चर्चित लेखक तथा साहित्यकार, मनकामना कलेज विर्तामोडका नेपाली विषयका उप-प्राध्यापक तथा भानु मावि अर्जुनधाराका नेपाली शिक्षक देवी प्रसाद गौतम सरको उपन्यास सेक्मुरी फूलबारेको समिक्षा उहाँकै शब्दमा
परिवेश, संस्कृतिलाई मुभी क्यामेराले खिचेको तस्बिर झै सपाट
सेक्मुरी फुल ‘ उपन्यास जीवनको प्रतीक र असल जीवनको सुन्दर फुल, उपन्यासकार मनु योङहाङ प्रथम दृष्टिबिन्दु बनेर उपस्थित भएको नेपालको किरातकालीन, उत्पत्ति, विकास, जीवनदर्शन, संस्कृति, संस्कार तथा बौद्ध दर्शनलाई सूक्ष्म खोज अनुसन्धान गरी पाठक सामु पस्किएको एक उत्कृष्ट, ऐतिहासिक, मनोसामाजिक, पौराणिक जीवन दर्शनको त्रिवेणी रहेछ।
ईशापूर्व ५१३ देखिको बौद्ध दर्शन, मुन्धुम संस्कार र जीवनशैली, किराती पर्यावरणलाई समेत समेटेर पाँचथरका चिरपरिचित स्थानीय ठाउँहरू, अमरपुर, कुर्लुम्बा, सिरीचम्पा, नवमी बजार, थर्पु, खुँगा, रानीगाउँ हाङठुवा, भारपा, फिदिम, च्याङ्थापु ओयाम कञ्चनजङ्गा, कुम्भकर्ण, आगेजुङ, झापाको बिर्तामोड, बुधबारे, माईधार, आँपटारी विराटनगर देखि लिएर किराँतकालीन काठमाडौँ, बेलायतसम्मको परिवेशलाई तथा लिम्बू विवाह संस्कृतिलाई मुभी क्यामेराले खिचेको तस्बिर जस्तै सपाट रुपमा प्रस्तुत गर्ने उपन्यासकारलाई, उहाँको बौद्ध दर्शन, र किराँतकालीन सभ्यताको सिङ्गोपाङ्गो गहन अध्ययन भएकोमा उपन्यासकी नायिका मनुवाट मुखरित गराउने कलालाई सलाम छ।
लिम्बु भाषाका नेपाली लवज र परिवेशलाई जस्ताको तस्तै उतार्न सफल
उपन्यासको कथावस्तु, पात्र विधान, संवाद शैली, भाषा र शब्द विन्यास र उद्देश्य समापन पाठकको योग्यतालाई समेत ध्यान दिएर गरिएको छ। लिम्बु भाषाका नेपाली लवजलाई जस्ताको त्यस्तै उतार्न खप्पिस उपन्यासकार योङहाङ, आफूले भोगेको समाज र पात्रलाई सर्लक्क टिपेर पाठक सामु पस्कन्छन्। यो उनको निजी विशेषता मान्नुपर्छ।
मनुजीको बौद्ध दर्शन र किराँतकालीन सभ्यतामा भएको ज्ञानबोध अद्वितीय छ। लाहुरेहरूका विश्व अनुभवजन्य सैनिक जीवनका फाइदा बेफाइदाहरूलाई जीवन्त रूपमा विश्लेषण गरिएको छ।
लाहुरे, पाडरी बाजे , हेडसर रुद्र सर, बखते, ड्राइबरे दाइ, अमृते, दाइ, बेसी घरे जेठा, , नर्स तान्छोना, काङसोरे, नोगेन, काभ्रे अन्तरे, तुम्मा, लोकेन्द्र,नवीन काम्बाङ, डाक्टर ताङसाङ उपन्यासकारका स्थानीय प्रिय पात्र देखिन्छन् भने, ऐतिहासिक प्रमुख पात्रहरू तरबार सिंह,, तथागत, महाराज जितेदास्ती, यलम्बर, ज्ञानाकर, प्रसेनजित जस्ता पात्रहरूले उपन्यासलाई गहकिलो बनाएका छन्।
सत्कर्मका विचार दर्शनले मार्मिक
उपन्यास मुन्धुम प्रेमशैली, शान्तिपूर्ण बोधिसत्व प्राप्त गरेका सत्कर्मका भिक्षुको विचार दर्शनले मार्मिक छ भने किराँतकालीन जिनको कारण उत्पन्न पूर्वजन्मका विचारहरूको संयोजनले उपन्यासलाई ओजपूर्ण बनाएको छ। सरल शब्द विन्यास, संस्मरणात्मक शैली, विषयवस्तुको गहन अध्ययन र प्रस्तुतिकरण ले उपन्यास अब्बल छ।
पाठकलाई पढ्न लगातार पाँच घण्टामा जति समय लाग्ने स्वादिष्ट र मार्मिक देश सन्देश भोग्न पाइने आकारको हिसाबले पनि व्यस्त मान्छेहरूलाई दुईवटा सिङ्गो जीवन (ऐतिहासिक र सामाजिक यथार्थपरक), एकै ठाउँमा बसेर बुझ्न सकिन्छ।
उपन्यासकारलाई धन्यवाद अझ सफलताको शुभकामना।







प्रतिक्रिया