कविता
नसुन्ने, नबोल्ने र नहेर्नेप्रति….
चुपचाप सहें मैले,
तिम्रा ती बचनरुपी प्रहार,
तर बिस्यौं सोच्न तिमीले,
त्यो थियो मेरो अस्विकार ।
सुन्छौ- त्यो त थियो तिम्रो लज्जास्पद हार,
र त्यही कठोर प्रहारको लागी तिमीलाई आभार ।
मात्र मैले मागेको थिएँ,
एक सामाजिक सानो स्थान ।
जस्लाई तिमीले ठान्यौं मात्रै तिम्रै आफ्नो गुम्ने पहिचान ।
तिम्रो त्यो प्रहार सहनु मेरो आफ्नै भाग थियो ।
किनभने त्यो त निश्चय नै समयको आफ्नै माग थियो ।
मेरो के गल्ति थियो र ?
जब मैले मागें सानो सामाजिक स्थान ।
डुलाँए मेरा पाइलाहरुलाई मेरो आफ्नै गाँउ शहरमा,
जहाँ पत्थर थियो, काँडा थियो
तर थिएन कुनै पहिचान ।
प्रिय थियो, त्यो मेरो गाँउ शहर,
एउटा सुन्दर भविश्य बनाउने मेरो सानो रहर,
अझ सहज लाग्यो,
मलाई त्यो गोरेटो र त्यो बाटो, त्यो काँडा र पत्थर ।
तर अलग्गै थियो
त्यो कथा तिम्रो र मेरो पाटोको ।
र असफल भयौ ल्याउन विभाजन हामीमाझ फाटोको ।
एउटा प्रश्न तिमीलाई !
भन के तिमिले कहिल्यै आफूले टेकेको माटो सुँघेका छौ ?
मिचाहा वैरीको विरुद्धमा म जस्तै कहिल्यै सिमाना रूँघेका छौ ?
फेरि अर्को प्रश्न तिमीलाई मेरो,
के पढ्न सक्छौ ?
जब काटिएको दाहिने बुढीऔलासँगै मेरो माटोमा लेख्छु म !
के महसुस गर्न सक्छौ ?
जब तिम्रो अपमानले थिल्थिलिएको आँखामा
मेरो भोगाइहरुलाई देख्छु म !
के मेरो काँधलाई थाम्न सक्छौ ?
जब तिम्रो प्रहारले बनेको यो घाउमा मलम पट्टीले सेक्छु म !
सँगाल्दै मेरा साहसलाई,
रित्याउदै मेरा सारा आँशुलाई,
मेरो कर्तब्यलाई,
समाजप्रतिको मेरो पाइलालाई अन्तिमसम्म टेक्छु म !
बधाइ छ तिमीलाई !
मेरो सम्मान विरुद्धको युद्ध
अपमान गरेर तिमीले जीत्यौ ।
स्यावास तिमीलाई ! तर भन
भोकभोकै, अस्थायी बर्षौं काम गरेर
के नानीबाबुहरुलाई माया गर्दा हामी बित्यौं ?
तिम्रा अपमानका लात्तीहरु म माथि बज्रिदा,
तिम्रा घृणाका घुस्सीहरु म माथि बर्षिदा,
तिमीलाई लाग्छ होला मेरो आवाज दबिन्छ ।
मेरो नेपाली समाजप्रतिको भावना निमोठिन्छ ।
तर अझै भन्छु म,
सिर्फ मेरो कलम समाउने
एउटा औंला काटिएको छ,
अझै पुरै शरीर बाँकी नै छ मेरो।
तिम्रो घृणाले
मात्र थोरै भावना खल्बलिएको छ,
तर सिङ्गो मष्तिष्क बाँकी नै छ मेरो ।
फगत अपमानले तीरले छेडिएको छ दिल,
तर सिङ्गो स्वाभिमानी मुटु साथै छ मेरो ।
भन तिम्रो मालिकलाई,
तिमी र म एकैसाथ हिडेको देखेर
उसको सातो जाओस् ।
क्रोध र तिरस्कारले
उसले अरु धेरै अपमानको गोली बर्षाओस् ।
बजारेर घृणाको लठ्ठीहरु,
उसले सक्छ भने
भएको मेरो पहिचान लेख्ने बाँकी औंला पनि भाँचोस् ।
तब त्यो क्षणमा खुल्नेछ मेरो पहिचान ।
गर्वले उठ्नेछ शिक्षक हुं भन्ने
म भित्रको मेरो स्वाभिमान ।
अन्तमा सुन मेरो एक प्रार्थना !
अर्को जन्ममा तिमी म जस्तै शिक्षक भएर जन्मनु ।
म जस्तै समाजलाई माया गर्दा एउटा औला कटाउनु ।
मैले जस्तै दशकौं अस्थायी बनेर अपमानले छाती छेडाउनु ।
घृणा र तिरस्कार अनि ग्लानीले आत्मा रुवाउनु ।
त्यो बेला सम्झन्छौ होला सायद,
त्यो कठोर प्रहार उपहार दिएर तिमी आफैमा के छायौ ?
मेरो परिवारलाई रुवाएर,
मेरो समाजलाई उजाडेर आखिर तिमीले के पायौ ?
-मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा, पाँचथर
प्रतिक्रिया