१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

थुङ्वामुक्मा योङहाङ- एक गुमनाम राजकुमारी



थुङ्वामुक्मा योङहाङ :- एउटा नसुनिएको राजकुमारी

-मनु योङहाङ

मावि शिक्षक तथा स्कलर, नेपाल खुला विश्वविद्यालय, समाजशास्त्र विभाग

सारकथन

 

सन् १६४४ जन्मेर सन् १६६० मा सोह्र वर्षको उमेरमा सिक्किमका राजकुमार तेन्सुल नाम्गेलको तेश्रो महारानीको रुपमा विवाह गरेर सिक्किमको महारानी बन्नु भएको लिम्बुवान याङरुप तत्कालिन अरुण उपत्यकाका राजा बसन्तहाङ योङहाङको छोरी राजकुमारी थुङ्वामुक्मा योङहाङको पेमायोत्से गुम्बाछेउको आफ्नो नयाँ दरबारलाई सङहिम भनेकोमा पछि सुहिम सुखिम हुदै सिक्किम नामाकरण भएको देखिन्छ । तत्कालिन सिक्किम र लिम्बुवान अझ याङरुपसँग वैवाहिक सम्बन्ध मार्फत सुमधुर सम्बन्ध कायम राख्नको साथै लिम्बूवानको प्रभाव विदेशमा समेत पुर्याउनमा राजकुमारी थुङ्वामुक्माको महत्वपूर्ण योगदान रहेको तथ्य यसरी सिक्किम नामाकरण नै थुङ्वामुक्माबाट नै भएकोले प्रष्टिन्छ । यो  अनुसन्धनात्मक लेखको उद्देश्य यसरी सिक्किम नामाकरण गरेर विदेशी भूमिमा समेत तत्कालिन लिम्बूवान र याङरुपको प्रभाव विस्तार गर्ने एक गुमनाम ऐतिहासिक पात्र राजकुमारी थुङ्वामुक्मा योङहाङको जीवनपक्षका नसुनिएका किस्साहरुलाई पहिचान र सार्वजनिक गर्नु रहेको छ । यो उद्देश्य पूरा गर्न चाहिने सूचनाहरु विभिन्न पुस्तकहरु, जर्नलहरु, वंशावलीहरु र सम्वन्धित क्षेत्रमा सोध गर्नुहुने विज्ञहरु मार्फत लिइएको छ । गुणात्मक अनुसन्धानको लागि अन्तरवार्ता, कुराकानी र छलफललाई प्राथमिक श्रोतको रुपमा र विभिन्न पुस्तकहरु, जर्नलहरु र वंशावलीको साथै अन्य सहयोगी सामाग्रीहरुलाई सहायक श्रोतको रुपमा लिइ अध्ययनका उद्देश्यहरु पूरा गर्ने प्रयास गरिएको छ । अध्ययनले राजकुमारी थुङ्वामुक्मा योङहाङको विवाहबाट तत्कालिन सिक्किम र लिम्बुवानबिच हुनसक्ने भयानक युद्धलाई रोकेर ब्यापक जनधनको क्षतिबाट दुवै पक्ष जोगिएको र सिक्किम नामाकरण गरेर लिम्बूवानको प्रभाव विस्तार भएको देखिएको छ । यसरी विदेशी भूमिमा समेत याङरुप र लिम्बुवानको प्रभाव पुर्याउन सफल एक ऐतिहासिक पात्र तत्कालिन राजकुमारी थुङ्वामुक्मा योङहाङको जिवनको नसुनिएको पाटो र योगदानको चर्चा लिम्बूवान पक्षबाट पनि नगरिनु दु:खद रहेको र सम्बन्धित पक्षबाट गरिनु अवश्यक रहेको निष्कर्ष निकालिएको छ । (२३३ शब्द)

