५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पृथ्वीनारायणशाहको सम्वत् १८३०औशीपक्ष असोज ३०गते बुधवारको लालमोहर र याङरुप तथा बुद्धिकर्ण खेवा एक समाजशास्त्रिय विश्लेषण



पृथ्वीनारायण शाहको सम्वत् १८३० औशी पक्ष असोज ३० गते बुधवारको लालमोहर र याङरुप तथा बुद्धिकर्ण राय समाजशास्त्रिय विश्लेषण

              –मनु योङहाङ, नेपाल खुला विश्वविद्यालय

शोधसार

यो लेखले सम्वत् १८३० मा पृथ्वीनारायण शाहद्वारा अभिमानसिंह बस्नेत लगायतका सैन्य अधिकारीहरुलाई प्रदान गरिएको लालमोहरलाई निर्देशन मात्र नभइ नेपाली राज्यको अझ लिम्बूवानी राज्य याङरुप थुम र विजयपुर राज्यकै ‘डीएनए‘ (DNA)कै रुपमा चित्रण गर्ने प्रयास गरिएको छ । लालमोहरमार्फत राज्य शक्ति, अर्थतन्त्र र कूटनीतिको त्रिकोणमा चल्ने तथ्यलाई देखाइएको छ  । समाजशास्त्र, इतिहास र लिम्बूवान पहिचानको खोजी गर्नेहरुको लागि यो लालमोहरको विश्लेषण एउटा यस्तो ‘टेक्स्ट‘ हो जसले तत्कालिन नेपालको सामाजिक इतिहासलाई मुख्यगरी सम्वत् १८३० तिरको याङरुप, अझ विजयपुर केवल राष्ट्रवादी भावुकतामा मात्र होइन, बरु कठोर समाजशास्त्रीय यथार्थको कसीमा राखिएर गुणात्मक अनुसन्धान गरिएको एक दस्तावेजको रुपमा अर्थ्याइएको छ । तत्कालिन उन्नाइसौं शताब्दीको याङरुपको सिमाना, आर्थिक हैसियत, सैनिक सामर्थ्य तथा परराष्ट्र सम्बन्धको एउटा अभिलेखिय जानकारी प्रदान गर्दै याङरुपको च्याङथापु, इसलिम्बा वा अम्बरपुर सहित कनकाइ सम्मको प्रष्ट सिमाना देखाइएको छ । अझ हरतरहले घुस ख्वाएर  विजयपुरको देवान बुद्धिकर्ण  खेवाङलाई मार्ने  नसके उसको हात्ती चोर्ने योजना होस् वा याङरुपको च्याङथापु लगायत सिक्किमसँगको साँध मिच्ने कुरा, यी सबैले गोर्खालीको निर्मम पाटोलाई उजागर गरेको विश्लेषण गरिएको छ। यो लालमोहरले पृथ्वीनारायण शाह एक छल र फूटको राजनीति गर्ने महत्वाकांक्षी, भूगोल बुझेका र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको हेक्का राख्ने एक चतुर राजनीतिज्ञ थिए भन्ने पुष्टि गरिएको छ । याङरुप दखल गर्न सेरेङलाई उपयोग गर्ने, याङरुपलाई मद्दत गर्न सिक्किम आएमा आक्रमण गर्ने तर ल्हासालाई केही नगर्ने भनेकाले उनी याङरुप, सिक्किम र विजयपुरसँग अग्घोरै रिसाएको अझ आफैसँग सहयोग माग्न आएका उनका आफन्त कामदत्त सेनलाई हत्या गराएका विजयपुरका देवान बुद्धिकर्ण खेवालाई मार्न जासुस खटाँउन उनले आदेश दिएका विश्लेषण गरिएको छ । पूर्वी नेपालको एकीकरणमा लिम्बुवान याङरुपको प्रतिरोधात्मक भूमिका, सिक्किमसँगको घर्षण र तिब्बतसँगको सतर्कतालाई बुझ्न यो लालमोहर पत्र इतिहासकै एउटा प्राथमिक र शक्तिशाली स्रोत भएको निष्कर्ष निकालिएको छ ।

मूल शब्दावली:-

लालमोहर, याङरुप, इसलिम्बा, च्याङथापु, सिक्किम

विषयप्रवेश

इतिहास केवल विगतको घटनाक्रम मात्र होइन, यो वर्तमानको सामाजिक संरचना र भविष्यको मार्गचित्र पनि हो( इङनाम, २०८१)। प्रकाशमा आएको (वा ऐतिहासिक महत्त्वका रूपमा विगतका कुनै खास घटनाक्रम वा समयावधिलाई आरम्भमा स्मरणद्वारा र पछि लेख्य परम्पराको विकास भएसँगै लिखित कथाका रूपमा पुस्तान्तरण गरी मानिसले इतिहास बनायो र जोगायो, जसलाई वर्णन इतिहास (न्यारेटिभ हिस्ट्री) भनियो । इतिहास लेखनको वर्णनात्मक परम्पराले प्रामाणिकताका लागि प्राथमिक स्रोतहरूको विश्लेषणलाई मानक बनाउन थालेपछि इतिहास थप विश्वसनीय हुँदै गयो (योङहाङ, २०८२)।

उद्देश्यवादी (टेलिओलोजिकल) इतिहास लेखनका विषयहरू प्राथमिक स्रोतबाट क्रमशः उपलब्ध तथ्यका कारण रोमाञ्चक मात्र बनेनन्, इतिहास सामान्य मान्छेले पनि बनाउन सक्छ भन्ने तथ्य स्थापित भयो अनि, इतिहास समाजको वा समुदायको भयो, जनसाधारणको भयो(अधिकारी, २०७७) ।

इतिहास भनेको कालपरिवर्तनात्मक कथाको भाषिक रचना हो । इतिहासको लोकप्रियतासँग कथा भन्ने र सुन्ने मानवीय भावनाको आसक्ति गाँसिएको छ। इतिहास केवल घटितहरूको सङ्ग्रह होइन। अतीतका सन्दर्भले मानव सभ्यताको वर्तमान र भविष्यलाई पार्ने प्रभावको चिन्तन गर्दै इतिहासको दार्शनिक अध्ययन हुनुपर्छ भन्ने विचार प्रबोधनकालीन फ्रान्सेली विद्वान् भोल्तेयरले प्रकाशमा ल्याए । जर्मन विचारक हेगेलले फिलोसफी अफ हिस्ट्री पुस्तक मार्फत भोल्तेयरको इतिहास चिन्तनलाई थप विस्तार गरे । हेगेलको दर्शनले भन्छ- इतिहासबाट पाठ सिकेर नयाँ इतिहासको रचना गर्न सक्नु नै इतिहास बदल्नु हो । इतिहासमा फर्केर घटनाहरू बदल्न सकिँदैन। तर, तिनको औचित्यपूर्ण पुनर्ब्याख्या गर्न सकिन्छ जसले इतिहासलाई सदैव गतिशील र प्रासङ्गिक राख्छ ।

