१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु



-बलराम वालाखाम राई

विषयप्रवेश

नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र व्यापारिक केन्द्रको रूपमा चिनिने विराटनगर आज विकास र समृद्धिको उज्यालोभन्दा बढी अव्यवस्था र उपेक्षाको बाक्लो हुस्सुमा हराइरहेको छ । देशको पूर्वी प्रवेशद्वारका रूपमा रहेको विराटनगर विमानस्थल विगत केही दिनदेखि लगातार देखिएको बाक्लो कुहिरोका कारण ठप्पप्रायः बनेपछि सयौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । तर यो समस्या केवल मौसमजन्य मात्र होइन, यो राज्यको दीर्घकालीन लापरवाही, कमजोर पूर्वतयारी र यात्रुमैत्री सोचको अभावको प्रत्यक्ष परिणाम हो ।

के भन्छ प्राधिकरण ?

नागरिक उड्डयन प्राधिकरणका अनुसार विराटनगर विमानस्थलमा सुरक्षित उडान–अवतरणका लागि न्यूनतम १६०० मिटर दृश्यता आवश्यक पर्छ । तर हिउँदयाममा पूर्वी तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने यथार्थ नयाँ होइन । वर्षौँदेखि बिहानको समयमा दृश्यता ६००–८०० मिटरमा सीमित हुने अवस्था दोहोरिँदै आएको छ । प्रायः दिउँसो ११–१२ बजेपछि मात्र मौसम केही खुल्ने भए पनि त्यसअनुसार उडान तालिका लचिलो बनाउने, समय पुनःसमायोजन गर्ने वा यात्रुलाई अग्रिम सूचना दिने व्यवस्था अझै प्रभावकारी बन्न सकेको छैन । यसको प्रत्यक्ष असर विराटनगर मात्र होइन, धरान, इटहरी, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमदेखि मध्य कोशी क्षेत्रसम्म फैलिएको छ । उपचारका लागि काठमाडौँ जानुपर्ने बिरामी, परीक्षा दिन जाने विद्यार्थी, व्यवसायिक बैठकका लागि हिँडेका व्यापारी तथा अत्यावश्यक काममा निस्किएका सर्वसाधारण घण्टौँसम्म विमान स्थलमा अनिश्चित प्रतीक्षामा बस्न बाध्य छन् । न उडानको सुनिश्चित समय, न स्पष्ट जानकारी, न त वैकल्पिक व्यवस्थापन- यही अन्योल नै यात्रुका लागि सबैभन्दा ठूलो सास्ती बनेको छ ।

विडम्बना के छ भने यस्तो अवस्थामा यात्रुलाई सहजीकरण गर्ने कुनै संयन्त्र प्रभावकारी रूपमा सक्रिय देखिँदैन । उडान रद्द वा ढिलो हुँदा स्पष्ट सूचना प्रवाह हुँदैन, टिकट पुनःतालिकीकरण झन्झटिलो हुन्छ, होटल वा वैकल्पिक यात्राको समन्वय कमजोर देखिन्छ । यात्रुहरू आफ्नै खर्च र विवेकमा विकल्प खोज्न बाध्य हुन्छन्, जसले हवाई सेवा विलासिता होइन, जोखिमपूर्ण जुवा जस्तो अनुभूति गराउन थालेको छ । प्राकृतिक अवस्थालाई दोष दिनु सबैभन्दा सजिलो उपाय हो । तर गम्भीर प्रश्न मौसमको होइन, पूर्वतयारी र व्यवस्थापनको हो ।

मौसम पूर्वानुमान प्रविधि आज यति विकसित भइसकेको अवस्थामा हुस्सु कहिले लाग्छ भन्ने अनुमान गर्न कठिन छैन । त्यसका आधारमा उडान तालिका समायोजन गर्ने, बिहानको सट्टा दिउँसो केन्द्रित उडान राख्ने, यात्रुलाई एसएमएस, एप वा सार्वजनिक सूचनामार्फत अग्रिम जानकारी दिने जस्ता उपाय आज पनि कागजमै सीमित छन् । विराटनगर विमानस्थलको समस्या हिउँदको हुस्सुसँग मात्र सीमित छैन । वर्षातको मौसममा भारी वर्षाका कारण धावनमार्ग जलमग्न हुने समस्या पनि हरेक वर्ष दोहोरिन्छ । यसले स्पष्ट देखाउँछ—यो विमानस्थल मौसमसँग मात्र होइन, दीर्घकालीन उपेक्षा र अदूरदर्शी योजनासँग संघर्ष गरिरहेको छ । अत्याधुनिक नेभिगेसन प्रणाली, इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (ILS) जस्ता प्रविधिमा लगानीको अभाव, पूर्वाधार स्तरोन्नतिको ढिलाइ र केन्द्रको उदासीन दृष्टिकोण यसका मूल कारण हुन् ।

प्रभाव र सुझाव

नेपालको प्रमुख औद्योगिक, व्यापारिक र जनघनत्व भएको शहरमा यस्ता समस्या बारम्बार दोहोरिनु यात्रुको समय र श्रमको क्षति मात्र होइन, समग्र हवाई सेवाप्रतिको जनविश्वासमाथिको गम्भीर चोट हो । यसले पूर्वी नेपालको आर्थिक गतिविधि, स्वास्थ्य सेवा पहुँच र शैक्षिक गतिशीलतामै नकारात्मक असर पारिरहेको छ ।

सम्बन्धित नियमनकारी निकाय र सरकार अब मौसमलाई बहाना बनाएर जिम्मेवारीबाट पन्छिन सक्ने अवस्थामा छैनन् । हवाई सेवा विलासिता होइन, आवश्यकता हो । त्यसलाई अव्यवस्थित बनाइराख्नु भनेको विकासको यात्रामा स्वयं अवरोध खडा गर्नु हो । यात्रुको पीडालाई केन्द्रमा राखेर दीर्घकालीन, व्यवहारिक र प्रविधिमैत्री समाधान खोज्न अब ढिलाइ गर्न मिल्दैन । यदि समयमै सुधार गरिएन भने विराटनगर विमानस्थल केवल हुस्सुले ढाकिएको धावनमार्गमा सीमित नरही, राज्यको उदासीनता र कमजोर शासन व्यवस्थाको प्रतीक बन्ने खतरा अझ गहिरिँदै जानेछ । अब प्रश्न हुस्सु कहिले हट्छ भन्ने होइन, राज्यको दृष्टि कहिले खुल्छ भन्ने हो । (लेखक निवृत्त सैनिक अधिकारी हुनुहुन्छ ।)

प्रकाशित मिति : २० पुस २०८२, सोमबार  ७ : २६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र