुझ्नका लागि केही शब्दको अर्थ पछिल्ला पेजमा दिइएको पनि छ । यसले आफ्नै छिमेकी, सँगै हुर्केबढेका साथीहरुका भाषाका, संस्कृतिका केही शब्दहरु सिक्न हामीलाई प्रेरित पनि गरेको छ । मलाई राम्रो लागेका छ ।

उपन्यास अथवा आख्यानमा द्वन्द्वलाई महत्वपूर्ण अङ्ग मानिन्छ । त्यसै पनि सिङमाङगढ, राज्यले अन्य राज्यहरू विजय गर्दै मञ्जु–पतन (नेपाल) विजय गर्ने, निरन्तर लडाइँको कथा बोक्नु द्वन्द्वकै कथा हो । त्यसमाथि कथाको मध्यान्तरदेखि मयनसिंह र चिम्फुलालाई उपस्थित गराएर रामायणमा ‘मन्थरा’ जस्तो, महाभारतमा ‘शकुनी’ जस्ता पात्रहरु उपस्थित गराएर पाठकलाई अझ मिठास भर्नुभएको छ ।

कथानकभित्र विपश्विबुद्ध, शिखी र मञ्जुश्री, कक्रुच्छन्द बुद्ध आदिका प्रसङ्गहरू पनि ल्याएर पाठकलाई ती बारे जिज्ञासा उपार्जन गराउनु भएको छ ।

मनुज्यूलाई धेरै धेरै बधाई छ । अरु नयाँ कृतिहरू पढ्न पाइरहूँ । शुभकामना !

(२०२८ सालदेखि कथालेखनमा सक्रिय पचहत्तर वर्षिय श्रष्टा पुण्यप्रसाद खरेल लामो समयसम्म शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो। मावि प्रथम श्रेणीबाट निवृत्त हुनुभएको श्रष्टा खरेल काँकडभिट्टा हाल विर्तामोडमा साहित्य सिर्जनामा सक्रिय रहनु भएको प्रमाण उहाँको साहित्यिक गतिविधीबाट प्रष्टिन्छ । उहाँको पुनर्वहाली(२०५३), मताने साइलो(२०६३), द्वन्द र धुवा(..) तथा पछिल्लो कथासङ्ग्रह पुण्यप्रसादका कथाहरु(२०८०) गरेर चारओटा कथासङ्ग्रहहरु प्रकाशित छन् । पछिल्लो कथासङ्ग्रहले रङवाद अझ बहुलरङवादलाई थपक्कै अंगालेको प्रष्टिन्छ । चारओटा उपन्यास समेत प्रकाशन गरिसक्नुभएको तथा लामो समयदेखि आख्यानमा सक्रिय कथाकार खरेलका कथाहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित हुनुले पाठकलाई पढ्नमा मज्जा आउँछ । समकालिन नेपाली समाज र समाजका सामाजिक, साँस्कृतिक पाटोहरुलाई यथार्थवादी तथा द्वन्दवादी दृष्टिकोणबाट मथ्न सक्नु कथाकारको सबल पाटो मान्न सकिन्छ । खारिएको लेखनीले समाजलाई मार्गनिर्देशन गर्ने कुरामा आशावादी बन्न सकिन्छ । धेरै कृतिहरुको भूमिका लेख्नु भएको खरेलको यो समिक्षाले उपन्यासकार मनु योङहाङको चर्चित उपन्यास “थोक्फेला” को पन्ना पन्ना र कुनाकुना अध्ययन गरेेको प्रष्टिन्छ । तपाई पनि कुनै कृतिहरुको सटिक समीक्षा र लेखरचना हामीलाई पठाउन सक्नुहुन्छ ।)

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ७ : १२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको