” सेवारो दाई,कताबाट हौं?” हिलिहाङ चोकनजिकै सरोजले सोध्यो ।
” म ता ताप्लेजुङबाट अनि आफूचाँहि ? ” मैलेपनि सेवारो सहित जवाफ फर्काएँ ।
“तल कुर्लुम्बाबाट,बादुरे दाई वित्नुभएछ । त्यँही पुगेर आएको ”
“हँ,बहादुरे दाई,कहिले पो?” आश्चर्यचकित भएँ म ।
“अरे दाईलाई थाहा छैन र ? चारदिन भैसक्यो नि”
“अस्तिमात्रै एकट्वाक रक्सी किनिदिनुभन्दा मैैले एकबट्टा हर्लिक्स पो किनिदिएको थिएँ कुर्लुम्बा चोकमा, होमसरको पसलमा पो” मैले थपें।
सात दिनको ताप्लेजुङ फक्ताङलुङको यात्रापछि म पाँचथर फर्किदै थिएँ। बाटैमा सरोजसँग भेट भयो । यो यात्रामा कसैले पनि बहादुरे दाईको निधनको बारेमा भनेनन् न त कसैले सामाजिक सन्जालमा नै समवेदना लेखे ।अरुहरुको भए समवेदना सामाजिक सन्जालभरी भरिन्थे,गला अवरुद्ध हुनेगरिको आलापविलापसहित। तर एक भूइमान्छे जस्ले जीवनभर एउटा स्मार्टफोन सम्म देखेन,पचपन्न बर्षसम्म हातेकल चलाइरह्यो, त्यहि हातेकलमा दौरासुरुवाल र चौबन्दी चोली खुटीरह्यो । कम्तिमा जनप्रतिनिधी,वडासदस्यले लेख्नुपर्ने हो,लेखेनन् ।जीवनभरी एक बोत्तल रक्सी किनिदिएर भोट पाइरहे । गरिवीको सौदा गर्दै भोटबैङ्क बनाइरहे। संविधानमा लेखिएको दलितलाई जमिन र पाउनुपर्ने घरबाट उपेक्षित गरिरहे,यसरी एउटा भूइमान्छेको जीवन सकियो । तर बहादुरे दाई,हो यहि बहादुरे दाईको सत्य र वास्तविक जीन्दगीको कथा सुनाउदैछु आज ।
………………………………..
पाँचथरको कुर्लुम्बा गाँउ,सातसालको क्रान्तिमा पाँच सरकारको जय भनेर कुर्लिएको गाँउ,अठाह्र सालमा बन्दुक उठाएको गाँउ तर गुमनाम। पारी सुभाङमा एक जनाले एउटा बाख्रा काटिंदा मात्र पनि मेरो चारलाख क्रान्तीमा लुटियो भनेर चारलाखे बन्यो तर यो गाँउ त्यत्रो क्रान्ति र सशस्त्र आन्दोलन गर्दा समेत सदैव ओझेलमा परिह्यो । गाँउ नै ओझेलमा परेपछि गाउँले त झन ओझेलमा नै पर्ने भए भने यहि गाउँको बहादुरे दाईको कुरै अलग्गै ।
कुर्लुम्बा गाँउको पुछारमा धोजवीरको पूर्व फर्किएको घर र रुखो,बगर काम नलाग्ने केहि रोपनी जमिनमा पुस्तौंदेखि बसेको रणपहेली परिवारको सदस्य हो हाम्रो बहादुरे दाई । पाखाको घर भएकोले सबैले पाखे सुचिकार भन्थे भने परिवारको जेठो छोरा भएकोले पाखे जेठा । हामी सबै भने उहाँलाई ठूल्दाई भन्ने गर्थ्यौै । पेशा कपडा सिलाउने सूचिकार र कुर्लुम्बा गाँउभरिको एउटामात्रै सूचिकार भएकोले सबै बालीघरको कपडा सिलाउन ब्यस्त।
बुबाले हातैले बालीघरको कपडा सिलाउनुभयो र यहि कला छोरालाई सिकाउनुभयो । अनि सिक्नुभयो कपडा सिलाउन ठूल्दाइले ।
कसैको घरमा बच्चा जन्मियो-ठूल्दाई न्वारानमा रालो कपडासहित उपस्थित हुनुहुन्थ्यो ।
अनि अलि ठूलो भएपछि – भोटो सहित हाजिर हुनुहुन्थ्यो ठूल्दाई।
पुरी साइलाको दौराको बाहुलामा प्वाल पर्यो- उहीँ हातेकलमा खुटाउने ठूल्दाई।
नौले भारतीको सुरुवालको घुंडा फाट्यो,हातेकलमा खुटाउने त उहीँ ठूल्दाई ।
कार्की ठूल्दाईको अस्कोटमा ननिभाएको सूर्तीको टुक्राले प्वाल पारेर गोजी चुहिने भो,खुट्ने त उहीँ ठूल्दाई र अचार्दा साहिंलाको टोपी फाट्यो बनाउने त उहीँ ठूल्दाई।
नयाँघर्नीको मजेत्रो फाट्यो- खुट्ने त उहीँ ठूल्दाई।
लुच्ची फूपुको ढाकाको चोली र तिनखोले पथाङदेखि दाहाल्नी काहिलीको बोटिससम्म ठूल्दाईले सिलाए रे !