मूल शब्दावली : थुङवामुक्मा, सङहिम, सिक्किम, याङरुप, पेमायोत्से, लिम्बूवान

विषयप्रवेश

THUNGWA MUKMA YONGHANG-PRINCESS OF YANGRUP THUM

इतिहास प्रत्येक व्यक्ति, परिवार, समुदाय, समाज, राष्ट्र र विश्वको आर्थिक, राजनितिक, कुटनीतिक र वैदेशिक क्षेत्रहरुमा सम्बन्ध राख्ने र प्रभाव पार्ने हुन्छ । इतिहासको प्राचिनता र वास्तविकतालाई समसामयिक पक्ष र शब्दबाट विवेचना गरेर त्यसको अस्तित्व र चेतनालाई उजागर गर्न सकिन्छ । वर्तमान उद्देश्यहरुको लागि प्रत्येक व्यक्तिले कुनै न कुनै रुपबाट इतिहास जानेकै हुन्छ । यसप्रकार अतितले वर्तमानकालिन कौतुहुलता वा प्रश्नलाई समाधान वा जवाफ दिन सक्छ । यसरी इतिहासको कालखण्डमा कैद जीवन्त इतिहास लेखरचना र पुस्तकको रुपमा लिपिबद्ध भएर स्मरण गरिन्छन्।

नेपालको इतिहासको मध्यकालमा वा अठाह्रौ शताब्दीको आरम्भतिर पूर्वमा सेन राज्य र लिम्बूवान राज्यहरुको प्रभाव र उनीहरुको शक्ति विस्तारित रुपमा रहेको बुझ्न सकिन्छ । त्यसबेला पूर्व विजयपूरमा शक्तिशाली सेन राज्य र पहाडी भेगमा लिम्बूवान राज्यहरु रहेका थिए । यो तथ्यलाई ह्यामिल्टनले स्विकारेका छन् । “विजयनारायण सेनको प्रभावबाट विजयपूर नामाकरण भएर उनले तत्कालिन लिम्बूहरुलाई राय लेख्न लगाएको इतिहासमा पाइन्छ “(ह्यामिल्टन, १८१९) । उहाँ थप दाबी गर्नुहुन्छ- यसरी शक्तिशाली रहेको याङरुप( चैनपुर ?)का राजा बसन्तहाङ जसलाई “यलेक्वाश्री समेत भनिन्थ्यो उनको पालामा मकवानपुरका सेन राजा लोहाङ सेनले खर्साङको गिद्धे पहाड सम्म कब्जा गरेका थिए “। (ऐ )

तत्कालिन याङरुपको प्रभाव विस्तार भएर विजयपुर सम्म पुगेकोमा अरुण उपत्यकामा रहेको चैनपुर समेत याङरुप अझ हस्तपुरबाट शाषित रहेको बुझिन्छ । यो तथ्यलाई लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङले सहजै स्विकार्नु भएको छ । उहाँ आफ्नो पुस्तक “लिम्बुवानको नालीबेली” मा यो तथ्यलाई उल्लेख गर्नुभएको छ ।

यसै बिच सिक्किमका राजा फुन्चो नाम्गेलले सन् १६४४ मा आफ्नो राजतिलक गर्दा तत्कालिन हस्तपुर र लिम्बूवान लगायत मगरजोङ राज्यलाई समेत निमन्त्रणा गरेनन् । इमानसिंह चेम्जोङका अनुसार यसरी निमन्त्रणा नगरेकोमा रिसाएका हस्तपुरका राजा बसन्तहाङ लगायत मगर सेनाहरुले गेजिङमा हमला गरेर फुन्चो नाम्गेललाई सम्झौता गर्न बाध्य बनाए । “योङहाङ राजाको छोरी थुङ्वामूक्माको विवाह फून्चो नाम्गेलको छोरा तेन्सुल नाम्गेल सँग गराइयो” ( योङहाङ वंशावली, २०७८) ।

यसपछि लिम्बूवानमा पनि विभिन्न राजनैतिक परिवर्तनहरु भए । सन् १७७४मा तमोर वारीका लिम्बूहरुले गोर्खालीसँग नुनपानीको सम्झौता गरेर गोर्खामा विलय भएता पनि तमोरपारीका राजाहरु गोर्खासँग डटेर लडिरहेता पनि सन् १७८०मा हिपातलमा राजा हिलिहाङको हत्यापछि मात्र तमोरवारी गोर्खाको नियन्त्रणमा आयो ।  सिक्किम त पूरै भारतमा सन् १९७५ मा बिलय भयो । गोर्खाली विरुद्ध सिक्किमका भोटे सैनिक र लाप्चे सैनिकहरुले सहयोग गरेपछि याङरुपका र अन्तिम लिम्बू राजा हिलिहाङको नेतृत्वमा लडाई लडिरहे । लिम्बूवान मुक्तिमोर्चाको अध्यक्ष वीर नेम्बाङका अनुसार यसरी सत्रपटकसम्म पनि गोर्खालीहरुले पराजय सहनु पर्यो ।

यसरी छिमेकी राज्य सिक्किमसँग कुटनीतिक र मित्रवत सम्बन्ध कायम राखेर तत्कालिन समयमा हुनसक्ने तत्कालिन युद्ध र व्यापक धनजनको क्षतिबाट जोगाउन महत्वपूर्ण योगदान पुर्याउने ऐतिहासिक पात्र राजकुमारी थुङ्वामुक्वाको बारेमा त्यति धेरै चर्चा नगरिनु दु:खद रहेको छ ।

उद्देश्य

यो अनुसन्धानको उद्देश्य निम्नानुसार रहेको छ-

१) याङरुप (अरुण उपत्यका, चैनपुर)को राकुमारी थुङ्वामुक्माको चिनारी गराउनु र थुङ्वामुक्माको तेन्सुल नाम्गेलसँगको विवाहले सिक्किम र लिम्बूवानबिचमा पारेको प्रभावको बारेमा मूल्याङकन गर्नु ।

अध्ययन विधी

यो अनुसन्धान उद्देश्य पूरा गर्न चाहिने सूचनाहरु विभिन्न पुस्तकहरु, जर्नलहरु, वंशावलीहरु र सम्वन्धित क्षेत्रमा सोध गर्नुहुने विज्ञहरु मार्फत लिइएको छ । गुणात्मक अनुसन्धानको लागि अन्तरवार्ता, कुराकानी र छलफललाई प्राथमिक श्रोतको रुपमा र  विभिन्न पुस्तकहरु, जर्नलहरु र वैशावलीको साथै अन्य सहयोगी सामाग्रीहरुलाई सहायक श्रोतको रुपमा लिइ व्याख्या, विवरणात्मक र विश्लेषणात्मक रुपमा अध्ययन/अनुसन्धानका उद्देश्यहरु पूरा गर्ने प्रयास गरिएको छ ।

मूल विश्लेषण

प्रस्तुत अनुसन्धानलाई निम्नानुसार बुँदागतरुपमा व्याख्या र विश्लेषण गरिएको छ ।

(अ)राजकुमारी थुङवामूम्माको जन्म, विवाह र जिवनी 

RAPDENCE PALACE(SIKKIM)  PRINCE TENSUL NAMGEL     HILIHANG PALACE      PRINCESS THUNGWA MUKMA

नेपालको इतिहासमा मध्यकाल र सेनवंश तथा लिम्बूवानमा सत्रौ शताब्दीतिर विभिन्न आरोह र अवरोहहरु पार गर्दै अघि बढिरहेको अवस्थामा पूर्व सेन विजयपूर राज्य र लिम्बूवानमा याङरुप राज्य विशेष शक्तिशाली रहेको पाइन्छ । यसरी याङरुप राज्य शक्तिशाली रहनुमा “फेदापको राजा तथा विजयपुरको चोतारा मुरेहाङ खेवासँग याङरुपका राजा स्वरुपहाङको छोरी थोक्फेलाको विवाह हुनु रहेको “( योङहाङ वंशावली, २०७८)थियो ।

यसरी मुरेहाङ खेवा र बाजहाङ खेवा तथा मकवानपुरका सेनराजा लोहाङ सेनका विशेष कृपा पाएका याङरुप तथा अरुण उपत्यका र चैनपुरका राजा बशन्तहाङको एकमात्र छोरी रहेको राजकुमारी थुङ्वामुक्मा योङहाङको जन्म सन् १६४४ मा हस्तपुर दरबारमा भएको थियो । आफ्नो बज्यै थोक्फेलाको विवाह विजयपुरका चोतारा मुरेहाङ खेवासँग भएको र पिता बशन्तहाङको तत्कालिन मकवानपुरका राजा लोहाङ सेनसँग सुमधुर सम्बन्ध भएको हुनाले राजकुमारी थुङ्वामुक्मामा पनि कुटनीति र राजनीति जिन र विराशतको रुपमा प्राप्त थियो ।

तत्कालिन याङरुप राज्यको विजयपुरसँग सिधै पारिवारिकरुपमा सम्बन्ध भएकोले चैनपुर याङरुप राज्यकै मातहतमा रहेको पुष्टी हुन्छ ।  भिम विक्रम सिं चवेगुले किरात सेनेहाङ लिम्बू वंशावलीमा उल्लेख गर्नु भएअनुसार “लोहाङ सेनले बाजहाङ खेवाको छोरा पानोहाङलाई विजयपुरको चौतारा बनाउनुको साथै फेदाप तथा याङरुपलाई स्वशासनको अधिकार दिएका थिए “( चवेगु, २०६४) । यो तथ्यलाई वीर नेम्बाङले सन् १९८७ मा सिलिगुडीबाट प्रकाशित आफ्नो पुस्तक लिम्बुवानको रामकहानीमा चर्चा र समर्थन गर्नु भएको छ ।

यसरी विजयपुरबाट स्वशासनको अधिकार पाएको याङरुपको राजकुमारी थुङ्वामुक्माको  भाइ शाहाङ राय थिए । शाहाङ रायले भने सन् १७०४ मा “पूर्णियाका नवाव स्कन्दर खानलाई जलालगाढ कटाएका थिए । विधाता इन्द्र सेनका पत्नि पद्मीधाता विधाता इन्दुराजराजेश्वरीलाई सहयोग गरेर विजयपूरको गद्धीमा विराजमान गराएका थिए “।( इङनाम, २०७७) । भनिन्छ अतुलनिय सोन्दर्य भएको राजकुमारी थुङ्वामुक्मा योङहाङको सोन्दर्यबाट विजयपुरका राजा विधाता इन्द्र सेन मोहित भएकोले राजा बशन्तहाङ चिन्तित थिए ।

राजकुमारी थुङ्वामुक्मा योङहाङको अन्य दरबारिया सरदारको छोराछोरीहरुसँग पनि घनिष्ठ सम्बन्ध रहेको थियो । उनको घनिष्ठताकै कारण तेन्सुक नाम्गेलका अन्य दरबारियाहरुले सात लिम्बुनीचेलीहरुसँग विवाह गरेका थिए । सानै उमेरमा तरबारबाजी, घोडसवारी तथा धनुवाण र घुँयेत्रो प्रहारमा महारथ हासिल गरेको राजकुमारी थुङवामुक्मा योङहाङ सारा याङरुप सहित चैनपुर र विजयपुर तथा सिक्किमसम्म परिचित थिइन् ।

भिमविक्रम सिं चवेगु किरात सेनेहाङ लिम्बू वंशावलीमा लेख्नुहुन्छ-“सन् १६४४ मा सिक्किमका राजा फुन्सो नाम्गेलले राप्देन्से दरबारमा राजतिलक गरे । यसरी राजतिलक गर्दा उनले छिमेकी राज्यहरुलाई खबर गरेनन् । सधै  यसरी महत्वपुर्ण कार्यहरु गर्दा छिमेकी राज्यहरुलाई निमन्त्रणा गर्नेमा नगरेकोमा मगरजोङका मगरहरु अत्यन्त धेरै रिसाए । “यो कुरालाई थप पुष्टि गर्दै योङहाङ वंशावलीमा लेखिएको छ-“यसरी रिसाएका मगरजङका मगरहरुले याङरुपका राजा बशन्तहाङलाई उजुरी गरेपछि सन् १६४४ को गेजिङ युद्धमा राजा फुन्चो नाम्गेललाई हराएर सम्झौता गराउन बाध्य बनाए “। यो सम्झौंता अनुसार राजकुमार तेन्सुल नाम्गेलसँग पारिवारिक सम्बन्ध गासेर उनको तेस्रो रानीको रुपमा राजकुमारी थुङ्वामुक्मा योङहाङ सन् १६६० मा अपरिचित विरानो मुलुकमा आफ्नो सात जना साथीहरुसँग भित्रीइन् ।

पेन्गुइन प्रकाशनद्वारा प्रकाशित पुस्तक सिद्धुको सिक्किम डाउनफाल अफ ड्मोक्रेसी मा सिक्किम राजकुमारी थुङ्वामुक्माको पेमायोत्से गुम्बाछेउमा बनाएको दरबारलाई नयाँघर वा सङहिमबाट बनेको स्विकार्नु हुन्छ । (“According to the Limbu tradition, the name ‘Sikkim’ was a corruption of the Limbu word ‘sukhim’ meaning the ‘happy house’ or ‘new house’. At one point, Sikkim’s borders extended as far as Ilam in Nepal. In a series of wars that lasted nearly a century,सौजन्य-सन्ध्या सुब्बा सिङ्जाङ्गो )

यो तथ्यलाई समर्थन गर्दै लिम्बुवान मुक्तिमोर्चाका अध्यक्ष वीर नेम्बाङ दावी गर्नुहुन्छ- “तेन्सुल नाम्गेलले सन् १६७० मा राजा भएपछि गेजिङमा बनाएको दरबारलाई  रानी थुङ्वामुक्माले राखेको नाम सङहिमबाट सिक्किम बनेको हो ।” (लिम्बुवानको रामकहानी पृ-४, सन् १९८७) । यो सम्बन्धमा अध्यक्ष नेम्बाङको थप टिप्पणी रहेको छ-“राजा तेन्सुल नाम्गेलको कान्छी रानी लिम्बू राजा  योयोहाङको राजकुमारी थुङ्वामुक्मा लिम्बुनी थिइन् ।(ऐ )”

यसरी नै सिक्किमको मुन्धुमी अभियन्ता तथा अन्वेषक सन्ध्या सुब्बा सिङजाङ्गो पनि एक सोह्र वर्षे राजकुमारीको विवाहले पक्कै पनि आफ्नो भूमिप्रतिको समर्पण रहेको देशभक्तिलाई स्विकार्नु हुन्छ ।

उता हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङ भने अवश्य पनि पारिवारिक सम्बन्धकै कारण लिम्बुवान सिक्किमबाट जोगिएको हुनसक्छ । नत्रभने ब्रिटिस साम्राज्य हुर्किरहेको र शक्तिशाली तिब्बतबाट लिम्बूवान जोगाउनमा एक सोह्रवर्षिया राजकुमारीले आफूलाई पराइदेशमा समर्पण गर्नु कम देशभक्ति भने पक्कै छैन् । उहाँ जिकिर गर्नुहुन्छ-“समाजशास्त्रको द्वन्द सिद्धान्तका सिद्धान्तकार माक्सवेवरले भने झै आफ्नो पहिचान र सुविधाको लागि हुने द्वन्दको एकपाटो र शिकार फूलजस्तै सुकोमल याङरुपका राजकुमारी थुङ्वामुक्मा योङहाङ बनिन् । उनको यो समर्पणले सोसियोलोजीको फेमिनिष्ट थ्योरीलाई समर्थन गर्छ ।”

यसरी नै समाजशास्त्रका स्कलर तथा पान्थर हिलिहाङ-३, साम्रे आधारभूत विद्यालयका प्रअ दिपेन्द्र योङहाङ भने त्यो समयमा पनि अखण्ड लिम्बुवानको लागि आफ्नो सर्वस्व गुमाउने महान राजकुमारी थुङवामुक्माको योगदान अविश्मरणीय रहेको स्विकार्नु हुन्छ । उहाँको तर्क छ-“फूल जस्तै कोमल र सौन्दर्यले सजिएको हाम्रो राजकुमारी देखेपछि उनैको सौन्दर्यको कारण अन्य सात लिम्बुनीहरु सिक्किमका दरबारमा भित्रिनुले समाजशास्त्रको पोजिटिभिस्ट फङसनल थ्योरी आकर्षित गर्छ ।”

सबै भन्दा आधिकारिक र भरपर्दो मानिएको राजा फूर्तोब नाम्गेल र रानी यसै डोल्माद्वा सन् १९०८ मा लेखिएको तथा काजी दौसान्दुपद्वारा प्रकाशित सिक्किमको इतिहास पुस्तकमा राजकुमारी थुङ्वामुक्मा योङहाङको बारेमा लेखिएको छ । सो पुस्तकको पेज नं २२ मा लेखिएको छ –(“The Raja Tcnsung Namgyal rnarried three Ranis. One of them being from Bhutan, called nambi Ongmo, who gave birth to a daughter, llamed Pande Wallgmo. One of the Ranis was the daughter of Deba ZamSar, a noble family residing near Tinkejong in Tibet, in the north west of Sikkim. nüs lady gave birth to 8 son, the next Mabaraja, Chagdor NamgyaL The third Rani was the daughter of a Limbu Chief, who ruied in the Arun Valley in the West of Sikkim, named Y ong-Y ong Hang. ‘Illis lady also gave birth to a san, named Guru, who resided at Dingrong in Pathillg, whose line is now extinct. I Yong-Yong Hang’ s daughter gave birth to a prineess too, ealled Pande-ehering Gyalmo wbo married a man of the Nam-tsang-korpa tribe residing in Yangang, and died there. The Limbu Lady who came as Ralli had sevell other Limbu Indies with her, who were taken as wives by the highest kazis and ministers of Sikkim. The prilleess (daughter of the Bhutanese lady) named Pande Wangmo beeame the consort of the Nga-bDag Lama, Rinchen-gon. About this time there was a Lepeha Tumyang (headman) called Tasa-Aphong, who was deseendant of the fonner Lepeha Chiet The-kong-tek, serving under Raja Tansung Namgyal, who was residing at Barphag. Onee while he was away on an errand ofthe Raja’s at Dobta in Tibet, his wife।” सीजन्य तथा श्रोत- सिङ्जाङ्गो सन्ध्या सुब्बा, सिक्किम)

उपरोक्त पुस्तक अनुसार राजकुमारी थुङ्वामुक्माको दुइ सन्तान एक छोरा राजकुमार गुरु र राजकुमारी पाण्देरिङ ग्याल्मो जन्मिएको वताइन्छ । राजकुमारी पान्देरिङ ग्याल्मोको विवाह भने नाम्साङ कार्पासँग भयो भने राजाको सन्तान तथा राजकुमार भएपछि स्वभावैले राजगद्धिमा आफ्नो दावी रहन्छ । तर तेन्सुल नाम्गेलले भने राजकुमार गुरुलाई राजगद्धिमा नराखेपछि स्वभावैले लिम्बूहरु नाम्गेल राजखानदानको बिरोधी भए । अनि सिक्किम र लिम्बूबिच द्वन्द शुरु भयो । उनीहरुको द्वन्दको प्रत्यक्ष असर सायद तेअङ्सी सिरीजङ्घालाई विषालु वाणले हानेर हत्या गरिनुसँग सम्बन्धित हुनसक्छ । किनभने सिरिजङ्घा सिं थेबे पनि याङरुपकै थिए ।

(आ) राजकुमारी थुङवामूम्माको विवाहले सिक्किम र लिम्बूवानबिचमा पारेको प्रभावहरु

राजनैतिक प्रभाव

यसरी याङरुपको लिम्बू राजकुमारी थुङ्वामुक्माको सिक्किमको राजा तेन्सुल नाम्गेलसँगको विवाहको प्रत्यक्ष प्रभाव राजनैतिक रुपमा पर्न गयो । वैवाहिक सम्बन्धबाट सिक्किम लिम्बूवानबाट सुरक्षित भयो भने याङरुप राज्य लिम्बूवानको अन्य राज्यहरु भन्दा शक्तिशाली र प्रभावशाली बन्यो ।

यससन्दर्भमा लिम्बूवान मुक्तिमोर्चाका अध्यक्ष वीर नेम्बाङ सन् १९८७ मा प्रकाशित पुस्तक लिम्बुवानको रामकहानी पुस्तकमा  लेख्नुहुन्छ- “तमोर वारीका अन्य राज्यहरु मध्यै सिक्किमको सहायतामा याङरुपका योङहाङ राजाले सत्रपटकसम्म गोर्खालीलाई हराएर सत्रजिते बने ।” उनै सत्रजिते भनेका लिम्बुवानका अन्तिम राजा हिलिहाङ हुन् ।

इतिहासका उपप्राध्यापक घनश्याम ढुङ्गाना पनि राजनैतिक प्रभाबबारेमा स्पस्ट हुनुहुन्छ । उहाँको तर्क छ-“मध्यकालमा राजनैतिक दृष्टिले छिन्नभिन्न भएता पनि लिम्बुवान याङरुप राज्यको सिक्किमसँग राजनितिक सम्बन्ध रहेको थियो र यो सम्बन्ध कायम गर्नमा पक्कै पनि राजकुमारी थुङ्वामुक्माको हात थियो । “उहाँ आफ्नो लेख काजी युक्लाथुप र नेपाल सिक्किम सम्बन्धमा लेख्नुहुन्छ-सिमाना जोडिएको कारणले नेपाल र सिक्किमका बिचमा बारम्बार घटेका घटनाहरुको असर दुई देशमा परेको थियो ( ढुङ्गाना, २०२२) ।

उता हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङ भने पक्कै पनि राजनीतिक प्रभाव र  पारिवारिक सम्बन्धकै कारण लिम्बुवान सिक्किमबाट जोगिएको हुनसक्छ । नत्रभने ब्रिटिस साम्राज्य हुर्किरहेको र शक्तिशाली तिब्बतबाट लिम्बूवान जोगाउनमा एक सोह्रवर्षिया राजकुमारीले आफूलाई पराइदेशमा समर्पण गर्नु कम देशभक्तिपूर्ण तथा राजनितिकपूर्ण भने पक्कै छैन् ।

धार्मिक तथा साँस्कृतिक प्रभाव

लिम्बुवानको राजकुमारी थुङ्वामुक्माको सिक्किमको राजा तेन्सुल नाम्गेलसँग भएको विवाहको धार्मिक तथा साँस्कृतिक प्रभाव सम्पूर्ण सिक्किमभर पर्यो । मुन्धुमविद तथा अन्भेषक सन्ध्या सुब्बा सिङ्जाङगोको यसलाई युमा धर्म सँग जोड्नु हुन्छ । उहाँको दावी छ कि सिक्किममा रहेका लिम्बूहरुले मनाउने धर्म पक्कै पनि राजकुमारी थुङ्वामुक्मा र उहाँको साथमा भित्रिएका सातजना लिम्बुनी सुन्दरीहरुबाट निश्चय नै भित्रिएको हो ।

समाजशास्त्रका स्कलर तथा साम्रे आधारभूत विद्यालयका प्रअ दिपेन्द्र योङहाङ भने त्यो अठाह्रौ शताब्दीको समयमा पनि अखण्ड लिम्बुवानको धार्मिक र साँस्कृतिक मान्यताहरु सिक्किममा भित्रनु राजकुमारीकै प्रभाव मान्नुहुन्छ ।

यसरी नै धनबज्र बज्राचार्य र ज्ञानमणी नेपाल सम्बत् २०१४ को ऐतिहासिक पत्र संग्रहमा लेख्नुभएको छ-“पल्लो किरातका जातिहरुलाई भड्काएर सात आठ हजार फोज लिइ सिक्किमले चयनपुर सिद्धिपोखरीमा आक्रमण गर्यो ।”

धनब्रज ब्रजाचार्य र टेकबहादुर श्रेष्ठ “काजी युक्लाथुपको नेपाल शरण” पुस्तकमा लेख्नुहुन्छ– “रातो मच्छेन्द्रनाथको दर्शनको लागि  सिक्किम र तिब्बतका भक्तजनहरु आउछन्” । यसले पनि सिक्किममा नेपाली धार्मिक र साँस्कृतिक प्रभाव परेको भने पक्कै हो ।

हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङको जिकिर छ- सिक्किम नामाकरण नै हाम्रो राजकुमारी थुङ्वामुक्माको शब्द सुहिम- सङहिमबाट बनेको भनेपछि अरु थप तर्कको आवश्यकता नै परेन । आज सिक्किममा लिम्बु भाषा कलेजस्तरमा पढाइ हुन्छ । विश्वविद्यालयमा लिम्बू भाषा पढाइ हुनुले पनि हाम्री राजकुमारी थुङ्वामुक्मा योङहाङको विवाहको साँस्कृतिक प्रभाव पक्कै हो ।

उहाँ अन्तमा निराश मान्नुहुन्छ- यसरी राजनीतिक, सामाजिक र साँस्कृतिक तथा धार्मिक प्रभाव पार्ने लिम्बूवानको राजकुमारी थुङ्वामुक्माको जीवनी र योगदानको बारेमा सम्बन्धित सरोकारवालाहरु किन मौन छन् ? उहाँको थप प्रश्न छ- जसको लिम्बू भाषाकै कारणबाट एउटा राज्यको नामाकरण गर्यो उसैको पक्षमा र पहिचानको मुद्धामा बाह्रफूट उफ्रने लिम्बूवानबासीहरु यति महत्वपूर्ण र पहिचान स्थापित गर्ने ऐतिहासिक पात्रको बारेमा किन चुप छन् ?

निष्कर्ष

सन् १६४४ मा जन्मिएको याङरुपे राजकुमारी थुङ्वामुक्मा योङहाङको विवाह सन् १६६० मा सिक्किमको राजा फुन्सो नाम्गेलको छोरा राजकुमार तेन्सुल नाम्गेलसँग भएको देखिन्छ । यो विवाहबाट सिर्जित पारिवारिक सम्बन्धको कारण तत्कालिन सिक्किम र याङरुप तथा लिम्बुवानबिच हुनसक्ने भयानक युद्धलाई रोकेर ब्यापक जनधनको क्षतिबाट दुवै पक्ष जोगिएको प्रष्टिन्छ ।

अझ महत्वपूर्ण कुरा भनेको आफ्नो कर्मभूमिलाई सुहिम भन्दै सिक्किम नामाकरण गरेर लिम्बूवानको प्रभाव विदेशसम्म विस्तार गर्नमा राजकुमारी थुङ्वामुक्मा त्यो समयमा सफल भएको देखिन्छ । यो बाहेक सोह्र वर्षको किशोरीले आफ्नो प्रभावको कारण सारा सिक्किमको राजनीतिक, धार्मिक र साँस्कृतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याएको पक्षलाई सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा लिन सान्दर्भिक ठहरिन्छ ।

यसरी आफ्नो पिता बशन्तहाङको सफल कुटनीति र सैन्य योजनालाई पुर्ख्योली जीनको रुपमा विरासतमा पाएर त्यो कुटनीतिलाई प्रयोग गर्दै विदेशी भूमिमा समेत याङरुप र लिम्बुवानको प्रभाव पुर्याउन सफल एक ऐतिहासिक पात्र तत्कालिन राजकुमारी थुङ्वामुक्मा योङहाङको जीवनको नसुनिएको पाटो र योगदानको चर्चा लिम्बूवान पक्षबाट पनि नगरिनु दु:खद रहेको र सम्बन्धित पक्षबाट गरिनु अवश्यक रहेको प्रष्टै छ । यसबारेमा सम्बन्धित सरोकारवालाहरुले चासो राख्नु र कार्यान्वयन गर्नु आवश्यक छ ।

RITA THAMSUHANG  SANDHYA SUBBA SINGJANGO

सन्दर्भसामाग्री

इङनाम, भगिराज(२०७७) लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह, अतित इङनाम ।

जवेगु, भिमविक्रम सिंह(२०६४) किरात सेनेहाङ लिम्बू वंशावली, थेगिमहाङ प्रकाशन ।

थाम्सुहाङ, रिता(२०८१) कुराकानीमा आधारित, हिलिहाङ डटकम

ढुङ्गाना, घनश्याम (२०२२) रिसर्च जर्नल, महेन्द्र कलेज ।

नाम्गेल, थुतोब (१९०८) हिस्ट्री अफ सिक्किम, काजी दौसान्दुप ।

नेम्बाङ, वीर(१९८७) लिम्बूवानको रुपरेखा, क्षितिज प्रकाशन ।

बज्राचार्य, धनबहादुर र अन्य(२०६५) काजी युक्लाथुप, एसियाली अनुसन्धान केन्द्र ।

बज्राचार्य धनबहादुर र नेपाल, ज्ञानमणि(२०१४) ऐतिहासिक पत्र संग्रह, नेपाल साँस्कृतिक ।

योङहाङ, अमृत र अन्य(२०७९), योङहाङ वंशावली, किरात योङहाङ कुलवंश प्रतिष्ठान ।

योङहाङ, दिपेन्द्र(२०८१) कुराकानीमा आधारित

सिद्धु, जिबि(१९९०) डाउनफल अफ सिक्किम, पेन्गुइन बुक्स ।

सुब्बा, सन्ध्या सिङजाङ्गो(२०२४) कुराकानीमा आधारित

ह्यामिल्टन, एफ(१८१९) अन एकाउन्ट अफ किङडम अफ नेपाल, एसियन पब्लिसिङ हाउस ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ४९ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका