हिलिहाङ साहित्य कथा– हराएको गन्तब्य
-गीता गुरुङ
अस्ति एक दिन विद्यालयको आँगनमा ऊ फेरि एक्लै उभिएको थियो। माटोले मुछिएको उसको सेतो खैरो युनिफर्म, खुट्टामा च्यातिएको चप्पल र हातमा पुरानो झोला—सबै चीजहरूले उसलाई अरूभन्दा फरक देखाइरहेका थियो । मैले उसलाई नजिकैबाट नियालेर हेरेँ। अनुहारमा थकाइ र मलिनता मिसिएको थियो, तर आँखामा एक किसिमको गहिराइ थियो मानौँ उसले धेरै कुरा सहेर बसेको होस्। घण्टी बज्यो प्रार्थना भयो अनि फेरि कक्षा शुरु भयो।
“रोल्नम्बर फिफ्टी”
“रोल्नम्बर फिफ्टी”
मैले केटोलाई पुलुक्क हेरेँ। उसको झोला कक्षाको कुनामा राखिएको थियो, उसले अरू साथीहरू जस्तो रमाइलो गरिरहेको थिएन। बेलाबेला आफ्नो कुहिनो टेकेर टोलाएर बसिरहेको थियो। मैले देखेँ, जब मैले केही सोधेँ, ऊ हतार-हतार उठेर जवाफ दिने कोशिस गर्थ्यो—तर उसको स्वर अलिक बेसुरिलो, कहिलेकाहीं ढुक्क नभएको जस्तो सुनिन्थ्यो ।
फेरि आज एक हप्ता पछि बिहानको प्रार्थना समय अघि बाँसको लिङ्गो जस्तै देख्छु म उसलाई । लुई लुई हल्लिदै ठडिएको, झ्याउसे न झ्याउसे परेको अनुहार, पाँच फिट छ इन्च अग्लो, रक्तहिन, गडेका आँखाहरु, नमिलेका दाँतहरू अनि प्रतिशोधले भरिएको मुखाकृति । उसको भावहीन अनुहारमा न हर्ष छ न विस्मात । पश्चातापको एक झिल्को पनि देख्न सकिनँ।
“के भयो?” एक आकस्मिक प्रश्न सोध्छु म उसलाई।
“केही होइन म्याम।”
“पिएर आउँने हो स्कुल आउँदा?”
“छ्या! मैले पिएको छैन म्याम।”
“बस न।”
” अहँ, म उभिन्छु म्याम । बस्दिनँ ।”
“बसेर कुरा गरौं। बस त।”
“होइन, म यस्तै ठिक छु म्याम।” ऊ आफ्नो जिद्दीमा अडिग रह्यो।
उसको पुरानो मैलो न मैलो सर्टमा मेरो दृष्टि पर्यो । ल्याफ्र्याक्क प्यान्ट बाहिर उडिरहेको सेतो तर मैलो सर्ट, लामो समयदेखी नधोएको टाई, मैलो खैरो पुरानो प्यान्ट अनि थोरै च्यातिएको जालीवाला चप्पल।
“अनि रक्सी किन पियौ?” मेरो पुनः प्रश्न ।
“म्याम, मैले रक्सी पिएको छैन।”
“यसरी रक्सी पियौ भने विद्यालयले कारबाही गर्छ, थाहा छ नि तिमीलाई?”
“तिम्रो उज्यालो वर्तमानलाई अध्यारो बनाउँदैछौ ? पढ्ने समयमा रक्सी पिएर हिंड्यौ भने हामी कसको जिम्मा लगाउँछौ? थाहा छ नि?” मेरो आवाजमा धम्की मिसियो। अनायासै जिद्दी छाडेर ऊ रुन थाल्यो। भदौरे भेल झै आँखाहरू रसाए । अनि बडबडाउँन थाल्यो,
” म्याम, मलाई मेरो भविश्यको मतलव छैन । मलाई कसैले माया गर्दैन, कसैले वास्ता गर्दैन। भर्खरै म मरे भने पनि कोही रुदैन। मेरो आफ्नो कोही छैन म्याम। बुबा आमाले मेरो खाता कापी किनिदिदैनन् । मेरो वारेमा मेरो बाबुआमा केही ख्याल गर्दैनन्। भात पनि समयमा दिदैनन् । मेरो नाम रोजिन होइन म्याम, मेरो नाम कुकुर हो, मेरो घरमा बाउ र सानीमाले राखिदिएको । म मान्छे होइन रे म्याम |” आदि इत्यादि ।
“अनि तिमी घरमा बस्दैनौ अरे । किन?”
“मलाई साथी चाहिँदैन र म्याम?”
“हेर तिमीले अध्ययन गर्ने भनेको तिम्रै लागि हो । तिम्रो सुखद भबिष्यको लागि हो। तिम्लाई के के सहयोग चाहिन्छ भन।मैले सकेको सहयोग गर्न तयार छु। तिम्ले राम्ररी अध्ययन गर्यौ भने सबैले माया गर्छन्।”
“सम्पर्क नम्बर देऊ तिम्रो बाबाको।”
“मलाई थाहा छैन म्याम।”
“आमाको देऊ।”
“मेरो आमा हुनुहुन्न म्याम।“”
“बिदेश जानुभएको हो?”
“होइन पोइल जानुभएको हो।” अब यो भन्दा बढी सोधेँ भने मेरो आवाज लर्बराउँछ होला आँसु बग्छ होला। कुन्नि कुन संबेगले हो म थर्थराउँछु। एउटी महिलाले सन्तान नै त्याग्नु पर्ने कस्तो बाध्यता पर्यो होला कुन्नि।घोरिन्छु कसलाई दोस दिऊँ? सन्तानको लागि आफ्नो अस्मिता गुमाउँनेलाई कि सन्तान त्यागेर रमाईलो गर्दै हिँड्नेलाई?
“जाऊ कक्षामा बस।”
“म्याम आज म कक्षामा बस्न सक्दिनँ। अनि घर पनि जाने मन छैन । म यतै डुल्छु ।मेरो टाउको दुखेको छ।” घर जाऊ भन्न गाह्रो लाग्यो।
“जाऊ तर भोलि यसरी आउँने होइन।”
धाराप्रवाह रुपमा बगेको उसको यथार्थले मलाई बिचलित बनायो । ती श्रृङ्खला नमिलेका गुनासाहरु सबै यथार्थ झैँ लाग्यो । बिस्तारै माया गरेर उसलाई परामर्श दिने काम भयो तर मलाई थाहा छ उसले हराएको स्नेह, इज्जत र प्रेम पाउँन थुप्रै खुड्किलाहरु पार गर्नु पर्नेछ, थुप्रै सङ्घर्ष गर्नुपर्नेछ । ती भविश्यका उज्याला खुड्किलाहरू उसले चढ्न पाउँलान् नपाउँलान् सोचमग्न छु। अनि आशातित छु यसरी नै हाम्रा छोराहरूले यो संक्रमित समय चक्रलाई सहजै पार गर्लान् ।
समाप्त
-भद्रपुर, झापा
(ताप्लेजुङ, थेचम्बुमा जन्मनु भइ हाल चन्द्रभानु मावि भद्रपुर झापाको मावि अङ्ग्रेजी शिक्षक गीता गुरुङ साहित्यमार्फत समाजका विभिन्न पक्षहरुको नशा नशा र रगत रगत केलाउन सक्षम हुनुहुन्छ । एउटा शिक्षक र विद्यार्थीको यथार्थ मनोविज्ञानमा आधारित यो कथाले सामुदायिक विद्यालयमा पढ्न आउने एउटा भुइमान्छेको मार्मिक कथा भन्छ । थोरै आवेग तर धेरै सम्भावनाको सन्दुक खोलेको यो कथामा आमाको कोमल मनोविश्लेषण थाहै नपाइ छताछुल्ल हुन्छन् । तपाई पनि आफ्ना रचनाहरु हामीलाई पठाउन सक्नुहुन्छ ।)








प्रतिक्रिया