राजा हिलिहाङ र सम्बत् १८३७ को चयनपुरमा वखतवीर सिं बस्न्यात र सरोवर सिं रानाको शेखाशेख
-मनु योङहाङ
शोधसार
“गोर्खालीहरुले सम्बत् १८३१ मा विजयपुर कब्जा गरेपछि लिम्बुवानको चैनपुरमा लिम्बुहरुको भयानक प्रतिरोधको सामना गर्नु पर्यो । तमोरपारीका लिम्बूहरु पृथ्विनारायण शाहसँग नुनपानीको सम्झौंता गरेर मिलेपछि तमोरवारिका एक्लिएका राजा हिलिहाङले तिब्बत तथा सिक्किमको भोटे लाप्चे सेनाको सहयोगमा गोर्खालीविरुद्ध युद्ध गरे । सेनापति देप्छ्याङ रिन्जिनको भोटे सेना बसेको ठाँउलाई भोटेगढी र र कार्वारोङ घ्याकथुपको नेतृत्वमा लाप्चेसेना बसेको ठाँउलाई लाप्चेगढी भनिन्छ । यि दुवै ठाँउहरु हाल हिलिहाङ-३,कुर्लुम्बामा पर्दछन् । पटकपटक युद्धमा हारेपछि गोर्खाली सरदार चम्पा सिं गुरुङ र गजिन्द्र कार्कीले हारको समिक्षापश्चात थप सैनिक सहयोग मागे । काठमाडोंबाट वखतविर सिं बसन्यात र सरोवरसिं रानाको नेतृत्वमा एउटा विशाल सैनिक सम्बत् १८३७ को मध्यतिर चैनपुर आइपुग्यो । चैनपुर आइपुग्नासाथ हिलिहाङ लगायतको किराती, लिम्बु, भोटे, लाप्चे सेनालाई कुण्ठा साथ गालीगलौज र अपशब्द चोरको संज्ञा दिदै नौ दिनको यात्रा गरेर भएपनि उनीहरुको शेखि झार्ने भन्दै अर्जीपत्र पठाए । वर्णनात्मक र पुस्तकालय विधि अपनाइएको यो अनुसन्धानमा विभिन्न पुस्तक र लेखकहरुको कृतिहरुलाई प्राथमिक र सहायक सामाग्रीको रुपमा लिइएको छ ।यो रिसर्चमा तिनै याङरुपको राजा हिलिहाङको किराती, लिम्बु, भोटे, लाप्चे सेनासँग गोर्खाली सेनाको चैनपुर आसपास भएको युद्धको इतिहास केलाउने प्रयास गरिएको छ । यसरी गोर्खालीहरुको हारपछिको कुण्ठा एवम् गोर्खालीहरुको हार हुनुमा याङरुपको सफल सैन्ययोजना र किराती, लिम्बु,भोटे तथा लाप्चे साथ र सहयोग रहेको निष्कर्ष निकालिएको छ। ”
शब्दकुँजी:- नुनपानी, भोटेगढी, लाप्चेगढी, हिलिहाङ, शेखी
विषय प्रवेश
इतिहास भनेको कालपरिवर्तनात्मक कथाको भाषिक रचना हो । युनानी इतिहासमा इतिहासको पिता भनिने हेरोडेटस(४९०-४२५इपु)ले वर्णनको अत्यन्त सुन्दर शैलीबाट इतिहासलाई उठाए । अर्का युनानी इतिहासकार थुसिडिट्स(४५४-३९९इपु)ले प्रक्रिया, तथ्य र यथार्थतालाई जोड दिए । रोमन इतिहासकारहरुमा भने लिभी(१९इपु-१७) र टासीडुस(५५-१२०) प्रसिद्ध छन् भने मध्यकालिन इतिहासकारमा सेन्ट अगस्टाइन(३५४-४३०) प्रख्यात छन् । नेपालको सन्दर्भमा भने बाबुराम आचार्य(१८८७-१९७२)लाई इतिहास शिरोमणी भनिएता पनि अन्य इतिहासकारहरुको प्रयास तथा खोज रहेको पाइन्छ । बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, भिमबहादुर पाण्डे, नयराज पन्त, महेश चन्द्र रेग्मी र धनबज्र बज्राचार्य आदि अन्य शोधकर्ताहरु हुन् । उता पूर्वको लिम्बुवान क्षेत्रको आदि र मध्यकालिन इतिहासको बारेमा भने त्यति धेरै लेखिएको पाइन्न।
राजा महेन्द्रबाट झिकाइएका इमानसिंह चेम्जोङलाई पहिलो लिम्बुवानको इतिहासकार मानिएतापनि मुन्धुमी अभियन्ता तथा अन्भेषणकर्ता सिक्किमेली चेली सन्ध्या सुब्बा सिङजाङ्गो इलामका जोभानसिंह वनेम फागो(१८०३-१८५४)लाई पहिलो लिम्बु इतिहासकार मान्नुहुन्छ । सन् १८४० मा डा. ब्रायन हडसनलाई पाण्डुलिपी सङ्कलन गर्नमा उनले खरदार जीतमोहन नेवार, हङसराज सुब्बा लगायतले मद्दत गरेका थिए । सिङ्जाङ्गो यसै क्रममा आधुनिक लिम्बु इतिहासमा हिलिहाङको चर्चा गर्दै थप्नुहुन्छ–“पाँचथर जिल्लाको ऐतिहासिक स्थलहरुको नाम लिनपर्दा पहिचानको पर्यायको रुपमा हिलिहाङ दरबार र राजा हिलिहाङलाई लिइन्छ । पहिचान र सिङ्गो लिम्बूवानको चर्चा गर्दा लिम्बूवानी भूमिको रक्षार्थ आफ्नो प्राणको आहुती दिनुहुदै गोरखालीविरुद्ध लड्नुहुने अन्तिम लिम्बुवानी राजा हिलिहाङको चर्चा नगर्दा अधुरो र अपुरो नै रहन्छ” ।
यिनै राजा हिलिहाङको पौरख र पुरुषार्थले सिंचित पहिचानको स्तम्भ पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिका नामाकरण भएको छ । यहि गाँउपालिका वडा नं ३ मा रहेको कुर्लुम्बा गाँउको नेपालको पहिचान तथा जहाँनिया राणा शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताइन्छ । तर सत्ताको कोपभाजनमा परेकोले गुमनाम रहेकोमा हाल सिमलबोटे टोल भन्दै आफ्नो अस्तित्व जोगाउनमा प्रयासरत यो गाँउमा भोटेगढि, लाप्चेगढी अद्यापी जीर्णावस्थामा रहेका छन् ।
लिम्बुवान मुक्तिमोर्चाको अध्यक्ष वीर नेम्बाङ आफ्नो क्षितिज प्रकाशन सिलिगुढीबाट सन् १९८७मा प्रकाशित पुस्तक लिम्बुवानको रामकहानी को पेज नं ७ मा लेख्नुहुन्छ-त्यस समय एकातिर चौविस, आठराइ, फेदाप, मैवाखोला, मेवाखोला र तम्बरखोला थुमका लिम्बुले गोरखालीसँग सन्धी गरे तर याङरुपका राजा श्री योङयाहाङ राय लगायतले चाँही कुनै सन्धी नगरी गोरखाली विरुद्ध युद्ध गरे । स्मरणिय कुरा के छ भने याङरुपका राजा भनेकै उनै हिलिहाङ हुन् ।
उहाँ थप लेख्नुहुन्छ-यो युद्धमा तत्कालिन सिक्किमका राजा फुन्चो नाम्गेल (दोश्रो)ले भोटिया र लेप्चा फौज पठाएर साथ दिएका थिए भने तिब्बतस्थित फारिजोङका चीनिया प्रतिनिधी होशी तुङयाङले पनि भारी मात्रामा शस्त्रास्त्रका साथ दिएका थिए । यसरी सिक्किम तथा चीनबाट सहायता पाएपछि लिम्बु फौजले गोरखा फौजलाई सत्रौपल्ट युद्धमा हराउन सफल भए । यसरी राजा हिलिहाङ सत्रजिते नामबाट विख्यात भए ।
राजा हिलिहाङले गोर्खालीविरुद्ध सत्रपटक जीत हात पारेको ऐतिहासिक थलो चयनपुरबाट पछि हारेका गोर्खालीहरुले आफ्नो हारको समीक्षा गरे । समीक्षापछि तमोरवारीका याङरुपका राजा हिलिहाङ, उनका सिक्किमे र तिब्बती सहितका सँयुक्त लिम्बु सैनिकको कडा मुकाविला र कमजोर गोर्खाली सैनिकलाई हारको कारण मानियो । यसपछि काठमाडौबाट थप शक्ति राजा हिलिहाङ र उनका सहयोगीहरु भोटे र लाप्चे सेनाहरुको विरुद्धमा मागियो । काठमाडौबाट चैनपुर आइपुगेको सरदार वखतविर सिंह बस्न्यात र सरोवर सिं रानाले सिद्धीपोखरी चैनपुर आइपुगे पछि राजा हिलिहाङको सेखि झार्छौं भन्दै उनीहरुले काठमाडौंमा लेखेको अर्जीपत्रलाई विश्लेषण गर्ने प्रयास गरेको छु।
इतिहास भनेको भूतकालको वैज्ञानिक अध्ययन हो । भनिन्छ, इतिहास जित्नेको मात्र लेखिन्छ हार्नेको लेखिंदैन । इतिहासको गर्भमा कैयन सभ्यताहरु मौलाए,कैयन विलाएर गए। विजेताहरुले आफ्नो इतिहासलाइ सुन्दर र कलात्मक रुपमा पेश गरे भने हार्नेहरुको वैभवशाली इतिहासपनि गुमनाम बन्न गयो। कलात्मक वा गुमनाम जे भएतापनि कुनै न कुनै रुपमा सभ्यताले इतिहास बोलेको हुन्छ, विगतको कालखन्डलाई केहि न केहि चिनोको रुपमा छाडेको हुन्छ । आफ्नो अस्तित्व र पहिचानलाई कतै न कतै कुनै न कुनै रुपले दर्शाएको हुन्छ । यहाँ यस्तै इतिहासको कालखन्डमा विर्सिएको एउटा ऐतिहासिक पात्र हिलिहाङ र तत्कालिन गोर्खा राज्यको चैनपुर युद्धको ऐतिहासिक तथ्यको बारेमा चर्चा गरिएको छ।
राजा हिलिहाङ र उहाँको विजयपुर र सिक्किमसँगको सम्बन्ध
नेपाल एकिकरणमा गोर्खाली शासकहरुको योगदानलाई चर्चा गरिएको पाइन्छ । गोरखा दरवारले नुवाकोटबाट आरम्भ गरिएको एकिकरणयात्रा कान्तिपुर, ललितपुर र भादगाँउ हुदै पूर्वतर्फ अघि बढेको थियो ।यहि क्रममा मकवानपुर, चौदन्डी अनि विजयपुर संगसंगै पल्लो किराँत पुगेको थियो । ह्यामिल्टनले आफ्नो पुस्तक अन एकाउन्ट अफ नेपाल(सन् १८१९)मा लेखेका छन्– दरबारिया कलहबाट कमजोर बनेको विजयपुर विक्रम सम्वत १८३१ साल साउन २ गते अभिमानसिंह बस्नेतको नेतृत्वमा अचानक हमला गरेर कब्जा गरिएपछि विजयपूरका तत्कालिन राजा कर्णसेन र चौतारा बुद्धिकर्ण राय ब्रिटिस सरहद क्षेत्र बेतियातर्फ पलायन भए भने विजयपुर गोर्खाली अधिनमा आयो।
