५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कवि हाङओजा थेगिमको कवितासङग्रह-“रातसँगै पलाएको सपना”लाई बहुलरङबाट हेर्दा



कवि हाङओजा थेगिमको कवितासङग्रह-“रातसँगै पलाएको सपना”लाई बहुलरङबाट हेर्दा

               -मनु योङहाङ, स्कलर, नेपाल खुला विश्वविद्यालय, समाजशास्त्र विभाग

 

शब्प्दहरुको नविनतम प्रयोग-पोष्टमोर्डनिज्म

कवि हाङओजा थेगिम नेपाली कविताको क्षेत्रमा एक परिचित नाम हो । देशविदेशका पाठकहरुमाझ विभिन्न पत्रपत्रिकामार्फत सम्वत् २०४५ सालदेखि नै परिचित उनै प्रिय लेखक हाल सम्वत् २०४५ सालदेखि २०८२ सालसम्मका ३७ वर्षिय कालखण्डमा सिर्जित विभिन्न २६ थान कविताको सङ्ग्रह “रातसँगै पलाएको सपना” लिएर आउनु भएको छ । चालिसको दशकको ८, पचासको दशकको ९, साठीको दशकको ३ र समय नखुलाएको ६ गरि २६ थान कविता समेटिएको कविताले काव्यचेतबाट पाठकहरुलाई सचेत गराउँछन् । पाँचथर, फिदिमका पत्रपत्रिकामा प्रकाशित ८, राजधानी लगायत बागमतीका पत्रपत्रिकामा प्रकाशित ८, अप्रकाशित ५ तथा इलाम, झापा, मोरङ र सिक्किमका पत्रपत्रिकामा प्रकाशित कविताहरुको सङग्रहले समसामयिक परिवेशलाई सटिक र चोटिलो रुपमा सम्बोधन गर्छन् । क्षमतावान कवि थेगिमका कविताहरुमा प्रयोगशिलता, सिर्जना र विभिन्न भावनात्मक संयोजनले कवितामा विशिष्ट पहिचान प्रष्टिन्छ । शब्दकोषमा नभेटिने नयाँ शब्दहरु प्रयोगले उहाँको कवितामा रहेको प्रयोगशिलताको तात्पर्य प्रष्ट्याँउँछ । प्रयोगशिलताको तात्पर्य नयाँ हुनु हो, अग्रगमन बनाउनु हो, संकेतहरुको नयाँ श्रृङखला बनाउनु हो । यसको अर्थ कवि थेगिमका कविताहरुले सिधै उत्तरआधुनिकताभित्रको बहुलरङ्गवादलाई संकेत गर्छ ।

 स्थानियताको रङ्-  सिर्जनात्मक पाठकको खोजी

 “रातसँगै पलाएको सपना” कवितासङ्ग्रह पढ्दा कवि थेगिमको सिर्जनामा यस्तो उर्वर चेतको साथै भावनात्मक खँदिलोपना भेटिन्छ कि पाठकहरुसँग पौठेजोरी खेलाउने चमत्कारिक बुटि छ, जादु छ, टुना छ । रोला बर्थको शब्दलाई सापटी लिने हो भने “रातसङ्गै पलाएको सपनामा” उनिएका कविताका थुङ्गाहरुले पाठकमा यस्तो लेखनिय भावना जन्माउँछ कि जस्को पठन ती अध्येताहरुले गर्छन् जो हाङओजा थेगिम जस्तै सिर्जनात्मक क्षमतावान छन्, आविष्कारक चेतनाले शसक्त छन् ।

गीतीसङ्ग्रह, गजलसङ्ग्रह र कवितासङ्ग्रह जस्ता साहित्यिक कृतिहरुको पठ्नले पाठकमा विभिन्न अवधारणा, विचार र मान्यताहरु जन्माउँछ । स्थानियता, लैङ्गिकता र प्रयोग जस्ता बहुलताका रङ्गहरु थेगिमका कवितासङ्ग्रहमा छताछुल्ल छरिएका छन् । बहुल रङ्गवादका सुन्दर रङहरु स्थानियता, लैङ्गिकता र प्रयोगता प्रचुरमात्रामा भएको देखिन्छ । कवि थेगिमको प्रयोगमा आधुनिकता र उत्तर आधुनिकता दुवैको समर्थन रहेको पाइन्छ । स्थानियता, लैङ्गिकता, समावेशिता र सिमान्तकृतहरुको आव्हनमा आधुनिकता भन्दा उत्तरआधुनिकता बढि देखिन्छ । पिछडिएकाहरु, पछि पारिएकाहरु र सिमान्तकृतहरुको सहानुभूति“मित्रलाई एउटा पत्र”कवितामा यसरी छर्लङ्गिन्छ-

म गाँउमा बस्ने हाङओजा, तिमी शहरमा बस्ने प्रेम ओझा

     सुन बिसाउने र नुन बिसाउनेलाई एउटै भन्न सकिन्न है । 

बहुलरङ्गवादको शक्तिशाली रङ्ग-थेगिमपना

लिम्बू भाषामा थेगिम शब्दले बाँसको चोयाको काम गर्ने जनाउछ ।  पाठकिय विचारबाट हेर्दा कवि थेगिम कवितामार्फत चोयाले भकारी बुने झैं पाठकहरुलाई काव्यरसले बुनेर राख्ने सामर्थ्य राख्दै शब्दकोषमा समेत नपाइने नयाँ शब्दहरुको प्रयोगबाट परर्म्परागत व्याकरणमा विचलित बनाएर सिग्निफायरिय विशेषतामा रङ्गाउन सफल छन् । स्पष्ट शब्दहरुको रङमा रङ्गाउदै आफ्नै थेगिम शैली अपनाउँछन् । शब्द र अर्थको जुधाजुधलाई यसरी रङ्गाउछन् कि उहाँको कविता पढ्दा जीवनको रङ्ग स्पस्ट देख्न सकिन्छ- जस्तै “चट्याङ” कवितामा उनी भन्छन्-

मेरो लागि त चट्याङ एउटा विकासको लहर हो ।

कवितालाई उत्कृष्ठ बनाउन थेगिमले शब्द संगठनमा कुशलता, प्रतिक र विम्बहरुको लगानमा उत्कृष्ठता एवम् बेमिल्दा उपादानहरुलाई मिलाएर नब्यता बिउझाउँदै आफ्नै थेगिमपना जाहेर गरेका छन् । सङ्ग्रहको शिर्षकविता”रातसंगै पलाएको सपना” जस्तो यथार्थतालाई लेखकले सुन्दर शब्दगत र अर्थगत उभयस्तरमा उपस्थित भइ बोधको उर्वर लाक्षणिकतालाई विस्तारित गरेका छन् । स्थानियता, परम्परागत तथा मौलिकतामा मुछिएको वर्णनको पुरानो शैलीलाई टपक्क टिपिएको र सांकेतिकतामा फैलिएको कविको सुन्दर सिर्जनाले पाठकहरुमा नविन आश्वादता गराउन सफल छन् जुन् “याङनाम लाजे” कवितामा यसरी झल्किन्छ-

जब देवमायाले याङनाममा मूजोलुङ खेजोलुङको पूजा गर्न थाल्छन् ।

मनकुमारी र ओजाहाङ माङगेन्ना गर्न थाल्छन् ।

पर्यावरणिय चेत- उत्तरआधुनिक बहुल रङ्ग

याङनाम, फिदिम तथा लिम्बूवानको सेरोफेरोमा स्थानिय परम्परा तथा साँस्कृतिक सम्पदा र पर्यावरणको सचेतता एवम् पर्यावरणको चोटिलो चेत थेगिमको कवितामा पाइन्छ-उनी “नयाँ वर्ष” कवितामा यसरी चेताउछन्-

गुराँसका फूलहरु मुक्कुमलुङको छातिभरि ढालिए ।

विश्वासको खातमा अविश्वासको लात हानिए ।

थेगिमको कवितामा पाइने साँस्कृतिक, ऐतिहासिक तथा मिथकिय विम्बले कवितालाई यस्तो बनाएको छ-मानौ तिनजुरेको पहाडमा लालीगुराँस ढकमक्क फूलेका छन् । सिरफूल, ढुङ्ग्री, चुच्चे बुलाकी, चन्द्रहार, कण्ठले सजिएकी थुङ्वामुक्वा लिम्बुनीलाई सौन्दर्यको चम्किलो आभा दिएको छ ।

कविको आयाम मौलिकता र स्थानियतामा मात्र सिमित छैन बरु अक्करे भिर, अरब, वासिङगटन, कुतुवमिनार र आइफल टावर सम्म विचरण गर्न भ्याएका छन् । थेगिम मुन्धुमी वयान, राष्ट्रिय स्वाभिमानका साथ एलियन, एष्ट्रोइड र एल्गोरिदम जस्ता आधुनिकताको विम्वरचनामा सयर गर्न पुगेका छन् । कवि “याङनाम लाजे” कवितामा यसरी सयर गर्छन्-

एलियनहरु पनि पृथ्वीमा आउन सक्छन् ।

एष्ट्रोइड पृथ्वीमा ठोकियो भने

हे भगवान ! एल्गोरिदमले यो सुचना नपठाओस् ।

राजनीतिक दुरवस्था, स्वार्थपरायण नेता तथा विजेताहरुलाई कसिलो व्यंङ्य थेगिमले खेताला कवितामा ठोकेका छन् । सामाजिक आयाम राखेर पनि साहचर्य र सहसंयोजनको शिल्पमा बोल्दै थेगिमका कविताले बहुल रङ्गवादको एउटा प्रयोगशिलतालाई उजागर गरेका छन् यसरी- “आवाजको खोजी” कवितामा-मानव अधिकारको बाँसुरीका सुरिलो आवाज ।

बहुलरङ्गवादको अर्को रङ्ग- नारीवाद

पोष्टमोर्डनिज्मको एक आयाम बहुल रङ्गवादको अर्को आकर्षक रङ्ग नारीवादको झल्को “आफै आफैलाई खोजिरहेछु” मा स्पष्ट देखिन्छ । नारीवादको सन्दर्भमा आमामार्फत सम्पूर्ण पिंडित नारीहरुको प्रतिनिधित्वमात्र कविले गराएका छैनन् बरु थेगिम आफैले सिमान्तकृतलाई झल्काएका छन् । नेपालमा जतिपनि आन्दोलन भए तिनले किन्चित पनि ठूलाठालुहरुलाई छोएन बरु छोयो शवषित, पिडित र सिमान्तकृतलाई । बहुलरङ्गवादको अर्को आकर्षक रङ्ग पिछडिएको र सिमान्तकृतको स्वरुपमा “खेताला” कवितामा लेखिएको छ ।  यसरी नै आमालाई समग्र नारीको प्रतिनिधित्व गराउँदै “साँध मिच्दै, सँघार कुल्चदै” कवितामा थेगिम वर्तमान नेपालीको पिडाको कथा भन्छन् । एकातिर वैदेशिक रोजगारी, रेमिट्यान्समा बाँचेको नेपाली अर्थव्यवस्थाको यथार्थता र अर्कोतिर देशमा हुने भ्रष्टाचार शोषणको कुरुप मुहारलाई कवितामा खुलाउदै थेगिमले आफूलाई प्रवक्ता बनाएका छन् । उनको रुमानी भावनाले नेपाली पिंडालाई चित्रण गर्दै उज्यालो भविष्यको सपना देखाउँछ ।

बहुलरङगवादको अर्को रङ पर्यावरण जस्लाई परिचित गराउने काम नेइसले गरे यही अवधारणानुसार प्रदुषणको विरुद्धमा आवाज बुलन्द गराउदै थेगिम आफ्नो कविता”अनुत्खलित लिउन“मा बताउँछन-

विहङ्गम मरुभूमिमा मौसमी पानी पर्न दिनु ।

एकत्ववाद

उत्तरआधुनिकतालाई साँघुरो परिधिमा हेर्नु बाञ्छनिय हुँदैन । पान्थरे विचारक धर्मेन्द्र विक्रम नेम्बाङको नयाँ दर्शन बहुलरङ्गवादले यही उत्तर आधुनिकवादलाई सहजै अङ्गिकार गर्छ । यो एकत्ववादको विरोधी हो तर के बहुलरङ्गवादमा एकत्ववाद छैन त ?  बहुलरङ्गवादमा एकत्ववादको आफ्नै रङ छ, आफ्नै रुप छ, विशेषता छ । हाङओजा थेगिम आत्मिक उर्जावान रुमानी कवि हुन् । उनी पर्यावरणवादमा जीवनसङघर्षमय मानविय एकत्वको रङ “म एउटा छोरो मान्छे” कवितामा यसरी रङ्गाउछन्-

जताततै वनभित्र फूलिरहन्छु अमर म एउटा छोरो मान्छे ।

उत्तरआधुनिकवादिय बहुलरङ्गिन पूनर्लेखन

सिर्जना र आविस्कार आधुनिक लेखनमा पाइन्छ भने उत्तरसंरचनावाद र उत्तरआधुनिकवादमा लेखन टेक्स्ट र डिस्कोर्समा केन्द्रित हुन्छ । उत्तरआधुनिकता भनेकै लेखनलाई पूनर्लेखन गर्नु हो । “रातसङ्गै पलाएको सपना” कवितासङ्ग्रहमा थेगिम बहुलरङमा प्रचलित शब्द र वाक्यहरुलाई कतै रुपान्तरण गर्छन् त कतै तोड्छन् । कतै मोड्छन्, कतै ढल्काउछन् कतै सोझ्याउछन्, कतै लम्व्याउँछन् त कतै छोट्याउछन्, कतै तिखार्छन् । यसरी उनी शब्दहरुलाई वाक्यहरुलाई उत्तरआधुनिकवादको बहुलरङ्गिन पूनर्लेखन गरेर मिठासपूर्ण बनाउछन् । यसकारण हाङओजा थेगिमको यो कविता सङ्ग्रहले हामीलाई यथास्तिथीवादी पठनबाट माथि उठ्न घच्घच्याउँछ । घटना, दृश्य र पात्रमा नयाँ सम्भावना खोजेर, पूनर्विस्तार गर्ने क्रममा शब्द र वाक्यलाई तोड्ने, मोड्ने, ढल्काउने र तिखार्ने जस्ता सिर्जनात्मक कार्यहरुको बहुलरङ्गिय प्रयोग थेगिमले कवितासङ्ग्रहमा गरेका छन् ।

विनिर्माणको उत्कृष्ठ दृश्टान्त

कवितासङग्रह डिकन्स्ट्रक्सनको, विसङ्घटनको, विनिर्माणको दृश्टान्त भएर आएको छ । कविताको परम्परागत शैली छन्द र पद्यरचना साथै लामो लामो गद्यसंरचनालाई केही हदसम्म तोड्नाले आफैमा उत्तरआधुनिकवादको एक रंग बहुलतावाद स्थापित भएको छ ।

छन्द र पद्यरचना साथै लामो लामो गद्यसंरचना जुन एकनिष्ठ र रेखिय प्रणाली अपनाएर लेखिन्थे तर “रातसङ्गै पलाएको सपना” भने न त एकनिष्ठ छ न त रेखिय नै तर यो त बहुलरङ्गिय कोलाजिय कवितासङ्ग्रह हो । एकत्वबाट नियोजित नभइ बहुलरङ्गको संयोजन, बहुलरुपि भएकै कारण टेक्स्ट खुल्ला छ । सुरुबाट नै पढ्नुपर्छ भन्ने छैन विभिन्न ढोकाबाट हामी पस्न र निस्कन सक्छौं । यसकारण विधागत डिकन्स्ट्रक्सनको “रातसङ्गै पलाएको सपना“अनुपम उदाहरण हो । कविता पढ्दै जाँदा कतै हामी इतिहासमा पुग्छौं, कतै भूगोलमा रमाउछौं । कतै हामी मुन्धुम सुन्छौं त कतै अर्थशास्त्र, दर्शनशास्त्र तथा सिङ्गो समाजशास्त्र पढ्छौं । उत्तरआधुनिक बहुलरङ्गवादी मिश्रणकलाको यो राम्रो दृश्टान्त हो ।

समिक्षा भनेको सबल र दुर्वल दुवैपक्षको सन्तुलित हेराइ हो । यो कवितासङ्ग्रह साठीकै दशकमा प्रकाशित भएको भए यसको र कवि थेगिमको आफ्नै स्थान र पहिचान स्थापित हुन्थ्यो । कवितामा नयाँनयाँ प्रयोगहरु भइसकेका छन् । यही सन्दर्भमा सङ्ग्रहमा सङ्ग्रहित केही कविताहरु अपेक्षाविपरित लम्बेतान तन्काइएका छन् । सायद शब्दहरुलाई मथ्ने क्रममा होला केही कठिन र नयाँ शब्दहरुको प्रयोग गरिएकोमा अनावश्यक प्रयोग नगरी सरल शब्दहरु राख्नसकिएको भए कविताले अझै उचाइ लिन सक्थ्यो । थोरै शुद्धाशुद्धी, सम्पादन तथा फ्रन्ट र लेआउट जस्ता प्रविधिक पक्षमा ध्यान पुगेको भए अझै उत्तम हुने थियो । अन्तमा धर्मेन्द्रविक्रम नेम्बाङकै शब्द सापटी लिंदा नेपाली कविताबजारमा बजार हल्लाउन सक्ने तागत भएको एक सशक्त कवि हाङओजा थेगिम तथा प्रकाशक जसमाया जवेगुले पठनिय पुस्तक ल्याउनुभएकोमा उहाँहरुप्रति धन्यवाद । कवितासङ्ग्रहको सफलताको कामना ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज