४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

 सम्वत् १७१९ को हरिश्चन्द्र सेनको स्याहामोहरको यलेकवा श्री राय र राजकुमारी थुङ्वामुक्माको विश्लेषण- मनु योङहाङ



 सम्वत् १७१९ को हरिश्चन्द्र सेनको स्याहामोहरको यलेकवा श्री राय र राजकुमारी थुङ्वामुक्माको विश्लेषण

   -प्रस्तुतकर्ता -मनु योङहाङ,

लेखसार

यस लेखमा सम्वत् १७१९ ताका याङरुप लिम्बुवानका राजाको बारेमा पुरातत्व पत्र सङ्ग्रह दोश्रो भागमा २०१८ मा प्रकाशित सम्वत् १७१९ को सेनकालिन स्याहामोहरको यलेकवा श्री राय र राजकुमारी थुङ्वामुक्मा तथा यलेकवा श्री राय, थि देउ राय एवम् तत्कालिन याङरुप थुमको सामाजिक अवस्थाको बारेमा अध्ययन र विश्लेषण गरिएको छ । त्यो स्याहामोहरमा विजयपुरका सेन राजा हरिश्चन्द्र सेनको लिम्वूवान र विशेषगरेर याङरुप थुमको विजयपुरमा रहेको सामाजिक प्रभावको बारेमा खोजी गरिएको छ । विभिन्न शोधार्थीहरुद्वारा  सामाजिक प्रभावको बारेमा  विश्वविद्यालय स्तरिय शोधापिक अनुसन्धानहरु प्रकाशित भएपनि यलेकवा श्री र थुङ्वामुक्माको बारेमा खासै शोध गरिएको पाइन्न । यो लेखमा साहित्यिक पत्रपत्रिका तथा पुस्तकहरु मार्फत उक्त स्याहामोहरमा वर्णित याङरुपका राजा यलेकवा श्री राये, उनका भारादार थि दिउ राये र उनका छोरी राजकुमारी थुङ्वामुक्माको बारेमा अध्ययन गरिएको छ । यो गुणात्मक अनुसन्धान अन्तर्गतको अध्ययन भएकोले यसमा पुस्तकालिय अध्ययनबाट सामाग्री सङ्कलन गरी वर्णनात्मक अनुसन्धान विधीअन्तर्गत व्याख्या विश्लेषण गरिएको छ । यसमा पुरातत्व पत्र सङ्ग्रह दोश्रो भागमा प्रकाशित सम्वत् १७१९ को सेनकालिन स्याहामोहरको यलेकवा श्री राय र राजकुमारी थुङ्वामुक्मा तथा विजयपुरका सेन राजा हरिश्चन्द्र सेनको लिम्वूवान र विशेषगरेर याङरुप थुमको विजयपुरमा रहेको सामाजिक प्रभावको बारेमा खोजी गरिएको छ । स्याहामोहरको समान्य परिचय साथै स्याहामोहरमा वर्णित पदावलीहरु श्रोत, अर्थ तथा प्रसङ्गको आधारमा तत्कालिन लिम्वूवान र विशेषत: याङरुप क्षेत्र र सिक्किममा समेत प्रसिद्ध लिम्वूवानको राजकुमारी थुङ्वामुक्माको बारेमा विश्लेषण गरिएको छ । विजयपुरका सेन राजाहरुले तत्कालिन किरात प्रदेशका लिम्बुवान अझ याङरुप क्षेत्रका लिम्वूहरुलाई यही स्याहामोहरबाट राय भनेर सम्बोधन गर्नुमा निश्चय नै याङरुप राज्यको विजयपुरमा महत्वपूर्ण सामाजिक प्रभाव रहेको निष्कर्ष निकालिएको छ । स्याहामोहरमा वर्णन गरिएको  तत्कालिन  लिम्बुवान, याङरुपको रणकौशल र सहयोगी समाजकै कारण यलेकवा श्री राजाको मात्र नभएर  लिम्बूवान र याङरुप राज्यको विजयपुरमा सकारात्मक र गम्भिर प्रभाव परेको निष्कर्ष निकालिएको छ ।

शब्दकुञ्जी– पुरातत्व, स्याहामोहर, यलेकवाश्री, थुङवामुक्मा, सामाजिक प्रभाव, लिम्बूवान, याङरुप

 विषयप्रवेश

इतिहास प्रमाणित गर्ने मुख्य आधार लिखत् नै हो । ताडपत्र, भोजपत्र, शिलालेख, मुद्रा आदिमा रहेका अक्षर र भाका तथा ती भाका जारी भएको सम्वत्अनुसार इतिहासका घटना र कालखण्ड निर्धारण गर्न सकिन्छ । युनानी इतिहासमा इतिहासको पिता भनिने हेरोडेटस(४९०-४२५इपु)ले वर्णनको अत्यन्त सुन्दर शैलीबाट इतिहासलाई उठाए । अर्का युनानी इतिहासकार थुसिडिट्स(४५४-३९९इपु)ले प्रक्रिया, तथ्य र यथार्थतालाई जोड दिए । रोमन इतिहासकारहरुमा भने लिभी(१९इपु-१७) र टासीडुस(५५-१२०) प्रसिद्ध छन् भने मध्यकालिन इतिहासकारमा सेन्ट अगस्टाइन(३५४-४३०) प्रख्यात छन् । नेपालको सन्दर्भमा भने बाबुराम आचार्य(१८८७-१९७२)लाई इतिहास शिरोमणी भनिएता पनि अन्य इतिहासकारहरुको प्रयास तथा खोज रहेको पाइन्छ । बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, भिमबहादुर पाण्डे, नयराज पन्त, महेश चन्द्र रेग्मी र धनबज्र बज्राचार्य आदि अन्य शोधकर्ताहरु हुन् । उता पूर्वको लिम्बुवान क्षेत्रको आदि र मध्यकालिन इतिहासको बारेमा भने त्यति धेरै लेखिएको पाइन्न ।

इतिहास भनेको भूतकालको वैज्ञानिक अध्ययन हो । भनिन्छ, इतिहास जित्नेको मात्र लेखिन्छ हार्नेको लेखिंदैन । इतिहासको गर्भमा कैयन सभ्यताहरु मौलाए,कैयन विलाएर गए। विजेताहरुले आफ्नो इतिहासलाइ सुन्दर र कलात्मक रुपमा पेश गरे भने हार्नेहरुको वैभवशाली इतिहासपनि गुमनाम बन्न गयो। कलात्मक वा गुमनाम जे भएतापनि कुनै न कुनै रुपमा सभ्यताले इतिहास बोलेको हुन्छ, विगतको कालखन्डलाई केहि न केहि चिनोको रुपमा छाडेको हुन्छ । आफ्नो अस्तित्व र पहिचानलाई कतै न कतै कुनै न कुनै रुपले दर्शाएको हुन्छ । यहाँ यस्तै इतिहासको कालखन्डमा विर्सिएको एउटा ऐतिहासिक पात्र यलेकवा श्री राय र राजकुमारी थुङ्वामुक्मा तथा विजयपुरका सेन राजा हरिश्चन्द्र सेनको लिम्वूवान र विशेषगरेर याङरुप थुमको विजयपुरमा रहेको सामाजिक प्रभावको बारेमा खोजी गरिएको छ । स्याहामोहरको समान्य परिचय साथै स्याहामोहरमा वर्णित पदावलीहरु श्रोत, अर्थ तथा प्रसङ्गको आधारमा तत्कालिन लिम्वूवान र विशेषत: याङरुप क्षेत्र र सिक्किममा समेत प्रसिद्ध लिम्वूवानको राजकुमारी थुङ्वामुक्माको बारेमा विश्लेषण गरिएको छ । तत्कालिन विजयपुर राज्यको ऐतिहासिक तथ्यको बारेमा चर्चा गरिएको छ ।

इतिहास भनेको कालपरिवर्तनात्मक कथाको भाषिक रचना हो । इतिहासको लोकप्रियतासँग कथा भन्ने र सुन्ने मानवीय भावनाको आसक्ति गाँसिएको छ। इतिहास केवल घटितहरूको सङ्ग्रह होइन। अतीतका सन्दर्भले मानव सभ्यताको वर्तमान र भविष्यलाई पार्ने प्रभावको चिन्तन गर्दै इतिहासको दार्शनिक अध्ययन हुनुपर्छ भन्ने विचार प्रबोधनकालीन फ्रान्सेली विद्वान् भोल्तेयरले प्रकाशमा ल्याए । जर्मन विचारक हेगेलले फिलोसफी अफ हिस्ट्री पुस्तक मार्फत भोल्तेयरको इतिहास चिन्तनलाई थप विस्तार गरे । हेगेलको दर्शनले भन्छ- इतिहासबाट पाठ सिकेर नयाँ इतिहासको रचना गर्न सक्नु नै इतिहास बदल्नु हो । इतिहासमा फर्केर घटनाहरू बदल्न सकिँदैन। तर, तिनको औचित्यपूर्ण पुनर्ब्याख्या गर्न सकिन्छ जसले इतिहासलाई सदैव गतिशील र प्रासङ्गिक राख्छ ।

विगतका कुनै खास घटनाक्रम वा समयावधिलाई आरम्भमा स्मरणद्वारा र पछि लेख्य परम्पराको विकास भएसँगै लिखित कथाका रूपमा पुस्तान्तरण गरी मानिसले इतिहास बनायो र जोगायो, जसलाई वर्णन इतिहास (न्यारेटिभ हिस्ट्री) भनियो । इतिहास लेखनको वर्णनात्मक परम्पराले प्रामाणिकताका लागि प्राथमिक स्रोतहरूको विश्लेषणलाई मानक बनाउन थालेपछि इतिहास थप विश्वसनीय हुँदै गयो। उद्देश्यवादी (टेलिओलोजिकल) इतिहास लेखनका विषयहरू प्राथमिक स्रोतबाट क्रमशः उपलब्ध तथ्यका कारण रोमाञ्चक मात्र बनेनन्, इतिहास सामान्य मान्छेले पनि बनाउन सक्छ भन्ने तथ्य स्थापित भयो । अनि, इतिहास समाजको वा समुदायको भयो, जनसाधारणको भयो ।

पृथ्वीनारायण शाहभन्दा अघि विभिन्न राज्यका शासकले सरकारी कागजपत्र कालो छाप लगाएर प्रमाणीकरण गर्थे, त्यसलाई नै स्याहामोहर भनिन्छ। पुराना लिखतहरुको खोजी गर्दा सेनकालीन स्याहामोहरको  मैथली भाषाको प्रयोग भएको रहेछ। शुरुका लालमोहरमा तथा सेन राजाहरूले आदान–प्रदान गरेको चिठी–पत्रमा मैथली भाषा प्रयोग गरेको पाइन्छ। यो स्याहामोहर हालसम्म प्राप्त सबैभन्दा पुरानो दस्तावेज हो ।

अध्ययनको उद्धेश्य

इतिहासलाई पुरातात्विक प्रमाणहरुले पुष्टी गर्छ । प्रमाणको रुपमा तत्कालिन सेनकालिन स्याहामोहरले सम्वत् १७१९को सेनकालिन सामाजिक र राजनीतिक अवस्थालाई देखाउँछ । यसर्थ सेनकालिन स्यामोहरको विश्लेषण गर्नु भनेकै त्यो अवस्था र राजकुमारी थुङ्वामुक्माको सामाजिक र राजनीतिक अवस्थालाई देखाउनु हो । यो अध्ययनका उद्धेश्यहरु निम्न रहेका छन् –

  • सम्वत् १७१९ मा विजयपुरका सेन राजा हरिश्चन्द्र सेनद्वारा दिइएको स्याहामोहरको विश्लेषण गर्दै तत्कालिन लिम्बुवान र याङरुपको सामाजिक र राजनीतिक अवस्थालाई देखाउनु ।
  • याङरुप लिम्बुवानका राजाको बारेमा पुरातत्व पत्र सङ्ग्रह दोश्रो भागमा २०१८ मा प्रकाशित सम्वत् १७१९ को सेनकालिन स्याहामोहरको यलेकवा श्री राय र राजकुमारी थुङ्वामुक्मा तथा यलेकवा श्री राय, थि देउ रायको बारेमा चर्चा गर्नु ।

अध्ययनको औचित्य

यो अध्ययनमा यसअघि कतै अध्ययन नगरिएका, कतै नलेखिएका स्याहामोहरलाई तथ्य र प्रमाणसहितका जानकारीलाई एकत्रित गरेर विश्लेषण गरिएको छ । कुराकानी र पुरातात्विक आधारमा सेनकालिन याङरुप राज्य र त्यहाँको राजकुमारी थुङ्वामुक्मा तथा सिक्किम नामाकरणको बारेमा चर्चा तथा विश्लेषण गरिएको हुनाले तत्कालिन विजयपुर र सेन तथा याङरुप राज्य र राजकुमारी थुङ्वामुक्माको बारेमा जान्न इच्छुकहरुको तृष्णालाई मेटाउन केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको छु ।

अध्ययनको विधि

यो लेखमा साहित्यिक पत्रपत्रिका तथा पुस्तकहरु मार्फत उक्त स्याहामोहरमा वर्णित याङरुपका राजा यलेकवा श्री राये, उनका भारादार थि दिउ राये र उनका छोरी राजकुमारी थुङ्वामुक्माको बारेमा अध्ययन गरिएको छ । यो गुणात्मक अनुसन्धान अन्तर्गतको अध्ययन भएकोले यसमा पुस्तकालिय अध्ययनबाट सामाग्री सङ्कलन गरी वर्णनात्मक अनुसन्धान विधिअन्तर्गत व्याख्या विश्लेषण गरिएको छ ।

सैदान्तिक आधार

तीन हजार वर्षको यात्रा पूरा गरिसकेको भन्न मिल्ने प्रामाणिक इतिहास लेखन परम्परालाई नेपालमा प्राज्ञिक रूपमा स्थापना गर्ने श्रेय भने  मूर्धन्य विद्वान् नयराज पन्त र उनले शुरू गरेको इतिहास संशोधन-मण्डललाई जान्छ। सम्बन्धित विद्वान्हरूले प्रचलनमा नल्याएको भए पनि यसलाई ‘इतिहास अध्ययनको संशोधन-मण्डल स्कूल’ (‘स्कूल अफ थट’ भन्ने अर्थमा) भन्न सकिन्छ(ढकाल, २०७८)।

नेपालको इतिहासका प्राथमिक स्रोतलाई सकेसम्म सोझै पाठकको पहुँचमा लैजानुपर्छ भन्ने मान्यता यसै स्कूलका दिग्गज इतिहासकारहरू नयराज पन्त, धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल महेशराज पन्त, दिनेशराज पन्त आदिका प्रयासबाट अब स्थापित भइसकेको छ। यस प्रकारका कृतिहरू भने नेपाली इतिहासमा थोरै मात्र लेखिएका छन् ।

पृथ्वीनारायण शाहको उपदेश जत्तिको गहकिलो सम्पादन नभए पनि प्राथमिक स्रोतको सङ्ग्रहका दृष्टिमा अर्को उल्लेख्य कृति योगी नरहरिनाथको इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रह हो। त्यसैगरी, शाह राजाहरूसँग थारूहरूको सम्बन्धमाथि प्रकाश पार्ने ५० वटा दस्तावेज तेजनारायण पन्जियारले सङ्ग्रह गरेका थिए, जसलाई नेपालका राजाहरू तथा तराईका थारू (२०५८) शीर्षकमा टेकबहादुर श्रेष्ठको सम्पादनबाट नेपाल तथा एशियाली अध्ययन केन्द्रले प्रकशित गर्‍यो। उक्त सङ्ग्रह गिसेल क्राउस्कोफ र पामेला डोएल मायरको सम्पादनमा सन् २००० मा अङ्ग्रेजी भाषामा उपलब्ध भयो, द किङ्स अफ नेपाल एण्ड द थारू अफ द तराईः द पन्जियार कलेक्सन अफ फिफ्टी रोयल डकुमेन्ट्स फ्रम १७२६-१९७१ शीर्षकमा।(ऐ, हिमालखबर )

समुदायबीच हुने स्वाभाविक सामाजिक अन्तक्रियात्मक सम्बन्धबाट पैदा हुने अन्तर्घुलनको पक्षलाई अस्वीकार गर्न अपवादलाई मूल प्रवृत्ति मान्नु नेपालबारे उपलब्ध धेरै समाजशास्त्रीय-नृशास्त्रीय विश्लेषणको स्वभाव रहेको छ । लिम्बुवानको इतिहासले चाहिं प्रामाणिक रूपमा फरक कुरा देखाइरहेको छ । धेरै अघिदेखिका ऐतिहासिक सामग्रीले के पुष्टि गर्छन् भने स्थानीय शासकका रूपमा लिम्बू सुब्बा र थुमका प्रमुखहरूले आफ्नो क्षेत्रका अन्य समुदायको समेत परम्परा र संस्कार जोगाइदिएका हुन्। यस क्षेत्रको समाजशास्त्रीय अध्ययनलाई इतिहासले अझै सूचित गर्नुपर्ने आवश्यकता पूरा गर्न इङ्नामको सङ्ग्रह उपयोगी हुने विश्वास गर्न सकिन्छ ।

इतिहासकार शिवकुमार श्रेष्ठले २०४२ सालमा लिम्बुवानको ऐतिहासिक अध्ययन कृति मार्फत पूर्वी पहाडको प्रामाणिक इतिहास लेखे। त्यस पुस्तकमा श्रेष्ठले विक्रम सम्वत् १७४१ देखि यताका सेनकालीन र शाहकालीन लालमोहरहरूका धेरै उतार प्रतिहरू समेत सामेल गरेका छन् ।

 लिम्बू भन्ने थर सेनकालीन अभिलेखमा स्पष्ट देखिएको हुनाले लिम्बू अस्तित्वको ऐतिहासिकता धेरै पुरानो प्रमाणित हुन्छ । नगरा निशान र सुब्बाङ्गी प्रथा समेत सेन कालदेखिकै निरन्तरता देखिन्छ। किपटको व्यवस्था लिम्बुवानमा मात्र नभएर नेपालभरि थियो भन्ने तथ्यलाई सङ्गृहीत कागजातले उजागर गरेका छन् ।

नेपालका लिम्बूहरूको हिन्दू परम्परासँग भेट हुनुमा नेपाल एकीकरणभन्दा धेरै अघिदेखिका सामाजिक व्यवहार र राज्यसँग स्थापित सम्बन्ध जिम्मेवार रहेको तथ्य यो स्याहामोहरले पुष्टि गर्छ । विजयपुरका सेन राजाहरूले आफूलाई हिन्दू अधिपति मानेको र त्यसै समेतको आधारमा लिम्बूवान र याङरुपका राजा यलेकवा श्री(लिम्बू पुर्खा)लाई खान्गी बापत जमीन दिएको तथ्य हरिशचन्द्र  सेनको स्याहामोहरबाट पुष्टि हुन आएको छ ।

को हुन् हरिश्चन्द्र सेनदेव ?

अन्वेषक कौशल चेम्जोङको अनुसार राजा हरिश्चन्द्र सेनदेव राघवइन्द्र सेनका छोरा थिए । उदयपुरको इतिहास पुस्तकको पेज नं १७८ र १७९ मा उहाँ लेख्नुहुन्छ-

शक्तिशाली हिन्दु राजाको रुपमा प्रस्तुत गर्न खोजेका हरिहर सेनले मोरङ विजयपुर राज्य विस्तार अभियान सन्चालन गरी राज्यको सीमा गोण्डवारा सम्म पुर्याएका थिए । विवाह गर्न सिपालु उनले विवाहलाई कुटनीति संस्कारकै रुपमा लिइ माहेश्वरी, यशोधरा, शकुन्तला, महादेवी, लक्ष्मीवती र जगत्माता नामका छ वटी रानी विवाह गरेको पाइन्छ । उनका चार भाइ छोराहरु  छत्रपति सेन, इन्द्र सेन, बासुदेव र शुभ सेन हुन् । उनको शासनकाल वि. सं. १७१९-१७३७ भएको मानिन्छ (चेम्जोङ, २०७७ पृ १७८, १७९)।

डा. राजाराम सुवेदीको अनुसार उनले हरिहरपुरगढिको निर्माण गरे ।  उहाँ लेख्नुहुन्छ-“तत्कालिन अवस्थामा  तराईका अन्य छिमेकी राज्य र समस्त हिन्दुस्तानमा मुसलमानी शासकको बढ्दै गइरहेको प्रभावबाट टाढा रहेको देखाउन उनले हिन्दुपति उपाधी धारण गरे । मुसलमानी आक्रमणबाट बच्न हरिहरपुरीको निर्माण गरे(सुवेदी, २०५८ पृ ४४) ।”

सुवेदीको तर्कलाई २०२७ सालमा प्रकाशित प्राचिन नेपालमा चर्चा गरिएको छ । पृष्ठ ३९ मा हरिहरश्चन्द्र सेनले आफूलाई हिन्दुपति भन्ने उपाधीले विभुषित गरेका थिए भनेर लेखिएको छ ।

यसप्रकार मुसलमानको प्रभुत्वबाट आफूलाई सुरक्षित राख्न त्यस समयमा आवश्यक परेको बखत सैनिक सहयोग माग्न  राजा हरिश्चन्द्र सेन देवले लोहाङ सेनले नै स्वशासनको अधिकार दिएको पहाडी राज्य याङरुपलाई विशेष अधिकार र स्वशासन दिएर आफ्नो पक्षमा ल्याएको बुझिन्छ । अन्तत: आफू राजा भएकै साल उनले याङरुपका राजा यलेकवा श्री  लगायत अन्यलाई आफूजस्तै हिन्दु बनाउन राय पदवी प्रदान गर्दै स्याहामोहर जारी गरे ।

कान्तिपुरका राजा प्रताप मल्ल हरिहरश्चन्द्र सेनका साढुभाइ रहेका अन्वेषक कौशल चेम्जोङले पुस्तक उदयपुरको इतिहासमा लेख्नुभएको छ । उहाँले  प्राचिन नेपालकै २०२६ सालमा लेखिएको प्रताप मल्लको हरिहरश्चन्द्र सेनलाई लेखेको पत्र  तथ्यलाई हवाला दिदै लेख्नु भएको  छ-   “झगरा-पसार..इहा गोर्खाली से वंभव दले आन्योल क्षुक्षुरी  बामन्कर  हाथदि हलवा..आगे कैसन  हाइ हामसे नाही जानीला ” । तर गृह कलह भइसकेकोले गर्दा उनले प्रताप मल्ललाई सैनिक सहयोग गर्न सकेनन् ।

 स्याहामोहरमा के छ ?

याङरुप लिम्बुवानका राजाको बारेमा पुरातत्व पत्र सङ्ग्रह दोश्रो भागमा २०१८ मा प्रकाशित सम्वत् १७१९ को सेनकालिन स्याहामोहरको यलेकवा श्री राय र राजकुमारी थुङ्वामुक्मा तथा यलेकवा श्री राय, थि देउ राय एवम् तत्कालिन याङरुप थुमको सामाजिक अवस्थाको बारेमा छिटफूट चर्चा गरिएको छ । यो स्याहामोहरमा नामदेखि मुनी टुह राय, यलेकवा श्री राय, खेजिम राय र थि दिउ रायको बारेमा चर्चा गरिएको छ ।

लिम्बूहरुलाई  पहिलोपटक राय भनि सम्बोधन गरिएको( इङनाम, २०७७) भनिएको यो स्याहामोहरमा राजा हरिश्चन्द्र सेनको भलो चिताएको कारण आफ्नो खातिर अर्थात खायन पायनमा रहेर आआफ्नो जग्गा भोगचलन गर्न भनिएको छ ।

स्याहामोहरको मूल अंश यसप्रकारको रहेको छ –

श्रीश्रीश्रीलक्षमीनारायणश्रावु  स्वस्ती श्री रुपनारायण विविध विरुदावली श्री मनमानमानोन्वत महाराज ×××१ औ श्री श्री हरिश्चन्द्र सेन जीव श्री श्री श्री वृषसेन जीव देवनाम् सदा समरविजयीनाम् ————-

तमरी हिराऐ, औ नामदेखि मुनि टुहराये औ यलेकवा श्री राये, खेजिम राये ××× थि दिउ राय गैरह राय आशिव पूर्वक त्यूपत्र कार्जन्च आगे सवना××× हाज महिलहदिते ×××शाचुनहजह मुवह मति चिन्ताइ रहसन औलिते तोले पात्र आफन खातिर्जामा शै आवाइ जेताहन दूर धन्ही कप्पा इनावाहींशे मर्जा दातो हही सजूर ऐसे परही इव  इति सम्वत् १७१९ साल पुस सुदि ४ मोरुङ———————————————————————–

सम्वत् १७१९ पुसको पूर्णिमा पक्ष बुधवार दिइएको यो स्याहामोहरमा विजयपुरका राजा हरिश्न्द्र सेन देवले बृष सेन देवलाई बोधार्थ दिदै भनेका छन्- हरिश्चन्द्र सेनको भलो चिताएको कारण आफ्नो खातिर अर्थात खायन पायनमा रहेर आआफ्नो जग्गा भोगचलन गर्नू । आइन्दा पनि यसरी नै इमान्दारीताको साथ सेवा गर्नू ।

को हुन् यलेकवा श्री रायै ?

विजयपुरका राजा हरिश्चन्द्र सेन देवद्वारा स्याहामोहर प्रदान गर्दै नाम उल्लेख गरिएका यलेकवा श्री राये तथा थि दिउ राये याङरुप थुमका राजा र भारादार  थिए । योङहाङ वंशावली(२०७९) को अनुसार

पिता वलीवन्त रायका छोरा चौधौं पुस्ताका याङरुप क्षेत्रका यलेकवा श्री रायै को अर्को नाम बसन्त हाङ थियो । वंशावलीमा उल्लेख भएअनुसार सम्वत १७२५ सम्म याङरुपका  राजा भएका उनले राज्यकालको अन्ततिर यो स्याहामोहर पाएका थिए ।  थि दिउ राये भने उनका भारादार थिए ।  सम्बत् १६५० मा जन्मिएका उनी २२ वर्षको उमेरमा १६७२ मा याङरुपको गद्धीमा बसेको उनको पालामा सिङ्गो चैनपुर र अरुण उपत्यकासम्म याङरुपको अधिनमा थियो (ऐ..)।

 विजयपुरका चौतरिया मुरेहाङ खेवासँग स्वरुपहाङको छोरी राजकुमारी थोक्फेलाको विवाह भएको हुनाले  उनका फूपाजु थिए । विजयपुरका राजा विजयनारायण रायले चौतरिया मुरेहाङ खेवाको हत्या गरेपछि रिसाएका उनका छोरा बाजहाङ खेवासँग मिलेर मकवानपुरका राजा लोहाङ सेनलाई विजयपुर आक्रमण गराएर बदला लिएका थिए ।  वि. सम्वत्. १६७५ मा गिद्धेपहाड सम्म लाप्चा राजा तर्पे पुनुसँग युद्ध गर्न लोहाङ सेनलाई सघाएका थिए(ऐ..) ।

ह्यामिल्टनलाई उद्धृत गर्दै इमानसिंह चेम्जोङ  लेख्नुहुन्छ-

बाजहाङ र बलिवन्त  र लोहाङ सेनको संयुक्त सेनाले पूर्वी तराईका लङ्केश्वरका खेस्रा राज्य, मजल राजाको रामपुर राज्य, कालावन्जर राज्यको पोखरी गाउँ, रोजा राजाको जमुना गाउँ, उदरगिर राजाको जगोदा गाउँ, कर्ण देव राजाको थापर गाँउ, कालिसा र बेखलाकोट गाँउहरु, बलदेव राजाको साम्दा गाँउ, र दौलतदेव राजाको कारगेन गाँउहरु आफ्नो अधिकार जमाए । उपर्युक्त सबै गाँउहरुलाई मिलाएर एउटा ठूलो प्रदेश सप्तरी नाम राखे (चेम्जोङ,२०५९ पृ २२) ।

सल्लाह अनुसार भान्जा बाजहाङ खेबाङ मामा याङरुपका राजा बलिवन्त र मकवानपुरका राजा लोहाङ सेन विजयपुर राज्यलाई त्यतिकै छाडी मोरङ प्रदेशको पूर्वी सिमाना महानदीको खर्साङ नजिक गिद्धे पहाड जिते ।  चेम्जोङ आफ्नो पुस्तक किरातकालिन विजयपुरको इतिहासमा थप लेख्नुहुन्छ-

विजयपुरको पूर्व मेगवारी नामक तराईको इलाकामा पुग्दा उनले राजा विजयनारायणको देहान्त भएको खवर सुने ।यसपछि उनले आधा सेना मेगबारीमा नै राखी त्तधा सेना लिइ विजयपुर सहर घेरा हाली सजिलैसित त्यो सहर कब्जा गरे । त्यस अवस्थामा विजयपुरमा राजा अथवा मन्त्री कोही पनि नभएको कारण कुनै युद्ध भएन । राजा विजयनारायण रायको कालगतिले देहान्त भएको थियो । उनी अपुताली भएको कारण उनको उत्तराधिकारी कोही पनि थिएनन् ( ऐ पृ २२-२३)-

 यही बलिवन्तको सहयोगको कारण खुसी भएका लोहाङ सेनले विजयपुरबाट याङरुपलाई स्वशासनको अधिकार दिएको हुनाले सम्पूर्ण अरुण उपत्यका सहित चैनपुर याङरुपको मातहतमा थियो । यही स्वशासनलाई यो स्याहामोहर मार्फत लोहाङ सेनपछिका हरिश्चन्द्र सेनले बलीवन्तकै छोरा यलेकवा श्री रायैलाई थामिदिएको अनुमान सहजै लगाउन सकिन्छ ।

 फुन्चो नाम्गेल,  राजकुमारी थुङ्वामुक्मा र सिक्किम नामाकरण   

सिक्किमका पूर्वराजा थुर्तोब नाम्गेलले सन् १९०९ मा एउटा पुस्तक प्रकाशन गरे -द हिस्ट्री अफ सिक्किम । यो पुस्तकको हवाला दिदै धरानका भिमविक्रम जवेगुले सम्वत् २०६४ मा सेनेहाङ वंशावली इतिहास प्रकाशन गरे । यही पुस्तकमा लेखिएको छ-सन् १६४४(सम्वत् १७०१)मा राजा फुन्चो नाम्गेलले राप्देन्से दरबारमा राजतिलक गर्दा मगरजोङका मगरहरुलाई निमन्त्रणा नगरेकोमा मगरहरु रिसाए । उनीहरुले यो विषयमा याङरुपका राजा यलेकवाश्रीलाई समेत आमन्त्रण नगरेको  सुनाएपछि उनले गेजिङको युद्धमा फुन्चो नाम्गेललाई हराएर सम्झौता गर्न बाध्य बनाए । सम्झौतामा अरुण उपत्यकाको राजा योङहाङको  राजकुमारीको विवाह तेन्सुल नाम्गेल तथा सातजना लिम्बू युवतीहरुको विवाह सात मन्त्रीहरुसँग भयो ( नाम्गेल, थुर्तोब पेज  २४, १९०९) । यहाँ अरुण उपत्यका भनेर सिद्धिपुर तथा चैनपुरलाई समेत अरुण उपत्यका भनिएको हुनाले याङरुपको प्रभाव सारा विजयपुर राज्यको साथै सिक्किमसम्म रहेको प्रष्टिन्छ । किनभन राजा यलेकवाश्रीले मकवानपुरका सेनराजा लोहाङ सेनमार्फत सारा तराइमा याङरुपको सामाजिक प्रभाव विस्तार गरेको कुरा घाम झै छर्लङ्ग थियो ।

सिक्किमका महाराज थुर्तोब नाम्गेलको “द हिस्ट्री अफ सिक्किम” मा यो तथ्यलाई यसप्रकार लेखिएको छ-

The Raja Tcnsung Namgyal rnarried three Ranis. One of them being from Bhutan, called nambi Ongmo, who gave birth to a daughter, llamed Pande Wallgmo. One of the Ranis was the daughter of Deba ZamSar, a noble family residing near Tinkejong in Tibet, in the north west of Sikkim. nüs lady gave birth to 8 son, the next Mabaraja, Chagdor NamgyaL The third Rani was the daughter of a Limbu Chief, who ruied in the Arun Valley in the West of Sikkim, named Y ong-Y ong Hang. ‘Illis lady also gave birth to a san, named Guru, who resided at Dingrong in Pathillg, whose line is now extinct. I Yong-Yong Hang’ s daughter gave birth to a prineess too, ealled Pande-ehering Gyalmo wbo married a man of the Nam-tsang-korpa tribe residing in Yangang, and died there. The Limbu Lady who came as Ralli had sevell other Limbu Indies with her, who were taken as wives by the highest kazis and ministers of Sikkim(Namgel, T, 1908 P 24).

एच. एच. रिस्लेले सन् १८८९ मा गजेट अफ सिक्किम नामक पुस्तकमा याङरुप राज्यको सिमाना अरुण सम्म पुगेको उल्लेख गरेका छन् ।  थुङ्वामुक्मा र उनका सात जना साथीहरुको सिक्किमे दरबार र दरबारियाहरुसँग विवाह भएको उल्लेख गरेका छन् । उनी लेख्छन् –

In his youth he seems to have mortally offended bis half-sister Pende Amo (Avho also considei’ed that she, as the elder, was entitled to

lie also married a daughter of a Liinbu Raja, by name Yo-yohang, Avhose jurisdiction Avas to the west near the Arun river. With this lady came seven Limbuni maidens, Avho Avere married into the leading Sikhim families. By the Limbuni princess the Raja had two children : a son Shalno-Guru, Avho resided at Dingrong, but Avhose family is now extinct, and a daughter Pendi Tchering Gyenu, Avho married a member of the Nam-Tsang-korpa family( रिस्ले, १८८९ . पृ २२).

सन् १६४०(सम्वत्  १६९७) मा जन्मीएकी राजकुमारी थुङ्वामुक्मामा अद्वितिय सुन्दरताको साथै बुद्धी र विवेक थियो । यही कुरा बुझेका राजा फुन्चो नाम्गेल आफ्नो परिवारमा याङरुपका राजकुमारीलाई भित्र्याउन चाहन्थे । यो विवाह भने सन् १६६० मा भयो । उनी तेन्सुल नाम्गेलको दोश्रो रानी बनिन् । तिन्केजुङका तिब्बती राजकुमारी देवा जाम्सेर तथा भुटानका राजकुमारी नाम्बी ओङ्मो उनका अन्य रानीहरु थिए । तिब्बती राजकुमारीबाट एक छोरा छादोर नाम्गेल तथा भुटानी राजकुमारीबाट छोरी पाण्डे वाङमोको जन्म भयो । सोही पुस्तकको अनुसार सम्झौतापश्चात  तेन्सुल नाम्गेलले सन् १६७० मा राजा भएपछि राप्देन्से गुम्बाछेउ याङरुपका योङहाङ राजकुमारीका लागि नयाँ दरबार बनाए । सो दरबारलाई राजकुमारी थुङ्वामुक्माले नाम दिइन् सङहिम(नयाँ घर) जुन अप्रभङ्स हुँदै सिक्किम नामाकरण भयो । यसरी याङरुपको योङहाङ राजकुमारी थुङ्वामुक्माबाट नै सिक्किम नामाकरण भएकोमा धेरै इतिहासकारहरुको एकमत रहेको छ । योङहाङ राजकुमारी थुङ्वामुक्माले यसप्रकार याङरुप, लिम्बूवान र सिक्किमबीच एउटा सम्बन्धको भावनात्मक प्रभाव कायम गर्न सफल भइन् । पछि उनको एक छोरा राजकुमार गुरु र एक छोरी राजकुमारी  पाण्डे छिरिङ ग्याल्मु जन्म भयो जसको विवाह याङगाङको नाम्साङ कोर्पासँग भयो । उनका सन्तानहरु यद्यपी सिक्किममा हुनुहुन्छ ।

उता प्राचिन नेपाल पुस्तकमा डा. रमेश ढुङ्गेल यो तथ्यसँग सहमत हुनुहुन्छ । उहाँ चैनपुर एक प्रभावशाली प्रदेश शिर्षकमा पृष्ठ ५ मा लेख्नुहुन्छ-” तङसुङ नाम्गेलका तीन रानीमध्ये एक रानी अरुण उपत्यकाको राजा योङहाङको छोरी थिइन् ( ढुङ्गेल, २०२६ पृ ५)”

यो तथ्यलाई सिक्किमकै कौशिला सुब्बाले आफ्नो सिक्किम विश्वविद्यालयबाट एम फिलको थेसिसमा लेख्नु भएको छ । उहाँ शर्ण कुमार गुरुङ र जसराज सुब्बाको हवाला दिदै लेख्छिन्-

Tensung Namgyal- Tensung Namgyal succedded his father Phuntsog Namgyal in 1670 and became second chogyal (monarch) of Sikkim. Sangacholling monastery started by Lha-Tsun was completed during his reign and Pemayongtse monastery was constructed. He also shifted the capital from Yuksom to Rabdentse near Geyzing. He had three wives, the palace was built in the name of his third wife Thungwamukma. She was a daughter of Limboo king YongHang. The name Sikkim has its roots in this palace, when Thungamukma entered the palace she said “kusong heem” or “Songkheem” which later with the multilingual influence became Sikkim. She had one son and one daughter but it is nowhere in the history mentioned about them (Subba, 2008) (Gurung, 2011).

 यस अर्थमा राजकुमारी थुङ्वामुक्मालाई लिम्बुवानको भृकुटी भन्न सकिने हिलिहाङ डटकमका सम्पादक रीता थाम्सुहाङ बताउनुहुन्छ । यो तथ्यलाई साम्रे आधारभुत विद्यालय हिलिहाङ-३का प्रधानाध्यापक दिपेन्द्र योङहाङ स्वीकार गर्नुहुन्छ ।

यलेकवाश्रीको याङरुपको विजयपुर तथा सिक्किममा परेको सामाजिक र राजनीतिक प्रभाव

आफ्ना फूपाजु मुरेहाङ खेवालाई विजयपुरका विजयनारायण रायले हत्या गरेपछि रिसाएका याङरुपका राजा यलेकवा श्रीले मुरेहाङका छोरा बाजहाङ खेवाको सहयोगार्थ मकवानपुरका सेनराजा लोहाङ सेनलाई विजयपुर आक्रमण गर्न मात्र उक्साएनन् बरु तर्पे पुनुसँग युद्ध गर्न गिद्धे पहाडसम्म पुगे । यसरी मकवानपुरे राजा लोहाङ सेनको विश्वासिलो पात्र बनेका यलेकवा श्री रायले याङरुपको सामाजिक प्रभाव विजयपुर हुँदै मकवानपुरसम्म मात्रै पुर्याएनन् बरु खर्साङको गिद्धे पहाडसम्म पुर्याए । उनले याङरुपको सामरिक महत्वलाई चैनपुर सिद्धिपोखरीसम्म पुर्याएको तथ्य त सिक्किमको इतिहासमा थुर्तोब नाम्गेलले सगर्व लेखेका छन् । यसरी राजा यलेकवा श्री रायले याङरुपको सामाजिक प्रभाव सिक्किममा मात्रै होइन् मकवानपुर देखि विजयपुरसम्म विस्तार गरे ।

मकवानपुरको राजा लोहाङ सेनलाई बाजकर्ण खेवाको साथ सहयोग गरेको हुनाले उनको सम्वत् १६७५को गिद्धे पहाड खर्साङमा लाप्चे राजा तर्पे पुनुसँगको मृत्युभएपछि याङरुपलाई विजयपुरबाट स्वशासनको अधिकारसहित स्वतन्त्र गराएर राजनीतिक प्रभावको भरपुर उपयोग गरे । यहीकारण सिक्किमको राजा तेन्सुल नाम्गेलले अरुण उपत्यकाको योङहाङ राजकुमारी थुङ्वामुक्मासँग वेवाहिक र पारिवारिक सम्बन्ध कायम भयो ।

यही सिक्किमसँगको पारिवारिक सम्बन्धकै कारण गोर्खाली विरुद्ध लड्न याङरुपका राजा हिलीहाङलाई सिक्किमे भोटे सैनिक, हातहतियार मात्र  प्राप्त भएन् उनकै सीफारिसबाट कामदत्त सेनको हत्या गर्न बुद्धिकर्ण खेवाङले दश जना भोटेसैनिक सिक्किमबाट प्राप्त गरे । सम्बत् १८२५ मा मोरङ हरैचामा यिनै सिक्किमे भोटे सैनिकको सहायताबाट कामदत्त सेनको हत्या गराएर कर्ण सेनलाई विजयपुरको गद्धीमा राखे ।

प्राप्ति र छलफल

पृथ्वीनारायण शाहभन्दा अघि विभिन्न राज्यका शासकले सरकारी कागजपत्र कालो छाप लगाएर प्रमाणीकरण गर्थे, त्यसलाई नै स्याहामोहर भनिन्छ । पुराना लिखतहरुको खोजी गर्दा सेनकालीन स्याहामोहरको  मैथली भाषाको प्रयोग भएको देखिन्छ । शुरुका लालमोहरमा तथा सेन राजाहरूले आदान–प्रदान गरेको चिठी–पत्रमा मैथली भाषा प्रयोग गरेको पाइन्छ। यो सम्वत् १७१९ पुस पूर्णिमा पक्ष बुधवारको स्याहामोहर हालसम्म प्राप्त सबैभन्दा पुरानो दस्तावेज हो।

यही सबैभन्दा पुरानो हरिश्चन्द्र सेनको स्याहामोहरबाट के देखिन्छ भने याङरुप राज्यको प्रभावबाट विजयपुर राज्य र यसका राजा प्रभावित भए । याङरुपका राजा बलिवन्त र उनका छोरा यलेक्वा श्री राये र उनका भारादार थि देउ रायेले मकवानपुरका राजा लोहाङ सेनलाई गरेको सहयोग थाहा पाएर फेरी पनि यसप्रकारको युद्ध नदोहोरियोस भनेर स्याहामोहर गर्दे विजयपुरका राजा हरिश्चन्द्र सेनले  आफ्नो पक्षमा ल्याएको पाइन्छ । यसबाट  याङरुप तथा यलेकवा श्री राये अनि थि देउ राय को सामाजिक तथा राजनीतिक प्रभाव मकवानपुर र विजयपुरसम्म पुगेको र यही प्रभावको फलस्वरुप सिक्कीमको राजा फुन्चो नाम्गेलले अरुण उपत्यका अर्थात याङरुपको योङहाङ राजकुमारी थुङ्वामुक्मासँग पारिवारीक सम्बन्ध कायम गरेको तथ्य नै प्रस्तुत अध्ययनको प्राप्ति हो ।

निष्कर्ष

 विजयपुरका सेन राजाहरुले तत्कालिन किरात प्रदेशका लिम्बुवान अझ याङरुप क्षेत्रका लिम्वूहरुलाई यही स्याहामोहरबाट राय भनेर सम्बोधन गर्नुमा निश्चय नै अरुण भ्यालीसम्म फैलिएको याङरुप राज्यको विजयपुरमा महत्वपूर्ण सामाजिक प्रभाव रहेको निष्कर्ष निकालिएको छ । सकेसम्म पुरानो लोहाङसेनको पालाको खायनपायन थामीदिएर अझ बढी जग्गा दिएर अरुण भ्याली याङरुपको यलेकवा श्री राये तथा थि देउ रायेलाई विजयपुरको पक्षमा सदैव लाग्न भनिएबाट अरुण भ्याली याङरुपको सामाजिक र राजनीतिक प्रभाव उच्च रहेको प्रष्टिन्छ ।

याङरुपका राजा यलेकवा श्री राये र उनका भारादार थि देउ रायेले मकवानपुरका राजा लोहाङ सेनलाई गरेको सहयोग थाहा पाएर फेरी पनि यसप्रकारको युद्ध नदोहोरियोस भनेर स्याहामोहर गर्दे विजयपुरका राजा हरिश्चन्द्र सेनले  आफ्नो पक्षमा ल्याएको निष्कर्ष निकालिएको छ । यसबाट  याङरुप तथा यलेकवा श्री राये अनि थि देउ राय को सामाजिक तथा राजनीतिक प्रभाव मकवानपुर र विजयपुरसम्म पुगेको र यही प्रभावको फलस्वरुप सिक्कीमको राजा फुन्चो नाम्गेलले अरुण उपत्यका अर्थात याङरुपको  योङहाङ राजकुमारी थुङ्वामुक्मासँग पारिवारीक सम्बन्ध कायम गरेको तथ्य देखिएको छ ।

 स्याहामोहरमा वर्णन गरिएको  तत्कालिन  लिम्बुवान राज्य विजयपुरमा  याङरुपको रणकौशल र सहयोगी समाजकै कारण यलेकवा श्री राजाको मात्र नभएर  लिम्बूवान र याङरुप राज्यको विजयपुरमा सकारात्मक र गम्भिर प्रभाव परेको निष्कर्ष निकालिएको छ ।

सन्दर्भसुचीहरु

इङनाम, भगिराज (२०७७), लिम्बुवानको ऐतिहासिक दस्तावेज सङग्रह,  अतित इङनाम ।

चेम्जोङ, इमानसिंह (२०५९), किराँतकालिन विजयपुरको इतिहास, किरात याक्थुङ चुम्लुङ ।

चेम्जोङ, कौशल (२०७७), उदयपुरको इतिहास, उदयपुर अनुसन्धान केन्द्र ।

जवेगु भिमविक्रम सिह (२०६४), थेगिम वंशावली, थेगिम प्रकाशन ।

ढकाल, टिका (२०७८), इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङग्रह, हिमालखवर ।

ढुङ्गेल, डा. रमेश (२०२६), चैनपुर एक समृद्ध प्रदेश, प्राचिन नेपाल ।

पुरातत्व सङ्ग्रह (२०१८), नेपाल सरकार ।

नाम्गेल, थुर्तोब (सन् १९०९), हिस्ट्री अफ सिक्किम, पाण्डे छिरिङ ।

योङहाङ, मनु र अन्य (२०७९), योङहाङ वंशावली, किरात योङहाङ कुलवंश प्रतिष्ठान, माइधार झापा ।

योङहाङ, मनु  (२०८१), थुङवामुक्मा एक गुमनाम राजकुमारी, हिलिहाङ डटकम ।

श्रेष्ठ, शिवकुमार (२०४१), लिम्बुवानको ऐतिहासिक अध्ययन, रत्न पुस्तक  भण्डार ।

सुवेदी, डा. राजाराम ( २०५८)

Gurung, S. K. (2011). Sikkim Ethnicity and Political Dynamics: A Traidic Perspective. New Delhi: Kunal Books.

Risley, H. H. (1989). the Gazettter of Sikhim. sikkim: SIKKIM NATURE CONSERVATION FOUNDATION.

Subba, Kausila (2016).A COMPARATIVE STUDY OF LIMBOO AND BHUTIA TRIBES IN SIKKIM, 1974-2014, Sikkim University Sikkim

Subba, J. R. (2008). History Culture and Customs of Sikkim. New Delhi: Gyan Publishing House.

Yonghang, M. (2024) Evolution of Yangrup Thum 

https://doi.org/10.3126/kj.v4i1.86139

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : १० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज