१७६३ सालको स्याहामोहर र शाहाङ राय -याङरुपको मोरङमा परेको सामाजिक प्रभाव
मनु योङहाङ, स्कलर, समाजशास्त्र विभाग, नेपाल खुला विश्वविद्यालय
सारकथन
प्रस्तुत लेख मध्यकालको नेपाल, सेनराज्यको महारानी इन्दु राजराजेश्वरीको स्याहामोहर र पल्लो किराँतको एउटा शक्तिशाली राज्य याङरुपको राजा शाहाङ रायसँग सम्बन्धित छ । यो लेखको मुख्य उद्देश्य त्यो स्याहामोहरको कारण तत्कालिन भारतको पूर्णियासम्म पल्लो किराँतमा रहेको याङरुपले पारेको सैनिक, सामाजिक र राजनीतिक प्रभावको विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धानको उद्देश्य पूरा गर्न चाहिने सुचनाहरु तत्कालिन याङरुप हाल हिलिहाङ र याङरुप तथा सिदिङ्वा, सिरिजङ्घा र पाथीभरा याङवरकगाँउपालिका क्षेत्रका सरोकारवालाहरुबाट लिइएको छ । यसको साथै अन्तर्वार्ता, कुराकानी र छलफललाई प्राथमिक स्रोतको रुपमा र विभिन्न अभिलेखहरु, विभिन्न पुस्तकहरु तथा अन्य सहायक सामाग्रीहरुलाई सहायक सामाग्रीको रुपमा लिएर अध्ययनको उद्देश्य पूरा गर्ने कोशिस गरिएको छ । अध्ययनबाट तत्कालिन मकवानपुरका राजा शुभसेनलाई उनको मन्त्री प्रादियमुनाले बन्दी बनाएपछि उनलाई मुक्त गर्न उनका भतिजा चंजितपुर (मोरङ)का राजा विधाता इन्द्र सेन गएको र काकालाई छुटाएता पनि पछि प्रादियमुनाको नाती कालु उपाध्याय र पूर्णियाका नवाव इस्कन्दर खानले काका भतिज दुवैजनालाई पक्रिएर दिल्लीमा बुझाएको देखिएको छ । यो अवस्थामा राजा विधाता इन्द्र सेनलाई छुटाउन र्विक्रम सम्बत् १७६३ साल असोज ३ गते चंजितपुरका महारानी पद्मीदाता इन्दुराजराजेश्वरीले पल्लो किरातका नौ पहाडी राज्यका लिम्बू राजाहरुलाई उनका भारादार रामकृष्ण थापामार्फत सहयोग माग्दै एउटा स्याहामोहर पठाएको र त्यो स्याहामोहरमा उनले शाहाङ रायलाई समेत सैनिक सहयोग माग गरिएको तथा वैरीलाई तुरुन्त आक्रमण गर्ने र विजय भएमा सबैजनाको जस पाइने उल्लेख गरिएको छ । यसरी तत्कालिन याङरुपका राजा शाहाङ राय आफ्नो फौज लिएर तत्कालिन पूर्णिया सम्म पुगेर नवाव इस्कन्दर खानसँग युद्ध लडी याङरुप र लिम्बूवानको सामाजिक, सैनिक र राजनितिक प्रभाव विस्तार गर्न सफल भएको निष्कर्ष निकालिएको छ ।(२३२ शब्द)
मूल शब्दावली : याङरुप, हिलिहाङ, शाहाङ राय, चन्जितपुर, इन्दुराजेश्वरी, स्याहामोहर
विषयप्रवेश
सम्भवत: नेपालमा युरोपियनहरुको आगमन हुनु भन्दा पहिले इतिहास विधाको लेखनकार्यको थालनी नै भएको थिएन् । त्यो समयमा इतिहास लेखन प्रचलनको सूत्रपात हुनुभन्दा अगाडि भोजपत्र, ताडपत्र, प्रस्तर, धातु, काठआदिमा लेखिएको अभिलेख, ताम्रपत्र, शिलापत्र र हस्तलिखित ग्रन्थ र त्यसका पुस्पिका वाक्यहरुले जनाउछन् । सन् १३८९ को राजा जयस्तिथी मल्लकालिन गोपालराज वंशावलीलाई इतिहास लेखनको पहिलो पुस्तक मानिएको छ (अधिकारी, २०७६)।
अभिलेखको सम्बन्धमा भने पुस्तकभन्दा पहिलेनै संकलित भएको मानिएको छ । सम्बत् ३८९ को राजा मानदेवको अभिलेख सबैभन्दा जेठो र सम्बत् १३९४ को पुण्यमल्लको ताम्रपत्र, सम्बत् १४१३ को पृथ्वी मल्लको कनकपत्र( इङनाम,२०७७) त्यसपछिका अभिलेखहरुमा पुरानो मानिएको छ ।
तत्कालिन शाहकाल र राणाकालका सरकारी कागजातहरु जस्मा रातो छाप लागेको हुन्छ, यसलाई लालमोहर र कालो छाप लागेको सेनकालिन सरकारी कागजातलाई स्याहामोहर भनिन्छ । यसकारण लालमोहर भन्दा स्याहामोहर पुरानो मानिन्छ ।
नेपालको पूर्वभागमा रहेको सेनवंश तथा लिम्बुवानमा भने सम्वत् १७१४ को हरिश्चन्द्र सेनको स्याहामोहर नै पुरानो (ऐ)मानिन्छ । यसपछि पुरातत्व सङ्ग्रह दोस्रो भागमा सम्बत १७१९ पुस ४ मा छापिएको अर्को स्याहामोहर छन् । सन् १७४१ को चंतितपुरको विधाता इन्द्रसेनको स्याहामोहर जुन किरातकालिन विजयपुरको इतिहासमा छापिएको छ, त्यसपछिको पुरानो स्याहामोहर बताइन्छ । प्राचिन नेपाल अङ्क-४ मा प्रकाशित उनै विधाता इन्द्रसेनको रानी पद्मावती इन्दु राजराजेश्वरीबाट दिइएको थियो यही स्याहामोहर र यो स्याहामोहरको कारण तत्कालिन याङरुप थुमका शक्तिशाली राजा शाहाङ रायको पूर्णिया सम्म पुगेको लिम्बूवानको राजनैतिक तथा सामाजिक प्रभावको बारेमा चर्चा गर्ने उद्धेश्यले यो लेख तयार गरिएको छ ।
इतिहासको समग्रतालाई नियाल्दा इतिहास भनेको समाजको र समग्र नागरिकको रचना हो । वर्तमान युगमा समग्र नेपालमा आत्मसम्मान र पहिचानको साथ गर्वले शिर ठाडो पारेर आफ्नो परिचय दिन सकिने परिवेशमा पूर्वी लिम्बूवान र अझ गोर्खालीविरुद्ध डटेर लड्ने याङरुपथुमकै(जस्लाई वीर नेम्बाङज्यूले राज्य भन्नुभएको छ ।) पन्ध्रौ शक्तिशाली राजा शाहाड रायको पराक्रमको चर्चा र नसुनिएको पाटो र यसले लिम्बुवानको चंजितपुर र पूर्णियासम्म पारेको प्रभाव तथ्य उजागर गर्ने परिप्रेक्ष्यमा यो लेख तयार गरिएको छ ।
उद्धेश्य
यो लेखको उद्धेश्य निम्नानुसार रहेको छ-
- सम्बत् १७६३ असोज ३ गते चंजितपुरको रानी पद्मीदाता इन्दु राजेश्वरीले याङरुपका राजा शाहाङ राय लगायत नौ लिम्बू राजाहरुलाई दिएको स्याहामोहरको विश्लेषण गर्नु ।
- याङरुपका राजा शाहाङ रायको चिनारी गराउनु र
- याङरुपको पूर्णीया र चंजितपुर(मोरङ)मा पारेको सामाजिक प्रभावको विश्लेषण गर्नु ।
अध्ययन विधी
यो लेख विशेषत: गुणात्मक प्रकृतिको रहेको छ । यो एक ऐतिहासिक लेख भएकोले वर्णनात्मक र विश्लेषणात्मक विधि अपनाइएको छ । प्राथमिक स्रोतको रुपमा सरोकारवालासँग अनियमित अन्तर्वार्ता र पुस्तक, लेखरचनालाई द्वितियक स्रोतमा रुपमा लिइएको छ। विशेषत: द्वितियक स्रोतमा आधारित अध्ययन भएकोले यसमा पुस्तकालिय प्रक्रिया अपनाइएको छ । स्याहामोहर सम्बन्धमा विभिन्न पत्रपत्रिका, लेखरचना र पुस्तकको उपयोग गर्दै व्याख्या, विवरणात्मक र विश्लेषणात्मक रुपमा लेख तयार गर्ने प्रयास गरिएको छ ।
मूल विश्लेषण
यो लेखको विश्लेषण यसप्रकार गरिएको छ-
के छ रानी इन्दु राजराजेश्वरीको स्याहामोहरको मूलपाठमा ?
सम्बत् १७६४ साल असोज वदि ४ मा चंजितपुरको भारादार रामकृष्ण थापाको हातमा तत्कालिन याङरुपका राजा शाहाङ रायलाई सम्बोधन गर्दै फौजी सहयोग मागिएको सो स्याहामोहरमा यसप्रकार लेखिएको छ-
मोहर
स्वस्तिश्री रुपनारायण त्यादि विविध विरुदावलीविराजमान मनोन्नत महाराजाधिराज हिन्दुपति राजराजेश्वर श्री श्री पद्मीधाता इन्दु राजराजेश्वरी श्री श्री महारानजी जीव देवि नाम सदा शौभाग्यवती शाविति शिवानाम्-
चेम्जोङ राय, पसेनामा राय, इन्द्रमा राय, खेवा राय, सुकमी राय, माजिम राय, योआजा राय, गाभा राय, शाहाङ राय और सबके आशिष ।
पूर्वं पत्र इदम् । आजसेः आगे पूर्व मह निमक हमारा मह नहि । धुम उठाव भवेत् । राम कृष्ण थापाके भेजल है । तोहर वा ताम्रपत्र दर्शन तो किइ । तोह शाहाङ राय बापत जरुर लागल छु । वैरिके हानन् चाहि । नह तोहरे सबके जस हो । इति सम्बत् १७६३ साल आश्विन बदि ४ दिन चंजितपुर शुभम् ।
स्याहामोहरको विषयसार
तत्कालिन चंजितपुरका महारानी पद्मीधाता विधाता इन्दुराजेश्वरीलाई आफ्नो राजा विधाता इन्द्रसेनलाई पूर्णियाको नवाव इस्कन्दर खानबाट छुटाउनको लागि चंजितपुरको सैनिक नपुग्ने भयो । यसकारण महारानीले तत्कालिन पहाडी भागका चेम्जोङ राय, पसेनामा राय तथा शाहाङ रायसहितका लिम्बूहरुलाई थप सैनिक सहयोग माग्दै एउटा स्याहामोहर लेखिन् । सो स्याहामोहर आफ्ना भारादार रामकृष्ण थापाको हातमा पठाइन् ।
स्याहामोहरको पहिलो अनुच्छेदमा महारानीको प्रशस्ती गाइएको छ । महारानीलाई सधै युद्धमा विजयी बन्न भनिएको छ ।
दोस्रो अनुच्छेदमा भने तत्कालिन लिम्बुवानका नौ जना राजाहरु चेम्जोङ राय, पसेनामा राय, इन्द्रमा राय, खेवा राय, सुकमी राय, माजिम राय, योआजा राय, गाभा राय, शाहाङ राय सबैलाई आशिष दिइएको छ । यहाँ उल्लेख गरिएका चेम्जोङ राय चोविस थुमका र खेवा राय छथर थुमका हुन् । माजिम राय सायद माखिम हुन सक्छ भने शाहाङ राय याङरुप थुमका हुन् ।
स्याहामोहरको सबैभन्दा महत्वपूर्ण विषयवस्तु भने तेस्रो अनुच्छेदमा उल्लेख गरिएको छ । लेखिएको छ-पहिलेको पत्र थाहै छ । आजभन्दा अघि जसरी हाम्रो नुनको सोझो गरेको थियौं त्यसरी नै अब पनि गर्ने नै छौ । कुनै शङ्का भए हटाउनु पर्छ । नभए ताम्रपत्रमा हेर ।
यो अनुच्छेदमा लिम्बुवानका अन्य आठ राजाहरुलाई छाडेर यहाँ शाहाङ रायलाई विशेषत: उल्लेख गरिएको छ । तिमी शाहाङ रायलाई विशेष अनुरोध गरेको छु । वैरीलाई अहिले नै हान्नु पर्ने भएको छ । यसरी वैरीलाई जितेमा तिमी हामी सबैको जस हुनेछ । यहाँ वैरी भन्नाले मकवानपुरका दरबारिया दिवान तनहुँका प्रादि यमुना, उनका नाति कालु उपाध्याय र पुर्णियाका नवाव इस्कन्दर खानलाई भनिएको हो । उनीहरुले मकवानपुरका राजा शुभसेन र उनका भतिजा चंजितपुरका राजा विधाता इन्द्र सेनलाई पक्रेर दिल्लीमा बुझाएका थिए । दिल्लीका बादशाह मोहम्मद नाजीमले दुवै सेन राजाहरुलाई जातीच्युत गराएका थिए । यसबाट के अनुमान गर्न सकिन्छ भने लिम्बुवानका अन्य आठ राजाहरुमध्ये बढि शक्तिशाली र गौरवशाली याङरुपका राजा शाहाङ राय नै थिए । यसैले महारानी पद्मीधाता इन्दु राजराजेश्वरीको विश्वास र भरोसा याङरुपमा थियो ।
को हुन शाहाङ राय ?