मुखियाको छोराको ब्रतबन्धमा, सुब्बाको छोरीको गुन्यूचोलीमा मात्र होइन् डाईबरेले बेङ्मालाई भगाउदा पनि ठूल्दाईले सिलाएको टिक्टिके चोली र बुट्टे अस्कोट लगाएका थिए रे।
तर ज्याला उहीँ प्रति सदस्य एकपाथी अन्न ।
मख्खी भारतीको सत्रजनाको परिवार थियो र सबैभन्दा गनगन उसैको। सत्रपाथी अन्नमा बर्षभरि लुगा सिलाउन लगाएर,खुटाउन लगाएर मंसिरमा बाली भर्दा भन्थ्यो -“यो बान्द्रेले उसकी बुढि र नानीहरुलाई हाम्रो कपडाबाट उबारेर लुगा दिन्छ र सिरानी बनाएर रक्सी साट्छ।”
हो बान्द्रे भन्नेचाँहि त्यहि मख्खी भारती हो अनि अलि ढिलो कपडा पुर्याएकोमा दशैको भाग दिनुपर्दा खोल्सापारी काका यो बाँदरलाई भनेर रिसाएको रे!
ठूल्दाई रक्सीचाँहि अलिक पिउने नै हो ।
अनि रक्सि पचाउन सितन यानेकि मासु। कुखुराको भाले होस् वा गाउँमा ढालिएको खसी र राँगो।बुचा होस् कि भैंसी ठूल्दाईलाई राम्रै भाग चाहिन्थ्यो ।
दशै,तिज, विवाह र बर्तबन्धमा कुर्लुम्बा पुछारको त्यो घरमा रातभर टुकी बल्थ्यो । दिनभर बालीघर विस्टहरुकोमा र रातभर घरमा परिवारका सदस्यहरु सियो र धागो चलाइरहन्थे। बर्षैभरि प्रति व्यक्ति एकपाथी अन्नमा लुगा सिलाउने बालिघरे प्रथाको कारण श्रमशोषणमा परेर गरिवीले प्रताडित त्यो परिवारले आफ्नै जमिन र घर जोड्न संघर्षरत बनिरह्यो । गाँउको मुखियाको प्रताडनमा परेको त्यो जमाना ।
हाम्रो गाँउको ठूल्दाई भने रमाइलो र रसिक हुनुहुन्थ्यो विशेष गरेर मारुनी नृत्यमा । बिहेमा दाईले बजाएको कर्नाल र सनाइको धुन नै बेग्लै ।दशैको नौरथाभरी बिहानै तानाकुल्टुङ नेकुल्टुङ गर्दे ट्याम्को बजाएर सुब्बाहरुको घरमा र थरि मुखियाको घरमा दुर्गा र मौलो जगाउनुहुन्थ्यो भने दशैपछि पुच्छर सहितको पुच्छ्रे भाग तथा हरेक चाडमा चाडको भाग पाउनुहुन्थ्यो ।
अलि ठूलो भएपछि उहाँले बिजनबारीबाट भारी बोक्ने काम गर्नुभयो ।पछि रिम्बिक अनि इलाम,फिदिम र याम्फूदेनसम्म पुग्दा उहाँको उमेरको कारण अवकाश लिनुभयो किनभने गाह्रो थियो नि त परिवार पाल्नलाई ।
हामीले स्कूल पढ्दा दाईले नै सिलाउनुभएको कम्मर नअडिने कम्फू जिन्सको पेन्ट लगायौं,थाहा छैन कैयन जोर सर्ट पेन्ट खुटायौै ।दौरा सुरुवाल र अस्कोट सिलायौं। दशैमा ठूलोढुङ्गामूनि ठूल्दाईकै साथ ताङ्से भिरबाट बाबियो ल्याएर लिङ्गे पिङ लगायौं,दाईलाई मच्चाउन लगायौं ।
…………………………………………………………….
