कविता
रातो ताराको आवश्यकता
लेकाली कान्छा मुक्कुम
अन्धाको आँखा खोल्दिने
लाटाको कुरा बोल्दिने ए रातो तारा!
तिमी फेरि पनि झुल्किदेउ यी लम्किरहेका भ्रमको रातहरुमाथि
तिमी कुल्चिदेउ हिजै झरिसकेर पनि हावाले उचाल्दै गरेको पातहरुमाथि
बुद्धको कविताले त उडिरहेकै चीलहरुमात्र उँडाइरह्यो
ए यसोधारा बन्धन्को चराहरु फुकाइदेउ
नजुध आफू-आफू ए बिचराहरु
बरु
तिमीहरुलाई बाँध्ने दास्वत्वको कीला दाम्लो चुँडाइदेउ
ए चराहरु हो श्रीपेचले लुटेको प्वाँखहरु खोसेर दरबारको छानामाथि उँडिदेउ
बाजको निषेधित क्षेत्रमा कुदिदेउ
त्यो रातो ताराको आकाश कति फराकिलो छ
जहाँ मुक्कुट फुल्दैन माया फुल्दछ
अब रातो ताराले ग्रहणहरुको एकिकरण भत्काएर
बादलको साम्राज्य हटाएर
साझा फूलबारी बुन्दै जानेछ
यथास्थितिवादको तरबारले छिनाएका फूलहरु करुणाको मालामा उन्दैजानेछ
समावेशीवाद फुलाउनेछ
समृद्धिको सुगन्ध डुलाउनेछ
जूनले पनि जुनकीरीसँग उज्यालो घुलाउनेछ
यो दुईसय पचासबर्षे एकल रङ्गीय कालो पानाहरुमा
आफ्नो लेजर लाइटले लेख्नेछ
बहुलरङ्गीय इन्द्रेणी कविता
जहाँबाट कृ्ष्णसेन इच्छुकको सपना मगमगाउनेछ
अहिलेसम्म ठुस्किएर बसेको
राष्ट्र झणडाले पनि खुशी फहराउनेछ
त्यसैले म फेरि एकपटक आग्रह गरिरहेछु
अन्धाको आँखा खोल्दिने
लाटाको कुरा बोल्दिने
ए रातो तरा! तिमी झुल्किदेउ
यो लम्किरहेको भ्रमको रातहरुमाथि
हिजै झरिसकेर पनि हावाले उचाल्दै गरेको पातहरुमाथि
(पोइट आइडलबाट चर्चा कमाएका कवि लेकाली कान्छा मुक्कुमको एक वजनदार कविता जहाँ आशा र सम्भावना खोजिएको छ ।)








प्रतिक्रिया