जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा
-मनु योङहाङ, नेपाल खुला विश्वविद्यालय, समाजशास्त्र विभाग

पृष्ठभूमि
पूर्वि नेपाल याङरुपका उपन्यासकार तथा नेपाली साहित्याकासका चम्किला नक्षत्र प्रा.डा. गोविन्दराज भट्टराई सरले कनकाई क्याम्पस, सुरुङ्गाका विरेन्द्र थोक्लीहाङ सर(गुम्सिएको अभिव्यक्ती उपन्यासका सर्जक) मार्फत खाम्योक उपन्यास पठाइदिनुभए पछि मनको अन्तरकुनामा एक प्रश्न घोत्लिइरह्यो- जानु काम्बाङ लिम्बूको उपन्यासखाम्योकको समालोचना कसरी गरे बेस होला ? अझ प्राप्त त्यो उपन्यासमा केही प्राविधिक समस्या पछि फेरि साइनोले मेरो भान्जीबुहारी(लेखकको सासुआमा मेरो दिदी पर्नुहुन्छ)ले हङकङबाट कैयों प्रयास गरेर आफ्नै भाइ मनहाङ काम्बाङलाई काठमाँडौं र भद्रपुर ज्ञानेचोकबाट धर्मेन्द्र नेम्बाङदाजुलाई समेत दिनु भनेर थप प्रति पठाइदिनु भएपछि मैले उपन्यासको बारेमा समालोचना गर्नु सान्दर्भिक ठहर गरें। फेरि म धर्मेन्द्र दाईको बहुलरङ्गवादको समर्थक भएकोलेअन्तत: खाम्योकलाई मैले बहुलरङ्गवादबाट हेर्ने निधोँ गरे ।

एक कवितासङ्ग्रह, तीन गिती एल्बम, एकेक कथा र नियात्रासङ्ग्रह प्रकाशित गरिसकेको लेखक जानु काम्बाङ लिम्बूको छैठौं पुस्तक पछि उपन्यासको रुपमा सर्वप्रथम प्रकाशित खाम्योक भने सातौं कृति रहेछ । ३०६ पृष्ठको यो उपन्यासलाई २०८३ साल बैशाख महिनामा मुलबाटो प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो ।
उपन्यास लेखनको इतिहास
उपन्यास शब्द इटाली भाषाको Novella जसको अर्थ ‘नयाँ कुरा’ हुन्छ बाट आएको हो। विश्व साहित्यमा कथा भन्ने परम्परा प्राचीन कालदेखि नै भए पनि आधुनिक उपन्यासको विकास भने पछि मात्र भएको हो । जापानकी मुरासाकी शिकिबु ले सन् १०१० तिर लेखेको ‘द टेल अफ गेन्जी‘ लाई विश्वकै पहिलो उपन्यास मानिंदा युरोपमा स्पेनका मिगुएल डि सर्वालेज ले सन् १६०५ मा लेखेको ‘डन क्विक्सोट‘ लाई आधुनिक युरोपेली उपन्यासको आधारशीला मानिन्छ।१८ औँ शताब्दीमा औद्योगिक क्रान्ति र उपन्यासको उदय पछि छापाखानाको विकास र साक्षरता बढेसँगै बेलायतमा डेनियल डिफो (रबिन्सन क्रुसो – १७१९) अङ्ग्रेजी उपन्यासलाई अगाडि बढाए।
उन्नाइसौं शताब्दीमा स्वच्छन्दतावाद र यथार्थवाद छाएको यो युगलाई उपन्यासको ‘स्वर्ण युग’ मानिन्छ । भिक्टोरियन युगमा चार्ल्स डिकेन्सलेअलिभर ट्विस्ट र लियो टल्सटायले वार एन्ड पिस र फ्योदोर दोस्तोयेभ्स्कीले क्राइम एन्ड पनिसमेन्ट जस्ता महान् उपन्यासकारहरू लेखे। २० औँ र २१ औँ शताब्दी जस्लाई आधुनिकतावाद र उत्तरआधुनिकतावादको युग भनिन्छमा औद्योगिकीकरण, प्रथम र दोस्रो विश्वयुद्धपछिको निराशा, मनोविज्ञानिय फ्रायडको सिद्धान्त र चेतना प्रवाहले उपन्यासमा प्रवेश पाए। भर्जिनिया उल्फ, जेम्स जोयसको युलिसिस, फ्रान्ज काफ्काले उपन्यासको शैली र विषयवस्तुमा क्रान्ति ल्याउदा नेपाली उपन्यासको इतिहासको सुरुवातमा वि.सं. १९२७ मा शक्तिवल्लभ अर्यालले संस्कृतबाट अनुवाद गरेको ‘हास्यकदम्ब‘ लाई नेपाली गद्य आख्यानको प्रारम्भिक रूप मानिएता पनि रुपमती लाई नै पूर्ण पहिलो मौलिक उपन्यास मानिन्छ। यस कालका उपन्यासहरू मूलतः मनोरञ्जनात्मक, काल्पनिक र उपदेशात्मक थिए। माध्यमिक कालमा भने (वि.सं. १९८० – २००६ सम्म)रूपनारायण सिंहको ‘भ्रमर’ (वि.सं. १९९३) उपन्यासको प्रकाशनसँगै नेपाली उपन्यासमा आधुनिकता र यथार्थवादको जग बस्यो। यो कालको अन्य प्रमुख कृतिमा लैनसिंह बाङ्देलका ‘मातृछाया‘ र ‘लङ्गडाको साथी‘ पर्छन् । यस कालमा सामाजिक यथार्थवाद, आदर्शवाद, र स्वच्छन्दतावादी धाराका उपन्यासहरू लेखिए। समाज सुधार र मानवीय संवेदनाका विषय समेटिन थाले।
नेपालमा प्रजातन्त्रको आगमनसँगै नेपाली उपन्यास लेखनमा ठूलो क्रान्ति आयो ।सामाजिक-यथार्थवादी धाराको रुपमा गोविन्दबहादुर मल्ल ‘गोठालेको पल्लो घरको झ्याल र मनोवैज्ञानिक यथार्थवादी धाराको रुपमा बी.पी. कोइरालाकोतीन घुम्ती, नरेन्द्रदाइ, सुम्निमा, पारिजातको शिरीषको फूल लेखिए । आञ्चलिक र ऐतिहासिक धारामा शङ्कर कोइरालाले खैरैनी घाट, डायमण्ड शमशेर राणाले सेतो बाघ, बसन्ती तथा प्रयोगवादी/उत्तरआधुनिक धाराको रुपमा, सरुभक्तले पागल बस्ती लेखिंदा समकालीन धारा (वि.सं. २०६० पछि)को रुपमा पहिचान, जनजाति चेतना, युद्धको प्रभाव, र वैदेशिक रोजगारीका विषयमा आधारित उपन्यासहरू “थोक्फेला”, “सेक्मुरी फूल”, “सिङ्जाङ्गो फूल” तथा “किवाहाङ” लेखिए। यही परिवेशमा जानु काम्बाङ लिम्बूको उपन्यास खाम्योक २०८३ सालमा नेपाली साहित्य बजारमा आएको छ।

अन्तर्पाठिय बहुलरङ
खाम्योकको प्रकृति, स्वरुप एवम् संयोजनहरुको दृष्टिपात गर्दा यो उपन्यासको नशा नशा र रगत रगत केलाएर चिरफार अन्तर्पाठको अवधारणामुताविक गर्नु बाञ्छनिय हुनजान्छ। जानु काम्बाङले यो उपन्यास कसरी तयार पारिन् होला ? यसको विविध उत्तर हुनसक्छ। मलाई सबैभन्दा उत्तम लागेको उत्तर यो छ- जानु काम्बाङ लिम्बूले आफैलाई, आफ्नो परिवेशलाई, आफ्नो समाजलाई, आफ्नो परिवारलाई, आफूले भोगेको सुखदु:खलाई, आफूले सुनेको कुरालाई, हेरेर, बुझेर र मनन गरेर तिनलाई आफ्नै शैलीमा खाम्योकमा ढालिन् । एक सर्जकको सिर्जना भनेको देखेको, सुनेको, जानेको र भोगेको कुराहरुको अनुकरण हो, नक्कल हो । यसरी काम्बाङले आफूले अनुभव गरेको कुरालाई सुन्दर शब्दमार्फत रुपान्तरण गर्दै तिनको खाम्योकरुपि दर्पण बनाइन् जस्ले साहित्य समाजको दर्पण हो भन्ने तथ्यलाई प्रमाणित गर्यो।
साहित्यमा यथार्थवादी र प्रकृतिवादीहरुले यही शैली अपनाएता पनि उत्तरसंरचनावाद र उत्तरआधुनिकवादले नयाँ कुराको रुपमा अनुकरण गर्ने शैलीलाई गौण मान्यो । उनीहरुको तर्कमा सर्जक अनुशरणकर्ता नभएर अन्तर्पाठको व्यवस्था मिलाउने योजक हो । यसरी माटो, मूल, संस्कृति र आफ्नै भूगोल छोडेर विश्वका विभिन्न कुनामा छरिएका मानिसहरूको आन्तरिक पीडा, उनीहरूको सांस्कृतिक पहिचानको सङ्घर्ष र प्रवासको जीवनमा मातृभूमिको यादजस्ता अनेकन सामाजिक सञ्जालमा खाम्योक जन्मिएर आफ्नो अस्तित्व प्रमाणित गर्नु नै अन्तर्पाठिय बहुलरङ्ग हो । काम्बाङको यस उपन्यासले के प्रष्ट पार्छ भने खाम्योक अन्तर्पाठिय बहुलरङ्गको जालोमा व्यवस्थित रुपमा बुनिएको उपन्यास हो ।
