१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व



बलराम वालाखाम राई

विषय प्रवेश:

आजको दिन सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी केवल एउटा धार्मिक अनुष्ठान मात्र होइन; यो ज्ञान, विवेक, संस्कार र सृजनात्मक चेतनाको पुनर्जागरण गर्ने पावन अवसर हो । शिशिरको जाडो क्रमशः विदा हुँदै प्रकृतिले हरियालीको संकेत दिन थालेको यस वसन्तकालीन दिनमा मानवीय चेतनाले पनि नयाँ प्रकाश खोजिरहेको अनुभूति गराउँछ । हिन्दू दर्शन अनुसार आजकै दिन ज्ञान, विद्या, संगीत, कला र वाणीकी अधिष्ठात्री देवी सरस्वती को प्रादुर्भाव भएको मानिन्छ । सेतो वस्त्र, श्वेत कमल आशन, वीणा र पुस्तक धारण गरेकी सरस्वती देवीको प्रतिमा स्वयंमा गहिरो तात्त्विक सन्देश बोकेको छ-शुद्धता, सन्तुलन, अनुशासन र बौद्धिक तेजस्विता । सेतो रंग अज्ञानताको अन्धकारमाथि ज्ञानको उज्यालो फैलिनु हो भने वीणाको मधुर ध्वनि जीवनमा आवश्यक सन्तुलन र लयको प्रतीक हो ।

धार्मिक दृष्टि

सरस्वती पूजा मानिसको अन्तःकरण शुद्ध बनाउँदै सत्य, सद्बुद्धि र विवेकको मार्गतर्फ उन्मुख गराउने साधना हो । अक्षरारम्भ, पुस्तक पूजा, वाद्ययन्त्र र कलासँग सम्बन्धित सामग्रीको पूजनले ज्ञान केवल संग्रह गर्ने वस्तु होइन, साधना र आचरणमार्फत जीवनमा उतारिनुपर्ने मूल्य हो भन्ने बोध गराउँछ । यही कारण विद्यार्थी, शिक्षक, कलाकार र साधकहरूका लागि यो दिन विशेष महत्वको हुन्छ ।

तात्त्विक दृष्टिकोण :

ज्ञान र जिम्मेवारी तात्त्विक रूपमा हेर्दा वसन्त पञ्चमी अज्ञान, जडता र अन्धविश्वासमाथि प्रश्न उठाउने पर्व हो । सरस्वती केवल देवीको रूप मात्र होइनन्; उनी मानव चेतनाभित्र रहेको विवेक, तर्क र सृजनशीलताको प्रतीक हुन् । आजको समाजमा जब सूचना प्रशस्त छ तर विवेक अभाव देखिन्छ, तब सरस्वती पूजाले ज्ञानसँगै नैतिकता, जिम्मेवारी र मानवीय संवेदनाको आवश्यकता स्मरण गराउँछ । ज्ञान यदि अहंकारको साधन बन्यो भने समाज अन्धकारतर्फ जान्छ; तर ज्ञान यदि सेवा, न्याय र मानवीय कल्याणसँग जोडियो भने सभ्यता उचाइतर्फ उक्लिन्छ । यही सन्तुलनको सन्देश सरस्वती दर्शनको मूल तत्त्व हो ।

समसामयिक सन्दर्भ:

आजको डिजिटल युगमा पुस्तक भन्दा स्क्रिन हावी हुँदै गइरहेको बेला सरस्वती पूजाले हामीलाई प्रश्न सोध्ने गर्दछ-हामी सूचना त बटुलिरहेका छौँ, तर विवेक पनि निर्माण गरिरहेका छौँ कि छैनौँ ? वाणी स्वतन्त्र छ तर उत्तरदायी छ कि छैन ? यही आत्मपरीक्षण नै वसन्त पञ्चमीको सार हो।

अन्त्यमा निष्कर्ष:

वसन्त पञ्चमी प्रकृतिको पुनर्जागरणसँगै मानवीय चेतनाको जागरणको पर्व हो । यो दिन केवल फूल चढाउने, पुस्तक पूज्ने दिन होइन; अज्ञान त्यागेर विवेक अपनाउने, कटु वाणी परित्याग गरी शिष्ट संवाद अँगाल्ने र ज्ञानलाई जीवनको नैतिक मेरुदण्ड बनाउने संकल्प गर्ने दिन हो । सरस्वती पूजा वास्तवमा आत्मबोधको पूजा हो, जहाँ ज्ञान दीप बनेर मानव जीवनको अन्धकार चिर्दै उज्यालो फैलाउँछ । यसै उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूमा वसन्त पञ्चमीको हार्दिक शुभकामनाका साथै ज्ञान, विवेक र संस्कारले हाम्रो समाज उज्यालो बनाओस् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ५८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको