कविता- तिम्रो तस्विर
भूकम्प आउँदा
फ्रेम फुटेर झर्ला तिम्रो तस्विर
अनि दविएला खण्डहर मन्तिर ।
हुरी चलेर त्यही तस्विर उडाउला
पहिरोले त्यही तस्विर लुकाउला
बाढी आएर बगाउला किनारातिर ।
बर्षा झमझम वर्षिएर
त्यही तिम्रो तस्विर भिजाउला ।
आँधी थर्थराउँदै भयङ्कर मेघले
तिम्रो तस्विरमा असिना फिंजाउला ।
चट्याङले लगाउला झिल्का तिम्रो तस्विर
ज्वालामुखीले पूर्वतिर मिल्का तिम्रो तस्विर
सुनामीको लहरमा खिल्का तिम्रो तस्विर
यदि प्रलय आएछ भने
भानुभक्त जोगाउलान रामायणलाई
देवकोटा जोगाउलान मुनामदनलाई
काँहिँला जोगाउलान मुन्धुमलाई
तर कसैले बचाउने छैन तिम्रो तस्विरलाई ।
कोही जोगाउलान् सगरमाथा
कोशी काबेली बेग्लै,
कोही जोगाउला नेपाल प्रलयमाझ टेक्दै
कवि कवितासङग्रह जोगाउला प्रलयको कविता लेख्दै,
म भिड्नेछु एक्लै-एक्लै
केवल बचाउन तिम्रो तस्विरलाई ।
-हिलिहाङ मार्ग, अर्जुनधारा-११, झापा








प्रतिक्रिया