कथामा बहुलरङ्गवादी प्रवाह: अमृता पाठक चौलागाईको चैतु काका
-मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।
साहित्य र रेडियोमा रङमङ्गाइरहेको एक शसक्त लेखिका तथा कथाकार हुन्-अमृता पाठक चौंलागाई । नेपाली लेखक सङ्घ झापाको कोषाध्यक्ष तथा एक शिक्षक, राजनीतिकर्मी नेपाल शिक्षक सँघको कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईको जीवनसाथीको रुपमा उहाँलाई पूर्णकालिन शिक्षक राजनीतिमा लाग्न समय उपलब्ध गराउनको साथै विद्यालयमा शिक्षण अनि घरपरिवार सम्हाल्नदेखि रेडियोमा साहित्यिक कार्यक्रम सन्चालन गर्नुले उहाँको समय व्यवस्थापनको कुशलता देखिन्छ । यसै क्रममा साहित्य सिर्जनामा समय निकालेर भुँडीपुराण प्रकाशनबाट प्रकाशित उहाँको सोह्रवटा कथाहरुको सङ्ग्रह हो-चैतु काका । मैले अमृता पाठक चौलागाई मेडमद्वारा लिखित एक सय अन्ठाउन्न पृष्ठको सोह्रवटा कथाहरुको सङ्ग्रह चैतु काका पढ्न पाँए । सामाजिक यथार्थवादी स्वैरकल्पनामा लेखिएको समाजका विभिन्न पक्षहरुलाई उत्तरसिद्धान्तमा दाँजेर हेर्दा उहाँमा समाजको सुन्दर आयामलाई नारीवादी दृष्टिकोणबाट हेर्न सक्ने सुन्दर शिल्पीचेत रहेको पाँए । चैतु काकालाई बहुलरङ्वादी दृष्टिकोणको हेर्दा निम्न रङहरु देखियो ।
नारीवादको रङमा-चैतु काका
समाज,कानुन र विधीमा रहेको पुरुष दबावलाई हटाएर नारीहितमा कानुन बनाउनु पर्ने तर्क नै नारीवाद हो । कथासङ्ग्रहको पहिलो कथा पुरुषको अहमले एउटा समाजमा छोरीप्रतिको दृष्टिकोणको लज्जास्पद हारलाई यति सरल भाषामा राखिएको छ कि मननै चरक्क बनाउँछ । नारी पुरुषभन्दा कम छैन तर उसलाई समाजले अबला बनाएको छ भन्ने उदाहरण सीता पात्रमार्फत रामायणकी सीतासँगको भेट कथाले बताएको छ । अग्नीपरिक्षाबाट जलेको शरीर अनि दुईदुईवटा बच्चाहरुबाट विमुख गराइएको कारुणिक पौराणिक कथालाई अहिलेको आधुनिक अझ उत्तरआधुनिक कलेवरमा उतारिएको कथा हो यो । झुम्री कथामा नायिका को रुपमा एक सडक महिला र यौनपिपाशुलाई र छोरी भएको घर कथाले मातृत्व र नारीको कर्तव्यप्रति नयाँ शिराबाट बहश गर्न उत्प्रेरित गरेको छ ।
सत्रौंदेखि बिसौं शताब्दीको पूर्वार्धसम्मलाई साहित्य र कथामा आधुनिककाल भनिन्छ जहाँ उद्योगवाद, उपनिवेशवाद, विकासवाद र शहरीकरणले प्रश्रय पायो । बिसौं शताब्दीको उत्तरार्धदेखि संरचनात्मक भाषाविज्ञानसँगै समाजशास्त्र मानवशास्त्रका नयाँ नयाँ शिराहरुको अध्ययनबाट साहित्य पनि नारीवादको रङ्गिन कलेवरमा आयो । चैतुकाकामा यो रङको कलेवर मलाई माफ गरिदेउ कथामा देखिएको छ। नायिका कृतिबाट एक बलात्कारीको हत्याले विद्रोही उत्तरसंरचनावादको पैरवी गर्छ । त्यसपछि म कहिल्यै मावल गइन कथाले सामन्त र पुरातनवादी सनातनी प्रवृत्तिमाथि धावा बोल्छ । शिर्ष कथा चैतु काका ले सम्पन्न राजवंशी खानदानलाई समय अनुकुलतामा रुपान्तरणको आवश्यकता देखाउदै उत्तरसंरचनावाद भित्र्याएर बहुलरङ् मात्र देखाउदैन बरु आफ्नो उमेर पुगेको सन्तानको मायालाई जीवनभर संगालेर मनै चरक्क बनाइदिन्छ ।
डिकन्स्ट्रक्सनवादी रङमा चैतु काका
दोश्रो विश्वयुद्धपछि परम्परागत रुपमा राजाको, मन्त्रीको तथा सामन्तको कथा लेख्ने क्रम तोड्नु नै विनिर्माणवाद हो । बहुलरङको एक भाग विनिर्माणवादी शैलीमा मृत्युशोक लेखिएको छ । एउटा छोरीले हराएको पिताको मृत्युमा आमाको छाँया देख्नुले स्नेह र त्यागको माथि र तलको उच्चनिचक्रम तोडेको छ । एउटा प्रेमको अन्त्य कथामा अनिता पात्रमार्फत युवा मनोविज्ञानको कारुणिक अन्त्यको डिकन्स्ट्रक्सनवादको उच्चतम रङ संयोजन यसरी यो कृतिले अपनाएको छ ।
शक्तिवादको रुपमा रहेको ठूलाठालुहरुको कथा परम्परालाई त्यसपछि म कहिल्यै मावल गइन कथाबाट तोडिएको छ । समाजमा विद्यमान छुवाछुत गर्ने व्यवहारको बालमनोविज्ञानमा पारेको प्रभावको वयान गर्दै समयसापेक्ष नयाँ ढङ्गबाट हेर्ने प्रयास गरेर ठूलाबडाको मात्र कथा लेख्ने परम्पराको विरोध गरेको छ । कागजकी श्रीमती र मैले दोश्रो बिहे गरें कथाले विवाह र सम्बन्धको संरचनामा विनिर्माण गरेको छ ।
डिस्कोर्सको रङमा पितापूर्खाको कथा
१९७० को दशकमा हेडन ह्वाइटले मेटाहिस्ट्रि र टपिक्स अफ डिस्कोर्स जस्ता कृति प्रकाशन गरेर साहित्यमा डिस्कोर्स भित्र्याए । साहित्यिक आधार लिएर वास्तविक समाज बताउनु कथाको डिस्कोर्स हो । चौलागाइले चैतु काकामा विभिन्न पात्रहरुको माध्यमबाट यसरी डिस्कोर्सको रङले रङ्गाएका छन् ।
चैतु काकालाई मैले डिस्कोर्सको रङले हेर्दा यसप्रकारका रङहरु देखिए –
क)पुरातन(कन्जर्भेटिभ)- पढ्ने बानी कथाले समाजमा व्याप्त सोचलाई देवेन्द्र पात्रमार्फत ल्याएका छन् । चैतु काका कथामा समाजको आरोह अवरोहलाई हेर्ने पुरातन शैलीमा केहि फरक रङ आएको देखिन्छ । मैले दोश्रो बिहे गरें कथामा पुरानो श्रीमानको मायाले परम्परागत नेपाली नारीको कथा भन्छ भने म कहिल्यै मावल गइन कथाले कट्टर परम्परावादी परिवारले एउटा दलित नातिनीको मावली जाने रहरमा पुर्याएको तुषारापात देखाउँछ ।
ख) क्रान्तिकारी(रेडिकल)- यस पुस्तकमा विभिन्न पात्रहरुले क्रान्तिकारी भूमिकामा देखिएका छन् । शसक्त नारीपात्र बनेर समाजको कुरिती विरुद्धमा धावा बोल्ने कथाहरुमा पुरुषको अहम्, कुरुप को, छन् । । उता पात्रको माध्यमबाट चेतनाको क्रान्ति छर्नमा म कहिल्यै मावल गइन र एउटा प्रेमको अन्त्य सफल देखिन्छ । बोझ कथामा उपहारको बारेका परिवर्तनकारी धारणा समेटिएको छ । यसर्थ कथाकार अमृता पाठकमा नि रङ्गवादी विचारक तथा हरियो क्रान्तिकारी चेत देखिन्छ ।
ग) उदार(लिवरल)- डिस्कोर्समा देखिएको अर्को रङ उदारता अर्थात लिबरल हो । पत्नी गुमाएको पतिभन्दा पति गुमाएको पत्नि धेरै लिवरल देखिएको कथा हो मैले दोश्रो बिहे गरें । डिभोर्स र पूर्वप्रेमको सम्मिश्रण देखाउदै कागजकी श्रीमतीले नारीको मनोविश्लेषणमा लिवरलता देखाइएको छ । कुरुप कोमा बडीआमाको उदारतासामु माधवको पराजय कम रोचक छैन् ।
कथाको सौन्दर्यता र उत्तरआधुनिकतामा निर्मग्न यात्रा
माइकल फुकोको आदर्शको आधुनिकवादलाई अस्विकारको जल्दोबल्दो प्रमाण चैतु काकामा भएकोले यसले उत्तरआधुनिकवादमा निर्मग्न यात्रा गरेको मेरो ठम्याइ छ । तात्पर्य के भने आधुनिकवादको सरल रेखिय र क्रमबद्धतालाई पात्र र परिवेशको माध्यमबाट पटकपटक तोडिएको छ । पुरुषको अहम कथामा एउटा नारीको मातृत्वले अझ प्रष्ट शब्दमा तोडिदिएको छ । छोरी भएको घर कथाले कथासौन्दर्यतालाई यति शक्तिशाली रुपमा साहित्यिक व्याख्या गरिदिए कि साहित्यिकता उत्तरआधुनिकवादको शक्तिशाली औजार भएको प्रष्टियो । रामायणकी सीतासँगको भेट कथामा सनातनवादको सरल रेखालाई रामको दोष तथा दरबारको हस्तक्षेपबाट तोडिएको छ ।
चैतुकाकामा इन्द्रेणी गाँउ
बहुल रङको अर्को रङ हो इन्द्रेणीगाँउ । चैतुकाकाको रुपमा एउटा आदिवाशी जनजाती र मधेशी समुदाय अनि त्यसपछि म कहिल्यै मावल गइनमा दलित तथा अन्य थुप्रे कथाहरुमा महिलाहरु इन्द्रेनी गाँउमा शक्तिशाली बन्दै मिलेर बसेका छन् । समाजको अन्य रङहरु झुम्रीमा एउटा सडक महिला, कुरुप कोमा समाजको जेष्ठ जागरिक बहुल रङहरुले विना हतियार शान्तिपूर्वक सामाजिक लडाँइ लड्छन् ।
अन्तमा चैतु काका कथासङ्ग्रहमा समाजको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षहरुको साङ्गोपाङ्गो चित्रण पाइने भएकोले पठनिय र सङ्ग्रह योग्य छ । नारी संवेदना र मातृत्वले पाठकको मन बाँधेर राख्छ । भाषा सरल मात्र छैन् सरस तथा बान्किलो पारामा पात्र र परिवेश बुनिएको छ । थोरै पूनर्लेखनमा अनि म पात्रको अत्यधिक प्रयोग तथा अङ्ग्रेजी र उर्दु शब्द छनोटमा विचार गरेको भए कृति अझ सुन्दर हुने थियो । लेखकको ओजिलो कलमबाट अझै गहकिला कथाहरु सिर्जना हुने कुरामा आशावादी तथा पर्खाइमा सेवारो !








प्रतिक्रिया