१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रौतहटमा १७ वर्षदेखि बोरा बिछ्याएर पढिरहेका विद्यार्थीहरु र ७ वर्षदेखि तलब नपाएका एक शिक्षक, स्थानीय सरकार उदासीन



रौतहट । फतुवा विजयपुर नगरपालिका-१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।

विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुईँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स-साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुईँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताएकी छन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ ।

स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरिन्। अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए। अहिले फर्निचर र भवन मात्र भए पनि पढ्न सहज हुने पटेलले बताए । बाल विकास कक्षामा अध्ययन गर्न बालबालिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुईँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालाल प्रसाद यादवले बताए ।

हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई संघीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिवर्तन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ ।

सोही विद्यालय स्थानान्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका-१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उनी खिन्न भएका छन् ।पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिएका छन् । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गरे । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् ।

यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसा पिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रुपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुंगो नभएको शिक्षक धोबीले बताए ।

सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए । फतुवा विजयपुर नगरपालिका-१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिएका छन् । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : २४ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका