पिर्के सलामी : परम्परामाथिको विकृति कि अज्ञानताको उपज ?
-बलराम वालाखाम राई
सलामी ग्रहण र शिष्टाचारको अनुशरण
जीवनको वास्तविक आधार अनुशासन, मर्यादा र संस्कार हुन् । कुनै पनि राष्ट्रका औपचारिक समारोहहरू केवल बाह्य प्रदर्शनका माध्यम होइनन्; तिनले राज्य, संस्था र समाजले आत्मसात् गरेको सभ्यता, अनुशासन र सांस्कृतिक चेतनाको परिचय दिन्छन् । सलामी, पोसाक, झण्डा, राष्ट्रगान, कमाण्ड तथा औपचारिक समारोहका प्रत्येक विधि निश्चित नियम, परम्परा र शिष्टाचारले निर्देशित हुन्छन् । त्यसैले सलामीलाई सामान्य अभिवादनका रूपमा होइन, राष्ट्र, संस्था, पद तथा जिम्मेवारीप्रतिको सर्वोच्च सम्मानको प्रतीकका रूपमा बुझिनुपर्छ । औपचारिक परम्पराअनुसार सलामी ग्रहण गर्ने व्यवस्था पनि निश्चित मापदण्डमा आधारित हुन्छ । निर्धारित सलामी मञ्च वा क्वार्टर गार्डबाट विशिष्ट व्यक्तित्वले सलामी ग्रहण गर्ने प्रचलन लामो समयदेखि स्थापित छ। राष्ट्रिय दिवस, परेड, राजकीय समारोह तथा अन्य विशेष अवसरहरूमा पनि यही शिष्टाचारको अनुशरण गरिन्छ। यस्ता अभ्यासले अनुशासन, संस्थागत गरिमा र राष्ट्रिय संस्कृतिको उच्चतम स्वरूपलाई अभिव्यक्त गर्दछन् ।
सम्मान पिर्कामा होइन, संस्कारको उचाइमा निहित
तर पछिल्ला वर्षहरूमा केही सार्वजनिक समारोहहरूमा प्रमुख अतिथिलाई काठको पिर्का, अस्थायी मञ्च वा कहिलेकाहीँ खाटजस्तै संरचनामाथि उभ्याएर सलामी ग्रहण गराउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्तो अभ्यास स्थापित परम्परा र औपचारिक शिष्टाचारसँग मेल खाँदैन । सम्भवतः आयोजकहरूको उद्देश्य प्रमुख अतिथिलाई सबैले सहज रूपमा देखून् भन्ने हुन सक्छ तर उद्देश्य असल हुँदैमा विधि पनि स्वतः उचित हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन । सलामीको गरिमा व्यक्तिको उचाइले निर्धारण गर्दैन; त्यसको मूल्य समारोहको मर्यादा, अनुशासन र विधिको शुद्धताले निर्धारण गर्छ । सम्मान काठको पिर्काको उचाइमा होइन, संस्कारको उचाइमा निहित हुन्छ । त्यसैले स्थापित शिष्टाचारभन्दा बाहिर गएर गराइने यस्ता अभ्यासहरूले सम्मानको स्तर उकास्नुको सट्टा त्यसको गाम्भीर्यलाई नै कमजोर बनाउने जोखिम उत्पन्न गर्छन् । यही कारणले केही सचेत व्यक्तिहरूले यस्तो प्रवृत्तिलाई व्यङ्ग्यात्मक रूपमा “पिर्के सलामी” भन्न थालेका छन् । यो कुनै आधिकारिक शब्दावली होइन, न त स्थापित औपचारिक अभ्यासको अंश नै हो । बरु यो परम्पराबाट विचलित हुँदै गएको अवस्थाप्रतिको सामाजिक टिप्पणी हो ।
सलामी कर्मकाण्ड होइन; यो अनुशासन र राष्ट्रिय गौरव
औपचारिक संस्कृतिमा अप्रचलित शब्दले लोकप्रियता पाउनु स्वयंमा चिन्ताको विषय हो, किनकि यसले हाम्रो समारोह सञ्चालन संस्कृतिमा देखा परेका कमजोरीहरूलाई उजागर गर्छ । यदि कुनै कार्यक्रममा अनुशासित दस्ताबाट सलामी प्रस्तुत गरिन्छ भने त्यसको सम्पूर्ण तयारी पनि स्थापित विधि र शिष्टाचारअनुसार हुनुपर्छ । आवश्यक परे उपयुक्त सलामी मञ्च निर्माण गर्न सकिन्छ; तर अस्थायी पिर्का वा अनुपयुक्त संरचनालाई सलामी ग्रहणस्थल बनाउनु औचित्यपूर्ण मानिँदैन । यदि आवश्यक मापदण्ड पूरा गर्न सम्भव छैन भने सम्मान अभिव्यक्त गर्ने अन्य धेरै सभ्य, सन्तुलित र मर्यादित विकल्पहरू पनि उपलब्ध छन् । हामीले औपचारिक परम्पराबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ यही हो-सम्मान प्रदर्शनको विषय होइन, संस्कारको विषय हो । सलामी एउटा दृश्य वा कर्मकाण्ड मात्र होइन; यो अनुशासन, राष्ट्रिय गौरव, संस्थागत प्रतिष्ठा र सभ्य परम्पराको जीवन्त प्रतीक हो । त्यसैले यसको प्रयोगमा देखिने सानो असावधानीले पनि समग्र औपचारिक संस्कृतिमाथि प्रश्न उठाउन सक्छ । अब समय आएको छ- सलामीलाई आकर्षणको साधन होइन, मर्यादा र संस्कारको प्रतीकका रूपमा पुनः स्थापित गर्ने। कार्यक्रम आयोजक, सुरक्षा निकाय, पूर्वसेवक समुदाय तथा सार्वजनिक संस्थाहरू सबैले औपचारिक शिष्टाचारको मर्म बुझेर त्यसको सम्मान गर्नुपर्छ । किनकि सम्मानको उचाइ पिर्काले होइन, संस्कारले निर्धारण गर्छ; मर्यादाको मूल्य प्रदर्शनले होइन, विधिको शुद्धताले स्थापित गर्छ ।
परम्परा जीवित रहन्छ तब मात्र, जब त्यसको आत्मा जोगाइन्छ । यदि बाह्य आकर्षणको मोहमा परेर विधि, मर्यादा र संस्कारलाई बेवास्ता गरियो भने परम्परा विस्तारै प्रदर्शनमा सीमित हुन्छ र सम्मानको सार हराउँदै जान्छ । त्यसैले आजको आवश्यकता परम्पराको नक्कल होइन, यसको मर्मको संरक्षण हो । यही चेतना विकसित गर्न सके मात्र हाम्रो औपचारिक संस्कृतिको गरिमा, अनुशासन र राष्ट्रिय प्रतिष्ठा भावी पुस्तासम्म अक्षुण्ण रहन सक्छ ।( लेखक पूर्व सैनिक अधिकृत हुनुहुन्छ ।)








प्रतिक्रिया