श्याम सिंघकको कोइलाखाद:डिकन्स्ट्रक्सन, आधुनिकदेखि उत्तरआधुनिक विस्तार र सिजोविश्लेषणसम्म
– मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा, पाँचथर ।
श्याम सिघंक पछिल्लो समयको सफल उपन्यासकार हुन भन्ने उनको उपन्यास रेमिटल्यान्ड(२०७१) को सफलताले प्रष्ट पार्छ । करिव एघाह्र वर्षपछि उनै लेखकको सोही प्रकाशन फिनिक्स बुक्सबाट अर्को उपन्यास कोइलाखाद(२०८२) प्रकाशन भएको छ । तीन सय चौवन्न पृष्ठमा लेखिएको कोइलाखाद मुलत: प्रेम र समाजको बारेमा लेखिएको उपन्यास हो । प्रेमसँगसँगै नेपाल बाहिरको नेपाली समाज र सङ्घर्षको केस्रा केस्रा कोट्याउने गरी यो उपन्यास लेखियो । यसैले यो उपन्यासले आधुनिक धार समाएको छ । वर्णनात्मक रुपमा मेघालयको कोइलाखानीमा घट्ने नेपालको सामाजिक घटनाहरुलाई सहज प्राकृतिक रुपमा बुद्धिसङ्गत तवरले पेश गरिएको हुनाले यो आख्यान आधुनिकतामा निमग्न छ । मुस्ल्याङघारीको वस्ती र मोनोलिथ साथै पटक पटकको पुनर्मिलनले आधुनिकतासम्मत कतिपय कुराहरु काटेर सिघंकको यो उपन्यासले उत्तरआधुनिकसम्म आफ्नो यात्रालाई विस्तार गरेको छ । नेपाली साहित्यमा लोकप्रिय प्रेम, सङघर्ष, समर्पण र बलिदानलाई सामाजिक परिवेशमा विश्वसनिय पार्न श्याम सिघंक सफल छन् भन्ने कोइलाखाद उपन्यासले प्रमाणित गरेको छ। सिघंकले लोचन पात्रमार्फत पूर्वेली लिम्बु समुदायको लाहुर जाने सरल सामाजिक घटना लिए, आधुनिकतामा निमग्न व्याख्या गरे र उत्तरआधुनिक विस्तार गर्न सफल भए । यसले हाम्रो समाजको आर्थिक असमानता र विभेदलाई घच्घच्याउँछ जसले समाजशास्त्रिय कार्ल माक्सको द्वन्दवाद थ्योरीलाई नेपाली अझ मेघालय र सिलोङको परिवेशमा व्याख्या गरेको छ ।
ब्रिटिस आर्मी अझ इन्डियन लाहुरमा समेत भर्ति हुन नसकेपछि एक पान्थरे लिम्बु लोचन विरक्तिएर छेरुपि पुग्छन्। मेघालयको एक खसिया नारी रुथसँगको गहिरो र आत्मिय प्रेम अनि प्रेममय जीवनमा आउने क्लाइमेक्सको बारेमा सविस्तार वयान गर्नमा सिघंकले आफ्नो लेखनकलाको जादु खर्चिएका छन् । लोचनको पान्थरमा रहेको पहिलो श्रीमतीको बारेमा लोचनले भन्दा बढि रुथमार्फत बताउदै एक मुसाफिर यायावरसँग खसिया समाजको विरोध हुँदाहुदै पनि प्रेम र विवाह गर्ने रुथको साहस वास्तवमै नेपाली परिवेशमा अर्थपूर्ण छ । अझ नेपालमा आएर जीवन जिउन खोज्ने रुथको परिकल्पना र कलेजमा पढ्ने उनीहरुको छोराको बाबु लोचन र नेपाली समाजप्रतिको विरोधाभाषपूर्ण दृष्टिकोणले उपन्यासलाई उत्तरआधुनिकताको मोडतर्फ तानेर लान्छ।
नारीको मनमा प्रेम जन्मिएपछि जन्म्यो, जन्म्यो, त्यो गलपासोले परदेशी पनि भनेन, अर्काको श्रीमान पनि भनेन त्यसलाई विवाहमा पुर्याएर थन्क्याउन गरेको सङ्घर्ष कम रोचक छैन् । विवाहपछिको सन्तानको जन्म अनि उनीहरुको सम्बन्धविच्छेद र पुनर्मिलन तथा खसिया समाजले गरेको तिरस्कार र बहिस्कारको बेहिसाब बयानलाई यसरी बान्किलोपाराले कुदिएको छ कि उपन्यासले यथार्थताको सतहलाई शतप्रतिशत छोएको छ। लोचन र रुथको प्रेममय चुम्बकको ध्रुवहरु जो तानिइन्छन्, आरम्भमा रुथ बढि तानिन्छिन् । त्यो प्रेममय आगो जसले मध्यान्तरमा पनि रुथनै बढि पोलिइन्छन र त्यो तिर्खा जसले अन्ततिर लोचन बढि सताइन्छन् । कहिले मिलन त कहिले बिछोडको रचनामा सामाजिक तथ्यहरु र घटनाले अहम भुमिका खेल्दै कोइलाखानीमा मजदुरहरुको भोगाइलाई दशीको रुपमा सिघंकले पाठकको अदालतमा पेश गरेका छन् ।
आधुनिकधारमा उपन्यास
आधुनिकता भन्नाले पश्चिमी समाज र संस्कृतिमा अठाह्रौं शताब्दीदेखि दृष्टिगत भएको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनलाई बुझाउँछ । लाहुरे भएर आर्थिक र सामाजिक हैसियत बढाउने लोचनको मानसिकताले आरम्भमै आधुनिकबाद उपन्यासमा भित्रिएको छ । रुथसँग मोनोलिथमा भेट हुँदा उसको नाडीमा बाँधिएको सिटीजन घडी र मेघालयका खसिया समाजको जङ्गल र शिकार प्रेमबाट क्रमश: उनीहरुको झुल, लङ्गर र नालाप्रेमले यसलाई थप बलियो बनाउछ ।
पूंजिवादको उर्जाको कारण क्रमश: आफ्नो जमिनमा नेपाली सरदारहरुलाई कोइला खन्न ठेक्का दिनु, हटिया बजारमा लगेर रुथले बनतरुल बेच्नु अनि जुठो क्वाइ लोचनको मुखमा खुवाउनु आधुनिकताका थप प्रमाणहरु हुन् । खसियाबस्तीको कच्चा घरहरु क्रमश: पक्कामा परिणत हुनु अनि कोइलाखानीमा सिमेन्ट फ्याक्ट्री भित्रिनुको साथै खसिया युवाहरुमा राष्ट्रवाद भित्रिनुले आधुनिकवादलाई थप मलजल गर्छन् । सरदार नरबहादुरको परिवार र जग्गु लामाको आरोह अवरोहबाट उपन्यासको आधुनिक धारलाई थप पेचिलो मात्र बनाएको छैन् माक्सवेवरको समाजशास्त्रिय थ्योरीलाई मलजल थपेको छ ।
डिकन्सट्रक्सन अर्थात विनिर्माण र उत्तर आधुनिकता
सिंघकले उपन्यास लेख्दा परदेशमा रहेको नेपाली समाजका विभिन्न घटना, दृश्य, स्थान र पात्रहरुमा नयाँ सम्भावना खोजेर एउटा सबल पक्ष उजागर गरेका छन् भने उनले नेपाली समाजलाई मेघालय अझ मुगलानसम्म पुनर्विस्तार गरेका छन् । यसरी पुनर्विस्तार गर्ने क्रममा उनले समाजलाई नयाँ नयाँ आयामबाट मोड्ने, ढल्काउने र तिखार्ने जस्ता सिर्जनात्मक कार्य गरेर नयाँ प्रयोग गरेका छन् ।