 इतिहास भनेको भूतकालको वैज्ञानिक अध्ययन हो । भनिन्छ, इतिहास जित्नेको मात्र लेखिन्छ हार्नेको लेखिंदैन । इतिहासको गर्भमा कैयन सभ्यताहरु मौलाए,कैयन विलाएर गए। विजेताहरुले आफ्नो इतिहासलाइ सुन्दर र कलात्मक रुपमा पेश गरे भने हार्नेहरुको वैभवशाली इतिहासपनि गुमनाम बन्न गयो। कलात्मक वा गुमनाम जे भएतापनि कुनै न कुनै रुपमा सभ्यताले इतिहास बोलेको हुन्छ, विगतको कालखन्डलाई केहि न केहि चिनोको रुपमा छाडेको हुन्छ । आफ्नो अस्तित्व र पहिचानलाई कतै न कतै कुनै न कुनै रुपले दर्शाएको हुन्छ । यहाँ यस्तै इतिहासको कालखन्डमा विर्सिएको दुई सय बाउन्न वर्षअघिको एउटा ऐतिहासिक राज्य याङरुप थुमको इसलिम्बा, च्याङथापु, अम्बरपुरको सामाजिक प्रभावको बारेमा खोजी गरिएको छ । लालमोहरको सामान्य परिचय साथै लालमोहरमा वर्णित पदावलीहरु श्रोत, अर्थ तथा प्रसङ्गको आधारमा तत्कालिन लिम्वूवान र विशेषत: याङरुप क्षेत्र बारेमा विश्लेषण गरिएको छ । तत्कालिन याङरुप थुममा पर्ने इसलिम्बा, च्याङथापु, कनकाइ तथा विजयपुरका देवान बुद्धिकर्ण खेवा र उनको हात्ती खोस्न गोर्खाले गरेको षड्यन्त्रको ऐतिहासिक तथ्यको बारेमा चर्चा गरिएको छ ।

इतिहास प्रमाणित गर्ने मुख्य आधार लिखत् नै हो । ताडपत्र, भोजपत्र, शिलालेख, मुद्रा आदिमा रहेका अक्षर र भाका तथा ती भाका जारी भएको सम्वत्अनुसार इतिहासका घटना र कालखण्ड निर्धारण गर्न सकिन्छ । युनानी इतिहासमा इतिहासको पिता भनिने हेरोडेटस(४९०-४२५इपु)ले वर्णनको अत्यन्त सुन्दर शैलीबाट इतिहासलाई उठाए । अर्का युनानी इतिहासकार थुसिडिट्स(४५४-३९९इपु)ले प्रक्रिया, तथ्य र यथार्थतालाई जोड दिए । रोमन इतिहासकारहरुमा भने लिभी(१९इपु-१७) र टासीडुस(५५-१२०) प्रसिद्ध छन् भने मध्यकालिन इतिहासकारमा सेन्ट अगस्टाइन(३५४-४३०) प्रख्यात छन् । नेपालको सन्दर्भमा भने बाबुराम आचार्य(१८८७-१९७२)लाई इतिहास शिरोमणी भनिएता पनि अन्य इतिहासकारहरुको प्रयास तथा खोज रहेको पाइन्छ । बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, भिमबहादुर पाण्डे, नयराज पन्त, महेश चन्द्र रेग्मी र धनबज्र बज्राचार्य आदि अन्य शोधकर्ताहरु हुन् । उता पूर्वको लिम्बुवान क्षेत्रको आदि र मध्यकालिन इतिहासको बारेमा भने त्यति धेरै लेखिएको पाइन्न ।

पृथ्वीनारायण शाहभन्दा अघि विभिन्न राज्यका शासकले सरकारी कागजपत्र रातो छाप लगाएर प्रमाणीकरण गर्थे, त्यसलाई नै लालमोहर भनिन्छ । पुराना लिखतहरुको खोजी गर्दा सेनकालीन स्याहामोहरको  मैथली भाषाको प्रयोग भएको रहेछ। शुरुका लालमोहरमा तथा सेन तथा गोर्खाली राजाहरूले आदान–प्रदान गरेको खस भाषाको व्याख्या गरिएको छ ।

 अध्ययनको उद्धेश्य

इतिहासलाई पुरातात्विक प्रमाणहरुले पुष्टी गर्छ । प्रमाणको रुपमा यो शाहकालिन लालमोहरले सम्वत् १८३० को शाहकालिन सामाजिक र राजनीतिक अवस्था तथा षड्यन्त्र र आर्थिक कुटनीतिलाई देखाउँछ । यसर्थ शाहकालिन राजा पृथ्वीनारायण शाह एवम् याङरुप र विजयपुरको शक्तिशाली देवान बुद्धिकर्ण रायको प्रतिष्ठा त्यो बखतको कुटनीति, सामाजिक तथा आर्थिक पक्षको विश्लेषण गर्नु भनेकै त्यो याङरुपको सामाजिक, राजनीतिक तथा कुटनीतिक र आर्थिक अवस्थालाई देखाउनु हो । यो अध्ययनका उद्धेश्यहरु निम्न रहेका छन् –

-शाहकालिन राजा पृथ्वीनारायण शाह एवम् याङरुप र विजयपुरको शक्तिशाली देवान बुद्धिकर्ण रायको प्रतिष्ठा त्यो बखतको कुटनीति, सामाजिक तथा आर्थिक पक्षको विश्लेषण गर्नु ।

-सम्वत् १८३० असोज ‍औंशी पक्ष ३० गते शाहकालिन राजा पृथ्वीनारायण शाहद्वारा दिइएको लालमोहरको विश्लेषण गर्दै तत्कालिन याङरुपको सामाजिक, आर्थिक र सैनिक अवस्थालाई देखाउनु ।

-विजयपुरका देवान बुद्धिकर्ण खेवा र उनको हात्ती तथा सिक्किम र ल्हासाको सामरिक महत्व देखाउनु ।

