इन्द्रेणी झै बहुल रङ्गको उत्कृष्ठ सम्मिश्रण हो उपन्यास “किवाहाङ”- बहुलरङको कसीमा ।
-मनु योङहाङ, स्कलर, नेपाल खुला विश्वविद्यालय, समाजशास्त्र विभाग
१: पृष्ठभूमि
मेरो नयाँ उपन्यास”सिङ्जाङ्गो फूल-कथा विजयपुरको” पढेर सुझाव दिने क्रममा तेस्रो दर्शनको विचारक तथा रङ्गवादी कवि धर्मेन्द्रविक्रम नेम्बाङ दाजुले विर्तामोडको सगरमाथा चोकमा एउटा प्लाष्टिक कभरमा बन्द उपन्यास किवाहाङ दिदै एउटा जिम्मेवारी दिनुभयो- हङकङका राजकुमार राईको उपन्यास किवाहाङलाई बहुलरङ्गिय कसीमा जाँच्नू । म धर्मेन्द्र दाजुको बहुलरङ्गवादि दर्शनको समर्थक भएकोले बहुलरङ्गको कसीमा समिक्षात्मक रुपमा मलाई मन परेको कृतिहरुलाई जाँच्ने गर्छु। प्राप्त कैयों कृतिहरु मघ्ये दर्जनौं कृतिहरुको बहुलरङ्गवादिय समिक्षा गरिसकेको छु । यसै क्रममा किवाहाङ उपन्यासलाई बहुलरङ्वादबाट हेर्दा देखेको रङहरुलाई यसप्रकारले चर्चा गरेको छु ।
२: उपन्यासकारको पृष्ठभूमि
उपन्यासकार राजकुमार राई नेपाली उपन्यासको क्षेत्रमा एक परिचित नाम हो । ब्रिटिस लाहुरे बुबा मलायामा कार्यरत रहेका कारण राजकुमार राईको जन्म मलायामै भएको थियो । पछि आफ्नो जन्मथलो गाउँ सङ्खुवासभा फर्केपछि आमाले सुनाएका युद्धका साथै लोककथाहरूबाट प्रभावितभएर उहाँ उपन्यास लेखनमा लाग्नुको साथै साब्लाबुङ पुस्तकालय अभियान सन्चालन गरेबाट उपन्यासकार राईको बहुआयामिक व्यक्तित्व झल्किन्छ । यो अभियानबाट नेपालका दुर्गम जिल्लाहरूका १७ वटा पुस्तकालयहरूलाई ५५ हजार सङ्ख्याका पुस्तकहरू प्रदान गरिसकिएको छ। पुस्तकालय अभियानलाई उपन्यासकारले ८० लाख मुल्य बराबरको पुस्तक र दाताहरूबाट ३४ लाख १३ हज़ारको पुस्तक समेत प्रदान गर्नुभएको छ।
लामो समयदेखि हङकङमा बसी नेपाली साहित्यिक पत्रकारिता, सिर्जना र पुस्तकालय अभियानमा क्रियाशिल राजकुमार राईको ३२४ पृष्टको यस उपन्यासलाई साब्लाबुङ पुस्तकालय अभियान, काठमाडौँले २०८१ साल असारमा प्रकाशन गरेको हो ।
३: भावनात्मक संयोजन-उत्तरआधुनिक बहुलरङ्ग
यो उपन्यासले दोस्रो विश्वयुद्धपछिका ब्रिटिस गोर्खाहरूको इतिहास र समसामयिक परिवेशलाई सटिक र चोटिलो रुपमा सम्बोधन गर्छ । क्षमतावान उपन्यासकारले कथा बुन्ने क्रममा उपयोग गरेको प्रयोगशिलता, सिर्जना र विभिन्न भावनात्मक संयोजनले उहाँको सिर्जनामा विशिष्ट पहिचान प्रष्टिन्छ । नयाँ शब्दहरु र परिवेशको प्रयोगले उहाँमा रहेको प्रयोगशिलताको तात्पर्य प्रष्ट्याँउँछ । प्रयोगशिलताको तात्पर्य नयाँ हुनु हो, अग्रगमन बनाउनु हो, सङ्केतहरुको नयाँ श्रृङखला बनाउनु हो । यसको अर्थ किवाहाङले सिधै उत्तरआधुनिकताभित्रको बहुलरङ्गवादलाई सङ्केत गर्छ ।