म स्मृतिमा नोस्टाल्जिक बन्न पुगेछु। ठूल्दाइको नाम बहादुरे दाई रहनुको कारण तपाई बलियो र सबैभन्दा धेरै भारीबोक्ने भएर अथवा सबैभन्दा लामो समयसम्म नरसिंगा वा सनाइ बजाएर भन्नुहोला त्यो गलत हो । हुनचाँहि केहि हदसम्म तपाइको अनुमान मिल्न सक्छ तर वास्तविकता म तपाईलाई सुनाउछु ।
दुई हजार छयालिस सालको कुरा हो ,पन्चमी स्कूलमा पहिलोपटक नागरिकता वितरण गर्ने टोली आइपुग्यो । यो भन्दा अघि सायदै आवश्यकता पर्नेले मात्रै सदरमुकाम फिदिम गएर नागरिकता बनाएका हुन् । गाँउभरीबाट नागरिकता बनाउनेको ओइरो लाग्यो भने ब्ल्याक एन्ड ह्वाइट पासफोटो खिच्ने इङ्नाम फोटो स्टूडियो खुबै चल्यो ।
म अमरपुर माविमा कक्षा दशमा पढ्दै गर्दा विद्यालयले नागरिकता टोलीलाई सहयोग गर्न पठाएको थियो किनभने मेरो नागरिकता निकाल्ने उमेर पुगेकै थिएन् । केशव आचार्य टोली प्रमुख बनेको सो टोलीमा मेरो काम भने नागरिकतामा लेखिने नाम थर र बतन अभिलेख खातामा लेख्नु थियो ।
साँझ पर्न आँटेको बेलामा बल्लतल्ल अनुसुची सिफारिस र कागजात सहित ठूल्दाईको पालो आयो ।
म अचम्म अवाक त्यतिखेर बने जब मैले उहाँको भरिएको अनुसुची र सिफारिस हेरें ।
लेखिएको थियो-नाम-बाँदरे दमाइ
बाबुको नाम-पाखे दमाइ
म हतप्रभ भएँ किनभने नागरिकतामा लेखिएपछि त त्यहि अभिलेख रहन्छ ।
मैले ठूल्दाइलाई सोधे-” यो सिफारिस कस्ले लेखेको हो?”
“उ त्यो सरले ”
“तर यहाँ त बाँदरे छ त ” मैले भने ।
म भने नागरिकतामा बाँदरे भएपछि हरेक ठाउँमा नागरिकता ठूल्दाईले कसरी पेश गर्छन् चिन्तित बने। भतिजााको नाम लङ्गुर उफ!
र सोध्ने क्रममा पत्ता लाग्यो –
भएछ के भने भीडभाँडमा सिफारिस लेख्ने क्रममा कर्मचारीलाई दाईले आफ्नो नाम भन्नुभएछ ।
होहल्लामा नाम प्रष्ट नसुनिएपछि फेरि कर्मचारीले सोधेछ-“दाईको नाम के हो रे ?”
“बाँदरे हो घरमा त्यहि भन्छन्,मुख हेर न मुख बाँदरको जस्तै छ,बाँन्द्रे,बाँदरमुखे । “विष्णुलाल मुखियाले भनिहाल्यो ।
“ज्या मुखिया….”ठूल्दाईको सानो आवाज भिंडमा हरायो ।
“अनि बाबुको नाम?”
“पाखे हो,पाखे जेठा,बाजेको नाम टाउके ” मुखियाले भन्यो । बस् के चाहियो र कर्मचारीले सोही नाममा सिफारिस बनाइदियो ।
तर म, मैले ठूल्दाईलाई सम्झे।उहाँले सिलाउनुभएको कपडा सम्झिएँ र बजाउनुभएको नरसिंहा र सनाई सम्झिएँ अनि सिफारिस पत्रमा नाम संशोधन गर्ने बिचार गरें।
नाम- बाँदरे दर्जीलाई ब र आकरको बिचमा ह थपिदिएँ भने द मा उकार थपेर अनि रे मा भएको एकलख मेटिदिएँ।
अब- बाँदरे बहादुर बन्यो भने दर्जी काटेर नेपाली बनाइदिएँ।
र बाबुको नाम- पाखे लाई प्रष्टसंग बुध बनाएँ । किनभने हाम्रो आमाले उहाँको नाम बुधे भन्नुहुन्थ्यो नि !
मैले उहाँको सिफारिस नाम संशोधन गरेर अभिलेख खातामा चढाँए,नाम- बहादुर नेपाली,बाबुको नाम-बुध नेपाली,बाजेको नाम आइत नेपाली ।
अनि नागरिकताको प्रमाणपत्र बन्यो बहादुर नेपालीको नाममा ।
……………………………….
आज बहादुरे दाईको निधन भएको पाँचौै दिन । भावपूर्ण श्रद्धान्जली ठूल्दाई ।
प्रतिक्रिया