कोइलाखादमा साहित्यको डिकन्स्ट्रक्सनको, विनिर्माणको पुरै प्रयोग गरिएको छ। नेपाली साहित्यमा पचासको दशकदेखि भित्रिएको परिवर्तनको आकाङक्षामा यो उपन्यास पनि उभिएको छ । हुनत परम्परागत एकनिष्ठ र रेखिय प्रणाली अपनाएर लेखिएको जस्तो लागेतापनि कोइलाखादमा कोलाजपनको प्रधानता देखिन्छ । नेपालभित्रको सानो समाज तर मेघालयको विस्तृत नेपाली समाज, घटना, पात्र र अभिव्यक्तिले यसलाई नि:सन्देह कोलाजपनमा ढालेको छ। यसले गर्दा एकत्व नभएर बहुल रुपको संयोजन देखिन्छ । सरदार नरबहादुर, जग्गु लामा, बम्बा, उदयपुरे, पान्थरे जस्ता पात्रहरुको कथावाचन टुक्राहरुबाट संयोजन भएर सिर्जना भएकोले कोइलाखाद एककेन्द्रित नभएर बहुकेन्द्रित भएकोमा कुनै शंका छैन् । यही कारण उपन्यासको टेक्स्ट खुला छ, सिरानबाटै पढेपनि हुने, विभिन्न भागबाट पाठकले टुक्रयाएर पढेपनि हुने जुनसुकै बेला मेघालय र कोइलाखानीको जीवन खुलिहाल्ने भएकोले विधागत डिकन्स्ट्रक्सनको मोडल यो उपन्यासमा प्रष्टै छ ।
यो उपन्यास कतै कथा कतै इतिवृत्त, कतै निवन्ध र कतै यात्रावर्णन त कतै संस्मरणहरु जस्तो विधाको उपयोगबाट लेखिएको हुनाले आफैमा कतै कथाजस्तो, कतै उपन्यासजस्तो, कतै संस्मरणजस्तो, कतै निबन्ध र कतै नियात्रा त कतै इतिहासजस्तो लाग्छ । उत्तरआधुनिक मिश्रणकलाको यो अद्वितिय लेखन हो । कोइलाखानीको झुल र नालामा ताल खसेर चन्द्रे, जग्गुको खसिनी श्रीमती लगायतका आधा दर्जन मजदुरहरुको कारुणिक निधनबाट पारम्पारिक लेखनकला अझ आख्यानविधाको रेखिय नियमलाई तोड्ने प्रयास गर्दै समाजको विभिन्न पक्षहरुलाई छान्ने, काट्ने र तोड्ने अनि रुपान्तरण गर्ने गर्दै पारम्परिक लेखनकलाको डिकन्स्ट्रक्सनमा जोड दिइएको छ ।
सिंघकले उपन्यासमा मेघालयका विभिन्न पात्रहरुलाई विविध लिलाको रुपमा घुसाएर पाठकहरुलाई खेल देखाउछन् । शिर्ष पात्र रुथ, लिन, रिमि, हेडम्यान, मन्टे कङलगायतको खासी चटकले उपन्यासमा रौनकता थपिदिन्छ। हामीलाई सेल्सेट, छेरुपी, मुस्ल्याङलावारी, सिल्चर र अम्लाबाङ जस्ता मेघालयका भूगोलका विभिन्न पाटाहरु ह्वात्तै पुर्याउछन् । यसरी भूगोल, समाज र संस्कृतिको यो मिश्रणकलाले कोइलाखादलाई उत्तरआधुनिक बनाएको छ ।
उपन्यासको प्लटलाई उत्तरआधुनिक टुक्राबाट निर्देशित गरिएको छ । मुगलानको समाजमा विभिन्न नेपालीपना र नेपाली सौन्दर्यको रुपमा आपसी हेरचाह र मित्रता देखाइएको छ भने इसाइबस्ती खसियानमा नेपाली सरदार जग्गु लामाको चिहानघारी किनाइ तथा सरदार नरबहादुरको देविस्थान बनाइ र पान्थरेको देउता मन्साइले मेघालयवासीहरुको संस्कृतिमा परिवर्तनको उत्तरआधुनिक आस्वादन उमार्छ ।
सिंघकले उपन्यासमा पात्रहरुलाई कतै ताल खसाएर, कतै निसास्सिएर त कतै लडाएर त कतै खसियानहरुद्वारा निर्मम हत्या गराएर कारुणिक दृश्य उमार्छन् । छ वर्षसम्म पर्खिएर पछि रिमीसँगको विवाह र अन्तमा रिमीको मृत्युपछि पुन: लोचनसँगको पुनर्मिलनले पटकपटक परिवर्तन देखाउँछ । सरदार नरबहादुर र जग्गु लामाको जीवनमा आउने आरोह अवरोहले पाठकलाई आस्वादको नयाँ दिशामात्रै देखाउदैन बरु उपन्यासले हामीलाई उत्तरआधुनिकमा पुर्याएर धङधङ्ग्याउँछ ।
कोइलाखादमा वास्तविकतालाई जोड दिइएको छ । पात्रहरु जिवीत मान्छे झै बोल्छन्, दु:ख पाँउछन्, मर्छन, मारिन्छन् पनि । भूगोल, पात्र कथा र घटनाले बेला बेलामा नेपाल र मेघालय ओहोरदोहोर गराएर पारम्पारिक आख्यानको पूर्वपराक्रमलाई विघटन गराएको छ । यसरी परम्परागत आख्यानको क्रमभङ्गता र सम्पूर्णता तोडिनु अनि सार्वभौमसत्ता भन्दा स्थानियतामा जोड दिएर सिंघकले उत्रर आधुनिकबादको भरपुर उपयोग गरेका छन् ।
चारआक्रमण: नारीवाद, संरचनावाद, मनोविश्लेषण र सिनोविश्लेषण
सिंघकले उपन्यासलाई चारैदिशाबाट आक्रमण गरेर तह लगाएका छन् । यी चार दिशाहरु हुन-क) नारीवाद, ख) संरचनावाद, ग) मनोविश्लेषण र घ) सिजोविश्लेषण
यी विभिन्न दिशाहरु उनले सावधानीपूर्वक स्थानियता र पहिचानको आधारमा उठाएका छन्। केन्द्रियतालाई उनले डिकन्स्ट्रक्सन गरेर स्थानियतालाई जोड दिए ।
नारीवाद- यो उपन्यासले स्विस इतिहासविद जाकोब बाथोफेनको पक्षपोषण गर्छ । उनको विचार थियो-मानवीय समाजको पुरानो तहमा मातृशक्तिको प्रमुखता थियो, आमाहरु हैकम राख्थे र शासन गर्थे । खासी समाजमा रुथ र उनको आमाको बलियो उपस्थितीले मातृसत्ताको पृष्ठपोषण गर्छ । नेपाली समाजमा व्याप्त पितृसत्तालाई सिंघकले मेघालय पुर्याएर रुथ र लिन मार्फत डिकन्स्ट्रक्सन मात्रै गरेनन् लोचनलाई निरिह बनाएर पितृसत्ताको पुरै पोष्ट मोर्डानिज्म गर्न भ्याए ।
वर्णनात्मक शैली अपनाएका लेखकले उपन्यासमा विभिन्न नारीपात्रबाट लिलायनमात्रै भित्र्याएनन् अपितु नक्कल झक्कलबाट फेन्टेसीतिर पुर्याए । उनको लेखनमा कुनै मायावी कल्पना देखिन्न बरु भोगाइको यथार्थवादलाई प्राथमिकता दिएको देखिन्छ । सामाजिक बन्धनलाई खुकुल्याउदै उनी नायीका रुथको समानतावादी, उदारवादी किनारसम्म आफूलाई पुर्याउछन् ।
संरचनावाद- यो उपन्यासले समाजशास्त्रका अध्येता इमानुयल दुर्खिमको संरचनावादलाई पछ्याउँछ । उनी भन्छन्-संरचनावादमा व्यक्ति समाजको संरचनामा निरुपित हुन्छ । यो उपन्यासमा देखाइएको विभिन्न पात्रहरु समाजबाट निरुपित छन् । जस्तै-लोचन र सरदारको स्थानको विभिन्नता। जमिन मालिक खासी र ठेकेदार अनि ठेकेदार र मजदुरको स्थान ।
सिंघकले उपन्यासमा माक्सवादी संरचनावादको भरपुर उपयोग गरेका छन् । कोइलाखाद जानुको मुख्य उद्धेश्य भनेको अर्थतत्व हो । विभिन्न आर्थिक परिवेशमा कोइलाखाद पुगेका नेपालीहरुको समाजको साङ्गोपाङ्गो अध्ययन यो उपन्यासबाट गर्न सकिन्छ । अर्थतत्वको जगमा खडा हुने संस्कृति, व्यवहार र विचारधाराहरु सुपरस्ट्रक्चरहरु हुन् जसले समाजको रचना गर्छ । कोइलाखादका पात्रहरुको चेतना र कामहरु भौतिक हुन् । नेपाली समाज र कोइलाखादको समाजका सदस्यहरुको आर्थिक स्तिथीअनुसारको समाजवादी, पूँजीवादी रुप उपन्यासमा प्रष्ट देखाइएको छ । यसरी लेखकले समाज अर्थतन्त्रको अभिव्यक्ति भएको प्रष्ट्याएका छन् । समान हैसियतका दुइ सरदारहरुमा अन्तमा जग्गु लामाको खाली हात तर नरबहादुरको झापामा दुइबिघा जग्गाले आदिबासी र अन्यमा हुने बैचारिक फरकलाई छर्लङ्ग पार्न भ्याएका मात्रै छैनन् बरु लोचनको नेपाल बसाइलाई माओवादी द्वन्दसँग जोडेर हेर्न समेत पुगेका छन् ।
मनोविश्लेषण-नायक लोचन सामान्य शिक्षित भएकोले ऊ समाजलाई आफ्नै मनबाट हेर्छ र आफ्नो मनको भावअनुसार निर्णय गर्छ जसको प्रभाव समाजमा परेको छ । तर उसको कामहरु अति यथार्थवादी भने छैनन् । उसले अन्तरमनबाट नै रुथसँय विवाह गरेपछि आखेट र आदिमपनामा रुमल्लिइरहेको खासी समाजमा खेतीपाती र पशुपालन गरेर सोचमा परिवर्तन ल्याए । लेखकको दुर्वल मनोविश्लेषण भने नायक लोचन रुथ र रिमी बिहे गरिसकेपछि पनि क्वारीमा बस्नुलाई लिन सकिन्छ तर यसको भरपाइ भने उनले जुबोइ कलेजमा पढ्ने छोरा सन्जयको लोचनप्रतिको असहिष्णु व्यवहारबाट गरेका छन् ।
उता नायिका रुथमा भने हामी फ्रायडवाद हावि रहेको जनाउ पाउछौं । उनी संयमित यौनस्वतन्त्रताको पक्षमा रहेको देखिन्छ । रुथले जिब्रोको टुप्पोले लोचनको मुखमा क्वाइ खुवाउनु र त्यसपछिको उनीहरुको शारिरीक मिलन तथा बाघको आक्रमणपछिको त्यो मिलन र रुथ अनि ट्रक ड्राइभर रिमी सँगको भेट यसका उदाहरण हुन् । अघिल्लो उपन्यास रेमिटल्यान्डमा जस्तो स्वच्छन्द यौनवादलाई भने लेखकले यहाँ सहि परिवेशमा मात्र उजागर गरेर अश्लिलताको खोटबाट बचाएका छन् । परन्तु मजदुर बस्तीमा हुने यौनिक क्रियाकलापलाई प्रसस्तै मात्रामा पस्किएर आफू यौनस्वतन्त्रताको पक्षधर रहेको जनाउ भने दिएका छन् ।
सिजोविश्लेषण- “सङघर्ष र दु:ख अनि वर्गिय द्वन्द र रुथ बाहेकका शक्तिशाली नारीपात्रको अभावले उपन्यास एकोहोरो बनाइएको छ । लोचनको समर्पणलाई कक्षा बाह्रमा पढ्ने आफ्नै छोरा सन्जयसँग पराजित गराएर पितृत्वको हत्या गराइएको छ । वर्णनात्मक शैलीले पाठकको कौतुहुलतारुपि दाँतमा दर्शनढुङ्गा लाग्छ । व्याख्यानतन्त्रमा बढि डुबुल्की मारिनाले बौद्धिक विश्लेषणलाई धपाइयो । समस्या सिर्जना गरियो तर समाधानका सुझावहरु बताइएन् । सहज पाराले बहुबिबाहको बकालत गराइएको छ । जीवन आएन तर जीवनको विचित्रता र विरुपतालाई ज्यादा अग्लाइएको छ ।” यी भावनाहरु उपन्यास पढेपछि दिमागमा रिङ्गिन्छन् । उपन्यासमा प्रधान, चन्द्रे, राजेश जस्ता कमजोर पात्रहरु र नेपाली समाज छ । समाजशास्त्रको यो प्रयोगमा जमीनमुनी रहेको कोइलाखानीको स्वप्निल डिस्कोर्स गरिएको छ ।
लोचन र रुथको सहनशिलतामा रुथ हार्छे र रिमिसँग बिहे गर्न पुग्छे । उता लोचनको सहनशिलता भने उसको सपनासँग मेल खान्छ, अनुभवसँग मेल खान्छ र समाजसँग पनि । उसको क्षणिक शत्रुता रिमीसँग हुन्छ । तर अन्तमा रुथसँग पुनर्मिलन हुन्छ । उपन्यासमा पौरुष कठोरता र बौद्धिकतालाई देखाइएता पनि विविध परिवेशमा लोचनको मेटामर्फोसिस-रुपपरिवर्तन रहेको छ । यदाकदा सम्पत्तिको हक, स्वतन्त्रताको हक तथा बालबालिकाको हक खोज्छ ।
डेल्युज तथा गुटारीद्वारा प्रतिपादित पुँजीवादी दमनले उत्पादित मुक्तिकामी मनस्तिथी नै सिजो एनालाइसिस हो । उपन्यासमा नायक बनाइएर पनि लोचनले लाहुरे हुन नसकेर पिंडा भुल्न छेरुपी भित्रिन्छ भने रुथले आखेटधारी खासी पुरुषको सट्टा परदेशी विवाहित यायावर रोज्न पुग्छिन् । यता नेपाल फर्किएको लोचन सात वर्ष पछि नेपालबाट विरक्तिएर फेरि खासी हिल भित्रिन्छ भने रुथ र रिमीको तिरस्कारबाट अम्लाबाङ तिर चम्पट ठोक्छ । यसरी अभिलाषा र अन्तर्मनलाई प्राथमिकतामा दिएर सिजोविश्लेषणले उत्त्तरआधुनिक मुक्तिको आवाज बोल्छ ।
सिजोविश्लेषणमा अर्बोरेस्सेन्स र राइजोमको द्वैत देखाइन्छ । मेघालयका कोइलाखानीका खासी मालिकहरुले अर्बोरेस्सेन्सको प्रतिनिधीत्व गर्छन् किनभने उनीहरुलाई कतै जानु छैन र केन्द्रिकृत छन् । कोइला सकिए सिमेन्टको लागि पहाड बेच्ने विकल्प छदैछ । उता नेपाली सरदारहरु र नेपाली कामदारहरु अनि रुथ र बोडोहरु राइजोम हुन् । उनीहरु जताजता कोइला भेटिन्छ, काम भेटिन्छ त्यतै त्यतै आवश्यकतानुसार सङख्यामा थपघट भइ फैलिन्छन्, बसाइ सर्छन्। उनीहरुको काम गराइ र बसाइ सराइमा एकता र निश्चितताको नियम छैन् । मान्छेका आकाङक्षा, भावना वा एणषा ( डिजायर)हरु क्रान्तिकारी, उत्पादक र सिर्जनात्मक हुन्छ । अर्बोरेस्सेन्स एणषा अर्थात खानी मालिकहरु कठोरता, स्थिरता, केन्द्रिकरण चाहन्छन् । उता नेपाली सरदारहरु तथा लोचन लगायतका नेपाली कामदारहरुको राइजोम एषणा बेलाबेलामा मुक्तिको आकाङ्क्षा राख्छन् । यसरी लोचन एक यायावर तथा सरदार र कामदारहरु जो खासी पुरुषसमाजको बिरुद्धमा मेघालयमा माओवादी सेनामा सामेल हुने विरुद्धमा मुक्तिको चाहना राख्छन् । उनीहरु क्षेत्रियता(टेरिटोरियन)को विरुद्धमा विक्षेत्रिकरणको आकाङक्षा राख्छन् ।
शिर्षक-कोइलाखाद
विधा-उपन्यास
लेखक-श्याम सिंघक
प्रकाशक-फिनिक्स बुक्स
पृष्ठ-३५४
मूल्य-रु ६९९/-
ISBN-978-9937-9756-5-0







प्रतिक्रिया