६ फाल्गुन २०८१, मंगलबार | February 18, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

को हुन् विरभद्र राय?राजा हिलिहाङ र सम्वत् १८३५ साउनको लालमोहर



ऐतिहासिक स्थल भालुमासिं,चेवा,आंगला,हेलुवा,धुपु,हिंदाङ,मलटा,लेवाराम,पौठाक,सोवाजित तथा दस लोहरुङ जहाँ राजा हिलिहाङले आफ्नो राज्यकालको उत्तरार्धमा सम्वत् १८३४-३५ आसपास सत्र पटकसम्म गोर्खाली सेनाहरुलाई हराएका थिए। यहि सत्र पटकको युद्धमा राजा हिलिहाङलाई सहयोग नगर्ने, लिम्बुवानी भूमिको लागि सदैव  प्रयत्नरत लिम्बुहरुलाई गोर्खालीको पक्षमा लाग्न उत्प्रेरित गर्ने पूर्णानन्द उपाध्यायका सहयोगी फेदाप तेह्थुमका  विरभद्र रायको बारेमा यो अङ्कमा चर्चा गरिएको छ ।”

इतिहास भनेको भूतकालको वैज्ञानिक अध्ययन ह‍ो।समय सभ्यताको विकासको क्रममा कुनै पनि राज्यले आफ्नो उत्थान र पतनको  कालखण्डमा कुनै न कुनै प्रमाणले इतिहासलाई जनाएको हुन्छ।एउटा क्रोनोकल्ली प्रामाणिक लालमोहर जुन् सम्बत् १८३५ साउन सुदिमा राजा रणबहादुर शाहले प्रदान गरे सोहि लालमोहरको आधारमा कुनै समय एकदमै परिचित,लिम्बुवानी भूमिका निष्ठावान नक्षत्र राजा हिलिहाङ  र त्यहि इतिहासको गर्भमा विलिन एउटा यस्तै पात्र फेदाप  तेह्रथुमका वीरभद्र राय जसले गोरखालीहरु विरुद्धको राजा हिलिहाङको साथ र सहयोग गरेनन् फेरि उल्टै हिलिहाङलाई सहयोग गर्ने तमोरवारी र चैनपुर लगायतअन्य क्षेत्रका लिम्बुहरुलाई समेत गोरखाली संग मिल्न भन्ने धनजित राय र विरभद्र रायले माफ गरे माफ भएको भन्दै राजा रणबहादुर शाहले विरभद्र रायलाई गरिदिएको लालमोहरको बारेमा एउटा टिप्पणी र चर्चा गर्ने प्रयास गरिएको छ ।

को हुन् वीरभद्र राय ? 

तेह्रथुम फेदापका यी विरभद्र रायलाई आङबोहाङ थरका हुन् भनेर केही इतिहासकारहरु बताउछन्।नन्द राय,धन जित राय र सिम्लेका पूर्णानन्द उपाध्यायका बफादार विरभद्र रायले गोर्खाली नीति मानेर तमोरपारीका राजा हिलिहाङ विरुद्धमा चैनपुरका लिम्बुहरुलाई उचालेर राजा रणबहादुर शाहबाट लालमोहर प्राप्त गरेका थिए।फेदापका नन्द राय संगै सुनचुरा प्राप्त गर्ने आशा लिएका यी वीरभद्र रायका कुरा नमानेर आफ्नो लिम्बुवान भूमिप्रति समर्पित निष्ठावान लिम्बुहरु राजा हिलिहाङको नेतृत्वमा गोर्खालीहरुलाई सत्र पटकसम्म पराजित गर्न सफल भए।चैनपुरको सम्वत् १८३४-३५ को भयानक युद्धमा राजा हिलिहाङलाई जसमुखी रायले सहयोग गरेका थिए।

सम्वत् १८३१ मा विजयपुर जितेपछि लिम्बूवानी भूमिमा दखल गर्न चैनपुुर आक्रमण गरेका अभिमान सिंह बस्नेतले लिम्बूहरुको भयंकर प्रतिरोधको सामना गर्नु पर्यो।तमोरवारीका लिम्बुहरुले याङवरकका राजा हिलिहाङको नेतृृत्वमा गोरखालीहरु विरुद्ध भयंकर प्रतिरोध गरे । यो प्रतिरोधको क्रममा गोर्खालीहरुले कुम्भ राय, रैनसिं राय लगायतकाहरुलाई नुनपानीको सम्झौता गरेर लिम्बुहरुलाई फुटाए। तर राजा हिलिहाङको नेतृत्वमा सिक्किमे देपछ्याङ रिन्जिङको भोटे सेना र छाङजत घ्याकथुपको लाप्चे सेनाको सहयोगमा तमोरपारीका लिम्बूहरुको भयानक प्रतिरोध गरे ।

तमोरवारीका याङरुपका राजा हिलिहाङ लगायतका केही विद्रोही लिम्बूहरु जसलाई गोर्खाले साम्रिती भन्दथे उनिहरु परम्परागत मुन्धुम मानेर गोर्खे हिन्दू धर्म मान्दैनथे, त्यहि साम्रि ती मान्ने एकातिर सिरिदेउ राय,आसमुखी राय,जसमुखी राय सहितका थिए भने अर्कातिर नीति (हिन्दु ?) मान्ने  फेदापका विरभद्र राय,नन्द राय र धनपति राय गोर्खालीहरुसंग मिलेर हिलिहाङलाई धोका दिने पूर्णानन्द उपाध्यायका एक प्रमुख सहयोगी पात्र लिम्बु थिए।यसरी विद्रोह गरिरहेका तमोरवारीका लिम्बूहरुलाई फुटाएर आफ्नो पक्षमा ल्याउन गोर्खालीपक्षबाट विभिन्न प्रकारका प्रलोभन र आर्थिक सहायता गरिदिने प्रपन्च रचिएको थियो । यो काममा आठराइ सिम्लेका पूर्णानन्द उपाध्यायले  ठूलो सहयोग गरे।आर्थिक,भौतिक ,कुटनैतिक तथा हातहतियार सहित गोर्खाली पक्षको तर्फबाट आठराईका कुम्भ रायलाई गोर्खाली पक्षतर्फ मिलाउने काम गरेर नीति मान्न लगाए । यसै क्रममा उपाध्यायको नजर बुढिमोरङका सिरिदेव राय र फेदापका वीरभद्र राय तर्फ गयो र उनिहरुलाई ग‍ोर्खाली नीति मान्न लगाउन भरमग्दुर प्रयास गरे अनि सफलतासमेत प्राप्त गरे।

फेदापका धनपति रायको उक्साहटमा लागेर वीरभद्र रायले पूर्णानन्द उपाध्यायको प्रस्तावलाई स्विकार मात्र गरेनन् तन ,मन र धनको साथ गोर्खाली  नीति समेत मानेर हिलिहाङ सहित सिक्किमे सैनिकलाई धोका र असहयोग समेत गरे तथापि  दस लोहरुङ,भालुमासिं,चेवा,आंगला,हेलुवा,धुपु,हिंदाङ,मालटा,लेवाराम,पौठाक र सोभाजितका लिम्बूहरुलाई राजा हिलिहाङ र सिक्किमे सैनिकविरुद्ध उकासे।यो बाहेक गोर्खाली विरुद्धको सम्वत् १८३४-३५ को सत्र पटकसम्मको चैनपुर युद्धमा गोर्खालीहरुलाई जिताउन भरमग्दुर साथ र सहयोग गरे । तर युद्धको देविले अखण्ड  लिम्बुवानको पक्ष लिएको हुनाले उपरोक्त ठाउँहरुमा भएको सत्र पटकक‍ो युद्धमा गोर्खेहरूलाई हराउन सफलता पाएकोले राजा हिलिहाङलाई सत्रजिते पनि भनिन्छ ।

यसरी आफ्नो कुटनिती असफल भएपछि पूर्णानन्द उपाध्यायले वीरभद्र रायक‍ो हवाला दिदै सो सत्र पटक युद्ध भएको लिम्बुवानी भूमिमा रहेका लिम्बूहरुलाई  फकाउन गोर्खाली राजा रणबहादुर शाहलाई प्रयोग गरे।राजा रणबहादुर शाहले सम्वत् १८३५ क‍ो साउनमा फेदापका धनपति राय र  वीरभद्र रायको तर्फबाटआफ्नो पक्षमा आएमा सबै प्रकारका खतहरु,अपराधहरु माफ गरिदिने कबुल सहितको लालमोहर गरेर स्वाभिमानी लिम्बु हरुलाई ग‍ोर्खाली पक्षमा ल्याउन प्रयास गरे।

यो लालमोहरलाई स्व.भरत तुङधङले संकलन गरेका छन् जुन यसप्रकार रहेक‍ो छ-

के छ त  रणबहादुर शाहको  सम्बत् १८३५ साउनको लालमोहरमा?

स्वस्ती श्री गिरिराज चक्र चुडामणि नरनारायेणेत्यादी विविध विरुदावली विराजमान मानोन्नत श्री महाराजधिराज श्री श्री श्री श्री महाराज रणबहादुर शाह बहादुर शमशेर देवानाम सदा समर विजयीनाम,–

स्वस्तिश्री दस लोहरुङ,भालुमा सिं मझिया,चेवा मझिया,आंग्ला मझिया,हेलुवा मझिया,धुपु मझिया,हिंदाङ मझिया,मलेटा मझिया,लेवाराम मझिया,पौठाक मझिया,सोभाजित मझियाके आशिषपूर्वक पत्रमिदं.ञाहा मुशल ताहा कुशल चाहिये .आगे यहाँको समाचार भलो छ.उप्रान्त हिजो मकवानी राजाका घरका भलासेवक हौं.जाहासम्म मकवानी नुन षायाको थियौं ताहासम्मन नुनको सोझो सेवाटहल गरि आयाथ्यौ.हिजोको तिम्रा राजा ज‍ो हुन् सो राजा पनि छैन.त्य‍‍ो देश अब हाम्रो अब्बल भयो.तिमी सेवक भन्याको दुवै घरको एकै ह‍ो.यो घर भन्याको तिम्रै हो.छदिया तिमी हैन.दुनियासेवक हौं.तसर्थ तिम्रा भाइ भैयाद कलिलदारी समेत ञाहाँ आव.तिम्रा सम्वातको वारदास् दि बक्सौला.बाँकि त्यो देश हामीले मार्दाखेर तिमीले मार्यौ मर्यौ.नुनसम्मन गर्ञाथ्यौ.सेवकक‍ो गर्नु .ताहिसम्म सम्म ह‍ो.बाँकि हिजो हामीले त्यो देश मार्दा .माहा तिमीले हामी माथी हान्याको मार्याको गर्नु नगर्नु गर्याको जो विराम छ .सो तिम्रा धन जियाकन माफ गरि बक्स्यौं आफ्ना षातिर  ज्मासित वीर भद्र राइका मार्फत अब कबनै बातका संधेया छैना.इति सम्वत १८३५ साल श्रावन वदि रोज मुकाम कांतिपुर शुभम्……

के हो त लालमोहरको विषयसार ?

सम्वत १८३१ मा विजयपुरमा भएको युद्धमा विजयी बनेर राजा कर्ण सेन तथा चौतारा बुद्धिकर्ण रायलाई विस्थापित गरेका अभिमान सिं बसन्यात र पार्थ भन्डारीकाे नेतृत्वको गोर्खे सैनिकहरुले चैनपुर आक्रमण गरे। स्वाभिमानी लिम्बूहरुले तमोरवारी याङरुकको राजा हिलिहाङको नेतृत्वमा सिक्किमे भोटे लाप्चे सैनिकको सहयोगमा डटेर मुकाविला गर्दै सत्रपटकसम्म पराजित गरे।

लिम्बुवानी भूमिप्रति निष्ठावान लिम्बूहरुले राजा हिलिहाङलाई साथ दिदै सिक्किमको सहयोगमा  दस लोहरुङ,भालुमा,चेवा,आंगला,हेलुवा,धुपु,हिंदाङ,मलटा,लेवाराम,पौंठाक,सोवाजित जस्ता ठाउँहरुमा गोर्खालीहरुलाई पराजित गरे । भयानक युद्धमा धेरै गोरखालीहरु मारिए ,त्यसैलाई लालमोहरमा हामीले मार्दाखेर तिमीले मार्यौ मर्यौ भनिएको छ।

पराजयपछि गोर्खाली सेनाले कुटनैतिक चाल चाले ।उनिहरुले हिजो मकवानपुरको हवाला दिदै विजयपुरको राजा कर्ण सेन रहेनन्,विजयपुर हामीले अब्बल गर्यौ,अब हामीसंग आउ ।लिम्बुहरु र गोर्खाली एकै हौं भनेर आशा देखाइएको छ। हिजोको युद्धमा जे जति गोरखालीहरु मार्यौ सबै माफ गरिएको छ।अलिअलि आशा तर धेरै धम्की र त्रासमा ती क्षेत्रका स्वाभिमानी लिम्बुहरुलाई हरेक तरहबाट प्रयास गरेर गोरखालीसंग मिल्न भनिएको छ।सत्र पटकको युद्धमा जे जति गोर्खाली सेनाहरु मारे घाइते बनाएता पनि धनजित रायले माफ गरिदिन्छ ,उसले नगरे विरभद्र रायको मार्फत  माफ हुन्छ तुरुन्तै मिल्न आउन भनिएको छ ।

(लेखक एमफिल शोधार्थी हुनुहुन्छ)

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : १६ बजे

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।

माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति

ताप्लेजुङमा बन्द जारी, नेता प्रदीप मादेन पक्राउ

ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु