राजा हिलिहाङ र सम्बत् १८३७ को चयनपुरमा बखतवीर सिं बस्न्यातको शेखाशेख
-मनु योङहाङ
“ गोर्खालीहरुले सम्बत् १८३१ मा विजयपुर कब्जा गरेपछि लिम्बुवानको चैनपुरमा लिम्बुहरुको भयानक प्रतिरोधको सामना गर्नु पर्यो । तमोरपारीका लिम्बूहरु पृथ्विनारायण शाहसँग नुनपानीको सम्झौंता गरेर मिलेपछि तमोरवारिका एक्लिएका राजा हिलिहाङले तिब्बत तथा सिक्किमकोभोटे लाप्चे सेनाको सहयोगमा गोर्खालीविरुद्ध युद्ध गरे । सेनापति देप्छ्याङ रिन्जिनको भोटे सेना बसेको ठाँउलाई भोटेगढी र र कार्वारोङ घ्याकथुपको नेतृत्वमा लाप्चेसेना बसेको ठाँउलाई लाप्चेगढी भनिन्छ । यि दुवै ठाँउहरु हाल हिलिहाङ-३,कुर्लुम्बामा पर्दछन् । यो आलेखमा तिनै हिलिहाङको सेनासँग गोर्खाली सेनाको चैनपुर आसपास भएको युद्धको इतिहास केलाउने प्रयास गरिएको छ ।”
मुन्धुमी अभियन्ता तथा अन्भेषणकर्ता सिक्किमेली चेली सन्ध्या सुब्बाको अनुसार-” पाँचथर जिल्लाको ऐतिहासिक स्थलहरुको नाम लिनपर्दा पहिचानको पर्यायको रुपमा हिलिहाङलाई लिइन्छ । पहिचान र सिङ्गो लिम्बूवानको चर्चा गर्दा लिम्बूवानी भूमिको रक्षार्थ आफ्नो प्राणको आहुती दिनुहुदै गोरखालीविरुद्ध लड्नुहुने अन्तिम लिम्बुवानी राजा हिलिहाङको चर्चा नगर्दा अधुरो र अपुरो नै रहन्छ” । यिनै राजा हिलिहाङको पौरख र पुरुषार्थले सिंचित पहिचानको स्तम्भ पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिका र यहि गाँउपालिका वडा नं ३ मा रहेको कुर्लुम्बा गाँउको नेपालको पहिचान तथा जहाँनिया राणा शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा योगदान र पटकपटक सत्ताको कोपभाजनमा परेको यो गाँउको भोटेगढि,लाप्चेगढी एवम् राजा हिलिहाङले गोर्खालीविरुद्ध सत्रपटक जीत हात पारेको ऐतिहासिक थलो चयनपुरबाट गोर्खाली सरदार वखतविर सिंह बस्न्यात र सरोवर सिं रानाले राजा हिलिहाङको सेखि झार्न गरेको प्रयासलाई चर्चा गरेको छु।
इतिहास भनेको भूतकालको वैज्ञानिक अध्ययन हो । भनिन्छ,इतिहास जित्नेको मात्र लेखिन्छ हार्नेको लेखिंदैन।इतिहासको गर्भमा कैयन सभ्यताहरु मौलाए,कैयन विलाएर गए।विजेताहरुले आफ्नो इतिहासलाइ सुन्दर र कलात्मक रुपमा पेश गरे भने हार्नेहरुको वैभवशाली इतिहासपनि गुमनाम बन्न गयो।कलात्मक वा गुमनाम जे भएतापनि कुनै न कुनै रुपमा सभ्यताले इतिहास बोलेको हुन्छ,विगतको कालखन्डलाई केहि न केहि चिनोको रुपमा छाडेको हुन्छ।आफ्नो अस्तित्व र पहिचानलाई कतै न कतै कुनै न कुनै रुपले दर्शाएको हुन्छ।यहाँ यस्तै इतिहासको कालखन्डमा विर्सिएको एउटा ऐतिहासिक पात्र हिलिहाङ र तत्कालिन गोर्खा राज्यको चैनपुर युद्धको ऐतिहासिक तथ्यको बारेमा चर्चा गरिएको छ।
राजा हिलिहाङ र उहाँको विजयपुर र सिक्किमसँगको सम्बन्ध
नेपाल एकिकरणमा गोर्खाली शासकहरुको योगदानलाई चर्चा गरिएको पाइन्छ।गोरखा दरवारले नुवाकोटबाट आरम्भ गरिएको एकिकरणयात्रा कान्तिपुर,ललितपुर र भादगाँउ हुदै पूर्वतर्फ अघि बढेको थियो ।यहि क्रममा मकवानपुर,चौदन्डी अनि विजयपुर संगसंगै पल्लो किराँत पुगेको थियो।दरबारिया कलहबाट कमजोर बनेको विजयपुर विक्रम सम्वत १८३१ साल साउन २ गते अभिमानसिंह बस्नेतको नेतृत्वमा अचानक हमला गरेर कब्जा गरिएपछि विजयपूरका तत्कालिन राजा कर्णसेन र चौतारा बुद्धिकर्ण राय ब्रिटिस सरहद क्षेत्र बेतियातर्फ पलायन भए भने विजयपुर गोर्खाली अधिनमा आयो।
विजयपूर कब्जा गरिएपछि तत्कालिन गोर्खाली सैनिकहरु लिम्बूवानतर्फ अघि बढे । यसरी अगाडी बढ्दा गोर्खालीहरुलाई लिम्बूहरुको कडा प्रतिरोधको कारण तत्कालिन लिम्बूवानको केन्द्र चैनपुर कब्जा गरेर फत्ते गर्न अत्यन्तै कठिन मात्रै होइन् सत्र सत्र पटकसम्म पराजित बन्नु पर्यो । तत्कालिन याङरुपका राजा हिलिहाङको साथै सुन राय,जसमु वि.सं. १८३१-३४ सम्म सत्रपटक हिदाङ्मा,मालेटा ,धुपु,पौंठाक,सभा उत्तर,नुवो उत्तर जस्ता ठाँउहरुमा सुर्विर राना लगायत अभिमानसिंह बस्नेतले पराजय भोगेपछि राजा हिलिहाङको नाम सत्रजिते बन्न पुग्यो ।
राजा हिलिहाङको जन्म वि. सं. १७८२ मंसिर १५ गते पुर्णिमाको दिन याङरुपको हस्तपुरमा भएको थियो । पिता पाबुनहाङको निधनपछि ३२ वर्षको उमेरमा याङरुपको राजा भएका हिलिहाङको तत्कालिन विजयपुरका चौतारा दिवान बुद्धिकर्ण राय तथा सिक्किमका राजा तेन्सुङ नाम्गेलसँग पारिवारिक नाता भएकोले नजिकको सम्बन्ध थियो ।विजयपुरका दिवान बिचित्रचन्द्र राय राजा पाबुनहाङको बहिनी राजकुमारी थोक्फेलाको पति थिए भने बोजु थुङ्वामुक्माको विवाह सम्बत् १७०१ मा सिक्किमका राजा फुन्चो नाम्गेलको छोरा ग्यूर्वेद नाम्गेलसँग भएको थियो ।वि. सं. १८२५ मा दिवान बुद्धिकर्ण रायलाई विजयपुरका राजा कामदत्त सेनले देेशनिकाला गर्दा उनि मामाघर हस्तपुर दरवारमा महिनौंसम्म बस्नुको साथै कामदत्त सेनविरुद्ध सिक्किमको सहायतासमेत पाएका थिए । सिक्किमे भोटे सेनाको सहयोगमा राजा कामदत्त सेनको मोरङमा हत्या र कर्ण सेनलाई राजा बुद्धिकर्ण रायले बनाएका थिए ।
यसरी पारिवारिक नाताको कारण सिक्किमबाट भोटे तथा लाप्चे सैनिक सहयोगका पाएका राजा हिलिहाङसंग सम्बत् १८३७ को शुरुतिर भएको युद्धमा पराजय भोगेपछि गोर्खाबाट बखतविर सिंह बस्नेत र सरोवर सिंह रानाको साथमा थप सैनिक पठाइयो। युद्धमा पराजित भएपछि आठराइका कुम्भ राय तथा पूर्णानन्द उपाध्यायका सहयोगी चम्पसिंह गुरुङ र गजिन्द्र कार्कीले युद्धमा काठमाडौंबाट थप सेना मागेका थिए ।
के छ त अर्जीपत्रमा ?
यसरी गोर्खाबाट चैनपुर आइपुगेका बस्नेत र रानाले राजा हिलिहाङको सेखी झार्ने कबोल गरेर एउटा अर्जीपत्र काठमाडौं पठाए । योगी नरहरिनाथले उक्त अर्जीपत्रलाई सन्धि-पत्र संग्रह भाग-१ मा संकलन गरेका छन्। राष्ट्रिय अभिलेखालयमा रहेको सो अर्जीपत्र निम्नानुसार रहेको छ –
श्री दुर्गासहाये
अर्जि……………………………………………………………..