अध्ययनको औचित्य

यो अध्ययनमा यसअघि कतै अध्ययन नगरिएका, कतै नलेखिएका लालमोहर र त्यसका तथ्य र प्रमाणसहितका जानकारीलाई एकत्रित गरेर विश्लेषण गरिएको छ । कुराकानी र पुरातात्विक आधारमा शाहकालिन याङरुप र त्यहाँको इसलिम्बा, च्याङथापु, सिक्किम, ल्हासा तथा विजयपुर र त्यहाँको देवान बुद्धिकर्ण राय अनि गोर्खालीहरुको कुटनीति, षडयन्त्र तथा आर्थिक अवस्थाको बारेमा चर्चा तथा विश्लेषण गरिएको हुनाले तत्कालिन शाहकाल र याङरुप एवम् विजयपुर तथा सिक्किमको  सैन्य योजना, आर्थिक योजना, परराष्ट्र नीति तथा याङरुप र विजयपुरको देवान बुद्धिकर्ण खेवा बारेमा जान्न इच्छुकहरुको तृष्णालाई मेटाउन केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको छु ।

अध्ययनको विधि

यो वर्णित लालमोहरबाट तत्कालिन शाहकालको सैन्य योजना, आर्थिक योजना, परराष्ट्र नीति तथा याङरुप र विजयपुरको देवान बुद्धिकर्ण खेवा तथा याङरुप बारेमा अध्ययन गरिएको छ । यो गुणात्मक अनुसन्धान अन्तर्गतको अध्ययन भएकोले यसमा पुस्तकालिय अध्ययनबाट सामाग्री सङ्कलन गरी वर्णनात्मक अनुसन्धान विधिअन्तर्गत व्याख्या विश्लेषण गरिएको छ ।

सैदान्तिक आधार

तीन हजार वर्षको यात्रा पूरा गरिसकेको भन्न मिल्ने प्रामाणिक इतिहास लेखन परम्परालाई नेपालमा प्राज्ञिक रूपमा स्थापना गर्ने श्रेय भने  मूर्धन्य विद्वान् नयराज पन्त र उनले शुरू गरेको इतिहास संशोधन-मण्डललाई जान्छ। सम्बन्धित विद्वान्हरूले प्रचलनमा नल्याएको भए पनि यसलाई ‘इतिहास अध्ययनको संशोधन-मण्डल स्कूल’ (‘स्कूल अफ थट’ भन्ने अर्थमा) भन्न सकिन्छ(ढकाल, २०७८)।

नेपालको इतिहासका प्राथमिक स्रोतलाई सकेसम्म सोझै पाठकको पहुँचमा लैजानुपर्छ भन्ने मान्यता यसै स्कूलका दिग्गज इतिहासकारहरू नयराज पन्त, धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल महेशराज पन्त, दिनेशराज पन्त आदिका प्रयासबाट अब स्थापित भइसकेको छ। यस प्रकारका कृतिहरू भने नेपाली इतिहासमा थोरै मात्र लेखिएका छन्।

पृथ्वीनारायण शाहको उपदेश जत्तिको गहकिलो सम्पादन नभए पनि प्राथमिक स्रोतको सङ्ग्रहका दृष्टिमा अर्को उल्लेख्य कृति योगी नरहरिनाथको इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रह हो(इङनाम २०७७)। त्यसैगरी, शाह राजाहरूसँग थारूहरूको सम्बन्धमाथि प्रकाश पार्ने ५० वटा दस्तावेज तेजनारायण पन्जियारले सङ्ग्रह गरेका थिए, जसलाई नेपालका राजाहरू तथा तराईका थारू (२०५८) शीर्षकमा टेकबहादुर श्रेष्ठको सम्पादनबाट नेपाल तथा एशियाली अध्ययन केन्द्रले प्रकशित गर्‍यो। उक्त सङ्ग्रह गिसेल क्राउस्कोफ र पामेला डोएल मायरको सम्पादनमा सन् २००० मा अङ्ग्रेजी भाषामा उपलब्ध भयो,द किङ्स अफ नेपाल एण्ड द थारू अफ द तराईः द पन्जियार कलेक्सन अफ फिफ्टी रोयल डकुमेन्ट्स फ्रम १७२६–१९७१ शीर्षकमा।(ऐ, हिमालखबर )

समुदायबीच हुने स्वाभाविक सामाजिक अन्तक्रियात्मक सम्बन्धबाट पैदा हुने अन्तर्घुलनको पक्षलाई अस्वीकार गर्न अपवादलाई मूल प्रवृत्ति मान्नु नेपालबारे उपलब्ध धेरै समाजशास्त्रिय विश्लेषणको स्वभाव रहेको छ। लिम्बुवानको इतिहासमा चाँही कतैपनि याङरुपको बारेमा चर्चा गरिएको पाइन्न। थोरै देखाइएको भएपनि प्रामाणिक रूपमा फरक कुरा देखाइरहेको छ। धेरै अघिदेखिका ऐतिहासिक सामग्रीले के पुष्टि गर्छन् भने स्थानीय शासकका रूपमा लिम्बू सुब्बा र थुमका प्रमुखहरूले आफ्नो क्षेत्रका अन्य समुदायको समेत परम्परा र संस्कार जोगाइदिएका हुन् (योङहाङ,२०८१)।

यसरी याङरुप थुमको प्रमुख ठाँउहरु, अमरपुर, इसलिम्बा, च्याङथापुको नामै किटेर तथा सिक्किम र ल्हासा अनि विजयपुर र त्यहाँको देवान बुद्धिकर्ण खेवाको बारेमा चर्चा गरिएकोले यसको विवेचना गरिएको छ । योगी नरहरीनाथको इतिहासप्रकाश, सन्धीपत्रसङ्ग्रहमा चर्चा गरिएको) श्री ५ पृथ्वीनारायण शाहले विजयपुर जित्न अघि त्यहाँको शासक बुद्धिकर्ण खेवाको सैनिक सामर्थ्य उनको हात्ती खोस्ने कार्य तथा गोर्खाली सैन्य अफिसरहरु अभिमान सिंह बस्नेत, पारथ भन्डारी, किर्ती सिंह खवास र बलि बानियाँलाई लेखेको लालमोहरको चर्चा गरेको छु । यो लालमोहरले नेपाली समाजशास्त्र र राजनीतिशास्त्रका विद्यार्थीहरूलाई केवल युद्धको वर्णन मात्र दिँदैन, बरु यसले तत्कालिन याङरुप राज्यमा पर्ने इसलिम्बा, अम्बरपुर र च्याङथापुको सामरिक महत्व ‘राज्य निर्माण’ (State Building) र ‘सामाजिक एकीकरण’ को गहिरो सैद्धान्तिक धरातल पनि प्रदान गर्दछ। यस शोध आलेखमा मैले उक्त लालमोहरमा लुकेका सैद्धान्तिक अवयव, शोधका विधि र यसको याङरुप, च्याङथापु, अम्बरपुर, कन्काइ नदी सिक्किम तथा ल्हासा राज्य अझ याङरुपमा पर्ने च्याङथापु र आधुनिक नेपालमा सान्दर्भिकता बारे चर्चा गर्ने प्रयास गरेको छु ।

के छ त पृथ्वी नारायण शाहको लालमोहरमा ?

स्वस्तीश्री गिरीराज चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्रीश्रीश्री महाराजे पृथ्वीनारायण शाह बहादुर्शम्शेरजङ देवानाम, सदा समर विजयनाम् …

स्वस्ती श्री राजभारा सामर्थ्य श्री अभिमानसिंह, पारथ भँडारी, कीर्तिसिंङ खवास, बली बानियाँके आशिष । पूर्वो पत्र मिदं ञाहा कुशल ताँहा कुशल चाहियै । आगे ञाहाको समाचार भलो छ । उप्रान्त पत्र आयो अर्थ मालुम भयो चौदण्डीमहागढी तुल्याउनाको विस्तार भयो । कुह्रिल्याबाट फौज तिन मुख गरेर ह्यिड्यो । तिमीले लिम्बू सिरेङ सुबा मान्न आयाको सबै विस्तार गरि लेखेका छौ विन्ती गरी पठाया छौ विधि विस्तार सुन्यौ । इसलिम्बा च्याङथापु जति सम्म हाम्रो फौज पुग्यो त अब त्यो जगा छाड्नु छैन् बलियो गरी गढि त्यही बनाउन्या छन् बनाव । बाँकी इसलिम्बा च्याङथापु सम्म हाम्रो अब्बल भयापछि कनकाइ पूर्व तिष्ठा पश्चिम पनि अम्बल गरी हालन्या हो । घटिया देश आफूले खाइकन आमद हुन्या बढिया देश छोड्नाको प्रयोजन केही होइन् । अम्बल गर्यै हो तर इसलिम्बा च्याङथापु लिंदा साँध गरिकन पनि सुखिमले हामीसँग घायै गर्न पस्यो । कटक गर्ना महापसेन त कनकाइ हेरी बुझी तर्नु । इसलिम्बा च्याङथापु लिंदा सुखिम चम्की गयो घा तोडी हाल्यो त आखिर तेती महा पनिचट्कि गयो त मधेश छोडन्या होइन । हिन्दु पतिको साँध तिष्ठासम्म चाँडो गरि हालन्या हो । यो काज बुझ्नु ताँहि पर्याको छ । उप्रान्त बुद्धिकर्णको हाती राम्रो छ गरे । त्यो हाती माहुतेलाई ल्यायेर माहुते कमाइकन सय ४/५ कबोलीकन सो हाती चोरील्याउन पठाउन्या हो । माहुतेले चोरील्यान्या भन्यात केही बेर्छैन । ती माहुतका कुल्कविलात हाम्रै देश महा हुनन् । क्ही कबोली खातिर्जामा दि कन पनि त्यो काम गर । उप्रान्त तेस देश महाँ बुद्धिकर्ण राइलाई पायापछि कल मरिजान्या थियो , पाइयेन ।केही जुक्तीले कोही सिपाही कमायेर हजारबाह्र सय कबोली, सर्सीरोपाउ कबोली हुन्या भए तेस्लाई मराउन्या हो । तेसो भयापछि कल सबै मरिजान्छ । त्यो काम खामोसा गराउनु । उप्रान्त अम्बरपुरका तरियानिका रुपैया, विजैपुर तरियानिका रुपैयालेताँहा सिपाहीहरुका खर्च र ताँहा लागत खर्च उठाउना गर । बाँकी २००१ रुपैया चढाइपठाया छौ । आइपुग्या कवच गरी पठायाको छ, पुग्ला । बाँकी इसलिम्बा च्याङथापु देखि पुँढो अम्बल गर्न जानु छैन । सुखिम आइलाग्या । एक ठाँउ बनाइकन कत्तल गर्न्या चाँजो गर । सुखिमका पुरानो देश महा गया, माथि लासा सङ्ग विग्रन जाला । तसअर्थ उपल्ला मुखतिर लासाको देश महा चार अङ्गुल पनि साँध चाप्नु छैन । प्रजालाई दुख दिनु पनि छैन् । सुखिमका महा पनि जान छैन् । विज्ञेसु आश्विन वदि ३० रोज ४ मुकाम काठमाडौ शुभम्…

लालमोहरको विश्लेषण र डिस्कसन

लालमोहरको विश्लेषण

गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्ना सैन्य कमान्डरहरू अभिमानसिंह बस्नेत, पारथ भँडारी, कीर्तिसिंङ खवास, बली बानियाँलाई पठाएको यो लालमोहर केवल एउटा आदेश मात्र होइन, यो नेपालको सिमाना निर्धारण विशेषत कतै नसुनिएको याङरुप थुमको सिमाना र राज्य सञ्चालनको एउटा महत्त्वपूर्ण ‘रणनीतिक दस्तावेज’ हो। यस लालमोहरमा चौदण्डीगढिको विजयपछि पूर्वी क्षेत्रको विजय गर्नमा गोरखाका राजा पृथ्वीनारायण शाहले याङरुपको अवरोधलाई राम्रैसँग आकलन गरेका छन् । तत्कालिन याङरुपको एक महतवपूर्ण हिस्सा च्याङथापु, इसलिम्बा रहेको तथा याङरुपको सम्बन्ध सिक्किम र ल्हासासँग रहेको जनाउ दिइएको छ । याङरुपको सामरिक महत्व एवम् विजयपुरको देवान बुद्धिकर्ण खेवा तथा लिम्बू सुब्बाहरूसँगको सम्बन्ध र सिक्किमसँगको सीमा विवादका विषयमा सामरिक, आर्थिक तथा सैन्य योजनाको बारेमा सुक्ष्म निर्देशनहरू दिइएका छन्।

याङरुपको सिमानाको स्पष्ट खाका

यस लालमोहरको सबैभन्दा बलियो पक्ष भनेको याङरुपको सिमाना प्रतिको स्पष्टता हो। केही अध्येताहरुको सिक्किमको मातहतमा लिम्बूवान रहेको भन्ने गलत भाष्यलाई पृथ्वीनारायण शाहले च्याङथापु, इसलिम्बा तथा अम्बरपुर र कनकाई उल्लेख गर्दै याङरुपको सिमाना प्रष्ट्याएका छन् । उनले  “हिन्दुपतिको साँध तिष्ठासम्म चाँडो गरी हालन्या हो“ भन्नुले उनको लक्ष्य वर्तमान नेपालको सिमानाभन्दा पनि अझ पूर्वसम्म रहेको देखिन्छ। यस अर्थमा याङरुपको सिमाना चोदण्डीगढिबाट इसलिम्बा र च्याङथापु समेत तथा कनकाइ आशपासको तराइ भाग हाल झापा पनि रहेको बुझिन्छ ।

तत्कालिन समयमा याङरुपमा राजा हिल्लीहाङ(१८१४-१८३७) थिए । सिक्किमसँगको पारिवारिक सम्बन्ध र ल्हासाको साथले याङरुप शक्तिशाली थियो । एकजना सुब्बा सिरैङ भने गोर्खालीसँग मिल्न गएको जानकारी अभिमानसिंह बस्नेतले गराएका छन् । सायद यिनै सुब्बाको निर्देशनबाट सम्बत् १८३१ साल साउन २२ गते गोर्खालीहरुले विजयपुर कब्जा गरेको हुनसक्छ ।

चौदण्डी गढी जितेपछि सेनापति अभिमानसिंह बस्न्यातले गोर्खा दरबारमा यथास्तिथी जनाउदै पत्राचार गरे । उक्त पत्रको जवाफमा कनकाई नदी र तिष्ठा नदीको बीचको उर्वर भूमिलाई हात पार्न पृथ्वीनारायण शाहले दिएको निर्देशनले त्यो बेलाको याङरुप राज्य तथा च्याङथापु र विजयपुरको आर्थिक र सामरिक दुवै महत्त्वलाई दर्शाउँछ। “बढिया देश छोड्नाको प्रयोजन केही होइन” भन्ने वाक्यले उनी सकेसम्म याङरुपको इसलिम्बा र च्याङथापु नभए कनकाइ तराईको उब्जाउ भूमि (मधेस)लाई जसरी पनि जित्न चाहन्थे । उनी तराइलाई राज्यको आर्थिक मेरुदण्ड मान्थे भन्ने यो लालमोहरबाट पुष्टि हुन्छ।

धोकाधडी कुटनीति बुद्धिकर्ण राई र हात्तीको प्रसङ्ग–घुस ख्वाएर काम फत्ते गर्न सुझाव

लालमोहरमा विजयपुरका मन्त्री बुद्धिकर्ण राईलाई समाप्त पार्न दिइएको निर्देशनले तत्कालीन समयमा राजा पृथ्वीनारायण शाह बुद्धिकर्ण खेवासँग अग्घोरै रिसाएको र कडा सैन्य रणनीतिको झलक दिन्छ। अन्वेषक कौशल चेम्जोङ”उदयपुरको इतिहास” मा लेख्नुहुन्छ-

“शुरुमा जगत सेनसँग मिलेर बुद्धिकर्ण खेवाले कामदत्त सेनलाई पदच्युत गरे । राज्यच्युत उनी गुमेको राज्य फिर्ता गर्न सहायताको लागि चारैतर्फ भौतारिए । कहिले ल्हासा त कहिले कलकत्ता । उनले सोही समयमा गोरखाका राजा पृथ्वी नारायण शाहसँग समेत सहयोग मागे । कतैबाट सहयोग नपाएपछि उनले मोरङमा केही मानिस जम्मा गरि विजयपुर कब्जा गरे । यसरी उनले देवान बुद्धिकर्ण रायलाई देशनिकाला गरे (पृ १९३) ।”

योङहाङ वंशावली २०७९ अनुसार विजयपुरको देवान बुद्धिकर्ण खेवा र विजयपुरको राजा कामदत्त सेनबिच राम्रो सम्बन्ध थिएन । 

कहिले बुद्धिकर्णले त कहिले कामदत्त सेनले एकअर्कालाई देश निकाला गरिरहन्थे । यसै क्रममा याङरुपका राजा हिलिहाङले पारिवारिक सम्बन्धको कारण देवान बुद्धिकर्ण रायलाई खुलेरै सहयोग गरे । सिक्किमसँग पारिवारिक सम्बन्ध भएको कारण सिक्किमको सहयोग याङरुपलाई थियो । ल्हासा पनि याङरुपकै पक्षमा थियो । यसरी देशनिकाला गरिएका भान्जा बुद्धिकर्ण खेवालाई दुईमहिनासम्म हस्तपुर दरबारमा राखेर सिक्किमसँग सहयोग माग गरे । सिक्किमले पनि दशजना भोटे सैनिक बुद्धिकर्णको सहायतार्थ पठायो । यहि भोटे सैनिकले कामदत्त सेनलाई सम्बत् १८२६ मा मोरङमा हत्या गरे(पृ १९) ।

यसरी कामदत्त सेनको हत्या पछि राजा पृथ्वीनारायण शाह बुद्धिकर्ण रायसँग अग्घोरै रिसाए । किनभने कामदत्त सेनले गोरखासँग सहयोग माग्नुको साथै पारिवारिक सम्बन्ध थियो । हेमिल्टनले यो कुराको चर्चा उनको पुस्तक “अन एकाउन्ट अफ नेपाल”मा गरेका छन् ।

यसरी पृथ्वी नारायण शाहले बुद्धिकर्णलाई “कल” (झगडाको जड) मान्दै उनलाई मार्नका लागि इनामको प्रलोभन देखाए । बुद्धिकर्णलाई मारेमा सहजै विजयपुर जितिने उनले उल्लेख गरेका छन् । उनले लालमोहरमा प्रष्ट लेखेका छन्-

घुस हजार बाह्र सय रुपैया दिएर कोही सिपाही पठाएर वा सिरपाउ(पुरस्कार बढुवा?) दिएर भएपनि देवान बुद्धिकर्णको हत्या गर्नु । उसको हात्ति पक्ड्नु । माहुतेलाई चारपाँच सय घुस दिनु वा जुक्ति लगाउनु ।

यसरी माहुतेलाई फकाउनु भन्ने आदेशले ‘शत्रुलाई परास्त गर्न साम, दाम, दण्ड, भेद’ को नीति अपनाइएको देखिन्छ। साथै बुद्धिकर्णको हात्ती चोरी ल्याउन माहुतेहरूलाई फकाउनु भन्ने प्रसङ्गले सैन्य परिचालनमा संसाधन (Resources) को कति महत्त्व थियो भन्ने बुझाउँछ। उनी सकेसम्म माहुतेबाट बुद्धिकर्ण रायको भेद खोल्न चाहन्थे ।

तिब्बत र सिक्किम नीति–ल्हासासँग डराउने, सिक्किम–याङरुप निल्ने

शाहले आफ्ना भारदारहरूलाई सिक्किमसँग सङ्घर्ष परे पनि उत्तरतर्फको शक्ति (लासा/तिब्बत) सँग सम्बन्ध नबिथोल्न कडा चेतावनी दिएका छन्। उनी याङरुपलाई कमजोर ठान्थे । अझ सिक्किमलाई त सजिलै जित्न सकिने धारणा राख्थे । सायद गोर्खालीसँग मिल्न गएका सिरेङ सुब्बाले याङरुपको सबै पोल सुनाएको थियो होला । तर गोर्खालीहरुलाई तमोरपूर्वको याङरुप फत्ते गर्न सजिलो भएन् । नुनपानीको नीतिमा लोभिएका तमोर पश्चिमका लिम्बूहरुको धोकाको वावजुद सिक्किम र ल्हासाको सहयोगमा याङरुपले सम्बत् १८३७(१७८० सन्) सम्म गोर्खालीविरुद्ध युद्धजारी राख्यो (द गुर्खाज, पृ १३५)।

“लासाको देश महा चार अङ्गुल पनि साँध चाप्नु छैन“ भन्नुले उनी चीन र तिब्बतसँग अत्यन्त डराएको प्रष्टिन्छ । याङरुप र सिक्किमलाई सहजै निल्ने विश्वास लिएका उनी ल्हासासँग अनावश्यक युद्ध गरेर दुईतिरको मोर्चा खोल्न चाहँदैनथे भन्ने स्पष्ट हुन्छ। उनी तिब्बती सेनाको पराक्रमको जानिफकार थिए । तर पछि होसी टुङयाङको नेतृत्वमा याङरुप सहितको लिम्बुवानी तिब्बती सेनाले सम्वत् १८३५-३७ ताका गोर्खालीलाई चैनपुरको युद्धमा नराम्ररी हराएको पाइन्छ ।

मिल्नु आएको स्थानीय सेरेङको विश्वास र याङरुपको भेद पाउन सफल

एकजना सिरेङ लिम्बू सुब्बाले मान्न आएको विवरण सुनेर उनी खुसी हुनु र प्रजालाई दुःख नदिनु भन्ने आदेश दिनुले उनी धोका र छलकपटबाट भूमि जित्न चाहन्थे किनभने सिरेङबाट याङरुपको भेद खोल्न र प्रजालाई दु:ख दिए जनविद्रोह हुने सम्भावना थियो । हुनत किर्तिपुरमा सत्रधार्नी नाककान काटेको र तीसवर्ष सम्म पछि पनि बुच्चो किर्तीपुरेहरु रहेको सिल्भा लेभिले आफ्नो पुस्तक नेपाल अधिराज्यको इतिहासमा लेखेका छन् । सकेसम्म कम क्षतिमा देश जित्ने उनको चाल र जनमत जित्न पनि उत्तिकै सचेत थिए भन्ने देखिन्छ। तम्बरखोलाको रैनसिह सिरेङ गोर्खालीसँग मिलेर विजयपुर र लिम्बूवान आक्रमण गर्न उक्साएको तथ्य उनले लालमोहरमार्फत जनाएका छन् । हुनत रामायणमा समेत विभिषण र सुग्रिव रामसँग मिलेको जनाइएकै परिवेशमा रैनसिं सिरेङ गोर्खालीसँग मिल्नु सामान्य नै हो ।स्थानीय प्रशासन चलाउन सोही क्षेत्रको आम्दानी (अम्बरपुर र विजयपुरको रुपैयाँ) प्रयोग गर्न भन्नुले विकेन्द्रीकृत आर्थिक व्यवस्थापनको झल्को दिन्छ । याङरुपको सिमाना कनकाइ लगायतको मधेशबाट राम्रै आम्दानी भएको देखेर पृथ्वीनारायण शाह लोभिएको सङ्केत सो लालमोहरमा स्पस्ट देखिन्छ ।

प्रमुख सैद्धान्तिक अवधारणाहरू (Key Theoretical Ideas)

यो ऐतिहासिक लालमोहर पृथ्वीनारायण शाहले वि.सं. १८३० तिर (चौदण्डी विजयको क्रममा) आफ्ना सैन्य भारदारहरू अभिमानसिंह बस्नेत, पारथ भण्डारी, किर्तीसिंह खवास, बली बाँनिया आदिलाई लेखेका हुन्। यस पत्रले नेपालको एकीकरण अभियानको सामरिक चातुर्य, सिमाना विस्तारको लक्ष्य, याङरुप तथा सिक्किम, विजयपुर  र तत्कालीन छलकपट र फूटको कुटनीतिलाई छर्लङ्ग पार्छ।

यस लालमोहरको सूक्ष्म अध्ययन गर्दा निम्न समाजशास्त्रीय सिद्धान्तहरू स्पष्ट रूपमा देखिन्छन्:

अ) राज्यको प्रादेशिक अखण्डता र ‘जियो–पोलिटिक्स‘ (Territoriality): लालमोहरमा “तीष्ठा पश्चिम पनि अम्बल गरी हालन्या हो” र “लासाको देश महा चार अङ्गुल पनि साँध चाप्नु छैन” भन्ने वाक्यांशले राज्यको निश्चित सीमा र सार्वभौमिकताको आधुनिक अवधारणालाई संकेत गर्दछ। समाजशास्त्री म्याक्स वेबरको ‘राज्य’ सम्बन्धी परिभाषा (निश्चित भूभागमा बल प्रयोगको वैध अधिकार) सँग यो मेल खान्छ। उनले कमजोर आँकेका याङरुपका भूभागहरु विशेषत कनकाई, च्याङथापु र अम्बरपुर तथा इसलिम्बा याङरुपको मातहतमा रहेको सहजै बुझ्न सकिन्छ । इसलिम्बा भन्दापनि च्याङथापुलाई बढि महत्व दिएको प्रष्टिन्छ ।

आ) सामरिक रणनीति र ‘इन्टिलिजेन्स‘ को समाजशास्त्र: बुद्धिकर्ण राईलाई मार्ने योजना वा हात्ती चोरी ल्याउने प्रसङ्गले राज्य सञ्चालनमा ‘छल र बल’ (Machiavellian approach) को प्रयोगलाई देखाउँछ। यो समाजशास्त्रिय कार्ल माक्सको ‘द्वन्द्व सिद्धान्त’ (Conflict Theory) अन्तर्गत पर्दछ, जहाँ शक्ति (Power) प्राप्तिका लागि स्रोत र साधनको परिचालन गरिन्छ। घुसको प्रयोग विजयपुरमा गर्ने तर याङरुपमाथि आक्रमण गर्दा सिक्कमले सहयोग गर्न सक्छ भनेर सचेत गराएका छन् । उनी सिक्किम र ल्हासाको साथ पाएको याङरुपभन्दा विजयपुरलाई कम आक्छन् किनभने विजयपुर फत्ते गर्न सकेसम्म मानविय क्षति कम हुनेगरी हजार नमाने बाह्रसय कबोलेर, घुस दिएर भएपनि बुद्धिकर्णलाई मार्न लगाउनु, चार पाँच सय पुरस्कार(सिरपाउ) दिएर हात्ती ल्याउनुले शाहको रणनीति र इन्टेलीजेन्स दुवै देखाँउछ ।

इ) आर्थिक नियतवाद (Economic Determinism): “घटिया देश आफूले खाइकन आमद हुन्या बढिया देश छोड्नाको प्रयोजन केही होइन” भन्ने वाक्यले कार्ल मार्क्सको ‘आधार र संरचना’ (Base and Superstructure) को झल्को दिन्छ। राज्य विस्तार केवल वीरताका लागि मात्र थिएन, बरु आर्थिक रूपमा उर्वर भूमि (मधेश र तराई) माथि कब्जा गरी राज्यकोष बलियो बनाउने उद्देश्य थियो। चौदण्डीगढी जीतिसकेपछि भएको खर्च असुल्न याङरुप र सिक्किम माथि नजर लगाएको लालमोहरले जनाउ दिन्छ । सायद पहाडी मुलुक भएकोले कनकाइ हान्न आफ्नो आर्थिक अवस्थालाई मजवुद बनाउन आदेश दिएको बुझिन्छ ।  ल्हासाबाट त्यति उब्जाउ नहुने भएर त्यति ध्यान दिएको देखिन्न।

ई) जातीय र क्षेत्रीय फूटाउकरण (Ethno-regional DisIntegration): “लिम्बू सिरेङ मिल्नु आएको” प्रसङ्गले शाहले अवलम्बन गरेको भेद खोलाउने चक्रव्यूहको नीतिलाई पुष्टि गर्दछ। यो प्रकार्यात्मकतावाद (Functionalism) सँग सम्बन्धित छ, जहाँ समाजका विभिन्न अंगहरू (जाति/जनजाति) लिम्बूवानका सुब्बाहरुलाई एकीकृत हुन नदिइ छल, धन र बलद्वारा फुटाएर लिम्बूवानको एउटा सिंगो राष्ट्रिय प्रणाली ध्वस्त बनाउने प्रयास गरिएको देखिन्छ।

यो ऐतिहासिक लालमोहर पृथ्वीनारायण शाहले वि.सं. १८३१ तिर (विजयपुर र चौदण्डी विजयको क्रममा) आफ्ना भारदारहरू अभिमानसिंह बस्नेत, पारथ भण्डारी आदिलाई लेखेका हुन्। यस पत्रले नेपालको एकीकरण अभियानको सामरिक चातुर्य, सिमाना विस्तारको लक्ष्य र  लिम्बूवानमा रहेको बेमेल र फूटको तत्कालीन गोर्खाली रणनीतिलाई छर्लङ्ग पार्छ।

रैनसिंह सिरेङ लिम्बू सुब्बाले मान्न आएको विवरण सुनेर उनी खुसी भएका छन् र स्थानीय प्रशासन चलाउन सोही क्षेत्रको आम्दानी (अम्बरपुर र विजयपुरको रुपैयाँ) प्रयोग गर्न भन्नुले विकेन्द्रीकृत याङरुपको बलियो आर्थिक व्यवस्थापनको झल्को दिन्छ।

२. पहिचान गरिएका शोध विधिहरू (Methodological Approaches)

यस ऐतिहासिक दस्ताबेज लालमोहरलाई शोधका रूपमा अध्ययन गर्दा शोधकर्ताको रुपमा निम्न विधिहरू अपनाइएको छ-

–ऐतिहासिक पद्धति (Historical Method): यो प्राथमिक स्रोत (Primary Source) हो। यसलाई त्यस समयको तत्कालिन याङरुप, सिक्किम, ल्हासा र विजयपुर सहित तराइको अझ लिम्बूवानी सामाजिक, राजनीतिक र भाषिक तथा आर्थिक सन्दर्भमा व्याख्या गरिएको छ । यसले मध्यकालिन तथा आधुनिक लिम्बूवान अझ याङरुपको ऐतिहासिकतालाई उजागर गराउने प्रयास गरिएको छ ।

–सामग्री विश्लेषण (Content Analysis): लालमोहरमा प्रयोग भएका शब्दहरू जस्तै “अम्बल”, “कटक”, “कुलकविलात” आदिको मात्रात्मक र गुणात्मक विश्लेषण गरेर तत्कालीन गोर्खा राज्यको तथा याङरुप एवम् विजयपुरको  प्राथमिकता बुझ्न सकिएको छ ।

–दस्ताबेजीय अनुसन्धान (Documentary Research): यो चिठ्ठी केवल एउटा पत्र मात्र नभई ‘आर्काइभल डेटा’ (Archival Data) हो, जसले अठारौँ/उन्नाइसौं शताब्दीको कर्मचारीतन्त्र र सैन्य संरचना बुझ्न सघाउँछ । त्यो समयको कुटनीति, सामरिक रणनीति, आर्थिक अवस्थालाई दस्तावेजीकरण गरिएको छ । उन्नाइसौं शताब्दीको तेस्रो दशकको सैनिक खर्च र आम्दानी देखाइएको छ ।

–तुलनात्मक अध्ययन (Comparative Approach): पृथ्वीनारायण शाहका अन्य लालमोहरु, सेनकालिन स्याहामोहरहरु  र छिमेकी राज्यका (सिक्किम, भोट) तत्कालीन् दस्ताबेजसँग यसलाई तुलना गर्दा वस्तुनिष्ठ सत्यको नजिक पुग्न सकिन्छ।

३. नेपाली सन्दर्भमा सैद्धान्तिक र विधिगत प्रयोग (Application in Nepalese Context)

यो लालमोहर आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि उत्तिकै सान्दर्भिक छ:

क) सीमा व्यवस्थापन र परराष्ट्र नीति: लालमोहरमा भनिएको “लासा सङ्ग विग्रन जाला… साँध चाप्नु छैन” भन्ने कुराले नेपालको असंलग्न परराष्ट्र नीतिको जगलाई झल्काउँछ । राजनीति र कुद्टनीतिमा  चीन र भारतबीचको ‘बफर स्टेट’ को रूपमा नेपालले कसरी सन्तुलन मिलाउनुपर्छ भन्ने कुराको समाजशास्त्रीय पाठ यो लालमोहरको विश्लेषणले दिन्छ। समसामयिक विश्व परिवेश, पन्चशिल र असंलग्नताको मूल मर्म यो लालमोहरमा पाइएता पनि याङरुप र विजयपुर हान्ने कुराले साम्राज्यवादी नीति छर्लङ्गिन्छ ।

