काठमाडौै, सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी एसियाकपको लागि उज्वेकिस्तानमा जारी एएफसी महिला छनोटको खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलअन्तरले पराजित गरेको छ।
सावित्रा भण्डारीले तीन तथा गीता रानाले दुई गोल गरेका छन् । एक एक गोल भने रेखा पौडेल र पूजा लिम्बूको नाममा रह्यो । गीता रानाले ७ मिनेटमा र पेनाल्टीमार्फत ५३ मिनेटमा दुई गोल गरिन् । सावित्रा भन्डारीको सटिक क्रसमा दाहिने बार च्याप्दै उनले शुरुवाती सुन्दर गोल गरिन् ।
उता कप्तान सावित्रा भण्डारी साम्बाले १९ मिनेटमा श्रीलङ्काको किपरले पन्च गरेको बल सरु लिम्बुको सहज मिडफिल्डमा देब्रे बार च्याप्दै पहिलो गोल र ४३ मिनेटमा अनिता बस्नेतको व्याकपासलाई शक्तिशाली भली प्रहारबाट दोश्रो गोल गरिन । दुई मिनेटपछि नै सविता रानाको क्रसलाई हेडगोल गरेर ४५ मिनेटमा ह्याट्रिक पूरा गरिन्। उनको ४० मिनेटको फ्रि किक गोल भने अमान्य भएको थियो । ६२ मिनेटमा निशा थोकरले थप गोल गरिन् ।
सातौं गोल भने सब्चिच्युटको रुपमा मैदान प्रवेश गरेको रेखा पौडेलले पूजा रानाको क्रशलाई हेड गोल गर्दै ७७ मिनेटमा आफ्नो नाम गर्दा अन्तिम गोल भने उनै पूजा रानाले ८८ मिनेटमा गरिन् । श्रीलङ्काको रक्षकले क्लियर गरेको बल पोष्टको देब्रे कुना च्याप्दै उनको शक्तिशाली प्रहारबाट सम्भव भयो । पूजा पनि सब्चिच्यूटकै रुपमा मैदानमा प्रवेश गरेकी थिइन् ।








प्रतिक्रिया