विजयपूर कब्जा गरिएपछि तत्कालिन गोर्खाली सैनिकहरु लिम्बूवानतर्फ अघि बढे । यसरी अगाडी बढ्दा गोर्खालीहरुलाई लिम्बूहरुको कडा प्रतिरोधको कारण तत्कालिन लिम्बूवानको केन्द्र चैनपुर कब्जा गरेर फत्ते गर्न अत्यन्तै कठिन मात्रै होइन् सत्र सत्र पटकसम्म पराजित बन्नु पर्यो । तत्कालिन याङरुपका राजा हिलिहाङको साथै सुन रायको बारेमा भगिराज इङनाम आफ्नो मदन पुरस्कार विजेता पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङग्रहको पेज नं २७९मा लेख्छन् वि.सं. १८३१-३४ सम्म सत्रपटक हिदाङ्मा, मालेटा, धुपु, पौंठाक, सभा उत्तर, नुवो उत्तर जस्ता ठाँउहरुमा सुर्विर राना लगायत अभिमानसिंह बस्नेतले पराजय भोगेपछि राजा हिलिहाङको नाम सत्रजिते बन्न पुग्यो ।
योङहाङ वंशावली अनुसार राजा हिलिहाङको जन्म वि. सं. १७८२ मंसिर १५ गते पुर्णिमाको दिन याङरुपको हस्तपुरमा भएको थियो । पिता पाबुनहाङको निधनपछि ३२ वर्षको उमेरमा याङरुपको राजा भएका हिलिहाङको तत्कालिन विजयपुरका चौतारा दिवान बुद्धिकर्ण खेबाङ तथा सिक्किमका राजा तेन्सुङ नाम्गेल तथा फुन्चो नाम्गेल दोश्रोसँग पारिवारिक नाता भएकोले नजिकको सम्बन्ध थियो । विजयपुरका दिवान बिचित्रचन्द्र राय राजा पाबुनहाङको बहिनी राजकुमारी थोक्फेलाको पति थिए भने ताक्बोजु थुङ्वामुक्माको विवाह सन् १६६० मा सिक्किमका राजा फुन्चो नाम्गेलको छोरा ग्यूर्वेद नाम्गेलसँग भएको थियो । ह्यामिल्टनका अनुसार वि. सं. १८२५ मा दिवान बुद्धिकर्ण रायलाई विजयपुरका राजा कामदत्त सेनले देशनिकाला गर्दा उनि मामाघर हस्तपुर दरवारमा महिनौंसम्म बस्नुको साथै हिलिहाङकै मद्दतबाट कामदत्त सेनविरुद्ध सिक्किमको दश भोटे सैनिकको सहायतासमेत पाएका थिए । सिक्किमे भोटे सेनाको सहयोगमा राजा कामदत्त सेनको मोरङमा हत्या र कर्ण सेनलाई राजा बुद्धिकर्ण रायले बनाएका थिए ।
यसरी पारिवारिक नाताको कारण सिक्किमबाट भोटे तथा लाप्चे सैनिक सहयोगका पाएका राजा हिलिहाङसंग सम्बत् १८३७ को शुरुतिर काठमाडौंबाट बखतविर सिंह बस्नेत र सरोवर सिंह रानाको साथमा थप सैनिक पठाइयो । पटक पटक युद्धमा पराजित भएपछि गोर्खाली सरदार चम्पसिंह गुरुङ र गजिन्द्र कार्कीले युद्धमा काठमाडौंबाट थप सेना मागेका थिए ।
के छ त अर्जीपत्रमा ?
यसरी गोर्खाबाट चैनपुर आइपुगेका बस्नेत र रानाले राजा हिलिहाङको सेखी झार्ने कबोल गरेर एउटा अर्जीपत्र काठमाडौं पठाए । योगी नरहरिनाथले उक्त अर्जीपत्रलाई सन्धि-पत्र संग्रह भाग-१ मा संकलन गरेका छन्। राष्ट्रिय अभिलेखालयमा रहेको पोका-३ पत्र सङ्ख्या १३७ मा रहेको सो अर्जीपत्र निम्नानुसार रहेको छ –
श्री दुर्गासहाये
अर्जि……………………………………………………………..
उप्रान्त चयनपुर आई पुग्याको र चयनपुरदेखि हिड्याको ,भोट्या तिष्टा तरि पारि गयाको,अघिको अर्जिमा विन्ति गरि पठायाको ,जाहेर भयो हो, ताहा पछि दुइ मुष भै जान्या हो भन्या सल्लाह गरि उठ्या थिउ तस्तै बिचमा अगम् सिं भन्या किरातिबाट आशिकरामको छोरो सोभासिं भन्याको गाँउको बाटै बन्दोबस्त गरि माझ किरात हान्या अक्तियार भै सिरो पाउ उठाइ पन्ध्र विस घोडा सौगात लि मधेशको बाटो गयो भन्या, गलवा खवर सुनियो र दुइजना सामेल भै यस पट्टिको बलियो गरि जान्या हो भनि जगा जगामा चिठी लेख्न लागि रह्या थीउ.अगहन सुदि १ रोज ६ का दिन इकुन्दा चम्पा सिं गुरुङ गजिन्द्र कार्कि बाट चिठी आइ पुग्यो र चिठि बिजिनेश चढाइ पठायाको छ, विस्तार जाहेरवाला होला वैरिको अर्थातलाई भन्या आउन्याको र जानाको ठेगान नभयाको चोर हुंदा यसै देशबाट भागि गयाका किराति, लिम्बू, लाप्च्या, भोट्या छन् अडिन्या जगा गाँउ मै रहेछ, इन्को सेषि नझारजि, सुषिम बस्ति बस्न दिन्या छैन, नौ दश दिनको बाटो उजार, रहला जो मर्जि, विज्ञेसु किमधिकम प्रभुषु,मिति अगहनसुदि १ रोज ६ मुकाम चयनपुर शुभम्………………………
इत सेवक वखतविर सिंह बस्न्यात, सरोवरसिं रानाको वंदगि, कुणेश.सलाम.सलाम.सलाम.शुभम्
को हुन् सोभा सिं, चम्पा सिं गुरुङ र गजिन्द्र कार्की? अर्जीपत्रको विषयसार
तत्कालिन् आठराइका राजा कुम्भ रायका भारादार आशिकरामको छोरा सोभा सिंह कुम्भ रायले गोर्खालीसँग गरेको नुनपानी सम्झौंताको विरुद्धमा थिए भने पूर्णानन्द उपाध्यायका सहयोगीहरु चम्पा सिं गुरुङ र गजिन्द्र कार्की थिए । हारपछि गोर्खालीहरुलाई एक लिम्बु अगमसिंह किरातीले एक खबर सुनाए- दुइ मुख बनाएर आक्रमण गर्न खोजीरहेको बेलामा सोभा सिंहले हिलिहाङका भोटे लाप्चे सैनिकहरु हारेर पन्ध्र बीस घोडा लिएर मधेसतिर गए । उनीहरुले यसलाई साँच्चिकै माने किनभने गोर्खाली गुप्तचरहरु लिम्बुवानको ठाँउ ठाँउमा खटाइएकै थियो ।
यो गलत खबर सुनाएर गोर्खालीलाई हराएको पछिमात्र सरदारद्वय चम्पा सिं गुरुङ र गजिन्द्र कार्कीले थाहा पाए । यसरी थाहा पाएपछि उनीहरुले थप सैनिक र हातहतियार काठमाडौंसंग माग गरे । स्मरण रहोस् पूर्णानन्द उपाध्यायकै सल्लाहमा तत्कालिन आठराइका कुम्भ रायले गोर्खालीहरुसँग सन्धि गरेका थिए भने तमोरवारिका सिरिदेव राय फागोसंग समेत गोर्खालीसँग मिल्न भनेका थिए ।
गोरखाली सरदारद्वय चम्पा सिं गुरुङ र गजिन्द्र कार्कीले सत्र पटकसम्म हार भएपछि हारको कारण खोजी गरे । यसै क्रममा तमोरवारीका लिम्बुहरुसँग वि. सं. १८३१ साउन २२ गतेको नुनपानीको सम्झौताको वावजुद शोभासिं लगायतका केही भारादारहरु सो नुनपानी सम्झौताको विरुद्धमा रहेको र तमोरवारीको याङरुपको राजा हिलिहाङलाई सहयोग गरिरहेको पत्तो लाग्यो ।
हारले पिरोलिएका पुर्णानन्द उपाध्यायका सहयोगीहरुले पूर्ण आलेमार्फत थप सैनिक र हातहतियार काठमाडौंसँग माग गरे। स्मरणिय कुरा के छ भने पूर्णानन्द उपाध्यायकै सल्लाहमा तत्कालिन आठराइका कुम्भ राई, सुन राई र जङ राई लगायतकाले गोर्खालीहरुसँग सन्धि गरेका थिए भने तमोरवारीका सिरिदेव राय फागोसंग समेत गोर्खालीसँग मिल्न भनेका थिए तर स्वाभिमानी तमोरवारी चौविस धनकुटाका सिरिदेव रायले पुर्णानन्द उपाध्यायका प्रस्ताव अस्विकार मात्र गरेनन् सम्वत् १८३७ मा सिक्किम हिपातलमा विरगति प्राप्त गरेका राजा हिलिहाङका अभियानमा जिवनभर साथ दिएका थिए ।
अन्तत: राजा हिलिहाङको निधनपछि सम्बत् १८४२ जेठ २ गते राजा रणबहादुर शाहले एक लालमोहर गरेर सिक्किम पलायन भएका हिलिहाङका नाति देवपति राय तथा सिरदेव राय फागो सहित फेन्दुवा, साम्सोहाङ, थेबे, खिम्दिङ, थाम्सुहाङ, इजम, पतङ्वा, यवा, पालुङ्वा लगायतका बत्तिस हजार लिम्बुहरुलाई गौबध नगर्ने शर्तमा स्वदेश फिर्ता बोलाएर लिम्बुवानमा चलेको छापामार युद्धलाई निश्तेज बनाए ।
निष्कर्ष
विजयपुर सहजै जीतेर हौसिएका गोर्खाली सेनाहरुले कुटनीति र युद्धनीति दुवै प्रयोग गर्दै लिम्बुवानमा फूट ल्याउन सफल भए । सम्वत् १८३१ साउन सुदि २२ रोज ३ मा कान्तिपुर बोलाइ सुन राई, कुम राई र जङ राईलाई आफ्नो पक्षमा ल्याएर नुन पानीको सम्झौता गराएता पनि तत्कालिन याङरुपका राजा हिलिहाङ भने अन्य लिम्बु, किराती, सिक्किमे भोटेतथा लाप्चे सैनिकहरुको सहयोगमा गोर्खालीहरुको डटेर मुकाविला मात्रै गरेनन् सत्र पटकसम्म हराउन सफल बने ।
गोरखाली सरदारद्वय चम्पा सिं गुरुङ र गजिन्द्र कार्कीले सत्र पटकसम्म हार भएपछि हारको कारण खोजी गरे । यसै क्रममा तमोरवारीका लिम्बुहरुसँग वि. सं. १८३१ साउन २२ गतेको नुनपानीको सम्झौताको वावजुद शोभासिं लगायतका केही भारादारहरु सो नुनपानी सम्झौताको विरुद्धमा रहेको र तमोरवारीको याङरुपको राजा हिलिहाङलाई सहयोग गरिरहेको पत्तो लाग्यो ।
हारले पिरोलिएका पुर्णानन्द उपाध्यायका सहयोगीहरुले पूर्ण आलेमार्फत थप सैनिक र हातहतियार काठमाडौंसँग माग गरे। उनीहरुको माग स्विकार्दै कान्तिपुरबाट वखतविर सिं बसन्यात र सरोवर सिंह रानाको नेतृत्वमा एक विशाल गोर्खाली सैनिक चैनपुर आइपुग्यो ।
उनीहरुले हारको झोंकमा याङरुपका राजा हिलिहाङ र उनका सैनिकहरुलाई चोर र शेखी जस्ता अपशब्द र आक्रोश व्यक्त गरेका छन् । गोर्खालीहरुलाई हराउने वैरी भनेको आउने जाने ठेगाना नभएको चोर जस्तै तमोरपारीबाट तमोरवारीको लिम्बुसैनिकसँग मिल्न गएका लिम्बु सैनिकहरुलाई भनेका छन् । उनीहरुको बस्ने ठेगान छैन् भनेर अर्जीपत्रमा किराती, लिम्बू र सिक्किमका भोटे लाप्चे तथा तिब्बती सेनाहरुलाई भनेका छन् । राजधानीबाट नौ दश दिनको बाटोका रहेको भएपनि उनीहरुलाई हराएर सेखी झारीछाड्ने कसम खाएका छन् ।
यसरी तत्कालिन् सम्बत् १८३७ को आरम्भ र मध्यतिर तत्कालिन याङरुप राज्य र राजा हिलिहाङको गोर्खाली विरुद्धको सैन्ययोजना र चातुर्यता सबल रहेको यो अर्जिपत्रले प्रष्ट पार्छ । याङरुप राज्यको सफल बैदेशिक नीति र कुटनीतिकै कारण तमोरपारीका लिम्बु, किराती तथा सिक्किमे लाप्चे र भोटे सैनिकको सहयोग मिलेको देखिन्छ । यही सैनिक सहयोगकै कारण उनले सत्रपटकसम्म गोर्खालीहरुलाई परास्त गरेको हुनाले उनीहरुको आक्रोस प्रष्टिन्छ । यो अर्जीपत्रले अखण्ड लिम्बुवानको निम्ती गोर्खालीविरुद्ध जीवनभर याङरुप र हिलीहाङ लडिरहेको घाम झै छर्लङ्ग हुन्छ ।
सन्दर्भसामाग्री
अधिकारी, डा. बमबहादुर(२०७६) नेपाली आदिबासी सन्दर्भमा गोपालीहरुको इतिहास, डिकुरा प्रकाशन ।
इङनाम, भगिराज(२०७७) लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह, अतित इङनाम ।
इङनाम, भगिराज(२०८१) लिम्बुवानको अभिलेख संग्रह, लिम्बुवान अध्ययन केन्द्र।
नेम्बाङ, वीर(१९८७) लिम्बूवानको रुपरेखा, क्षितिज प्रकाशन ।
पुरातत्व-पत्र संग्रह दोस्रो भाग(२०१८) श्री ५ को सरकार ।
राष्ट्रिय अभिलेखालय, पोका-३, पत्र सङ्ख्या-१३७ ।
योङहाङ, अमृत र अन्य(२०७९), योङहाङ वंशावली, किरात योङहाङ कुलवंश प्रतिष्ठान ।
सिङ्जाङ्गो, सन्ध्या सुब्बा(२०२५) कुराकानीमा आधारित, सामाजिक सन्जाल फेसबुक र ट्विटरमा आधारित ।
ह्यामिल्टन, एफ(१८१९) अन एकाउन्ट अफ किङडम अफ नेपाल, एसियन पब्लिसिङ हाउस ।








प्रतिक्रिया