काठमाँडौ ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म १५७ जनाको ज्यान गएको छ भने झण्डै एक हजार अझै बेपत्ता रहेका छन् । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको हो ।
बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । २० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा, ४ जनाको ट्रमा सेन्टरमा, ३ जनाको वीर अस्पतालमा, १ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाको त्रिशूली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
रसुवागढी नाकास्थित होटलमा काम गर्दै आएकी पाँचथर घर भएकी ज्योति मगर हिजो बिहान भोटेकोशीमा आएको बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ। उनीसङ्गै रसुवा घर भएकी पार्वती तामाङ पनि बेपत्ता छिन् ।
गत साँझसम्ममा ४४ सेना, २८ प्रहरी र १३ सशस्त्र सहित ८५ सुरक्षाकर्मी सम्पर्कविहिन भएको प्रधानमन्त्री कार्यालयले जनायो । यसरी नै ३९१ विदेशी र ९३ स्वदेशी पर्यटकहरु सम्पर्कविहिन भएको जनाइएको छ ।
उता विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीहरु सहित रसुवागढी भन्सार कार्यालयका केही कर्मचारीहरु सम्पर्कविहिन भएको बताइएको छ ।
बाढीले १९ मोटरेबल पुल र ४० किमी पक्की सडक बगाएको जनाइएको छ ।
बाढीका कारण झण्डै एकहजार जना बेपत्ता भएको अनुमान छ । बेपत्ताहरुको खोजी र उद्धारको काम भैरहेको छ । त्रिशूली नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति पुगेको छ ।
बुधवार बिहान चीनतर्फबाट एक्कासी आएको भीषण बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिंदा नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको हो । नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन् । एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ । सिन्धुपाल्चोकको भोटेकोशी सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदी प्रणालीको हिस्सा बन्न पुग्छ ।
अर्को रसुवाको भोटेकोशी नदी तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिलेपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ । यो नदी पछि त्रिशूली नदीमा मिसिन्छ । हिजोको बाढी रसुवाको भोटेकोशी नदीमा आएको हो ।








प्रतिक्रिया