उप्रान्त चयनपुर आई पुग्याको र चयनपुरदेखि हिड्याको ,भोट्या तिष्टा तरि पारि गयाको,अघिको अर्जिमा विन्ति गरि पठायाको ,जाहेर भयो हो,ताहा पछि दुइ मुष भै जान्या हो भन्या सल्लाह गरि उठ्या थिउ तस्तै बिचमा अगम् सिं भन्या किरातिबाट आशिकरामको छोरो सोभासिं भन्याको गाँउको बाटै बन्दोबस्त गरि माझ किरात हान्या अक्तियार भै सिरो पाउ उठाइ पन्ध्र विस घोडा सौगात लि मधेशको बाटो गयो भन्या,गलवा खवर सुनियो र दुइजना सामेल भै यस पट्टिको बलियो गरि जान्या हो भनि जगा जगामा चिठी लेख्न लागि रह्या थीउ.अगहन सुदि १ रोज ६ का दिन इकुन्दा चम्पा सिं गुरुङ गजिन्द्र कार्कि बाट चिठी आइ पुग्यो र चिठि बिजिनेश चढाइ पठायाको छ ,विस्तार जाहेरवाला होला वैरिको अर्थातलाई भन्या आउन्याको र जानाको ठेगान नभयाको चोर हुंदा यसै देशबाट भागि गयाका किराति,लिम्बू,लाप्च्या,भोट्या छन् अडिन्या जगा गाँउ मै रहेछ,इन्को सेषि नझारजि,सुषिम बस्ति बस्न दिन्या छेैन,नौ दश दिनको बाटो उजार,रहला जो मर्जि ,विज्ञेसु किमधिकम प्रभुषु,मिति अगहनसुदि १ रोज ६ मुकाम चयनपुर शुभम्………………………
इत सेवक वखतविर सिंह बस्न्यात,सरोवरसिं रानाको वंदगि,कुणेश.सलाम.सलाम.सलाम.शुभम्
को हुन् सोभा सिं ,चम्पा सिं गुरुङ र गजिन्द्र कार्की ?
तत्कालिन् आठराइका राजा कुम्भ रायका भारादार आशिकरामको छोरा सोभा सिंह कुम्भ रायले गोर्खालीसँग गरेको नुनपानी सम्झौंताको विरुद्धमा थिए भने पूर्णानन्द उपाध्याायका सहयोगी चम्पा सिं गुरुङ र गजिन्द्र कार्की थिए । यसै क्रममा सोभा सिंहले हिलिहाङका भोटे लाप्चे सैनिकहरु हारेर मधेसतिर गए भनेर गलत खबर दिइ गोर्खालीलाई हराएको पछिमात्र चम्पा सिं गुरुङ र गजिन्द्र कार्कीले थाहा पाए । यसरी थाहा पाएपछि थप सैनिक र हातहतियार काठमाडौंसंग माग गरे। स्मरण रहोस् पूर्णानन्द उपाध्यायकै सल्लाहमा तत्कालिन आठराइका कुम्भ रायले गोर्खालीहरुसँग सन्धि गरेका थिए भने तमोरवारिका सिरिदेव राय फागोसंग समेत गोर्खालीसँग मिल्न भनेका थिए ।
यसरी चम्पा सिं गुरुङ र गजिन्द्र कार्कीले सत्र पटकसम्म हार भएपछि कारण खोजी गर्ने क्रममा तमोरवारीका लिम्बुहरुसँग वि. सं. १८३१ साउन २२ गतेको सम्झौता र सहयोगबाट समेत यसरी हार भएको थाहा पाएपछि उनिहरुले गरेको छानविनको क्रममा केहि भारादारहरु नुनपानी सम्झौताको विरुद्धमा रहेको र तमोरवारीको याङरुपको राजा हिलिहाङलाई सहयोग गरिरहेको पत्तो लाग्यो ।
हारले पिरोलिएका पुर्णानन्द उपाध्यायका सहयोगीहरु आठराइ इवाका चम्पासिं गुरुङ र सम्दुका गजिन्द्र कार्कीले पूर्ण आलेमार्फत थप सैनिक र हातहतियार काठमाडौंसंग माग गरे। स्मरणिय कुरा के छ भने पूर्णानन्द उपाध्यायकै सल्लाहमा तत्कालिन आठराइका कुम्भ रायले गोर्खालीहरुसँग सन्धि गरेका थिए भने तमोरवारिका सिरिदेव राय फागोसंग समेत गोर्खालीसँग मिल्न भनेका थिए तर स्वाभिमानी तमोरवारी चौविस धनकुटाका सिरिदेव रायले पुर्णानन्द उपाध्यायका प्रस्ताव अस्विकार मात्र गरेनन् सम्वत् १८३७ मा सिक्किम हिपातलमा विरगति प्राप्त गरेका राजा हिलिहाङका अभियानमा जिवनभर साथ दिएका थिए ।
अन्तत: राजा हिलिहाङको निधनपछि सम्बत् १८४२ जेठ २ गते राजा रणबहादुर शाहले एक लालमोहर गरेर सिक्किम पलायन भएका हिलिहाङका नाति देवपति राय तथा सिरदेव राय फागो सहित फेन्दुवा,साम्सोहाङ,थेबे,खिम्दिङ,थाम्सुहाङ,इजम,पतङ्वा,यवा,पालुङ्वा लगायतका बत्तिस हजार लिम्बुहरुलाई गौबध नगर्ने शर्तमा स्वदेश फिर्ता बोलाएर लिम्बुवानमा चलेको छापामार युद्धलाई निश्तेज बनाए ।
(लेखक/अनुसन्धानकर्ता मनु योङहाङ समाजशास्त्रमा एम. फिल . शोधार्थी हुनुहुन्छ।)
प्रतिक्रिया