कविता:-“सानो बत्ती, आशाको”
-गिता गुरुङ
अँध्यारोले घेरेको त्यो सानो परिबेश
जहाँ आँसु चुहिन्छ पिँडा पग्लिन्छ बोल्दैन।
न त जिवनको आँचलमा शान्ति पाइन्छ,
न त भोलिको सपना आभास हुन्छ।
पिँडाको वर्षाभित्र अस्ताएको घाम,
छायाँमा हराएको जीवनको नाम।
कुनै कुनामा टाँसिएको बत्ती बलिरहेको छ,
सानो, मन्द, तर झिनो आशा बटुलिरहेको छ।
त्यो बत्ती — न बल्छ दङ्गसँग,
न निभ्छ निराशामा,
झुल्किरहन्छ टिमटिमाउँदै अमुर्त किताबमा।
जहाँ अक्षरको उज्यालो भन्दा,
भोकले लेखिएको छ नियतिको वर्णन पत्रमा।
सपना बोल्दैनन् त्यहाँ, केवल श्रमको गीत गुञ्जिन्छ,
किसानको खेतमा होइन,
मजदुरको निधारमा पसिना सिंचिन्छ।
परेलीको कुनामा आशु लुकाउने आदत भइसकेको छ,
सपनाको नाम लिनु पनि अपराध जस्तै देखिएको छ।
तर त्यो सानो बत्ती अझै बल्छ,
जुन जीवनको हराएको पानामा उज्यालो लेख्न खोज्छ।
स्कुल जाने सपना अझै अधुरै छ,
कापीको सट्टा इँटाको बोझ काँधमा भरिएको छ।
तर त्यो बच्चाको आँखामा अनौठो चमक छ,
जसमा संघर्षको बिउ, अनि परिवर्तनको आश छ।
यो बत्ती साक्षी हो अनगिन्ती दु:खहरूको,
नभुलेको उज्यालोको आशा त्यो तारा रातभरको।
न भाषा छ, न शक्ति, तर सन्देश बलियो छ,
“जीवन जहाँ दु:ख छ, त्यहीँ आशाको बीउ रोपिन्छ।”
त्यो सानो बत्ती — प्रतिरोध हो अन्यायको,
प्रतिक्रिया हो शोषणको, संगीत हो श्रमदिवसको।
सन्तानको भविष्य देख्ने आमाको मनभित्र,
बालकको उज्यालो देख्ने शिक्षकको दृष्टिभित्र।
हिजो हारेका थिए हाम्रा सपना, तर आज त्यो बत्तीले भन्छ —
“फेरि तिमी उठ, नत्र म निभ्छु।”
यसैले बुझ, सानो भए पनि बलिरहेछ,
त्यो बत्ती — तिमी, म, हामीभित्रको आवाज बनिरहेछ।
-भद्रपुर, झापा
(बिज्ञान पछि अङ्ग्रेजीमा स्नातकोत्तर गर्नुभएको ताप्लेजुङ थेचम्बुमा जन्मनु भएको मावि तहको अङ्ग्रेजी शिक्षक गीता गुरुङ हाल झापा भद्रपुरमा स्थायी रुपमा बसोबास गर्नुहुन्छ । आशा र सम्भावनाको चेत उमार्ने यो शक्तिशाली कविताले सिङ्गो एउटा समाजको आवाज बुलन्द गरेको छ। तपाई पनि आफ्ना रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ । )








प्रतिक्रिया