मौलिक कृति र अमौलिक कृतिको भेद के हुन्छ ? यो प्रश्नको उत्तर जवाफकर्ताको निर्णयमा निर्भर रहन्छ। मौलिकतालाई नितान्त नयाँ भन्ने हो भने सभ्यताको इतिहासमा कसैले पनि एक्लै एकदम नयाँ आविष्कार गरेको पाइन्न। किनभने मौलिक सर्जकले पूर्व घटना र दुर्घटना, तथा सफलता र असफलताबाट प्रेरणा लिएको हुन्छ अनि आफ्नो विवेक देखाएको हुन्छ। ग्यालिलियोबाट न्यूटन तथा न्यूटनबाट आइन्स्टाइनले प्रेरणा लिए। कला र साहित्यको विकासमा पनि पहिले भएको कामको प्रेरणा फलदायी हुन्छ। शेक्सपियरको नाटकबाट परिचित भएर बालकृष्ण समले नेपाली वाङ्मयमा नाटक लेखे । यसरी अग्रज लेखकहरुको माटो, संस्कृति र सांस्कृतिक पहिचानको सङ्घर्ष र प्रवासको जीवन जस्ता विषयवस्तु लिएर मौलिक उज्यालो छर्नु, साहित्यिक ताजापन भर्नु र नविनताको सुवास फैलाउनु खाम्योकको अन्तर्पाठिय बहुलता हो जुन कसीमा जानु काम्बाङ लिम्बू सर्लक्कै खरोरुपमा उत्रिएकी छिन्।
हर एक पिढीले आफूलाई पूर्खाबाट नयाँ नयाँ कुरा सिकेर अलग्याउँछ। परिवार, विद्यालय अझ विश्वविद्यालय र साथीभाइबाट खाम्योक पात्रले धेरै कुराहरुको बोध अझ पहिचानवादी सिद्धान्तको रुपमा मूलधारका राज्यसत्ता वा सांस्कृतिक थिचोमिचोबाट ओझेलमा परेका सीमान्तकृत समुदायको भाषा, संस्कृति, संस्कार, इतिहास र अस्तित्वको उजागरलाई बोध गरेर जानु काम्बाङ लिम्बूले खाम्योक यसरी लेखिन् कि यो उपन्यास नेपाली बाङ्मयको एउटा उत्कृष्ठ मौलिक रचना बनेको छ।
बहुलरङ्गिय पूनर्लेखन
सिर्जना, स्रष्टा, मौलिकता जस्ता शब्द आधुनिक लेखनमा आएता पनि उत्तरआधुनिक बहुलरङ्गमा प्रकृति, पर्यावरण, टेक्स्ट र डिस्कोर्स जस्ता शब्दहरुको प्रधानता पाइन्छ। उत्तरआधुनिकताले त लेखनलाई पूनर्लेखनमा परिणत गरेर मात्र सन्तोष मान्छ। कथा र घटनालाई प्रत्यक्ष वा अप्रत्यक्षतवरबाट विभिन्न परिवेशमा घुसाएर लेखकले साहित्यिक पूनर्लेखनको सार्थकता देखाएका छन् । यसरी साहित्यकार जानु काम्बाङ लिम्बूद्वारा सिर्जित ‘खाम्योक‘ एक सामाजिक, सांस्कृतिक, पहिचानवादी तथा डायस्पोरिक चेतनालाई बहुलरङ्गिय पूनर्लेखन गरेको सार्थक आधुनिक नेपाली उपन्यास भएको ठहर छ किनभने उपन्यासको शिर्षक नै याक्थुङ (लिम्बू) भाषामा ‘खाम्योक‘ शब्दको अर्थ ‘माटोको पाइला‘ राख्नुले थप प्रमाणित गराउँछ।
जानु काम्बाङ लिम्बूको “खाम्योक(२०८३)” मुख्यतया: डायस्पोरिक उपन्यास हो । माटो, मूल, संस्कृति र आफ्नै भूगोल छोडेर विश्वका विभिन्न कुनामा छरिएका मानिसहरूको आन्तरिक पीडा, उनीहरूको सांस्कृतिक पहिचानको सङ्घर्ष र प्रवासको जीवनमा मातृभूमिको यादलाई मनोवैज्ञानिक रुपमा केलाउने क्रममा “खाम्योक”को जन्म भयो । यसकारण यस उपन्यासको स्वरुप र मुख्य विषयवस्तुले कृतिलाई आधुनिक बनाएको छ । माटो, संस्कृति र आफ्नै भूगोल छाडेका मानिसहरूको पीडा सङ्घर्ष र प्रवासी जीवनमा मातृभूमिको यादजस्ता आधुनिकतासम्बद्ध कैयन कुराहरुलाई जानु काम्बाङ लिम्बूले आफ्नै शैलीमा तोड्नाले काम्बाङकृत यो सिर्जनाले उत्तरआधुनिकतासम्म आफ्नो भ्रमणलाई विस्तारित गर्छ। यसको तात्पर्य यो उपन्यासले बहुलरङमा आफूलाई रङ्गाउँछ। विश्वसाहित्यमा माटो संस्कृति र सांस्कृतिक पहिचानको सङ्घर्ष तथा मातृभूमिको यादलाई विश्वसनिय बनाएर लेख्ने जुन चलन छ त्यसैको सिक्वेलको रुपमा नेपाली उपन्यास संसारमा अङ्गिकृत गर्ने काममा जानु काम्बाङ लिम्बूको पनि सहमति रहेको खाम्योक उपन्यासले प्रमाणित गर्छ।
लेखकले उपन्यासमा कथा बुन्न अन्य स्रष्टाहरुले उपयोग गरेका माओवादी परिवेश र प्रवाशलाई नै यसरी रुपान्तरण गरिन् कि आफ्नैपनामा नेपाली समाजलाई कतै तोडीन्, कतै मोडिन् । अझ बेल्जियम पुर्याएर लिम्बूवानी आन्दोलन र भाषा संस्कृतिमा यसरी ढल्काइन् अझ भनौं यसरी सोझ्याइन् कि संक्षेपमा भन्नुपर्दा पूनर्लेखनको जल्दोबल्दो दृष्टान्त पेश गरिन्। लैनसिंङ वाङदेल, लिलाबहादुर क्षेत्री तथा प्रा.डा. गोविन्दराज भट्टराई देखि हालका धर्मेन्द्र नेम्बाङ, राजकुमार राई र मनु योङहाङसम्मको उपन्यासको प्रभाव खाम्योकमा पाउन सकिन्छ। किनभने भनाइ नै छ-एउटामात्र शब्द बुझ्नु भनेको संसार बुझ्नु हो । यो उपन्यासमा एउटै शब्द “खाम्योक” पात्रमार्फत माटो र धराको महत्वलाई यति सजलरुपमा बुझाउन प्रयास गरिएको छ कि हामीलाई यथास्तिथी पठनबाट माथि उठ्न प्रेरित गर्छ। अझ काम्बाङले खाम्योकमा घट्ना, दृश्य, स्थान र पात्रमा नयाँ सम्भावना खोजेर पूनर्विस्तार गर्ने क्रममा उनले परम्परागत परिवेशलाई तोड्ने, मोड्ने, ढल्काउने र तिखार्ने जस्ता सिर्जनात्मक काम गरेकी छिन् ।

एक शसक्त आख्यानिक रङ्-खाम्योक उपन्यास
खाम्योक एक सशक्त आख्यानिक कृति भएको मेरो ठहर छ- यसको लागि मेरो तर्कहरु निम्न छन्-
अ) यो उपन्यासमा सबल्टर्न वर्ग खाम्योक अति निमुखावर्ग नायक छ । यो उपन्यासको नायक माक्सवादी सुत्र घोकेर क्रान्ति फलाक्दैन बरु विभिन्न परिवेशमा मजदुरीको जीवन बाँच्छ।
आ) उपयोग गरिएको भाषा सहज छ । विम्ब, अलङ्कारहरु उपन्यासमा सहज छन् यसर्थ सहजता र आलङकारिताको दुरी घटेको छ। ‘खाम्योक‘ (माटोको पाइला) आफैँमा एउटा शक्तिशाली प्रतीक हो, जसले मानिस जहाँ पुगे पनि उसको मूल जग र पहिचान माटोमै गाडिएको हुन्छ भन्ने दर्साउँछ। आख्यानकार काम्बाङ मूलतः कवि, गीतकार र नियात्राकार पनि भएकाले उपन्यासको भाषामा काव्यात्मकता, भावुकता र सम्प्रेषणीयता उच्च रहेको छ।
इ) काम्बाङको लेखकिय सुत्रले कृतिलाई एकत्वमा ल्याएको छ। उनी सुरुमा छिन्, अन्त्यमा छिन् । जताततै कतै दृश्य त कतै अदृश्य छिन् । लेखकलाई उपन्यासबाट बाहिर राख्ने हो भने रोला बार्थको लेखकिय मृत्यु सम्बन्धी धारणा आकृष्ठ होला परन्तु उत्तरआधुनिकतामा कुनै कुराको शाश्वतता छैन् अझ लेखकिय मृत्युसम्बन्धी अवधारणा पनि नेपालको कानुन जस्तै कतै लागु हुने कतै लागु नहुने होला । अझ अपरम्परित ढङ्गले नायकको भूमिकाको कारण उपन्यास सशक्त छ । यो उपन्यासले पाठकिय बहुलता र विखण्डनलाई समैट्दै बहुल रङ्गिन कोणमा हिडाएको छ । कृति स्वादिलो हुनुको साथै पठनप्रक्रियामा एकलता र बहुलता कतै भेटिन्छन् त कतै छुटिन्छन् । यसरी संयोजन र विभाजनको आस्वादमा पाठकलाई डोर्याउन उपन्यास सफल छ।
ई) डेरिडाको डिकन्ट्रक्सनले डीफरेन्सको, भेदको अवधारणा ल्याएमुताविक खाम्योकमा समाजका जाति, लिङ्ग र वर्ग जस्ता भेदको अस्मिता अन्तरमनबाटै जनाउन लेखक क्रियाशिल छन्। सिर्जनामा, चिन्तनमा र सिद्धान्तमा भेदिकरण सुरु भएर विवाद केहीहदसम्म उपन्यासमा चर्काइएको छ। प्रवाशमा छाक काटेर कमाएको पैसा देश पठाउने प्रवासी नेपालीको भावना र त्यो रकमको सही उपयोग नहुँदाको पीडाको कथा यसको ज्वलन्त उदाहरण हो । स्वतन्त्रता, समानता र न्यायको प्रयत्न र आतङ्कवादसित सङ्घर्ष अनि मानवताको वकालतले बहुलवादमा आस्था राखेर खाम्योक उपन्यासले उत्तरआधुनिकवादको जरो समाएको छ जसले अबको समयलाई हाक्न आधुनिकताको साँघुरो घेरालाई तोड्दै सिजनात्मक, नव्यतान्वेषी र उत्पादनात्मकता हुनुपर्ने शाश्वत सत्यलाई उपन्यासमा स्वीकारिएको छ।
बैचारिक सर्वोपरिता-पहिचानवादिय बहुलरङ्ग र जातीय/सांस्कृतिक चेतना
उपन्यासमा लेखकले पहिचानवादी सिद्धान्तको रुपमा मूलधारका राज्यसत्ता वा सांस्कृतिक थिचोमिचोबाट ओझेलमा परेका सीमान्तकृत समुदायको भाषा, संस्कृति, संस्कार, इतिहास र अस्तित्वलाई उजागर गर्दै गम्भिर पैरवी गरेकी छिन् ।
उपन्यासले पूँजिवाद, वैश्विकरण तथा व्यापारीकरण र भूमण्डलीकरणको हल्का विरोध तर धेरै समर्थन गर्छ । पूँजिवादकै कारण नायक खाम्योक बेल्जियम पुग्छ र ग्रिनकार्डको प्रयासले माक्सवादिय धुरीमा पूँजिवादको आलोचना गराउँछ।माओवादकै कारण प्रहरीको जागिर छोडेको र बेल्जियम हानिएको खाम्योकले अर्थतत्व र विचारतत्वको पौठेजोरी खेलाएको छ। माक्सवादीहरु अर्थतत्वलाई प्राथमिकतामा राखेर विचारतत्वलाई गौण मान्दै सुपरस्ट्रक्चरमा विश्वास राख्छन्। नव माक्सवादीहरु जग र भवनको वेस र सुपरस्ट्रक्चरको कठोर अर्थोडक्सीमा विश्वास राख्दैनन् । यो उपन्यासले भने सुरुमा वेसतिर ध्यान दिन्छ। अर्थतन्त्रको जिकिर गरेरै खाम्योक बेल्जियम हानिन्छ। कार्डप्राप्तिको माखेसाङ्लोमा जकडिन्छ।पछि गएर वेस र सुपरस्ट्रक्चरको अर्थात अर्थ र विचारको कडाइमा डिकन्स्ट्रक्सनको बन्चरो हान्दै लिम्बूवान विचारतत्वलाई सर्वोपरि बनाउँछ।
उपन्यासले सबैभन्दा महत्वपूर्ण कुरा याक्थुङ (लिम्बू) समुदायको सांस्कृतिक वैभव, मुन्धुमी चेतना, रहनसहन र इतिहासलाई गहिरो गरी प्रस्तुत गरेको छ। लिम्बुवान क्षेत्रको ऐतिहासिक र सामाजिक सङ्घर्ष तथा सांस्कृतिक अस्तित्व जोगाउन गरिएका प्रयासहरू उपन्यासका मूल मेरुदण्ड हुन् समयसमयमा आउने पालाम र पालाममा गुञ्जिने प्रकृति र मानवियताले यसको गम्भिर पैरवी गरेको छ। किनभने खाम्योकको पालमरुपि लोकसाहित्य लिम्बूवानी भूमिमा जन्मियो र संसारभर फैलियो । पालाम गुञ्जिंदा यसको निस्सरण स्वस्फूर्त भयो, सहजरुपमा भयो, कसले गायो सोधिएन् तर लिम्बूवानी भूमिमा यसरी फैलियो जसरी कि धर्तीमा आकाशबाट बर्षेको पानी । पालाम सिर्जना गर्दा जानु काम्बाङ लिम्बूले व्युत्पति र अभ्यासको उपयोग गरिन्, शैली र अलङ्कार मिलाइन्, छन्द र लयको तारतम्यमा ध्यान दिइन्, सुहाउँदा पात्रहरुको चयन गरिन् अझ कथाको योजना र घटनाको विकासको रेखा कोरिन् फलत: पालामरुपि लोकसिर्जना सोझै उपन्यासमा उनको अन्त:प्रेरणाबाट निसृत भयो जुन थुङ्वामुक्वा झै सङ्लो सहज एवम् छाँगा र छहरासित तालमेल राख्ने, वन र वनस्पतिसित निकट्तामा रहने भएर बहुलरङको एक रङ् पर्यावरणलाई लोकसाहित्य मार्फत दर्शाइन्।
डायस्पोरिक चेतनाको रङ र ‘नोस्टाल्जिया‘
फ्रान्सिस फुकुयामाले सन् १९९२मा इतिहासको अन्त्य र अन्तिम मान्छे कृतिमा उत्तरशित युद्धकालिन विश्वव्यवस्थाको दिशा पहिल्याए। पूजिवादी प्रजातन्त्रमा पुगेर इतिहासको अन्त्य भएको तर्कसङ्गत तादाम्यता राख्ने क्रममा भूमण्डलीकरणको विस्तार र साम्यवादको पतनपछि उदार प्रजातन्त्रको कारण जन्मभूमि छोडेर परदेशिएका मानिसहरूले भोग्ने अलगाव (पहिचानको सङ्कट) र आफ्नो माटोप्रतिको अगाध माया (नोस्टाल्जिया) लाई डायस्पोरिक साहित्यमार्फत जानु काम्बाङ लिम्बूले समेटेको उदाहरण खाम्योक हो। यो उपन्यासले यही चरणमा हन्टिङटनको राजनीतिक र आर्थिक भन्दा साँस्कृतिक सङघर्षको तिब्रताको रुपमा लिम्बूवान मुभमेन्टलाई उठाएको पाइन्छ ।
बेलायत तथा हङकङ जस्ता प्रवासमा लामो समय बिताएकी आख्यानकार काम्बाङ स्वयम् को अनुभवले उपन्यासमा जीवन्तता थपेको छ। छाक काटेर कमाएको पैसा देश पठाउने प्रवासिएका नेपालीको भावना र त्यो रकमको सही उपयोग नहुँदाको पीडालाई उपन्यासले मर्मस्पर्शी रूपमा देखाएको छ । काम्बाङले उपन्यासमा टेक्स्ट्युअल अर्थात पाठकिय मान्यता अपनाएकी छिन् ।उनले अभिप्राय र सान्दर्भिकताको रुपमा स्थानियता, कालिकता, जनजातियता र रङ्गिय दबावलाई लेखनपरक र डिस्कोर्सपरक रुपमा पेश गरेकी छिन् । अझ आफ्नो लेखनमा विम्व, प्रतिक, रुपक र अलङ्कारमा सिर्जनात्मक ध्यान दिएर इतरलाई पाखा नलगाइ काखा लिन्छिन् ।
उनको लेखन सामान्यवादी वा एकात्मवादी नभएर बहुलवादी छ किनभने उपन्यासले व्यावहारिकतामा सत्य खोजेको छ । उनको सिर्जनाले व्यवहार परिवर्तनशील भएकै कारण सत्य पनि स्थायी नभएको एवम् सत्य परिवर्तनशील भएको दर्शाएको छ। सबैभन्दा महत्वपूर्ण कुरामा हरएकमा न्यायको पहुँच होस् भन्ने कामना उनको सिर्जनाले राखेको पाइन्छ।
सिजो विश्लेषण
खुला नारीपात्रको अभावले खाम्योक एकोहोरो भयो, नारीसाहचार्यबाट उत्पन्न हुने भावोष्ण रञ्जकताले ठाउँ पाएन। यो उपन्यासको कमजोरी भनियो भने यही तथ्यता नै उपन्यासको उपलब्धि हो । उपन्यासमा फुङ्सा जस्ता प्रेमिका छिन्, आमा हाङ्मारी छिन्, घरबेटी एन्थोनी र मगर्नी छन्, गरिबहरु छन्, नेता छन्, सबै छ, अझ महत्वपूर्ण कुरा डल्लै नेपाली समाज छ। लेखकको प्रयोगशिलतामा यो लिलियमान, मायावी स्वप्निल डिस्कोर्सले हामीलाई छक्क पार्छ। खाम्योकको सपना, सामाजिकता र कलाको अनौठो सङ्गममा प्रयोगशिलता छरपष्टिन्छ। कला खाम्योकको अनुभवसित मिल्छ, सपनासित मिल्छ, समाजसित मिल्छ । यति हो नायक खाम्योकमा पौरुष कठोरता छ, बौद्धिकता छ र मेटामर्फोसिसको अद्भुत जादु छ। उनी आफू प्रहरी र बाल्यकालको छापामार साथीलाई भनौं विपरित ध्रुवलाई बेल्जियममा साथी सङ्गति बनाएर प्रष्ट्याउछन । यसरी प्रवाशमा देखेभोगेको सूचना तथा मुक्ति र स्वतन्त्रताको जोशले उपन्यास डेल्युज र गुटारीद्वारा प्रतिपादित सिजोविश्लेषणमा खुल्न इच्छुक देखिन्छ। नायकमा देखिने सिजोफ्रेनिया रोग नभएर पूँजिवादी दमनले उत्पादित मुक्तिकामी मनस्तिथीको रुपमा लिम्बूवानी भावना जन्मिन्छ। उपन्यासमा नायक बुर्जुवा यथार्थबाट, दमनकारी अहम्, पराहम् बाट र इडिपसीय टापबाट फुत्कन चाहन्छ। यसरी अभिलाषा र अचेतनलाई प्राथमिकता दिने सिजोविश्लेषणिय उत्तरआधुनिकतामा उपन्यास विचरण गर्न पुगेको छ।
डेल्युजिय सिजोबिश्लेषणमा अर्बोरेस्सेन्स र राइजोमको द्वैत उभ्याइएको हुन्छ। अर्बोरेस्सेन्स चिन्तन केन्द्रिकृत र एकिभूत हुन्छ जो कसिलोसित जकडिएको हुन्छ उता राइजोम भने अपेक्षाकृत लचिला हुन्छन्, जता जसरी पनि फैलने मान्यता राख्छन् यसको तात्पर्य उपन्यासमा बेल्जियम सरकार र नेपाल सरकारले अर्बोरेस्सेन्सको प्रतिनिधित्व गर्छन् भने खाम्योक, शैलेन्द्र, फुङसा र अनुपले राइजोमको। राइजोमको प्रतिनिधित्व गर्ने पात्रका आकाङ्क्षा, डिजायरहरुलाई उपन्यासमा क्रान्तिकारी, उत्पादक र सिर्जनात्मक देखाइएको छ।

सामाजिक यथार्थवाद र उत्तरआधुनिकतावादी रङ
आफ्नो समाजलाई, आफ्नो परिवारलाई, आफूले भोगेको सुखदु:खलाई, हेरेर, बुझेर र मनन गरेर सामाजिक यथार्थवादले समाजमा घट्ने सत्य घटना र सामाजिक-राजनीतिक परिवेशलाई जीवन्त ढङ्गले प्रस्तुत गर्छ। ‘खाम्योक’ को अर्थ ‘माटोको पाइला’ भएझैँ उपन्यासको मुख्य विषयवस्तु मानिस र उसको माटो (जन्मभूमि) बीचको अविच्छिन्न सम्बन्ध हो। उपन्यासको कथानक लिम्बुवान क्षेत्रको सामाजिक-सांस्कृतिक यथार्थ, राजनीतिक सङ्घर्ष, र यसबाट सिर्जित परिस्थितिहरूका कारण मानिसहरू प्रवासिनुपरेको बाध्यता वरिपरि घुमेको छ। यसरी यो उपन्यासले सामाजिक यथार्थवादको बहुलरङमा देश समृद्ध होस् भनेर डायस्पोरामा रहेका नेपालीहरूले छाक काटेर पठाएको पसिनाको मूल्य र त्यसको सदुपयोग/दुरुपयोगको यथार्थ कथालाई उपन्यासले उठाएको छ।
नेपालको पूर्वी भेगको क्षेत्रीय/सांस्कृतिक जनजीवन, राजनीतिक आन्दोलन र त्यसले नागरिकको व्यक्तिगत र पारिवारिक जीवनमा पारेको प्रभावलाई यसले यथार्थपरक ढङ्गमा चित्रण गरेको छ।‘खाम्योक‘ शब्दको अर्थ ‘माटोको पाइला‘ हुन्छ। माटो, मूल, संस्कृति र आफ्नै भूगोल छोडेर विश्वका विभिन्न कुनामा छरिएका मानिसहरूको आन्तरिक पीडा, उनीहरूको सांस्कृतिक पहिचानको सङ्घर्ष र प्रवासको जीवनमा मातृभूमिको यादलाई यस उपन्यासले मुख्य विषयवस्तु बनाएको छ। महिला लेखिका भएर पनि जानु काम्बाङ लिम्बूले यस उपन्यासमा निरपेक्ष रूपमा पुरुष पात्रको दृष्टिकोण र भोगाइबाट कथालाई अगाडि बढाउने साहसिक प्रयोग गरेकी छिन्।
उपन्यासका पात्रहरू एकातिर आफ्नो भूगोल, माटो र सांस्कृतिक पहिचानको सङ्घर्षमा छन् भने अर्कातिर जीवन धान्नका लागि वैदेशिक रोजगारी वा प्रवासको यात्रा गर्न बाध्य छन्। मुख्य पात्र ‘खाम्योक‘ मार्फत याक्थुङ पहिचान र सांस्कृतिक जागरणलाई जीवन्त बनाइएको छ। उपन्यासको कथा भूगोलका हिसाबले नेपालको पूर्वी लिम्बुवान क्षेत्र देखि अन्तर्राष्ट्रिय भूमिसम्म विस्तार भएको छ। स्थानीय शब्द, मुन्धुमी बिम्ब, रहनसहन, र पूर्वको जनजातीय संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरिएकाले उपन्यासमा बलियो आञ्चलिक र सांस्कृतिक सुगन्ध पाइन्छ ।
अन्तमा…
समीक्षा भनेको कुनै पनि साहित्यिक वा कलात्मक कृतिको गुण, दोष, संरचना, विषयवस्तु र प्रभावको तटस्थ एवम् विश्लेषणात्मक परीक्षण गर्नु हो।विश्व साहित्यमा अरस्तुको ‘पोएटिक्स’ लाई विश्व साहित्यकै पहिलो ठूलो समीक्षात्मक/समालोचनात्मक ग्रन्थ मानिन्छ, जहाँ उनले नाटक र काव्यको विश्लेषणात्मक समीक्षा गरेका थिए भने १८ औँ र १९ औँ शताब्दीमा पत्रपत्रिकाको विकाससँगै समीक्षा लेखन एउटा व्यावसायिक र बौद्धिक विधाका रूपमा स्थापित भयो। स्यामुअल जोन्सन, म्याथ्यु आर्नोल्ड, र टि.एस. एलियट जस्ता विद्वान्हरूले समीक्षाका मापदण्डहरू तय गरे। २० औँ शताब्दीमा औपचारिकवाद, संरचनावाद, नारीवाद, र उत्तर-संरचनावाद जस्ता सिद्धान्तहरू आएपछि समीक्षा लेखन केवल ‘मन पर्यो/परेन’ मा सीमित नरहेर गम्भीर सिद्धान्तहरूमा आधारित हुन थाल्यो।
नेपालीमा समीक्षा/समालोचनाको विकास उपन्यासको तुलनामा केही ढिलो भयो।मोतीराम भट्टले वि.सं. १९४८ मा लेखेको ‘कविभानुभक्तको जीवनचरित्र‘ बाट नेपाली साहित्यमा समीक्षा र समालोचनाको बीजारोपण भएको मानिन्छ।सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान (सुधपा)ले दार्जिलिङबाट नेपाली भाषा र साहित्यको समीक्षात्मक मूल्याङ्कन गर्दा रामकृष्ण शर्मा र डा. ईश्वर बरालहरुले नेपाली समीक्षालाई वैज्ञानिक र निर्भीक बनाए।अन्य मुख्य समालोचकहरूमा डा. वासुदेव त्रिपाठी, डा. दयाराम श्रेष्ठ, कृष्ण धराबासी र कृष्ण गौतम चर्चित भएता पनि छुटाउनै नहुने नाम याङरुपे लेखक डा. गोविन्दराज भट्टराईको हो ।उहाँले उत्तरआधुनिक समीक्षाको सुरुवात गरेर नेपाली समालोचनामा हलचल मच्चाए ।
सबल पक्षको रुपमा यो उपन्यास केवल काल्पनिक कथा मात्र नभएर याक्थुङ पहिचान, सौन्दर्यबोध र चेतनाको ऐतिहासिक दस्तावेज हो। डायस्पोरिक यथार्थको प्रस्तुतिको रुपमा यो उपन्यासमा प्रवासमा रहेका नेपालीहरूको मातृभूमिको चिन्ता र उनीहरूको वास्तविक योगदानलाई उजागर गरिएको छ। पृथक् दृष्टिबिन्दुको जिकिर गर्दै महिला आख्यानकारले पुरुष दृष्टिबिन्दुबाट सामाजिक तथा सांस्कृतिक पीडाहरूलाई विम्बमार्फत उतारेको हुनाले उपन्यास आख्यान-शिल्पका दृष्टिले विशेष छ।
कृतिमा विषयवस्तुको जटिलताको रुपमा याक्थुङ संस्कृति, मुन्धुम र क्षेत्रीय शब्दहरूबारे पूर्वज्ञान नभएका आम नेपाली पाठकका लागि कतिपय सांस्कृतिक शब्दावलीहरू बुझ्न सुरुमा केही कठिन हुन सक्छ। बोरिङ लाग्न सक्छ जस्लाई अस्वाभाविक मान्न सकिन्न। अझ उपन्यासमा खड्किएको कुरा सङ्घर्ष र निराशाको आधिक्य देखिन्छ। उपन्यासमा सांस्कृतिक सङ्घर्ष र प्रवासको पीडालाई धेरै जोड दिँदा कतिपय ठाउँमा आख्यानमा निराशावादी स्वरहरू बढी हावी भएको महसुस हुन्छ।
उपन्यासको लेआउट, साजसज्जा र छपाइमा ध्यान पुगेको भए अझ आकर्षक हुन्थ्यो । पहिलो पटक प्राप्त कृतिमा त १६ पृष्ठ मिस हुनु र ८, ८ पृष्ठ खाली हुनुले प्रेसको हदैसम्मको लापरबाही देखियो । छ, छवटा पुस्तक प्रकाशन गरिसकेको लेखकको कृतिलाई प्रकाशक मुलबाटो प्रकाशनले आवरण डिजाइन र छपाइको प्रेस छनौटमा कमजोरी नगरेको भए उचित हुने थियो । लेखक विदेशमा भएता पनि प्रकाशन संस्थाले सम्पादन र प्रुफ हेर्ने कामलाई अझ परिस्कृत बनाउन सकिन्थ्यो ।
जानु काम्बाङ लिम्बूको ‘खाम्योक‘ नेपाली आख्यान साहित्यमा पहिचानवादी, सांस्कृतिक र डायस्पोरिक धारालाई थप समृद्ध बनाउने एक सशक्त उपन्यास हो। माटो, संस्कृति, राजनीति र प्रवासको बहुआयामिक सम्बन्धलाई एउटै धागोमा बुन्न सफलता मिलेकाले यो उपन्यास पहिचान, जातीय चेतना र डायस्पोरिक साहित्यमा रुचि राख्ने पाठकहरूका लागि एक सङ्ग्रहणीय र पठनीय कृति बनेको छ। लेखकको कलमबाट अझै सशक्त उपन्यासहरुको अपेक्षा नेपाली बाङमयले गरेको छ। सेवारो ।
-हिलिहाङ-३, कुर्लुम्बा पाँचथर । हाल-अर्जुनधारा-११, हिलिहाङ मार्ग, झापा।








प्रतिक्रिया