हिलिहाङ साहित्य-कथा:-प्रतिविम्वन, कथाकार-मनु योङहाङ
“हेलो,म रीता” लगातार जस्तो फोनको घन्टी बजेपछि मैले फोन रिसिभ गरें।
“मेडम म सविना, हामी अमेरिकामा रहेका तपाईका विद्यार्थीहरुबाट यसवर्षको प्रतिभा सम्मान हजुरलाई प्रदान गर्ने निर्णय भएको छ”सविनाले थपिन्”हजुरको अढाइदशक निरन्तर र सफल शिक्षणको हामीले सम्मान गरेका छौ आउदो महिनाको पन्ध्र तारिख न्यूयोर्कमा कार्यक्रम छ जसरी भएपनि आउनुहोला ।”
सविना-मेरो अढाइ दशकको शिक्षण कार्यमा थुप्रै सविनाहरु आए, सदैव म उनिहरुको जिवनमा सकारात्मक आभा जोगाउन लागिरहें,एउटा पुल जसले कैयन यात्रीहरुलाई तारिरह्यो-तारीरह्यो ।
“सविना हैन तिमी कहिलेदेखि पो अमेरिकामा? फेरी के काम ?कसरी?” मैले चिन्नमा अन्कनाएँ ।
“मेडम म त्यही सविना के,हजुरको प्लेन टिकट र होटल बसाइ र यातायात सबै पूर्व विद्यार्थी समाजले गरेको छ,भिसा लागेपछि हामीलाई बताउनु होला,म सिद्ध माविको कक्षा ९ को विद्यार्थी अहिले माइक्रोबाइलोजीमा पिएचडी गर्दैछु बोस्टोन युनिभर्सिटीबाट स्कलरसिपमा,सिद्ध माविका मात्रै पचासजना भन्दा बढी छौं अमेरिकामा”सविनाले फोन राखिन ।
सिद्ध मावि पाँचथरको दुर्गम सुदुर उत्तरको एउटा विद्यालय जहाँ म पहिलोपटक स्थायी शिक्षकको रुपमा काम गर्न पुगेकी थिएँ र झन्डै आठ वर्ष अध्यापन गरेकी थिएँ ।
बिएस्सी उत्तिर्ण पछिको त्यो पच्चिस वर्षिया पाँचथरे युवती पहिलोपटक जागिर गर्दैगरेको क्षण।
विद्यालय कक्षाकोठा र विद्यार्थीहरु सबै सबै नौलो र नयाँपनको थियो मेरोलागि ।
किशोरअवस्थामा प्रवेश गरिसकेका विद्यार्थीहरु ।
यिनै विद्यार्थीहरुमध्येको एउटा विद्यार्थी सविना
कक्षामा धेरै अनुपस्थित हुने विद्यार्थीहरुमा सविना पनि।
रजिष्ट्रेशन फर्म भर्ने बेलामा सविनाले फर्म भर्न अन्कनाइन।
हुनत पहाडी त्यो परिवेशमा उसै त किशोरीहरुलाई कम विद्यालयमा अध्यापन गराइने बाध्यता वा अन्य कारण।
“रीता मेडम म अब पढ्दिन” सविनाले तुरुक्क आँशु चुहाइन्।
“किन र? तिम्रो के समस्या छ?” म्याथ साइन्सको शिक्षक तथा कक्षा शिक्षकको हैसियतले मैले सोधें।”भन तिम्रो के समस्या छ निर्धक्क भन त मेडम हैन,एउटा साथीको हैसियतले भन”
“मेडम मलाई नपढाउने रे,ब..बिहे गरिदिने रे”सविनाले बताइन।
“बिहे रे,नावालिका अझ स्कुल पढ्दै गरेको एउटा विद्यार्थीको विवाह” मलाई झनक्क रिस उठ्यो।
फेरि शान्त भएँ म,पराई गाउँमा अझ स्थानिय सरहरु मौन बसेको अवस्था,कोहि केहि बोल्दैनन्।
तर सविनाको कक्षामा प्रस्तुति र उनको उज्जवल भविश्यले मलाई मौन रहन दिएन।
“बरु आत्महत्या गर्छु,नभए घर छाडेर जान्छु तर विहे गर्दिन”सविनाको निर्णय।
“हेर्नुहोस सविनाको पढाई एकदमै राम्रो छ,फेरि बिहे गर्ने बेला पनि भएको छैन” मैले सविनाकै घरमा गएर उनको बुबालाई बताएँ।
“हेर्नुहोस हामी गरिव परिवारको,फेरि राम्रो घरबाट कुरा आएको छ”आमाले भन्नुभयो ।
“ऐनमा उमेर नपुगि र राजीखुसी नभइ बिहे गरेमा बिहे बदर साथै जेल समेत जान पर्छ”
अन्तत: सविनाको परिवारलाई नावालिकाको जवरजस्ती विवाहबाट हुने कानुनी अप्ठ्यारो बारेमा अवगत गराउदै उनको भविश्यको लागि पढाउन अनुरोध गरें।
रजिष्ट्रेशन फर्म भरियो,कक्षा दशको पढाई चालु भयो।
मेरै उत्प्रेरणा र निरन्तर पढाइ पछि सविना आज एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण पछि यो सविना अर्थात अमेरिकामा माइक्रोबाइलोजीमा पिएचडी स्कोलर सविना ।
एउटा कार्यक्रमको लागि अमेरिका जान पर्ने भयो ।
साधारणतया म देशबाहिरको कुनै कार्यक्रममा गएकै छैन,शिवाय भारतका केहि शहरहरुमा किनभने भारत नेपालको छिमेकी देश हुनुको साथै भाषा र संस्कृती मिल्छ।
जिन्दगीको लामो समयसम्मको शिक्षणपछि अब रिटायर्ड हुन केहि वर्षहरु बाँकी छन्। हिजोको पच्चिस वर्षिया मिस रीता अर्थात म आफै आज पचास वर्षिया रीता मेडम भैसकेको छु।
एकमनले त अमेरिका नजाउ भन्छ तर पनि आफ्नै विद्यार्थीहरुले सम्मानको लागि बोलाएको हुनाले नजाने कुरो पनि त भएन।अर्कोतिर सम्मानको लागि बधाईको ओइरो लागिरहेको छ।
जिन्दगीको यो उर्वर समयहरु मैले आफूलाई सदैव विद्यार्थीहरुको उज्जवल भविश्यको खातिर आफैलाई पूर्णतया शिक्षण कार्यमा समर्पित गराएर विताँए। न त मैले आफूलाई गुनासो नै गरें न त कम तलब भयो भनेर न त मैले आफूलाई कहिल्यै कमजोर पेशाकर्मी र कमजोर मानसिकतामा नै राखें। सदैव इनर्जेटिक र कर्तब्यपरायण शिक्षकको रुपमा एउटा जलिरहेको मैनबतीको रुपमा आफैंलाई समर्पण गरिरहें । कुनै प्रकारको पुरस्कार र सम्मान नपाएपनि कुनै गुनासो गरिन मात्र विद्यार्थीहरुको भविश्यमा आफूलाई समर्पण गरिरहें।
परिवार र शुभचिन्तक तथा आफन्तहरुको शुभेच्छाबमोजिम म पुरस्कार तथा सम्मान ग्रहण गर्न अमेरिका जाने नै भएँ। शुरु गरियो आवश्यक कागजपत्रहरु बनाउन।
पहिलो चरणमा पासपोर्ट बनाउने भइयो। इन्टरनेटमार्फत आबेदन गरिएपछि पासपोर्टमा सहि र ल्याप्चे लगाउन जिल्ला प्रशासन कार्यालय पाँचथरमा गइयो।
जिल्ला प्रशासन कार्यालयको पाँच नम्बर कोठामा पासपोर्टमा ल्याप्चे र दस्तखत गर्न म प्रवेश गरे।
“नमस्कार मेडम,म..म, रविन.. चिन्नुभएन र?”एकजना राष्ट्रसेवक कर्मचारीकाे नमस्कारमा हात उठ्यो,शिष्टाचारमा शिर झुक्यो।
“र..रविन,तिमी”मैले मायालु कोमल शब्द उच्चारण गरें।
“हो मिस म उहि रविन,आज यस कार्यालयमा,प्रमुख जिल्ला अधिकारी भएर आएको छु। हजुरको के काम थियो होला?”
“मेरो पासपोर्टमा दस्तखत र ल्याप्चे लगाउनु थियो”मैले भनें।
“यो सबै हजुरको आशिर्वाद र प्रेरणाले सम्भव भएको हो मेडम नत्र भने म कहाँ दश कक्षामा पढ्न पाउँथें र?”
पन्ध्र वर्ष अघिको त्यो क्षण,म त्यतिवेला पनि सिद्ध माविमा नै कार्यरत थिएँ।उसै त साइन्सको शिक्षिका तर स्थानिय शिक्षक शिक्षिकाहरुको कोपभाजनको शिकार बनेकी थिएँ।कोपभाजनको शिकार बन्नुको एउटै मात्र कारण थियो विद्यार्थीहरुको प्रिय शिक्षिका बन्नु।विद्यालय समयमा पुरै खटिनु र नियमितता र कक्षामा आधुनिक प्रविधी र शिक्षण विधीहरुको प्रयोग गर्नु।
त्यो त्यहि वर्ष थियो जब विद्यालय प्रशासनले एसएलसीमा राम्रो नतिजा ल्याउने वहानामा कक्षा नौको अन्तिम परिक्षामा विद्यार्थीहरुलाई रोक्ने योजना बनायो।कक्षा नौमा परिक्षा दिने चालिस जना विद्यार्थीहरु मध्ये बिसजनालाईमात्र कक्षा दशमा लगिने निर्णयसहित अभिभावक र विद्यालय व्यवस्थापन समितीको बैठक बोलाइयो र बिस जना विद्यार्थीहरुको कक्षा दश प्रवेशमा कैची चलाउने याेजना बन्यो।
कक्षा नौमा रोकिने बिसजना विद्यार्थीहरुको भविश्यको चिन्ताले मलाई द्रविभूत बनायो।कक्षा छोड्नुको विकल्प नरहेको ति विद्यार्थीहरुलाई समाज र साथीहरु तथा विद्यालयले गर्ने व्यवहारले मेरो मन कुडियो। ति बिसजना विद्यार्थीहरुमा छाउने निराशा,तनाव र डिप्रेशन ।
“सर विद्यार्थीहरुलाई रोक्नु मात्र समाधान होइन” मैले मिटीङमा सुझाव राखें”मिहिनेत,भाग्य र प्रेरणाले सफल हुन सकिन्छ”
“दुइपटक भइसक्यो प्रतिशत ननघाएको”हेडसरले थप्नुभयो”यसपटक पनि प्रतिशत नकाटे तलब आउदैन,अनुदान रोकिन्छ,कारवाही हुन्छ”
“विकल्प के छ नि?”अध्यक्षले सोध्नुभयो”अब मिस नै त्यसो भन्नुहुन्छ भने चढाउनुपर्छ होला”
अन्तत मैले विव्यस,अभिभावक र विद्यार्थीहरुको संयुक्त बैठकमा कक्षा नौमा नैरोकिने विद्यार्थीहरुको पक्षमा वकालत गरें। विद्यार्थीहरुलाई एकपटक अवसर दिइनुपर्ने र विद्यार्थीहरुले मिहिनेत गरेमा सफल हुने कुरामा विश्वाश दिलाँए र आफ्नै जमानतमा कक्षा दशमा रोकिएका बिसजना विद्यार्थीहरुलाई चढाउन सफल भएँ।
एउटा निश्चित कार्ययोजना बनाइयो।नामै तोकेर रोक्न आँटिएको विद्यार्थीहरुलाई मैले थप हौसला र उत्प्रेरणा दिइरहे।जिन्दगीमा यो भन्दापनि कठिन अवस्था आउने र जस्तोसुकै अवस्थामा पनि नआत्तिए र आत्मविश्वास नगुमाए अवश्य सफल बन्न सकिने बताँए।
नभन्दै हाम्रो प्रयास र विद्यार्थीहरुको मिहिनेतले रङ ल्यायो।सिद्ध माविका विद्यार्थीहरु शतप्रतिशत एसएलसीमा सफल मात्र भएनन् जिल्लामा नै उत्कृष्ठ स्थान ल्याउन सफल भए र यहि ब्याचको भाग्यमानी विद्यार्थी थियो रविन।
र कलेजमा अध्ययन सकेपछि लोकसेवा आयोग उत्तिर्ण गरेर प्रमुख जिल्ला अधिकारी बन्न सफल भएको छ उ।
आज रविनले मेरो पासपोर्टमा हस्ताक्षर गरिदियो र यी सबै कुराहरुको सम्झना गरायो।
“शुभयात्रा रीता मेडम,हजुरको अमेरिका बसाइ सफल होओस्”
अनायसै रविनको आँखामा आँशु देखियो मैले भने आफ्नो आँखामा आँशु लुकाउदै आशिर्वाद दिएँ”भाग्यमानी भएस रविन बाबु,अझै जिन्दगीमा सफलताको सिंढी चढ्नु,सदासर्वदा मेरो आशिर्वाद रहनेछ ।”
प्रतिक्रिया