योङहाङ वंशावलीअनुसार शाहाङ राय तत्कालिन याङरुप राज्यका पन्ध्रौ राजा थिए । आफ्ना पराक्रमी पिता बशन्तहाङ जस्लाई यलेकवा श्री रायै पनि भनिन्थ्यो उनैका सुपुत्र शाहाङ रायको जन्म सम्बत् १७१७(सन्१६६०)मा हस्तपुर दरबारमा भएको थियो । याङरुपका ७५ वर्षिय नारायण प्रसाद योङहाङको भनाइमा उनीमा यो कुटनीति र राजनीति पुर्ख्योली रुपमा प्राप्त थियो । उहाँ तर्क गर्दै भन्नुहुन्छ-
सिक्किमका तत्कालिन राजा फुन्सो नाम्गेलविरुद्धमा आफ्ना पिता यलेक्वाश्रीले युद्ध गरेर सम्झौता गराइ आफ्नो दिदी थुङ्वामुक्माको विवाह सिक्किमका राजकुमार तेन्सुल नाम्गेलसँग भएकोले उनलाई पिताको कुटनीति र विदेश नीति सबै थाहा थियो ।
सन् १६६० मा दिदी थुङ्वामुक्माको विवाह सिक्किमका राजकुमार तेन्सुल नाम्गेलसँग हुँदा उनको जन्म भएकै थिएन् ।
तत्कालिन मकवानपुरका राजा लोहाङ सेनसँग आफ्ना हजुरबा बलिवन्तको सम्बन्ध प्रगाढ रहेको थियो(चवेगु, २०६४) । यसै क्रममा उनकै नाति हरिश्चन्द्र सेनदेवबाट सम्वत् १७१९ पौष ४ गते अर्को स्याहामोहर उनका पिता यलेकवा श्रीलाई प्राप्त भएको थियो । सम्बत् २०१८ सालमा प्रकाशित पुरातत्व पत्र दोस्रो भागमा उल्लेखित सो स्याहामोहरमा मकवानपुरको भलो चिताएर आफ्नो खायनपायनमा बस्न भनिएको छ । हिलिहाङ गाँउपालिका-३ का प्रधानाध्यापक दिपेन्द्र योङहाङ यसलाई मकवानपुरका राजा लोहाङ सेनकै याङरुपलाई दिइएको स्वशासनको अर्को रुप ठान्नुहुन्छ । यो भनाइलाई समर्थन गर्दै सिदिङ्वाको प्रधानाध्यापक राजेन्द्र इधिङ्गोले थप्नु भयो- बुबा बलिवन्तले लोहाङ सेनसँग नजिकको सम्बन्ध बनाएर रोप्नु भएको बृक्षको फल छोरा यलेकवा श्रीले पाउनुभयो ।
सो स्याहामोहरमा भनिएको छ-
मोहर
स्वस्तिश्री रुपनारायण त्यादि विविध विरुदावलीविराजमान मनोन्नत महाराजाधिराज—१ औ श्री श्री हरिश्चन्द्रसेन जीव श्री श्री श्री वृषसेन जीव देवनाम् सदा समर विजयीनाम्——–
तमरी हिराऐ औ नाम देखि मुनि टुमराये औ यलेकवा श्री राये खेजिम राये—थि दउ राये गैरहराय आशिषपूर्वक त्युपत्र कार्जन्च आगे सबना—हाज महिलहदिते—शाचूनहजह मुवह मति चिताइ रहसन औलिते तोले पात्र आफन आतिरजाम शै आवाइ जेहातन दूर धन्हो कप्पा यवानाहिंसे मर्जा दातो हही सजूर ऐसे परही इव इति सम्बत १७१९ साल पुस सुदि ४ मोरुङ—
योङहाङ वंशावली अनुसार यो स्याहामोहरमा उल्लेख गरिएका यलेकवा श्री याङरुपका चौधौ राजा हुन् । खेजिम राय खजुम हुनसक्छ भने थि देउ राये र गैरह राय को थिए ? खोजीको विषय हुनसक्छ ।
यसरी राजकाजमा आफ्ना हजुरबुबा र पिताको गुण प्राप्त गरेका यिनी योङहाङ वंशावलीअनुसार सानै उमेरमा राजा भएका थिए। पिता राजा यलेकवा श्रीको निधनपछि सम्बत् १७२५ मा आठ वर्षको उमेरमा उनी राजा भए । यसरी हेर्दा महारानी राजराजेश्वरीको स्याहामोहर सम्वत १७६४ मा पाउदा उनी ४६ वर्षका थिए ।
महारानीले किन स्याहामोहरबाट सैनिक सहयोग मागिन् ?
महारानी इन्दुराजराजेश्वरीले शाहाङ रायलाई स्याहामोहरबाट सहयोग माग्नुको प्रमुख कारण उनले पूर्णियामा इस्कन्दर खानले बन्दी बनाएका आफ्ना श्रीमान विधाता इन्द्र सेन र मकवानपुरका काका शुभ सेनलाई लाई छुटाउनु थियो । यो सम्बन्धमा ह्यामिल्टनले सन् १८१९ मा प्रकाशित पुस्तक अन एकाउन्ट अफ नेपालमा सविस्तार वयान गरेका छन् । सो पुस्तकको पेज नं १३८ मा लेखिएको छ-
शुभसेनको ३१ वर्ष शासनकालको अन्ततिर प्रदियमुना उपाध्याय जो तनहुका हुनुको साथै शुभसेनका दिवान थिए, उनले षडयन्त्र गरे । यो षडयन्त्रमा उनले एक अफिसर परशुराम थापालाई सामेल गराए । पछि ती षडयन्त्रकारीहरुले मकवानपुरका वृद्ध राजा शुभ सेनलाई पक्रिएर पूर्णियाको नवाव इस्कन्दर खान सामु पुर्याए । यो कुरा मोरङ(चंजीतपुर ?)का राजा विधाता इन्द्र सेन जो बालकैमा राजा भएतापनि अब जवान भइसकेका थिए उनले सुने । त्यसपछि उनी आफ्नो भाइ बुध सेनसँग एक विशाल सेना लिएर नवावको विरुद्ध युद्ध गर्न पूर्णिया पुगे अनि बहादुरगन्जको युद्धमा आफ्ना काका शुभ सेनलाई छुटाउन सफल भए । तर दुर्भाग्य प्रदियमुनाको नाती कालु उपाध्यायले फेरि उनीहरुलाई हराएर काका भतिज दुवैजनालाई दिल्लीको बादशाह मोहम्मद निजामसामु बुझाए । दिल्लीका बादशाहले उनीहरु दुवैजनालाई जातीच्युत गराए । यो देखेर शुभसेनको एक मन्त्री प्रबोध दास शुभसेनका बाँकी दुई भाइ छोराहरु माणिक सेन र महीपति सेन सहित पूर्वको किरात राज्यतिर भागे ।
यसप्रकार पूर्णियाको युद्धमा पराजित भएका विधाता इन्द्र सेनका महारानी पद्मीधाता इन्दु राजराजेश्वरीले आफ्ना श्रीमान तथा काका ससुरा शुभ सेनलाई छुटाउन याङरुप लगायत लिम्बुवानमा स्याहामोहर मार्फत सैनिक सहायता मागेको हो । सिरीजङ्घा -३, सिकैचाका अमूल्य यवाङ्गु यो कुरामा विश्वास मान्नुहुन्छ । उहाँको दावी छ-पक्कै पनि पूर्णियाको नवावसँग युद्ध लड्नु कम सेनाको भरमा सम्भव थिएन् । यसैकारण महारानीले लिम्बुहरुसँग थप सैनिक सहयोग मागिएको हो ।
पाँचथर हिलिहाङ-३ का बासिन्दा, हिलिहाङ डटकमका कार्यकारी सम्पादक तथा पत्रकार रीता थाम्सुहाङ यसरी महारानीले स्पस्ट किटानीको साथ सैनिक सहयोग माग्नुले याङरुपका राजा शाहाङ रायको शक्ति र सामर्थ्य उजागर भएको बताउनु हुन्छ ।
उता मदन पुरस्कार विजेता प्रशासक तथा अन्भेषक काठमाडौका भगिराज इङनाम पनि यो विषयमा हिलिहाङ, पान्थरका पत्रकार रीता थाम्सुहाङको तर्कसँग सहमत हुनुहुन्छ । उहाँ आफ्नो मदन पुरस्कार विजेता पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहको पेज नं २५७ मा लेख्नुहुन्छ-बदला लिन सैनिक सहयोग मागिएको यो पत्रबाट पल्लो किरातका लिम्बु किरातीहरु शक्तिशाली, छुट्टै अस्तित्व र शासन ब्यबस्था भएको बुझिन्छ ।
याङरुपको पूर्णीया र चंजितपुर(मोरङ)मा पारेको सामाजिक प्रभाव
चंजितपुर(मोरङ?) महारानी पद्मीधाता विधाता इन्दु राजराजेश्वरीले अनुरोध गरेपछि याङरुपका साहाङ राय लगायतका अन्य आठ जना राजाहरु आआफ्ना लिम्बु सेनाहरु लिएर षड्यन्त्रकारी र नवाव विरुद्ध युद्ध लडे । उनीहरुले पुर्णियाका नवाव इस्कन्दर खानलाई युद्धमा पराजित मात्र गरेनन् मकवानपुरका षडयन्त्रकारी दिवानहरु प्रादि यमुना, उनको नाती कालु उपाध्याय र परशुराम थापालगायतलाई सजाय गर्न सफल भए । यसरी लिम्बू सेनाहरुको वीरता र पराक्रमलाई पूर्णिया जस्तो विदेशी भूमिमा पुर्याएर याङरुप र लिम्बुवानको सैनिक प्रभाव देखाउन उनीहरु सफल भए । तर धेरै टाढा र शक्तिशाली दिल्लीका बादशाह मोहम्मद निजामसँग लड्न असमर्थ भएकोले उनीहरु फर्किएर महारानी पद्मीधाता इन्दुराजेश्वरीलाई मोरङको गद्धीमा राखे ।
यसरी विदेशी भूमिमा याङरुप र लिम्बुवानको राजनितिक प्रभाव परेको देखिन्छ । यस सन्दर्भमा पाथीभरा याङरुप ताप्लेजुङका पत्रकार तारा पालुङ्वा तर्क गर्नुहुन्छ–मकवानपुरको राजा लोहाङ सेनको समयदेखि उनको पनाती जनाती शुभसेन, विधाता इन्द्र सेन र बुहारी इन्दुराजेश्वरीसम्म याङरुपको सामाजिक प्रभावले त्यो समयमा तत्कालिन याङरुप शक्तिशाली रहेको पुष्टी हुन्छ । उहाँको भनाइलाई हाल क्रोसियामा रहनु भएको थेचम्बूका पुर्व भारतिय सैनिक दिपेन्द्र मेयाङ्बो समर्थन गर्नुहुन्छ । उहाँको दावी छ– निश्चय नै याङरुपबाट त्यो समयमा पूर्णियासम्म युद्ध लड्न जानु चानचुने कुरा होइन् ।
निष्कर्ष
सम्बत् १७६३साल आश्विन बदि ४ मा चंजीतपुर( मोरङ?) को महारानी पद्मीधाता विधाता इन्दुराजेश्वरीले लेखिएको स्याहामोहरमा पूर्णत सैनिक सहयोग मागिएको थियो । तत्कालिन पूर्णियाको नवाव इस्किन्दर खान र मकवानपुरका दिवान कालु उपाध्यायमाथि प्रहार गरेर बदला लिने उद्धेश्यको लागि लिम्बुवानका नौ राजाहरु मध्यै नाम नै तोकिएका याङरुपका राजा शाहाङ राय थिए ।
यसरी नाम र विशेष विश्वास गरिएका याङरुपका पन्ध्रौ राजा शाहाङ रायले आफ्नो राज्यकालको ३८ वर्षमा पाएका यो स्याहामोहरबाट उनको शुरता र वीरता चंजितपुर एवम् मोरङभर प्रख्यात रहेको बुझ्न सकिन्छ । हजुरबुबा बलिवन्त र लोहाङ सेन एवम् बुबा यलेकवाश्री र हरिश्चन्द्र सेन तथा सिक्किमका राजा फून्चो नाम्गेल अनि दिदी थुङ्वामुक्माको राजकुमार तेन्सुल नाम्गेलसँगको विवाह आदिबाट याङरुपको राजाहरुको प्रभाव देश विदेशमा रहेको प्रष्टिन्छ । यसै कारण महारानी पद्मीदाता विधाता इन्दुराजेश्वरीले लेखिएको स्याहामोहर पूर्णत सैनिक सहयोग मागिएको स्वाभाविक मान्न सकिन्छ । पुस्तौंदेखि मकवानपुरे सेन राजाहरुसँग रहेको यसप्रकारको विश्वासलाई गुम्न नदिइ शाहाङ रायले पूर्णियामा युद्ध गरेर नवाव इस्किन्दर खान तथा मकवानपुरका षडयन्त्रकारी दिवानहरु प्रादि यमुना, उनको नाती कालु उपाध्याय र परशुराम थापालगायतलाई सजाय गरेको देखिन्छ ।
मकवानपुरका राजा शुभ सेन र चंजीतपुर(मोरङ)का राजा विधाता इन्द्र सेनका षड्यन्त्रकारीहरुलाई कार्वाही गरेर शाहाङ रायले समग्र मकवानपुर र मोरङ राज्यभर याङरुपको राजनीतिक, सामाजिक र सैनिक प्रभाव विस्तार गर्न सफल भएको देखिन्छ । उनकै मार्गनिर्देशनमा पछि महारानी पद्मिधाता विधाता इन्दुराजेश्वरीलाई पछि विजयपुरमा गद्धीमा विराजमान गराएको इतिहासकारहरुले बताएका छन। यसप्रकार पूर्णिया विदेशमा मात्र नभएर अधिकाँश सेन राज्य र लिम्बुवान राज्यहरुमा परिचित याङरुपका तत्कालिन राजा शाहाङ राय याङरुपमा मात्रै नभएर सारा लिम्बुवान इतिहासमा छुटाउनै नहुने नाम रहेको पुष्टि हुन्छ तर सरोकारवालाहरुले चासो नदिंदा यो गर्विलो नाम गुमनाम रहनु दु:खद रहेको प्रष्टै छ ।
सन्दर्भसामाग्री
अधिकारी, डा. बमबहादुर(२०७६) नेपाली आदिबासी सन्दर्भमा गोपालीहरुको इतिहास, डिकुरा प्रकाशन ।
इङनाम, भगिराज(२०७७) लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह, अतित इङनाम ।
इधिङ्गो, राजेन्द्र(२०८१) कुराकानीमा आधारित ।
जवेगु, भिमविक्रम सिंह(२०६४) किरात सेनेहाङ लिम्बू वंशावली, थेगिमहाङ प्रकाशन ।
थाम्सुहाङ, रिता(२०८१) कुराकानीमा आधारित, हिलिहाङ डटकम ।
नेम्बाङ, वीर(१९८७) लिम्बूवानको रुपरेखा, क्षितिज प्रकाशन ।
पालुङ्वा, तारा(२०८१) कुराकानीमा आधारित
पुरातत्व-पत्र संग्रह दोस्रो भाग(२०१८) श्री ५ को सरकार ।
मेयाङ्बो, दिपेन्द्र(२०८१) कुराकानीमा आधारित ।
यवाँगु, अमुल्य(२०८१) कुराकानीमा आधारित ।
योङहाङ, अमृत र अन्य(२०७९), योङहाङ वंशावली, किरात योङहाङ कुलवंश प्रतिष्ठान ।
योङहाङ, दिपेन्द्र(२०८१) कुराकानीमा आधारित ।
योङहाङ, नारायण प्रसाद(२०८१) कुराकानीमा आधारित ।
योङहाङ, मनु(२०८२) थुङवामुक्मा योङहाङ-गुमनाम राजकुमारी, हिलीहाङ डटकम ।
ह्यामिल्टन, एफ(१८१९) अन एकाउन्ट अफ किङडम अफ नेपाल, एसियन पब्लिसिङ हाउस ।
प्रतिक्रिया