कविता -नानाको प्रेमप्रस्ताव
तिमीले भन्यौ-म प्रेम गर्छु ।
अनि थप्यौ- फ्रायड मात्र कहाँ हो र ?
रुसोको क्यानभाषमा
समेत म तिम्रो रङ भर्छु ।
तिम्रो हुन सकिन भने
कसम म ठहरै मर्छु ।
थाहै नदिइ तिम्रो जोवनमा
म आफ्नो सुगन्ध भर्छु ।
तिम्रो दिलमा म सुटुक्कै डेरा सर्छु ।
प्रेमको फूलबारीमा हजारौं गुलाफको फूल छर्छु ।
पत्याएँ मैले
अनि उधारेर हृदय दिएँ तिमीलाई ।
सुम्निमा मेरो भन्दै
उध्रिएको छाती फेरि सिएँ तिमीलाई ।
तर तिमीले मेरो पारुहाङ मुटुलाई कुल्चाएर हिड्यौ ।
तिम्रो मृगतृष्णा पूरा भएपछि
मेरो मायालाई रद्धि टोकरीमा मिल्काएर हिड्यौ ।
तिमीले मलाई त्यागे पनि
मेरो संसारमा आफ्नो पाइला टेकेकै छु ।
ओत बनेर परिवारको
आँधीबेहरी, घामपानी छेकेकै छु ।
शिशिरमा झर्ने पात पनि
वसन्तमा पलाएको देखेकै छु ।
के सम्झेर हो खै कुन्नि ?
फेरि प्रेमप्रस्ताव पठाइछौं नाना !
म अर्कैको भइसकेको छु, तिमीलाई शुभकामना !!
प्रकाशित मिति :
२१ चैत्र २०८२, शनिबार १२ :
१२ बजे
प्रतिक्रिया