“इतिहास जित्नेको मात्र लेखिन्छ ,हार्नेको लेखिंदैन । नेपालको प्रजातान्त्रिक आन्दोलन दुइ हजार सात सालको जहाँनिया राणाशासनको विरुद्धमा प्रजातन्त्र प्राप्ति र दुइ हजार अठाह्र सालको पन्चायती शासनको विरुद्ध प्रजातन्त्र पुनरस्थापनार्थ सशस्त्र जनसंघर्षमा लागेर विस्थापित एवम् गाउँनिकाला भएका कुर्लुम्बाबासीहरुको लोकतान्त्रिक आन्दोलनको गर्विलो इतिहासलाई यो अङ्कमा प्रस्तुत गरेका छौै ।”- पढ्नुहोस् अनुसन्धानकर्ता मनु योङहाङको खोजपूर्ण आलेख।
मुन्धुमी अभियन्ता तथा अन्भेषणकर्ता सिक्किमेली चेली सन्ध्या सुब्बाको अनुसार-” पाँचथर जिल्लाको ऐतिहासिक स्थलहरुको नाम लिनपर्दा पहिचानको पर्यायको रुपमा हिलिहाङलाई लिइन्छ । पहिचान र सिङ्गो लिम्बूवानको चर्चा गर्दा लिम्बूवानी भूमिको रक्षार्थ आफ्नो प्राणको आहुती दिनुहुदै गोरखालीविरुद्ध लड्नुहुने अन्तिम लिम्बुवानी राजा हिलिहाङको चर्चा नगर्दा अधुरो र अपुरो नै रहन्छ” । यिनै राजा हिलिहाङको पौरख र पुरुषार्थले सिंचित पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिका वडा नं ३ मा रहेको कुर्लुम्बा गाँउको नेपालको पहिचान तथा जहाँनिया राणा शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा योगदानलाई चर्चा गर्दै पटकपटक सत्ताको कोपभाजनमा परेको यो गाँउको ऐतिहासिकतालाई उजागर यो अङ्कमा गर्ने प्रयास गरेको छु ।
कहाँ छ त कुर्लुम्बा गाँउ ?
नेपालको सुदुरपुर्वमा रहेको पाँचथर जिल्लामा पर्ने यो गाँउ हिलिहाङ-३ मा समुद्रसतहदेखि ११४० मिटरदेखि १४००मिटरको उचाइमा रहेको ऐतिहासिक स्थल भोटेगढीसम्म पर्दछ । २७डिग्री २५ मिनेट उत्तरी अक्षांश र ८७ डिग्री ७५ मिनेट पूर्वी देशान्तरमा रहेको यो गाँउको लम्बाइ २.५ किमी र चौडाइ १ किमी गरेर जम्मा क्षेत्रफल २.५ व.किमी र जनसंख्या ५० घरधुरीमा २५० बढि रहेको पाइन्छ। वरिपरी जंगल र उब्जाउयोग्य दोमट र पाँगो माटो रहेको हरियो र रसिलो यो गाँउलाई तरकारी तथा नगदेबाली टमाटर,अदुवा,अम्लिसो,दुध र गोलियाको हबको रुपमा लिनुको साथै शैक्षिक हवको रुपमा पनि लिइन्छ । हाल आएर प्रजातान्त्रिक, गणतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको इतिहासमा चर्चित प्रसिद्ध भोटेगढी तथा लाप्चेगढी समेत रहेको कुर्लुम्बा गाँउको पहिचान मेट्न सिमलबोटे टोल बनाइनु एकदमै खेदयोग्य कदम रहेको बुद्धिजीवीहरु तथा पहिचानवादीहरु टिप्पणी गर्दछन् ।
कुर्लुम्बा गाँउ,पहिचान लिम्बूवानी भूमि र भोटेगढी अनि लाप्चेगढी
इतिहास साक्षि छ,लिम्बुवानको अन्तिम राजा हिलिहाङले गोर्खालीविरुद्ध सम्वत् १८३७ मा हिपातल सिक्किममा लिम्बुवानी भूमी याङवरकको रक्षार्थ प्राणको आहुति दिनुभएको हो । सम्बत् १८३१ मा अभिमानसीं बस्नेत र पार्थ भन्डारीले विजयपुर कब्जा गरेसंगै चैनपुर आक्रमण गरेपछि ,जसमुखी राय,आशदेव,सुनुहाङ सहित राजा हिलिहाङले सत्रपटकसम्म हिंदाङमा,धुपु,मालेटा,पौंठाक,सभाउत्तर जस्ता ठाउँहरुमा गोरखालीहरुलाई हराएको हो । यसैबिच गोर्खालीले कुटनितिक चाल चाल्दै आठराइको कुंभराय,तम्बरखोलाको जंग राय र सुन राय लगायतलाई आफूतर्फ मिलाएर राजा हिलिहाङलाई एक्लाएपछि उहाँले तत्कालिन सिक्किम र तिब्बतसंग सहायता मागे । सिक्किम र याङवरकबिच पारिवारिक नाता रहेको थियो । सम्बत् १७०१ तिर सिक्किमका राजा फुन्चो नाम्गेलको छोरा ग्युर्वेद नाम्गेलसँग युमा थुङ्वामुक्माको विवाह भएको थियो । उनै रानीको सम्मानमा बनेको राप्देन्से दरवारको नाम सङहिम बाट सुहिम हुदै सिक्किम बनेको बताइन्छ ।
सम्बत् १७८२ मंसिर पूर्णिमाको दिन जन्मनुभएको राजा हिलिहाङको सहयोगार्थ सेनापति देपछ्याङ रिन्जिङको नेतृत्वमा आएको १४०० मिटरमा रहेको अग्लो भूमि धनकुटा,ताप्लेजुङ र तराइसम्मको दृश्य देख्न सकिने भोटे सैनिक बसेको ठाँउलाई भोटेगढी र तल ११८० मिटरमा रहेको पानी जंगल तथा फराकिलो चौर समेत रहेको लाप्चे सेनापती छाङजत घ्याकथुपको नेतृत्वमा आएको लाप्चे सेना बसेको ठाँउलाई लाप्चेगढी भनिन्छ ।
ऐतिहासिक यी पुरातात्विक स्थलहरु संरक्षण र प्रचारप्रसारको अभावमा नामेट बन्दै गएको यथार्थप्रति सरकार,सरोकारवालाहरु र स्थानिय सरकारले चासो दिएको पाइन्न ।
सम्बत् १८३२-३६ सम्म यि लाप्चे भोटे र लिम्बुवानी सैनिकले चैनपुरसम्म गोर्खालीहरुलाई लघारेको सिक्किमको इतिहासमा लेखिएको छ । सम्बत् १८३६ को अन्ततिर चैनपुरमा भएको भयानक लडाइमा सेनापती रिन्जिन मारिएपछि पुर्ण आलेको नेतृत्वमा सम्बत् १८३७ मा याङवरक हस्तपुरलगायत सिक्किमको च्यारुङ समेत कब्जा गरेपछि याङवरक लगायत लिम्बुवानी भूमिको रक्षार्थ लड्दालड्दै सिक्किमको हिपातलमा राजा हिलिहाङले वीरगती प्राप्त गर्नुभएको हो ।
दुइ हजार सात सालको क्रान्ती र कुर्लुम्बा गाँउ
प्रजातन्त्र प्राप्तिको लागी यो गाँउले थुप्रै योद्धाहरु जन्माएको स्व. देउमान आङदेम्बेले चर्चा गर्नुभएको छ । उहाँको अनुसार राजा त्रिभुवनको पक्षधर पाँच सरकारको जय भन्दै जहाँनिया राणाशासनविरुद्धको क्रान्तीको विगुल फुक्ने कामको नेतृत्व स्व.धनबहादुर योङहाङले गर्नुभएको हो । तत्कालिन दौडाहा टोलीको नेतृत्व गरेका स्व. आङ्देम्बेको सम्बन्धित बन्नुभएकोले पनि स्व. धनबहादुर योङहाङको योगदान र चर्चालाई तत्कालिन पन्चायति सरकारले गुमनाम मात्र होइन् निर्वासित समेत गरेपछि चमर्ची भोटाङ र कुमारीकट्टा आसाम बस्नुपर्दा घरसमेत खन्डहर बनेको स्व.सुनारे माइला पटकपटक बताउनुहुन्थ्यो।पूर्व वडाध्यक्ष स्व. पदमप्रसाद योङहाङ तथा पुर्व उपप्रधानपन्च स्व.जहरमान योङहाङको अनुसार तत्कालिन पन्चायती दमनबाट विस्थापित बनेका स्व.धनबहादुरको भाइ स्व.औतारे लिम्बुको कुमारीकट्टा आसाममा नै निर्वासितकालमा नै निधन समेत भयो ।
स्व. सैमान भारती र स्व. पिठ्ठे गिरीकाे अनुसार सातसालको आन्दोलनमा स्व. धनबहादुर र औतारेको कुशल व्यवस्थापनको कारण अन्यत्र लुटपाट भएतापनि कुर्लुम्बा गाँउ सुरक्षित र शान्त रह्यो। उहाँहरुकै अनुसार गाँउभरिकै महत्वपूर्ण कागजात र बहुमुल्य सामानहरु जोरजोर थाम भएको स्व.धनबहादुर योङहाङकै घरमा सुरक्षित राखिएको हो । यो ऐतिहासिक आन्दोलनमा कुर्लुम्बाबासीहरुको सक्रिय सहभागिता रह्यो ।
निरंकुश पन्चायती शासनविरुद्ध कुर्लुम्बा गाँउ
दुई हजार पन्ध्र सालमा जननिर्वाचित विपी कोइराला सरकारविरुद्ध राजा महेन्द्रले २०१७ सालमा कू गरेपछि २०१७-२०१९ सालमा प्रजातन्त्र पुनर्स्थापनार्थ सशस्त्र जनसंघर्ष स्थापना भयो । पाँचथरमा भूविक्रम नेम्बाङ,मच्छेन्द्रबहादुर केरुङ तथा देवानदोर्जे थिङको नेतृत्वमा सशस्त्र जनसंघर्ष चल्दा नजिकै रहेको कुर्लुम्बा गाँउ अछुतो रहने नै भएन्। अघि नै चर्चा गरिसकिएको छ स्व.धनबहादुर योङहाङ र स्व. औतारे लिम्बुको साथै यो गाँउबाट दाहाल कान्छा भनिने अविकेशर दाहाल र हब्बे भनिने अम्बे सार्कीको पुर्णकालिन योद्धाको रुपमा योगदान रहेको बताइन्छ ।
पौवा सारताप निवासी प्रजातान्त्रिक योद्धा स्व. कृष्णविक्रम नेम्बाङले आफ्नो कृति “सत्र सालको क्रान्तीको सम्झना” मा लिम्बुको साथै स्व. अविकेशर दाहाल र अम्बे सार्कीको योगदानको खुलेरै चर्चा गर्नुभएको छ ।
एउटा सानो गाँउ पटकपटक सत्ताबाट प्रताडित र उपेक्षित एवम् कोपभाजनमा परेतापनि लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको यो गाँउको योगदानलाई शोध र अनुसन्धानको विषयवस्तु बनाइनुपर्ने र गौरवान्वित हुनुपर्ने कुरामा आशावादि हुन सकिन्छ ।
प्रतिक्रिया