तस्मानिया, होबार्ट । आख्यानकार मनु योङहाङको अर्को उपन्यास “सेक्मुरी फूल” अष्टेलियामा सार्वजनिक गरिएको छ ।
अष्ट्रेलियाको तस्मानिया राज्यको राजधानी होवार्टमा आयोजित एक कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य तथा किरात योङहाङ कुलवंश प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष अमृत योङहाङले एक कार्यक्रमबिच आख्यानकार योङहाङको आठौं कृति तथा तेश्रो उपन्यास “सेक्मुरी फूल”को अष्ट्रेलियामा विमोचन गर्नुभयो ।
कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै चुम्लुङका केन्द्रिय सदस्य योङहाङले मुन्धुमका मार्मिकतालाई नेपाली पाठकसामु उपन्यासले पुर्याउनमा महत्वपूर्ण भूमिका निभाउने बताउनु भयो ।
विमोचनको क्रममा उहाँले थप्नु भयो -“सेक्मुरी फूल” केवल उपन्यास होइन, यो एक दर्शन हो—एक आत्मसंवाद, जहाँ किरात मुन्धुम र बौद्ध चिन्तन एकै धारामा बग्दछन् । यस कृतिमा जीवनका मूल्य र मान्यता केवल उपदेशका रूपमा होइन, अनुभूतिका रूपमा प्रस्तुत छन्। मनु योङहाङको कलमले मुन्धुमलाई आधुनिक चेतनासँग संवाद गराउँछ र त्यस संवादभित्र मानवीय अस्तित्वको सुगन्ध फुलाउँछ—सेक्मुरी फूलझैँ, जसको रङ्ग पनि सौन्दर्य हो र सुवास पनि अनुभूति ।”
आख्यानकार योङहाङको यो उपन्यास गत २०८२ साल भदौं २१ गते काठमाडौैको अनामनगर स्थित युनियन हाउसमा नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्व कुलपति तथा बरिष्ठ कवि बैराँगी काहिँलाको करकमलबाट विमोचन गरिनुको साथै दक्षिण कोरियाको सोलमा समेत यहि ३ अक्टोबर २०२५ मा कोरियाली चाड छुसकको अवसरमा थाम्सुहाङ समाज कोरियाबाट विमोचन गरिएको थियो ।
पाँचथरे आख्यानकार मनु योङहाङको यसअघि “सप्तकोशीको किनारबाट” (गजल सङ्ग्रह, २०५४), “फूल”(उपन्यास, २०५७), “टिकट चिठ्ठीमा”(गीत एल्बम, २०५९), “थोक्फेला”(उपन्यास, २०८१), “योङहाङ वंशावली”(सम्पादन, २०७९), कनकाइ ज्ञानमाला(सहलेखन, कक्षा-७, २०८१) र कनकाइ ज्ञानमाला(सहलेखन, कक्षा-८, २०८२) प्रकाशित छन् । उहाँ हाल झापामा मावि तह गणित विषयको स्थायी शिक्षक हुनुको साथै नेपाली लेखक सङ्घको केन्द्रिय सदस्य हुनुहुन्छ ।







प्रतिक्रिया