किवाहाङ उपन्यास पढ्दा सर्जक राजकुमार राईको सिर्जनामा यस्तो उर्वर चेत भेटिन्छ कि पाठकहरुसँग पूरै उपन्यास पढुञ्जेल पौठेजोरी खेलाउने चमत्कारिक बुटि छ, जादु छ, टुना छ । रोलाँ वार्थले टेक्स्टलाई २ प्रकारले अर्थ्याएका छन् -पाठकिय टेक्स्ट र लेखकिय टेक्स्ट । पाठकिय टेक्स्ट सुबोध हुन्छन्, सजिलै बुझिने हृदगम्य हुन्छन् । उता लेखकिय टेक्स्ट भने पाठकलाई हाँक दिने खालका हुन्छन्, जटिल हुन्छन् जस्लाई क्षमतासम्पन्न, सक्रिय र चिन्तक पाठकले स्वीकार्छन् । रोलाँ वार्थको शब्दलाई सापटी लिने हो भने यो उपन्यासले पाठकमा यस्तो लेखनिय भावना जन्माउँछ कि जस्को पठन ती अध्येताहरुले गर्छन् जो सिर्जनात्मक क्षमतावान छन्, आविष्कारक चेतनाले शसक्त छन् । अर्थात किवाहाङ उपन्यासले दुवै टेक्स्टको मध्यममार्गी मार्ग अपनाएको पाइन्छ ।
४: बहुलरङ्हरु स्थानियता, लैङ्गिकता -प्रकृतिवाद
कवितासङ्ग्रह र उपन्यासजस्ता साहित्यिक कृतिहरुको पठ्नले पाठकमा विभिन्न अवधारणा, विचार र मान्यताहरु जन्माउँछ । स्थानियता, लैङ्गिकता र प्रयोग जस्ता बहुलताका रङ्गहरु किवाहाङमा छताछुल्ल छरिएका छन् । बहुल रङ्गवादका सुन्दर रङहरु स्थानियता, लैङ्गिकता र प्रयोगता प्रचुरमात्रामा भएको देखिन्छ । उपन्यासकारले प्रयोगमा आधुनिकता र उत्तर आधुनिकता दुवैको समर्थन गरेको पाइन्छ । स्थानियता, लैङ्गिकता, समावेशिता र सिमान्तकृतहरुको आव्हनमा आधुनिकता भन्दा उत्तरआधुनिकता बढि देखिन्छ । पिछडिएकाहरु, पछि पारिएकाहरु र सिमान्तकृतहरुको सहानुभूति किवाहाङमा काकीसासु र अन्यबाट पटकपटक छर्लङ्गिन्छ । -श्रीमान गुमाएकाहरुले पेन्सन पाउँछन् भन्ने सुनेकी छु आजसम्म पाएको छैन ।(पृ ७८)
पाठकिय विचारबाट हेर्दा उपन्यासकारले भावपूर्ण शब्दमार्फत चोयाले भकारी बुने झैं पाठकहरुलाई सङ्घर्ष र चेतनाको रसले बुनेर राख्ने सामर्थ्य राख्न सफल छन् । नयाँ शब्दहरुको प्रयोगबाट परर्म्परागत व्याकरणमा विचलित बनाएर सिग्निफायरिय विशेषतामा रङ्गाउन सफल छन् । स्पष्ट शब्द र परिवेशिय रङमा रङ्गाउदै उपन्यासकार आफ्नै लेखन शैली अपनाउँछन् । शब्द र अर्थको जुधाजुधलाई यसरी रङ्गाउछन् कि किवाहाङ पढ्दा जीवनको रङ्ग स्पस्ट देख्न सकिन्छ- तइमोसनको घुम्तिबाट तामीक्याम्पलाई बाईबाई(पृ ३२४) भादगाउँले टोपीजस्तो चुच्चो छाना भएको घरहरु(पृ २३२)
५: बहुलरङ्ग आदिवासी चेत परम्परा र मौलिकता-अस्तित्ववाद र यथार्थवाद
उपन्यासलाई उत्कृष्ठ बनाउन लेखकले शब्द सङ्गठनमा कुशलता, प्रतिक र विम्बहरुको लगानमा उत्कृष्ठता एवम् बेमिल्दा उपादानहरुलाई मिलाएर नब्यता बिउझाउँदै आफ्नैपना जाहेर गरेका छन् । उपन्यासको शिर्षक नै किवाहाङ अर्थात किरात शब्दमा बाघको राजाको यथार्थतालाई लेखकले सुन्दर शब्दगत र अर्थगत उभयस्तरमा उपस्थित भइ बोधको उर्वर लाक्षणिकतालाई विस्तारित गरेका छन् । स्थानियता, परम्परागत तथा मौलिकतामा मुछिएको वर्णनको पुरानो शैलीलाई टपक्क टिपिएको र साङ्केतिकतामा फैलिएको राजकुमार राईको पारिवारिक लाहुरेपनको सुन्दर सिर्जनाले पाठकहरुमा नविन आश्वादता गराउन सफल छन् जुन् यसरी झल्किन्छ- आप्पालाई नैनासुतको दौरासुरुवाल, आमालाई पोपलिनको चौबन्दी र एक धार्नी सूङ्गुरको मासु(पृ ४१) ।
उपन्यासकार राजकुमार राईकै प्रस्टोक्तिमा ‘ब्रिटिस गोर्खाहरूको इतिहासलाई लामो समय लगाएर अध्ययन गर्दा कर्तव्य र युद्धहरूमा होमिएका ब्रिटिस गोर्खाहरूले भनेका कुरा र लिखित इतिहासमा समानता पाउन नसकेको कुराले उहाँलाई उपन्यास लेख्न घचघच्याइरह्यो । मन छुने तथ्य विश्वयुद्धताका ५२ लाख जनसङ्ख्या भएको नेपालबाट आठ लाख नेपाली मर्न किन गए? पहिलो विश्वयुद्धमा सबैभन्दा बढी मर्ने त क्षेत्री थिए । बेलायती साम्राज्यको रक्षार्थ र राणा शासकको झोली भर्न आठौं लाख नेपाली युवाको बलिदान गरिएको इतिहासको सबैभन्दा मार्मिक पक्षलाई यसरी यो उपन्यासले स्पष्ट पार्न सफल भएर अस्तित्ववाद र यथार्थवादको गम्भिर वकालत गर्न सफल भएको छ।
६: बहुलरङ समता र समावेशिता-रोमान्टिक सौन्दर्यवाद
बहुल रङ्गवादको अर्को रङ समता र समावेशितालाई स्पस्ट तथ्याङ्क मार्फत विश्वसनियता दिलाउनमा उपन्यास सफल छ । नेपालका शासकहरूले पहिलो विश्वयुद्धमा बढीभन्दा बढी क्षेत्री, मगर र गुरुङहरूलाई पठाए । दोस्रो विश्वयुद्धपछि मात्र राई, लिम्बूहरूलाई पठाइएको थियो । हङकङमा बसोबास गर्दै आएका नेपालीहरूबाट पहिलो र दोस्रो विश्वयुद्धमा मरेका ४३ हजार गोर्खालीहरूको सूचीको बुकलेट प्रकाशन भएको छ । दुई विश्वयुद्धमा ५३ हजार गोर्खालीहरू मरेको अनुमान गरिएको छ । यति धेरै गोर्खालीहरू मर्दा पनि कुनै साहित्यकार या पत्रकारले गम्भीर रूपले लेखिदिन नसकेको तथ्यलाई महसुस गराउन सफल यो उपन्यासले पहिलो र दोस्रो विश्वयुद्धपछिको ब्रिटिस गोर्खाहरूको इतिहासलाई समेटेको छ। ब्रिटिस साम्राज्यले आफ्नो फणा विश्वभर फैलाएको बेलामा नेपाली गोर्खालीहरूलाई उनीहरूको सेनामा प्रवेश गराई विभिन्न युद्धमा अग्रणी भूमिका र बहादुरीपूर्वक रणकौशल देखाउनेहरूको कथा छर्लङ्ग देखाएको छ।