ख) तराई–पहाड–हिमाल सम्बन्ध: “मधेश छोडन्या होइन” भन्ने वाक्यांशले तराईको आर्थिक महत्त्वलाई त्यस बेलै बुझेको देखिन्छ। आजको नेपालमा तराई र पहाडबीचको सामाजिक दूरी कम गर्न र भावनात्मक एकीकरण गर्न यो ऐतिहासिक यथार्थलाई एउटा सेतुको रूपमा यो लालमोहरको विश्लेषणात्मक रुपमा प्रयोग गर्न सकिन्छ । हाल प्रयोगमा आएको संघिय संरचनात्मक मोडलको छनक यो लालमोहरमा देखिन्छ ।

ग) समावेशी राज्य निर्माण: लिम्बुवान र अन्य क्षेत्रका बासिन्दासँगको सम्झौताको मोडललाई अध्ययन गरेर हालको संघीयतामा देखिएका जातीय र क्षेत्रीय असन्तुष्टिहरूलाई कसरी ‘सहमति’का आधारमा समाधान गर्न सकिन्छ भन्ने ‘मोडालिटी’ यो लालमोहरको विश्लेषणबाट  तयार गर्न सकिन्छ।

प्राप्ति र निष्कर्ष

यो लालमोहर केवल एक राजाले आफ्ना सेनापतिलाई दिएको निर्देशन मात्र होइन, यो नेपाली राज्यको अझ लिम्बूवानी राज्य याङरुप थुम र विजयपुर राज्यकै ‘डीएनए’ (DNA) हो। यसले हामीलाई सिकाउँछ कि राज्य सन्चालनमा शक्ति, अर्थतन्त्र र कूटनीतिको त्रिकोणात्मक महत्व छ । समाजशास्त्र, इतिहास र लिम्बूवान पहिचानको खोजी गर्नेहरुको लागि यो लालमोहर एउटा यस्तो ‘टेक्स्ट’ हो जसले नेपालको सामाजिक इतिहासलाई मुख्यगरी सम्वत् १८३० तिरको याङरुप, अझ विजयपुर केवल राष्ट्रवादी भावुकतामा मात्र होइन, बरु कठोर समाजशास्त्रीय यथार्थको कसीमा राखेर विश्लेषण गर्न प्रेरित गर्दछ। तत्कालिन उन्नाइसौं शताब्दीको याङरुपको सिमाना, आर्थिक हैसियत, सैनिक सामर्थ्य तथा परराष्ट्र सम्बन्धको एउटा अभिलेखिय जानकारी प्रदान गर्छ । याङरुपको च्याङथापु, इसलिम्बा वा अम्बरपुर सहित कनकाइको सिमाना देखाउँछ । अझ विजयपुर तथा बुद्धिकर्ण राईलाई मार्ने योजना होस् वा याङरुपको च्याङथापु लगायत सिक्किमसँगको साँध मिच्ने कुरा, यी सबैले राज्यको अस्तित्व रक्षाको निर्मम पाटोलाई उजागर गर्दछन्।

यो लालमोहरले पृथ्वीनारायण शाह एक छल र फूटको राजनीति गर्ने महत्वाकांक्षी मात्र नभई, भूगोल बुझेका र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको हेक्का राख्ने एक चतुर राजनीतिज्ञ थिए भन्ने प्रमाणित गर्छ । उनले घुस ख्वाएर बुद्धिकर्णलाई मार्ने, नसके उसको हात्ती खोस्ने, याङरुपको च्याङथापु र इसलिम्बा दखल गर्ने विचार गरेको देखिन्छ । याङरुप दखल गर्न सेरेङलाई उपयोग गर्ने मद्दत गर्न सिक्किम आएमा आक्रमण गर्ने तर ल्हासालाई केही नगर्ने भनेकाले उनी याङरुप, सिक्किम र विजयपुरसँग अग्घोरै रिसाएको बुझिन्छ । अझ आफैसँग सहयोग माग्न आएका उनका आफन्त कामदत्त सेनलाई हत्या गराएका विजयपुरका देवान बुद्धिकर्ण खेवालाई मार्न जासुस खटाँउन उनले आदेश दिएका छन् । पूर्वी नेपालको एकीकरणमा लिम्बुवान याङरुपको प्रतिकारात्मक भूमिका, सिक्किमसँगको घर्षण र तिब्बतसँगको सतर्कतालाई बुझ्न यो लालमोहर पत्र इतिहासकै एउटा प्राथमिक र शक्तिशाली स्रोत हो।

सन्दर्भसुचीहरु

इङनाम, भगिराज (२०७७), लिम्बुवानको ऐतिहासिक दस्तावेज सङग्रह,  अतित इङनाम ।

कोइराला, कुलचन्द्र (२०४५), सेनवंशी राजाहरुको ऐतिहासिक परिचर्चा र पूर्वी पहाड, प्राचिन नेपाल ।

चेम्जोङ, इमानसिंह (२०३६), किराँतकालिन विजयपुरको इतिहास, रत्न पुस्तक  भण्डार ।

चेम्जोङ, कौशल (२०७८), उदयपुरको इतिहास, उदयपुर अनुसन्धान केन्द्र । 

जवेगु, भिमविक्रम सिह (२०६४), थेगिम वंशावली, थेगिम प्रकाशन ।

ढकाल, टिका (२०७८), इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङग्रह, हिमालखवर । 

द गुर्खाज ।

पुरातत्व सङ्ग्रह (२०१८), नेपाल सरकार ।

नाम्गेल, थुर्तोब (सन् १९०९), हिस्ट्री अफ सिक्किम, पाण्डे छिरिङ ।

नेम्बाङ, वीर (सन् १९८७), लिम्बुवानको रामकहानी, सिलिगुडी ।

योगी नरहरीनाथ, इतिहास सङ्ग्रहमा सन्धीपत्र सङग्रह भाग–१

योङहाङ, मनु र अन्य (२०७९), योङहाङ वंशावली, किरात योङहाङ कुलवंश प्रतिष्ठान, माइधार झापा ।

योङहाङ, मनु  (२०८१), थुङवामुक्मा एक गुमनाम राजकुमारी, हिलिहाङ डटकम ।

रेग्मी, प्रा.डा.जगदिशचन्द्र (२०६६), प्राचिन नेपालको संक्षिप्त इतिहास, महालक्ष्मी अफसेट ।

श्रेष्ठ, शिवकुमार (२०४१), लिम्बुवानको ऐतिहासिक अध्ययन, रत्न पुस्तक  भण्डार ।

सिल्भा लेभी (२००८), नेपाल अधिराज्यको इतिहास, महालक्ष्मी प्रेस ।

ह्यामिल्टन, फ्रान्सिस बुचानन (सन् १८१९), अन एकाउन्ट अफ नेपाल, क्याम्ब्रिज ।

हिलिहाङ डटकम ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज