यथार्थका पाखामा फुलेको ‘सेक्मुरी फूल’
बलराम वालाखाम राई
’शब्दहरूमा भूमिको गन्ध, जनजीवनको सुस्केरा र परम्पराका धड्कनहरू
मनु योङहाङ एक नाम, जसको लेखमा नेपाली समाजको गहिरो आत्मा धड्किन्छ । उहाँ मूलतः सामाजिक यथार्थका सर्जक मात्र होइन, सांस्कृतिक संवेदनाका मूर्त साधक पनि हुनुहुन्छ । उहाँका शब्दहरूमा भूमिको गन्ध, जनजीवनको सुस्केरा र परम्पराका धड्कनहरू सजीव हुन्छन् ।
ऐतिहासिक बहुलताको दस्तावेज
नेपालजस्तो विविधरङ्गी समाजको बहुसांस्कृतिक धरातलमा उभिएर उहाँले सिर्जना गरेका आख्यानहरू हाम्रो ऐतिहासिक बहुलताको दस्तावेज जस्ता लाग्छन् । मनु योङहाङको लेखमा मिथकहरू केवल सुनेर बिर्सिने कथा होइनन् ती जीवन्त सन्देश हुन् जसले हाम्रो पहिचान, आस्था र अस्तित्वलाई नयाँ दृष्टिमा पुनः व्याख्या गर्छ । उहाँका शब्दहरूमा मिथक र यथार्थको सौम्य संवाद हुन्छ जसले पाठकलाई सोचको नवीन संसारमा डुबाउँछ ।
यसै सन्दर्भमा, वि.सं. २०८२ सालको बडादशैंको पावन अवसरमा झापाको सुरूङ्गामा भेट हुँदा उहाँद्वारा लेखिएको उपन्यास “सेक्मुरी फूल” को विमोचन गर्ने सुअवसर पाउँदा, मेरो अन्तरमन गर्व, उल्लास र साहित्यिक अनुरागले भरियो । त्यो क्षण केवल औपचारिक कार्यक्रम थिएन—जस्तो लाग्थ्यो, मुन्धुमका देवताहरू नै साक्षी भएर उपस्थित छन् र शब्दहरू मुन्धुमका ध्वनीमा गुञ्जिरहेका छन् ।
जीवनका मूल्य, मान्यता र अनुभूति
“सेक्मुरी फूल” केवल उपन्यास होइन, यो एक दर्शन हो—एक आत्मसंवाद, जहाँ किरात मुन्धुम र बौद्ध चिन्तन एकै धारामा बग्दछन् । यस कृतिमा जीवनका मूल्य र मान्यता केवल उपदेशका रूपमा होइन, अनुभूतिका रूपमा प्रस्तुत छन्। मनु योङहाङको कलमले मुन्धुमलाई आधुनिक चेतनासँग संवाद गराउँछ र त्यस संवादभित्र मानवीय अस्तित्वको सुगन्ध फुलाउँछ—सेक्मुरी फूलझैँ, जसको रङ्ग पनि सौन्दर्य हो र सुवास पनि अनुभूति ।
यथार्थ, मिथक र दर्शनले मिलेर मानवताको सुगन्ध
यो कृति पढ्दा लाग्छ—शब्दहरू चलिरहेका छैनन्, बरु फुलिरहेका छन्; कथा सुनाइरहेको छैन, बरु जीवनको अर्थ सम्झाइरहेको छ । “सेक्मुरी फूल” त्यो साहित्यिक बगैँचा हो, जहाँ यथार्थ, मिथक र दर्शनले मिलेर मानवताको सुगन्ध फैलाएका छन् ।
युगको आवाज, मुन्धुमको गहिरो प्रतिध्वनि
मनु योङहाङ—एक त्यस्ता स्रष्टा जसका शब्दहरूले समाजको माटो, आत्माको वेदना र चेतनाको प्रकाशलाई एकै सूत्रमा बाँधिदिन्छन् । उहाँको लेखमा युगको आवाज सुनिन्छ र त्यो आवाजमा मुन्धुमको गहिरो प्रतिध्वनि झल्किरहेकाे आभास हुन्छ ।








प्रतिक्रिया