उपन्यासकारले रोमान्टिक सौन्दर्यवादको रुपमा मुन्धुमी वयान, राष्ट्रिय स्वाभिमानका साथ वडिगार्ड, ह्विस्की र पानीजहाज, रेल र प्लेन जस्ता आधुनिकताको संसारमा सयर गराउन पुगेका छन् । लाहुरेहरुले लन्डन र सिङ्गापुर तथा हङकङमा बिताएको वैभवशाली जीवनले रोमान्टिक सौन्दर्यवोध गराउँछ । जीवनको अर्को पाटो उजागर गर्ने क्रममा उपन्यासमा यसरी लेखिएको छ -जीवन फिल्म जस्तो छ। आमाबुबा फ्रान्समा आफू बेलायतमा(पृ २५९) । यसले नेपाली समाजको वर्तमान पुस्तान्तरण बोलेको छ । घरमा बुबाको मृत्युपछि विदेशबाट छोराछोरी आइनपुग्दा अस्पतालको शवगृहमा हप्तौ थन्किएको बुबाको शव र छरछिमेकको मार्मिकतालाई केही हदसम्म उजागर गर्छ ।आमाको देहान्त भएको तीन महिनापछि मात्र छोराले थाहा पाउनु जस्तो दर्दनाक व्यथा पढ्दा कसको मन थामिएला? हामीलाई विचलित गराउँछ । बहुलरङगवादको अर्को रङ पर्यावरण जस्लाई परिचित गराउने काम नेइसले गरे यही अवधारणानुसार प्रदुषणको विरुद्धमा यो उपन्यासमा आवाज बुलन्द गरिएको छ । लाहुरे फेमिली क्वाटरमा मनमायाले रोपेका फूलका विरुवाहरुले पर्यावरणको वकालत गर्छ।
७: साँस्कृतिक पर्यावरणको चेतना-प्रयोजनवाद तथा संरचनावाद
पूर्वि नेपालको लिम्बूवान र खम्बूवानको सेरोफेरोमा स्थानिय परम्परा तथा साँस्कृतिक सम्पदा र पर्यावरणको सचेतता एवम् पर्यावरणको चोटिलो चेत उपन्यासमा पाइन्छ- उपन्यासकार यो चेतलाई मनमाया र किवाहाङबाट यसरी चेताउछन्- माङसुक अरुण गाउँका परम्परा धुप बालेर कुलदेउतासङ्ग शक्ति माग्छन् (पृ ५५)। लेखकको सिर्जनामा पाइने साँस्कृतिक, ऐतिहासिक तथा मिथकिय विम्बले उपन्यासलाई यस्तो बनाएको छ-मानौ अरुण पूर्वको तिनजुरेको पहाडमा लालीगुराँस ढकमक्क फूलेका छन् । सिरफूल, ढुङ्ग्री, चुच्चे बुलाकी, चन्द्रहार, कण्ठले सजिएकी थुङ्वामुक्वा लाहुरेनीलाई मनमाया र हाङमायारुपि सौन्दर्यको चम्किलो आभा दिएको छ -भाङ्ग्राको धागोबाट बुनेको झोलामा खाँडीको एकजोर दौरासुरुवाल र गुन्द्रुक, सिन्की र डल्ले खुर्सानी(पृ १५) यसले एउटा समाजको संरचना र प्रयोजन प्रष्ट्याएको छ ।
उपन्यासको आयाम मौलिकता र स्थानियतामा मात्र सिमित छैन बरु अक्करे भिर, धनकुटा, ख्याम्पालुङ, साँगुरीडाँडा, धरान, सिलाङ, हङकङ, लण्डन, डिस्कोथेक र शेक्सपियरसम्म विचरण गर्न भ्याएका छन् ।पूर्वी विकट पहाडी जिल्ला संखुवासभालाई आख्यान क्षेत्रको रूपमा उपन्यास सुरु गरिएको छ। त्यहाँको अङ्ला गाउँ, मालिङ्टारको समाज आख्यानको प्रारम्भिक क्षेत्र देखिएको छ। त्यसपछि गोर्खा भर्तीको लागि जाँदा इन्डियाको वर्णन छ।यसैगरी विभिन्न देश पनि आख्यानक्षेत्रमा समेटिएका छन्। तत्कालिन परिवेश उपन्यासले समेटेको छ। नेपाल भारत लडाईंमा गोर्खालीले देखाएको बहादुरीको सविस्तार तर रोचक वर्णन पनि उपन्यासले गर्छ। यसरी यो उपन्यासले २८ वर्षे सिङ्गो लाहुरे भोगाइबाट प्रयोजनवाद प्रष्ट्याउँछ भने एउटा नेपाली पूर्वेली समाजसँगै सिङ्गो लाहुरे समाज निर्माणका संरचनाहरु र यसका अङ्गहरुको आद्योपान्त देखाउदै संरचनावाद बहुलरङ्गवादलाई पूर्णता दिएको छ।
८: नारी, पिछडिएको तथा सिमान्त रङ-द्वन्दवाद र नारीवाद
राजनीतिक दुरवस्था, स्वार्थपरायण नेता तथा विजेताहरुलाई कसिलो व्यंङ्य उपन्यासकारले ठोकेका छन् -चन्द्र शमसेरले गोर्खाभर्तीका लागि स्वीकृति दिंदा पैसा खाएको जानकारी पनि उपन्यासले दिन्छ। यसले नेपालमा पहिलेदेखि नै कुनै न कुनै रूपमा पद वा शक्तिमा रहनेहरूले आर्थिक चलखेल हुने गरेको तथ्य प्रस्तुत गरेको छ। दोस्रो विश्वयुद्धको क्षतिपूर्ति ३ करोड ५० लाख भारु रोयल्टी पाएर चन्द्रसमसेरले दरबार बनाए । युद्ध सकिएपछि विना पेन्सन घर पठाए (पृ १४)। सामाजिक आयाम राखेर पनि साहचर्य र सहसंयोजनको शिल्पमा बोल्दै बहुल रङ्गवादको एउटा प्रयोगशिलतालाई उजागर गरेका छन् यसरी- किवाहाङको मलायामा लिम्बू, बेलायतमा मगर , ब्रुनाइमा गुरुङ र हङकङमा सुनुवार चेली छन् (पृ २१०) । यसरी किवाहाङ पूरै धर्मेन्द्रविक्रम नेम्बाङको बहुलरङ्गवादको तेस्रो दर्शनको कित्तामा सर्लक्कै उभिएको छ ।
पोष्टमोर्डनिज्मको एक आयाम बहुल रङ्गवादको अर्को आकर्षक रङ्ग नारीवादको झल्को उपन्यासमा स्पष्ट देखिन्छ । नारीवादको सन्दर्भमा आमा र मनमाया तथा सान्ड्रा र एली मात्रै होइन् हाङमायामार्फत सम्पूर्ण पिंडित नारीहरुको प्रतिनिधित्वमात्र गराएका छैनन् बरु उपन्यासकार आफैले सिमान्तकृतलाई झल्काएका छन् । गाउँले मनमाया र लाहुरेनी मनमाया तथा गोरेनी अनि गाउँको बोजुको चरित्रले नारीवादको थोरैभए पनि उपन्यासले वकालत गरेको छ।
बहुलरङ्गवादको अर्को रङ सिमान्तकृतको बुलन्द आवाज किवाहाङले गरेको छ। नेपालमा जतिपनि आन्दोलन भए तिनले किन्चित पनि ठूलाठालुहरुलाई छोएन बरु छोयो शोषित, पिडित र सिमान्तकृतलाई । आखिर लाहुरे बन्न बाध्य गराइएको र विश्वयुद्धमा जवरजस्ती होमाइएर मृत्युवरणको यथार्थता यो उपन्यासमा दौलतविक्रम विष्टको चपाइएको अनुहारमा भन्दा मार्मिक रुपमा खुलाइएको छ। बहुलरङ्गवादको अर्को आकर्षक रङ्ग पिछडिएको र सिमान्तकृतको स्वरुपमा हवल्दार बाजे, भुटाने काका र असमे बाजे तथा सिलाङ्गे काका जस्ता पात्रहरुले बोलेका छन् । यसरी हवल्दार बाजेका विभिन्न देशमा भएका युद्धमा भएको सहभागिताको बहादुरीगाथा पनि यहाँ छ। गोर्खाली सैनिकले हरेक युद्धमा आफ्नो ज्यानको बाजी लगाएर भिडेको वीरताको गाथा छ। यो विषयसँगै भोक भोकै, केही खान नपाउँदा विरुवाका मुन्टा खाएको,तिर्खा लाग्दा प्याँस मेट्न आफ्नै पिसाव पिउनुपरेको कुराहरूले मनै हल्लाउँछ। अझै घाइते र अङ्गभङ्ग हुने गोर्खालीका बढो दर्दनाक व्यथा उपन्यासले बर्हियाएको छ। उनीहरुले समयमै उपचार नपाएको दर्दनाक पीडा छ। गोरा र गोर्खालीबिचको जातीय विभेदको विद्रुप पक्ष दर्शाइएको छ। आमा र मनमायालाई समग्र नारीको प्रतिनिधित्व गराउँदै वर्तमान विदेशी नेपालीको कथा भन्छन् । एकातिर वैदेशिक रोजगारी, रेमिट्यान्समा बाँचेको नेपाली अर्थव्यवस्थाको यथार्थता र अर्कोतिर देशमा हुने भ्रष्टाचार शोषणको कुरुप मुहारलाई खुलाउदै उपन्यासमा लेखकले आफूलाई प्रवक्ता बनाएका छन् । उनको रुमानी भावनाले नेपाली पीडालाई चित्रण गर्दै उज्यालो भविष्यको सपना देखाउँछ ।
उत्तरआधुनिकतालाई साँघुरो परिधिमा हेर्नु बाञ्छनिय हुँदैन । पान्थरे विचारक धर्मेन्द्र विक्रम नेम्बाङको नयाँ दर्शन बहुलरङ्गवादले यही उत्तरमा आधुनिकवादलाई सहजै अङ्गिकार गर्छ । यो एकत्ववादको विरोधी हो तर के बहुलरङ्गवादमा एकत्ववाद छैन त ? बहुलरङ्गवादमा एकत्ववादको आफ्नै रङ छ, आफ्नै रुप छ, विशेषता छ ।नायक किवाहाङ पनि भर्तिमा लामवद्ध भएर विभिन्न युद्धमा सहभागी भएको छ। लाउँखाउँ उमेरको युवावयको उ नेपाली र आफ्नो जातीय संस्कार र संस्कृतिप्रति प्रेमिल छ । श्रद्धा गर्छ तिनको उ।
रङ्गवादी कवि तथा तेस्रो दर्शनको विचारक धर्मेन्द्रविक्रम नेम्बाङले साहित्य रङ्गिन हुनुपर्नेमा जोड दिएका छन् । उनकै विचारमा पाठकिय भावना परिवर्तनशिल हुनुपर्छ र एकात्मवाद हावी हुनु सान्दर्भिक छैन् । उपन्यासकारले किवाहाङ पात्रलाई आत्मिक उर्जावान बनाएका छन् । राजकुमार राईको पर्यावरणवादमा जीवनसङघर्षमय मानविय एकत्वको रङ लाहुरे बन्ने आकाङ्क्षा, भर्ती प्रक्रिया, सैनिक जीवन, विभिन्न युद्धमा सहभागिता, परिवारसँगको सम्बन्ध, विदेशका अनुभव र अन्ततः भोगाइले उपन्यासको मूल कथा निर्माण गर्दै करिब २८ वर्ष लामो फौजी जीवनलाई आधार बनाएको छर्लङ्ग्याएको छ ।
उपन्यासको परिवेश सिर्जना र आविस्कारले आधुनिक लेखनमा पाइन्छ भने उत्तरसंरचनावाद र उत्तरआधुनिकवादमा लेखन टेक्स्ट र डिस्कोर्समा केन्द्रित हुन्छ । उत्तरआधुनिकता भनेकै लेखनलाई पूनर्लेखन गर्नु हो । बहुलरङमा प्रचलित शब्द र वाक्यहरुलाई उपन्यासकारले घटनामार्फत कतै रुपान्तरण गर्छन् त कतै तोड्छन् । कतै मोड्छन् त कतै छोट्याउछन्, कतै तिखार्छन् । यसरी उनी शब्दहरुलाई वाक्यहरुलाई उत्तरआधुनिकवादको बहुलरङ्गिन पूनर्लेखन गरेर मिठासपूर्ण बनाउछन् । यसकारण उपन्यासको प्लटले हामीलाई यथास्तिथीवादी पठनबाट माथि उठ्न घच्घच्याउँछ । घटना, दृश्य र पात्रमा नयाँ सम्भावना खोजेर, पूनर्विस्तार गर्ने क्रममा शब्द र वाक्यलाई तोड्ने, मोड्ने, ढल्काउने र तिखार्ने जस्ता सिर्जनात्मक कार्यहरुको बहुलरङ्गिय प्रयोग उपन्यासकारले गरेका छन् ।
९: बहुलरङ्गिय कोलाजिय डिकन्स्ट्रक्सनल, विसङ्घटन, विनिर्माण
उपन्यासमा परम्परागत शैली स्वैरकल्पनासाथै लामो लामो गद्यसंरचनालाई केही हदसम्म तोड्नाले आफैमा उत्तरआधुनिकवादको एक रङ्ग बहुलतावाद स्थापित भएको छ । यो उपन्यास इतिहास र कल्पनाको संयोजन हो। दोस्रो विश्वयुद्धपछिको गोर्खा सैनिक जीवन र त्यस समयको अन्तर्राष्ट्रिय परिवेशलाई लेखकले पात्र र घटनामार्फत प्रस्तुत गरेका छन्।
उपन्यासमा लामो लामो गद्यसंरचना र संवाद जुन एकनिष्ठ र रेखिय प्रणाली अपनाएर लेखिन्थे तर किवाहाङ भने न त एकनिष्ठ छ न त रेखिय नै तर यो त बहुलरङ्गिय कोलाजिय सिर्जना हो । एकत्वबाट नियोजित नभइ बहुलरङ्गको संयोजन, बहुलरुपि भएकै कारण टेक्स्ट खुल्ला छ । सुरुबाट नै पढ्नुपर्छ भन्ने छैन विभिन्न ढोकाबाट हामी पस्न र निस्कन सक्छौं । यसकारण विधागत डिकन्स्ट्रक्सनको अनुपम उदाहरण भएकोले पढ्नमा मज्जा आउँछ । उपन्यासको प्लटअनुसार हामी कहिले इतिहासमा पुग्छौं, कहिले भूगोलमा रमाउछौं । कतै हामी मुन्धुम सुन्छौं त कतै अर्थशास्त्र, दर्शनशास्त्र तथा सिङ्गो समाजशास्त्र पढ्छौं । उत्तरआधुनिक बहुलरङ्गवादी मिश्रणकलाको यो राम्रो दृश्टान्त हो ।
२८ वर्षे समयको उछालसङ्गै उपन्यासमा उमारिएको भाव र शब्दले पाठकिय परिवर्तनलाई आत्मसात गरेको छ । खास किसिमको शब्द र भावना पाठकहरुलाई सोचेर, सम्झिएर लेखिएको छ । यसबाट कथा र पात्रहरु स्थिर छैनन् । अपेक्षा अनुसार पाठकिय भावना परिवर्तनशिल बनाउदै एकात्मवादलाई नाँघ्दै बहुलवादमा रुपान्तरित गर्न लेखक सफल छन् । लेखनमा प्रयोग गरिएका भाषा, शैली र अलङ्कारले कथाको माधुर्यता एकै प्रकारको नहुने नै भयो । यसर्थ किवाहाङको गन्तव्य अन्तत: उत्तरआधुनिकवाद उर्फ बहुलरङ्गवाद तिरै ढल्किएको प्रष्टै छ ।
किवाहाङले ह्यान्स रवर्ट जाउसको प्रतिपादित पाठकिय पुस्ताको व्याख्यामा टेक्स्टको अस्तित्वलाई अर्थ्याउँछ । उनले खास किसिमका शब्द र वाक्य छानेर जिवन्तता ल्याएका छन् अर्थात पाठकिय पुस्तान्तरणलाई ध्यान दिएका छन्।
स्टान्ली फिसको व्याख्यात्मक समुदाय भनेको विधी र नियमअनुसार पठन गर्ने समुदाय हो । गोर्खा भर्तीको इतिहास, किराँती सांस्कृतिक परिवेश र लाहुरे जीवनको मनोविज्ञान बुझ्न ‘किवाहाङ’ महत्वपूर्ण पाठ हुन सक्छ। यसलाई गोर्खा इतिहास, संस्कृति र सामाजिक जीवनलाई जोड्ने कृतिका रूपमा व्याख्या गर्न सकिने आधारहरु छन् ।
समिक्षा भनेको सबल र दुर्वल दुवैपक्षको सन्तुलित हेराइ हो । यो वर्णनात्मक कथा, सरल भाषाशैली, स्थानीय किराँत भाषाका थुप्रै शब्दको प्रयोगले उपन्यासमा रोचकता थपेको छ। यति हुँदा पनि उपन्यासमा पाठक कन्फ्यूज्ड हुन सक्छ। कथा अनावश्यक लम्बेजस्तो भान पर्नसक्छ। दृश्यात्मक शैली र संवादमा ध्यान दिइएको भए अझ वेश हुनेथियो । मुन्धुमी परिवेश र उत्तरवर्ति जिवनशैली थपिएको भए उपन्यास अझ जिवन्त हुने थियो। किराती समुदायबाहेकका अन्य नेपाली समुदायमा गोर्खा सैनिकमा भर्तीबारे जिज्ञासु पाठकहरुलाई उपन्यासले धेरै जानकारी दिएको छ। मौलिक र मन छुने कथावस्तु भएको, कलात्मकताको लेपन लागेको, आञ्चलिकताको झल्को दिने यो उपन्यास पठनीय छ। यसले नयाँ पुस्तालाई हिजोको गोर्खा भर्तीबारे मात्र नभएर हिजोका पुस्ताको बहादुरीको गाथाबारे जानकारी दिन्छ। अन्तमा तेस्रो दर्शनका विचारक धर्मेन्द्रविक्रम नेम्बाङकै शब्द सापटी लिंदा नेपाली साहित्यबजारमा बजार हल्लाउन सक्ने तागत भएको एक सशक्त पठनिय उपन्यास भएको ठहर गर्दै उपन्यासकारप्रति धन्यवाद सहित सफलताको कामना गर्दछु । नोगेन, सेवारो ।
-हिलिहाङ-३, कुर्लुम्बा पाँचथर। हाल अर्जुनधारा-११, झापा।








प्रतिक्रिया